२६३ जना उछिन्दै तेज राईले हातपारे १० हजार राशिको जनगणना पुरस्कार

समाचार

लिभु संवाददाता
काठमाडौं– राष्ट्रिय जनगणना विषयक निबन्ध प्रतियोगितामा खोटाङका तेज राई प्रथम भएका छन् । उनले १० हजार रुपैयाँ राशिको पुरस्कार र प्रमाणपत्र हात पारेका छन् ।

किरात राई सांस्कृतिक कलाकार संघ काठमाडौं र खोटाङले संयुक्त रूपमा अनलाइनमार्फत प्रतियोगिताको आयोजना गरेका हुन् । १२औं राष्ट्रिय जनगणना २०७८ लाई लिएर ‘जनगणनामा किरातीको अवस्था र अबको बाटो’ शीर्षक रहेको प्रतियोगितामा देश–विदेशबाट २ सय ६३ जना सहभागी भएका थिए ।

प्रतियोगितामा खोटाङकी जुनकला राई द्वितीय र ओखलढुंगाका गगनबहादुर राई तृतीय पुरस्कार जितेका छन् । पुरस्कारको राशि क्रमशः ५ हजार र ३ हजार रुपैयाँ रहेको छ । त्यसैगरी हाल युएयमा कार्यरत इलामका मनिभक्त राई (गाउँले)लाई सान्त्वना तथा पोखराका रोशन तिमिल्सिना र खोटाङका टिकाराम राईलाई प्रोत्साहन पुरस्कार पाएका छन् । पुरस्कारको राशि जनही दुई–दुई हजार रुपैयाँ प्रदान गरिएको छ ।

शुक्रबार -२०७७ कात्तिक २८ गते) ललितपुरमा संक्षिप्त समारोह आयोजना गरी विजयी घोषणा गरिएको थियो । प्रतियोगितामा विजयीमध्ये टिकाराम राईमात्र उपस्थित रहेका थिए । अन्य विजयीलाई बैंकमार्फत् पुरस्कार पठाइने संघ काठमाडौंका अध्यक्ष यसकुमार राईले जनाएका छन् । कलाकार संघका केन्द्रीय उपाध्यक्ष रोशन राईको प्रमुख आतिथ्य रहेको समारोहको विशेष अतिथिमा किरात राई यायोक्खा केन्द्रीय महासचिव जनक राई र किरात राई प्रज्ञा परिषदका कार्यकारी सदस्य गणेश वाम्बुले राई निर्णायक रहेका थिए । संघको खोटाङ कार्यसमितिका अध्यक्ष शुभचन्द्र राईको अध्यक्षता रहेको कार्यक्रम काठमाडौंका सचिव कबि राईले संचालन गरेका थिए ।

 

शुभचन्द्रलाई बधाई

शुभचन्द्र राई

नेपाल बैंक लिमिटेडले हालैमात्र सम्पन्न गरेको खुल्ला परीक्षाबाट चौथो तहमा खोटाङ लफ्याङका शुभचन्द्र राईले छनोट भएका छन् । उनी रामेछाप शाखामा पोस्टिङ भएका छन् । २६ वर्षीय राईले त्रिविबाट बिबिएस व्यवस्थापनमा विषयमा स्नातक हासिल गरेका छन् । उनलाई सोही निबन्ध प्रतियोगिता घोषणा समारोहमा किरात राई सांस्कृतिक कलाकार संघ काठमाडौंले बधाईपत्र प्रदान गरेको हो ।

Leave a Reply

Your email address will not be published.