काठमाडौँ — हलो शास्त्र पढेर बनाउने होइन, गरेर देखाउने कला हो । झण्डै तीस वर्षपछि मैले हलो ताछ्न पुगें, गाउँघरमा । गए चैतको अन्तिम साता एक बिहानै अकस्मात झरी पर्यो ।
उखरमाउलो गर्मी हुने यो खोंचको माथि डाँडाकाँडातिर बादल पाउलिएझैं थियो । सिउसिउ जाडो हुँदै थियो ।
आमाले भन्नुभयो– ‘कामीको आरन पुगेर राँबो अर्जाप्न लाएर ल्याको छु, काठको बिँड लाउन पाएहुन्थ्यो । तेरो कान्छो भाइले बनाउन मनगर्दैन । योपालि जोत्ने हलो छैन । नयाँ टुँडोमात्र छ । फाली र करुवा पनि बनाउन लाएर ल्याको छु ।’
यसो सम्झेर राँबोको बिँड लाउनु कुन महाभारत हो र । आमालाई कहाँ छ भनेर सोधें । दैलाको सँघार माथिको खटप्वालमा रहेछ । झिकें । खुकुरीले सतिबयरको घोचो सानो टुक्रा काटें । सिकुवामा बसेर राँबोमा बिँड लगाएँ । मेरो काम देखेर आमा उत्साहित हुनुभएजस्तो लाग्यो । भन्नुभयो, ‘तैले उहिले त हलो, जुवा, हरिस पनि ताछेको थिइस् । बिर्सेको छैनस् होला नि । आफन्तबाट लिएको नयाँ हलोको टुँडो पनि छ । आँट्छस् भने बनाइदेन तेरो भाइलाई । अब बर्खा लाग्दैछ । जोत्ने बेलामा सजिलो हुन्छ ।’
सम्झें– आमाको कुरो ठीकै हो । उहिले गरेको काम फेरि कोशिस गर्दा भइहाल्छ । हलोको टुँडो कहाँ छ भनेर सोधें । बाख्राको खोरमुनिको पियालमा रहेछ । कान्छो भाइले झिकेर ल्याइदियो । हरिस र अनौघर खोपिइसकेको हुँदा मैले गर्नुपर्ने काम लगभग पचासप्रतिशत मात्रै रहेछ । मनमनै सोचें । बिगारें भनेचाहिं बर्बाद हुनेरहेछ । यो वर्षको लागि यसको बिकल्प छैन । यो हलो क्रेगेले रुख (काठ) को रहेछ । अलि घोसे तालको रहेछ ।
उहिले म आफैंले जंगल चहारेर साधन रुखको बुटा (फेद)सहित काटेर ल्याएको अनुभव छ । साधन काठको हलो सबैभन्दा राम्रो मानिन्छ । त्यसैगरी चिलाउने, चिउरी, … जस्ता रुख (काठ)को पनि हलो राम्रै हुन्छ । तर यो क्रेगेलेचाहिं खोप्ने तरिका मिलेन भने बीचैमा चिरा पर्छ । निकम्मा बन्छ । आमाको अनुरोधलाई टार्न सकिन । झरीको मौसमलाई सदुपयोग गर्ने सोचें ।
