श्यामकुमार राई ‘जनसेवाश्री’ पदकबाट विभुषित

समाचार

लिभु संवाददाता
काठमाडौं– ओखलढुंगाको मानेभन्ज्याङ–५ उदयपुर गाउँनिवासी समाजसेवी सिंगापुर पुलिस फोर्सका पूर्व इनस्पेक्टर श्यामकुमार राई जनसेवाश्री पदकबाट विभूषित हुनु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट यही २०८० वैशाख १ गते शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा उक्त पदक प्राप्त गर्नु भएको हो ।

राई ओखलढुंगाको रुम्जाटारस्थित गोरखा वेलफेयर ट्रस्ट नेपाल (जीडब्लुटीएन)को शाखा कार्यालय एरिया वेलफेयर सेन्टर रुम्जाटार ओखलढुंगाको प्रमुखका रूपमा कार्यरत रहँदा आठौं संविधान दिवसको अवसरमा सिफारिस भई विभुषित हुनु भएको हो ।


मानेभन्ज्याङ–५ उदयपुर गाउँमा सन् १९६३ डिसेम्बर ९ मा (२०२० मंसिर २३ गते) जन्मिनु भएका राईले नेपालबाट एसएलसी र सिंगापुरबाट एन लेभलको शिक्षा हासिल गर्नु भएको छ । उहाँ सिंगापुर पुलिस फोर्समा भर्ती भई २४ वर्ष सेवा गरी इनस्पेक्टर पदमा अवकास लिनु भएको थियो । त्यसपछि स्वदेश फर्केर १४ वर्षदेखि निरन्तर सेवा गर्दै आउनु भएको छ । खोटाङ, दोलखा, रुम्जाटारमा सेवा गरी हाले धरानस्थित गोरखा वेलफेयर सेन्टरमा एडब्लुओ क्लस्टर सपोर्ट म्यानेजरका रूपमा कार्यरत हुनुहुन्छ । श्यामकुमार राई वाम्बुले राईभित्र गोरठोके पाछाको हुनुहुन्छ । उहाँ लिब्जु–भुम्जु अक्षयकोषको दातासमेत हुनुहुन्छ ।


यसैबीच राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले एक जनालाई नेपाल रत्न, तीन जनालाई राष्ट्र गौरव, एक जनालाई सुप्रसिद्ध प्रबल जनसेवाश्री, १४ जनालाई प्रसिद्ध प्रवल जनसेवाश्री, १६ जना सुकीर्तिमय राष्ट्रदीप, एक सय ६५ जनालाई सुप्रबल जनसेवाश्री, छ जनालाई कीर्तिमय राष्ट्रदीप, तीन सय १६ जनालाई प्रवल जनसेवाश्री, एक जनालाई राष्ट्रदीप र दुई सय पाँच जनालाई जनसेवाश्री प्रदान गर्नुभएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमा जनाएको छ ।


राष्ट्रपति पौडेलले राष्ट्रको गौरव बढाउन अतुलनीय योगदान गर्ने पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालासहित समाजका विभिन्न क्षेत्रका सात सय २८ व्यक्तित्वलाई विभिन्न मानपदवी सो अवसरमा प्रदान गर्नुभयो । पूर्वप्रधानमन्त्री स्व. कोइरालालाई दिइएको नेपाल रत्न उहाँंकी परिवारिक सदस्य किरण कोइरालालाई प्रदान गर्नुभयो । राजनीतिज्ञ स्वर्गीय जीवराज न्यौपाने ‘आश्रित’लाई प्रदान गरिएको राष्ट्र गौरव उहाँंकी धर्मपत्नी माया न्यौपानेलाई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् स्व सत्यमोहन जोशीलाई प्रदान गर्नुभयो । सुप्रसिद्ध प्रबल जनसेवाश्री डा. जगमान गुरुङलाई प्रदान गरियो । समारोहमा व्यवसायी, संस्कृतिविद्, कलाकार, पत्रकार, समाजसेवी, खेलाडी, प्रशिक्षक, निजामती, जङ्गी, चिकित्सक, विदेशी नागरिकलगायतलाई मानपदवी प्रदान गरिएको थियो ।


मन्त्रिपषिद्को सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ असोज ३ गते संविधान दिवसका दिन उक्त विभूषणको घोषणा गर्नुभएको थियो । नेपालको संविधानको धारा २७७ को उपधारा १ मा राष्ट्रपतिले राज्यका तर्फबाट प्रदान गरिने उपाधि, सम्मान र विभूषण प्रदान गर्ने उल्लेख छ ।


समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत विशिष्ट व्यक्तित्वको उपस्थिति थियो ।

तस्बिर स्रोत : राष्ट्रपतिको कार्यालय

1 thought on “श्यामकुमार राई ‘जनसेवाश्री’ पदकबाट विभुषित

  1. श्याम कुमार राईलाई उक्त जनसेवाश्री मान,पदक प्राप्त भएकोमा हार्दिक बधाई !! वास्तवमा हाँ यस्ता मान पदकबाट सम्मानित हुन अत्यन्त सान्दर्भिक ब्यक्तित्व हुनु हुन्छ । उहाँ खोटाङ जिल्लाको दिक्तेल वेलफेयर अफिस प्रमुख हुँदा Sonam Sajjan kiranti को समन्वयमा स्थानीय भु.पु.बृटिस आर्मी दुर्गा बहादुर राईको जमानतमा सन२०१४मा हलेसीतुवाचुङ नगरपालिका वडा नं २स्थित श्री दाम्ली माध्यमिक विद्यालयमा २कोठे आर.सि.सि. भवन निर्माण गरी दिनु भई शिक्षाक्षेत्रमा अत्यन्त पिछडिएको गाउँमा ठुलो सहयोग गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published.