लेकाली गिठ्ठा लेख्छन्— ‘यस्तो रह्यो उपल्लो मुस्ताङको यात्रा अर्थात् सपनाको चुचुरोमा हिउँ चितुवा राइडिङ ट्रेल’

जीवनशैली विचार / ब्लग

रह्यो उपल्लो मुस्ताङको यात्रा अर्थात् सपनाको चुचुरोमा हिउँ चितुवा राइडिङ ट्रेल

लेकाली गिठ्ठा

सन् २०१६ मा देखेको सपना सन् २०२३ पूरा भयो– हिउँ चितुवा राइडिङ ट्रेल । सन् २०१६ मा ग्रेट हिमाल ट्रेल बाटो हिड्ने क्रममा मुस्ताङको मार्फा र मनाङको भ्राताङमा स्याउ लटरम्मै फलेको थियो । तर स्याउ खानेबेला नभएकाले कुनै दिन मुस्ताङ र मनाङको स्याउ खाने सपना देखेको थिएँ । त्यो सपना सन् २०२३ सेक्टेम्बर २३ मा ‘एग्रो टुरिजम प्रवद्र्धनको लागि हिउँ चितुवा’ नारा लिई ११ जना राइडर एग्रो पर्यटक बनेर मार्फा र भ्राताङ पुगेका थियौं । विशेषगरी मनाङमा हिउँ चितुवा पाइने हुनाले राइडिङको नाम हिउँ चितुवा राखिएको हो ।

हामी ०६३० कंलकी चोकमा १० जना हिउँ चितुवा राइडर भेला भयौं । काठमाण्डुभित्र भेला भएको धुवाँ र धुलोका कणलाई बाइकका पाङ्ग्राले पन्छाउँदै थानकोटबाट ओर्लियौं । नागढुंगाका साँगुरा सडकमा राजधानी छिर्ने रात्रिबस र मालबाहक ट्रकहरूले ओकलेका धुवाँका मुस्लोसँग कुस्ती खेल्दै बाइकको एक्सिलेटर दबाइरह्यौं । सुरुङ खनेको ठाउँमा पुग्दा १४३९८ गुरुजीको बाइकको तापक्रमले उटफट्याङ देखायो । १४४१८ ले ताप न्यूनिकरणका लागि भित्तामा उम्रेको पानी मिनरल वाटरको बोटलमा थापेर बाइकको इञ्जिनलाई नुहाई दिए । त्यसपछि गुरुजीको बाइक फुर्तिलो भइहाल्यो । धादिङको चालिसेमा खुकुलो पेटलाई रोटी, चना र कालो कफीले न्यानो बनायौं ।

शरद ऋतुले ल्याएको मौसम र वातावरणमा हौसिदै मलेखु बजारलाई पछाडि राख्दै मुग्लिनतर्फ दगुर्दै गर्दा सडकको भित्तातर्फ युवा दम्पतीले मकै पोलेको देख्यौं । पोलेको मकै खाने सल्लाह भयो । त्रिशुली नदीको धमिलो रंग साथै जरुवा पानी पिउँदै पोलेको मकै चपाउँदै करिब २० मिनेट भुल्यौं । १०.३० बजे मुग्लिन बजारमा पुग्यौं । छिप्पेको घामको किरण सिधै झरिरहेको थियो । शान्त स्वभावमा नारायणी नदीले धमिलो रंग लिएर बगिरहेको देखिन्थ्यो ।

मुग्लिनको फिस्टेल होटलमा खाना खाने बित्तिकै पोखराका लागि हुत्तिन थाल्यौं । खैरेनी बजार नाघेर गइसकेपश्चात् बस, माइक्रो र ट्रकले बढार्दा निस्केको धुलोभित्र लाप्पा खेल्दै हुइँकियौं । दमौली बजारको भोटेओडार चोकबाट दुइपिप्ले र पोल्याङ जाने सडकतर्फ चिप्लिदै मोदी नदीको वारिपारिका हरियाली फाँटहरू बस्तीहरू नियाल्दै कुदायौं । तिवारी चोकबाट मोदी नदीको पक्की पुल तरेर रुपातालको आँगन हुँदै पोखराको बुद्धचोकमा हाम्रो बाइको पाङग्राले आराम पाए । अनि मनकामना कफी दोकानको कफीको सुर्काले हाम्रा बाइक हकाइको थकानलाई भगायौं ।

