लिभु संवाददाता
ललितपुर । लिम्बू समुदायमा मौलिक नाम राख्ने परम्परा रहेपनि राजनीतिक दमनको रापले पछाडि पारेको थियो । ०७ सालको राजनीतिक परिवर्तनपछि सामाजिक पुनःजागरण आयो । तर पनि प्रशासनिक दवाव उस्तै रहेको विज्ञले बताउनु भएको छ । मुन्धुम एकाडेमी ललितपुरले प्रकाशन गरेको ‘लिम्बू नामकोश’ सार्वजनिकीकरण समारोहमा उक्त विषय उजागर भएको हो । डीबी आङबुङ र विष्णुदत्त आङबुङले लेख्नु भएको उक्त नामकोश सार्वजनिक गर्दै मुन्धुमविद् बैरागी काइँलाले सो रहस्य खोल्नु भएको हो ।
‘लिम्बू जातिमा नेपाली भाषामा नाम राख्ने चलन कहिलेदेखि सुरु भयो भन्ने खोजीको विषय हो,’ काइँलाले शनिबार (२०८१ जेठ २६ गते) भन्नुभयो, ‘लिम्बुवानमा पुरोहितलाई पन्चाङ्ग हेराउने, बालबच्चा जन्मदा चिना लेखाउने चलन, नाम राख्ने चलन भएपछि हामी लिम्बूमा हिन्दु नाम व्यापकता पाएको हो । खासमा मेरो नाम चिनामा ओझाहाङ छ । २००५ सालमा स्कुल भर्ना हुँदा तिलविक्रम सुब्बा भएछ । अनि २०४६ सालमा नागरिकता बनाउँदा तिलविक्रम नेम्बाङ भएछ । मेरो लिम्बूनाम औंसीमा जून अस्ताएझैं हराएछ ।’
लिम्बुवानमा प्रदेश नामाकरण, मुकुम्लुङ संरक्षण अभियानको आन्दोलन जारी रहेको बेला ‘लिम्बू नामकोश’ सार्वजनिक भएको छ । यस याक्थुङ नामकोश लिम्बू–नेपाली–अंग्रेजी गरी तीन भाषामा रहेको छ । सिरिजङ्गा लिपि, देवनागरी र आईपीए (इन्टरनेसनल फोनेटिक अल्फाबेट) प्रयोग गरिएको छ । जसले गर्दा लिम्बू इतर भाषीले समेत ती शब्द उच्चारण तथा अर्थ बुझ्न सक्ने छन् । लिम्बू जाति, भाषा, इतिहास, संस्कृति, पर्यावरणजस्ता विषयका नामपद समेटिएका छन् । नामकोशमा लिम्बूनाम र नामाकरणको मौलिक विवेचना, नेपाली र अंगे्रेजीमा समेत लिम्बूनामका मौलिक र मुन्धुमी अर्थसमेत दिइएका छन् ।
लेखकद्वयले सामाजिक तथा राजनीतिक इतिहाससमेत केलाएर लिम्बू नामकोशको महत्वबारे उल्लेख गरेका छन् । याक्थुङ लिम्बू नाम र नामकरणअन्तर्गत ‘याक्थुङ’ जातिलाई जनाउने ‘लिम्बू’ नाम अस्तित्वमा आएको कारण केलाएका छन् । मुन्धुम र इतिहासमा माङ्–हाङको मौलिक नाम, विकृत नाम त्याग्दै मौलिक नाम राख्ने अभियान, लम्बू नाम राख्ने शैली र परम्परा, मौलिक नाम र पहिचान पक्ष केलाएका छन् । यसैगरी मुन्धुमी माङ र ऐतिहासिक हाङका नाम, मुन्धुमी पेगि फाङहाङ/पेलि फाङ्सामका नाम, मुन्धुमी सावा येत्हाङका नाम दिइएका छन् ।
यसैगरी तत्कालीन फेदाप राज्यका आठ आपुङ्गी राजाका नाम, ऐतिहासिक थिबोःङ याक्थुङ÷दशलिम्बू (सर्दार)का नाम, ऐतिहासिक थिबोःङ याक्थुङ लाजे (दश लिम्बुवान)का हाङका नाम दिइएका छन् ।
यस्तै, केही मुन्धुमी पात्रका पछि परिवर्तित नामहरू, बार, महिना, ऋतु, गन्ती प्रस्तु गरिएको छ । साथै, कोव्रmो उठाउनी र नामकरण संस्कार, याङ्दाङपछि पनि मौलिक नाम राख्ने वा फेर्ने मुन्धुम दिइएको छ । इतिहासविद् भगिराज इङनाम, साहित्यकार यहाङ लाओती, प्राज्ञ अमर तुम्याहाङ, समीक्षक भिमा खजुम, खगेन्द्र माखिमलगायतले पुस्तकबारे बोल्नु भएको थियो ।