हलो ताछ्न बसिला चाहिन्छ । काठको ठोकनी चाहिन्छ । बसिला पल्लोघरमा रहेछ । भतिजा केटोले लिएर आयो । फाली र करुवा जुटाएँ । फाली एककच्चीभन्दा लामो रहेछ । फालीघर खोप्नुअघि निक्कैबेर घोरिएँ । त्यतिबेला भाइ आएर भन्यो– ‘दाजु यसो गर्नुपर्छ । उसो गर्नुपर्छ ।’ ३० वर्षअघि जतिखेर मैले हलो, जुवा ताछ्थें । उतिखेर भाइ उमेरले पाँच–छ वर्षको मात्र थियो । भाइले त्यसो भनिरहँदा चाल पाएँ कि म हलो ताछ्न जान्दछु भन्ने उनलाई थाहै रहेनछ ।
हुन पनि हो, उच्चशिक्षा हासिल गर्ने निहुँमा जेठो काठमाडौं खाल्डो छिरेकै २७ वर्ष भएछ । पिताजीको निधन भएको पनि त्यत्ति नै भयो । धन्न जेनतेन चलेछ, एकल आमाको घरगृहस्थी, तीन छोरा र दुई छोरीका साथ ।
मैले हलोमा फालीघर खोपें । करुवाघर बनाएँ । पुरानो ठुटे हलोबाट हरिस झिकेर नयाँमा जोड्न चाहें । खोपाई नपुगेकाले खोपेर मिलाएँ । घोसे र ठाडो मिलाउन मुस्किल परेर अलमलिएँ ।
सतिबयरको दुई हाँगे घोचाको अनौ ताछेर हलोको टुँडोमा मिलाएँ । त्यसको भोलिपल्ट भान्दाइलाई गुहारेर हलोलाई अन्तिम रूप दिएँ । यस भेगमा खयर काठको अग्राठबाट हरिस बनाइन्छ । दायाप्सु, इपिल आदि हल्काखाले काठको जुवा बनाइन्छ । जुवामा बाँसको सैला हालिन्छ । भोर्लाको डोरी बाटेर जुवा र सैलामा जोतारो बनाइन्छ । राँगा (भैंसी)को छाला सुकाएर नारा (हल्लुँडो) बनाइन्छ ।
एकहल गोरुलाई देब्रे र दाहिने पारेर जुवाले जुरोमा अडिने गरी गर्धनमा बाँधिन्छ । तराई फाँटमा राँगासमेत जोत्न चलन छ । जुवाको मध्यभागमा हल्लुँडोमा हरिस अड्काइन्छ । हरिसको फेद भूइँमा हलो रहन्छ । अनौमा समातेर गोरुलाई लौरोले ओल्लो छेउदेखि पल्लो छेउतिर हिंडाइन्छ । हलोको टुँडो थिचेर जमिनमा धसाइन्छ । हलोले जमिनको माथिल्लो सतह उधार्छ । बाहिर रहेका मल, बिउ छोपिन्छ । बाहिरको माटो भित्र पुरिने र भित्रको बाहिर निस्किने भएकाले माटो खुकुलो भई चिसो सर्ने र ऊर्वरा बिरुवासम्म पुग्न सहज हुने गर्छ ।
यो बस्ती ओखलढुंगाको सुनकोसी र दुधकोसी संगम नजिकमा पर्दछ । सिद्धथुम्का पहाडपूर्व दुधकोसी किनारातर्फ सोक्मटार गाउँ छ । यही गाउँमा जन्मे, हुर्के, बढे, पढेको हो । धरतीलाई ऊर्वर तुल्याउन हलो जोत्नु र अन्नबाली फलाउनु कृषिकर्म हो । कागजका पानामा कलम जोत्नु अर्कै कर्म हो । हलो जोत्न बल नै चाहिन्छ भने कलम जोत्ने काममा बुद्धि नै चाहिन्छ ।
उहिले आकाशे वर्ष भएपछि चैत–वैशाखमा मकै छरिन्थ्यो । अहिले ग्लोबल वार्मिङको प्रभावले गर्दा जेठ–असारमा मकै छर्ने गरिन्छ । यस भेगमा दश वर्षयता झरी परेको छैन । झरी पर्नुको अर्थ लगातार सातादिन पानी पर्नु हो । सिमसार, खोलानाला सुकेका छन् । उहिले अन्न छर्ने याम नजिकिँदै गर्दा हरेक घरमा घटीमा दुई–चारवटा हलो, जुवाको जोडी जोहो गरिन्थ्यो ।
दुई–चार हलगोरु पालिन्थ्यो । तर, अहिले मुस्किलले एकहल गोरु पाल्ने गरिएको छ । बरु त्यसको सट्टा हाते ट्रयाक्टर प्रयोग गर्न थालिएको छ । गाईवस्तु पाले घाँस, कुँडो गरेर हरपल जुटिरहनु पर्छ । गोठालो चाहिन्छ । ट्रयाक्टरलाई डिजेल वा पेट्रोल भए पुग्छ । कतै टाढा जाँदा थन्क्याएर पुग्न सकिन्छ ।
पछिल्लो दुई दशकमा हलो परम्परा घट्दो छ । अधिकांश लाठे युवाहरू वैदेशिक रोजगारीमा गएकाले हलेपाखो बारीहरू बाँझिएका छन् । आवादी मैदानहरूमा हलगोरु नार्नेभन्दा ट्रयाक्टर जोत्ने गरिएका छन् ।
पहाडी भेगका अधिकांश कृषकले आफ्नै बारीमा उब्जिएको अन्नबालीले वर्षदिन छाक टार्ने कल्पना गर्न छाडेको धेरै भइसकेको छ । वस्तुभाउ पालेर दुध, घिउ बेचबिखन गर्ने क्रम टुट्दो छ । नुन, तेल, फलाम, लत्ताकपडा आयातबाटै चलेको छ ।
सामन्ती संस्कारको अवशेष
हलो कृषि कार्यमा प्रयोग हुने प्राचीन औजारमध्ये एक हो । हलो जोत्ने व्यक्तिलाई हली भनिन्छ । कृषि प्रधान नेपाली समाज परम्पराले हलो जोत्ने काम निम्न वर्गको मानिसले गर्ने पेसाका रूपमा परिभाषित गरेको छ । हलो परम्पराले जरो गाडेको लामै इतिहास छ । हलोले सामन्ती संस्कार अवशेष पनि बोकेको पाइन्छ । उहिले ब्राम्हण समाजले हलो जोत्न हुँदैनथ्यो । राणा शाहीले जोतेको कुरो कतै उल्लेख पाइन्न । पछि समाज परिवर्तनका निम्ति ब्राह्मणले हलो जोतेर विद्रोह गरेका इतिहास पाइन्छ । महिलाले हलो जोतेर सामाजिक कुरीतिको विरोध गरेको इतिहास छ ।
साहुको ऋण तिर्न नसकेर आसामीहरू (निम्न वर्गका निमुखाहरू) पुस्तौं हली बस्नु परेको बाध्यात्मक परिस्थितिको अवशेष सायद अहिले पनि यदाकदा पाइन सक्छ । मालिक र नोकरको दर्जा जोडिन पुगेको छ । हली/हलिया प्रथा, कमैया प्रथा, कम्लहरी प्रथा, दासदासी/नोकर प्रथाको कानुनी रूपमा अन्त्य भएको दशकौं भएको छ । तर, व्यवहारत: समाजमा व्यक्ति विशेषमा अझै अवशेष बाँकी छ ।
हलोको विकल्प ट्रयाक्टर ?
आधुनिक कृषि प्रणाली लागू भएसँगै हलोको विकल्पमा मेसिन (ट्रयाक्टर) प्रयोग हुनु स्वभाविकै हो । ठूला ट्रयाक्टर तराई वा फाँटिलो मैदानको खेतमा मात्र प्रयोग गर्न सकिने साधन हो । पहाडी क्षेत्र कान्ला बारी जोत्न उपयुक्त हुने गरी हाते ट्रयाक्टर आएको छ ।
यद्यपि भिरालो कान्ला बारीमा उपयुक्त हुने भनेको हलो नै हो । त्यसनिम्ति हलगोरुको जरुरत पर्दछ । विदेशी कम्पनीले आफ्नो मेसिन उत्पादन प्रवद्र्धन गर्ने अनेक नीतिअनुसार नेपाल सरकारले पनि हलोको विकल्प ट्रयाक्टरलाई लिएको छ । कृषक पनि लोभिएका छन् र हल गोरु बेचेर ट्रयाक्टर किनेको समाचार नौलो होइन ।
कृषि कर्म गर्न खेतबारी चाहिन्छ । अर्गानिक खाद्यान्न, सागसब्जी उब्जाउन प्राकृतिक मल चाहिन्छ । त्यसनिम्ति गाईवस्तु पाल्नै पर्ने हुन्छ । गाईवस्तु नपाल्ने हो भने मात्र सामाजिक सञ्जालमा भनेझैं ‘हलो बनाइ राखे संग्रहालयमा राख्न काम लाग्छ’ हुनसक्ला । संस्कृतिकर्मी तीर्थराज मुकारुङ राई हलो परम्परागत कृषि औजार भएकाले खेतीकिसानी कर्म रहेसम्म यसको महत्व रहिरहने बताउँछन् ।
‘बाँझो जग्गा जोत्ने मेसिन आए पनि व्यवहारिक चाहिँ हलो नै हो,’ हलो सामाजिक, सांस्कृतिक पक्ष पुरानो रहेको उल्लेख गर्दै भन्छन्, ‘जोत्दै गर्दा लाख पर्ने मेसिन (ट्रयाक्टर)को फाली एउटा ढुंगामा अड्किनासाथ टक्लक्कै भाँचिने सम्भावना हुन्छ । त्यसैले उपयुक्त भनेको हलगोरु र हलो नै हो ।’
जसका कारण पहाडी क्षेत्रमा व्यावसायिक कृषिका निम्ति हलोलाई प्राथमिकता दिइनु पर्छ । हलोका निम्ति उपयुक्त काठ सहुलियत दिएर व्यावसायिक रुपमा ताछ्न लगाउने र उपयुक्त मूल्यमा बेचबिखन गर्न पाउने व्यवस्था गर्न जरुरी रहेको संस्कृतिकर्मी मुकारुङ उल्लेख गर्छन् । यसो हुँदा उपभोगवादी समाजलाई सहज हुनेछ ।
सरकारले बाँझो जमिनमा व्यावसायिक कृषि गर्न सिंचाई, मल, बिउ, जोत्ने साधन जुटाउन सहुलियत ऋण तथा आर्थिक अनुदान दिने नीति लिन जरुरी हुन्छ । पैतृकभूमिकै हुर्केलो युवाहरूले उन्नत कृषि तालिम पाउनु पर्छ । त्यसो हुँदा वैदेशिक रोजगारीमा रहेका नेपाली युवा जनशक्ति जन्मथलो फर्किन सहज हुनेछ ।
हलो क्रान्ति
नेपाली समाज हिन्दु वर्णाश्रमअनुसार जातिगत पेसाको वर्गीकरण गरिएको थियो । जसमा ब्राम्हणले हलो जोत्न निषेध थियो । राणाकालसम्म त्यही परम्परा कायम रह्यो । जहानियाँ राणाशासनको चौतर्फी विरोध भइरहेको बेला लमजुङको दुराडाँडा–६ अर्चल्यानीका बाहुनले हलो जोतेर विद्रोह प्रकट गरेका थिए ।
सामाजिक जागरणका निम्ति त्यस घटनालाई ‘हलो क्रान्ति’ भनेर इतिहासमा उल्लेख छ । पण्डित तोयानाथ अधिकारीको नेतृत्वमा वि.सं. २००६ साउन ११ गते २७ जना ब्राह्मणले हलो जोतेका थिए । उनीहरू पक्राउ परेका थिए । लमजुङको दुराडाँडामा हरेक वर्ष हलोक्रान्ति दिवस मनाउने गरिएको छ । साथै, हलोक्रान्ति नेपाल तथा तोयानाथ स्मृति प्रतिष्ठान, २०६४ नामक संस्था गठन भएको छ ।