यात्रा न हो । गन्तव्य तय गरेकैं थियौं । त्यसैले २ बजे पोखरादेखि म्याग्दीको तातोपानी पुग्ने लक्ष्यसहित बाइकको गति बढायौं । ४ बजे बाग्लुङको मालढुंगा पुग्यौ । १४४७७ साहेब हामीलाई पर्खिराख्नु भएको थियो । हामी ११ जना हिउँ चितुवा राइडर भयौं मालढुंगादेखि । हिलो र खाल्डाखुल्डीसँग लडाइँ गर्दै मालढुंगादेखि बेनीबजार पुग्न एक घण्टा लाग्यो । बेनीबजारमा बाइकको इन्धन भ¥यौं । गलेश्वर पुग्दा झम्के साँझले बाटो छेक्न थाल्यो । दायाँतर्फ कालीगडण्की बगेको आवाज सुनिथ्यो । चकमन्न रातमा ११ जनाको बाइको हेडलाइटले फालेको प्रकाशको ताँती हेर्दा आकर्षक जुनकिरीजस्तै देखिन्थ्यो ।

बर्खेझरीले झारेको पहिरो र हिलाम्मे सडकमा भाँसिदै पछारिदै बाइक उठाउँदै तातोपानीमा ८ बजे पुग्यौं । तातोपानीको ट्रेकर्स ईन होटलको आँगनमा बाइक थन्कायौ । थकान भुलाउन सिधै तातापानी कुण्डमा डुबुल्कियौं । ४० मिनेट तातोपानीको डुबुल्कीले गर्दा थकित ज्यान सबैको फुरुङ्ग बन्यो । कुण्डको दलानमा बसेर बियर लडाउने साथै चकाप हान्न थाल्यौं । १० बजे होटलको डाइनिङ टेबलतिर लाग्यौं । मद्यपानको तागतले विभिन्न भाकामा गफिदै खित्का छोड्दै हाँस्दै बस्यौं ।

सिंगापुर पुलिस फोर्सबाट अवकासप्राप्त टोलीका निम्न सदस्यहरूले सन् २०२३ सेप्टेम्बर २३ देखि २९ सम्म नै हिउँ चितुवा राइडिङ यात्रा गर्यौं –
शम्भु मगर (14398)
सूर्यबहादुर मगर (14418)
नरेन्द्र राई (14424)
कालु गुरुङ (14477)
लेकाली गिठ्ठा/रेवती मगर (14505)
होमबहादुर तामाङ (14533)
जगदिश आले (14577)
प्रभुराम राई (14627)
कमल गुरुङ (14909)
छिरिङ राई (14986)
प्रविण गुरुङ (20189)

विशेषगरी बेनीबजारदेखि तातोपानी खण्डको हिलाम्मे सडकमा बाइकबाट पछारिंदा र मिलेर उठाएका कुराहरूले । रुप्से झरानाको सौन्दर्य नियाल्दै विश्वको गहिरो घाँसको खोज नियाल्दै चिल्ला सडकमा आनन्दित हुँदै आफूखुशी वल्लो कुना र पल्ला कुना गर्दै मनलाग्दा गरी बगेका थाकखोलाको आकृति नियाल्दै । लेकाली वातावरणसँग लुटुपुटु हुँदै टुकुचे गाउँ पुग्नासाथ स्याउका झाङहरूमा लटरम्म स्याउ फलेको देख्न थाल्यौं । मार्फा गाउँको लोभलाग्दा गरी स्याउ फलेको दृष्य नियाल्दै बढी रहँदा स्याङ गाउँको होटल गजुरको दलानमा बाइकका पाङ्ग्रालाई थचक्क रोक्यौं । होटलका साहुसँग उहाँको स्याउ बारीतिर लाग्यौं । स्याउ बारीमा बोटैमा स्याउ टोक्दै तस्बिर र भिडियो रहर पुगुञ्जेल खिच्यौं ।

एग्रो टुरिजम प्रवद्र्धनका लागि हिउँ चितुवा राइडिङ ट्रेलको सपना पूरा भयो भन्दै खुसियाली साट्यौं । निलगिरि र टुकुचे हिमालको चिसो पवनले हुर्काएको स्पर्श गरेको स्याउको दाना क्या रसिलो झरिलो भन्दै गजबले स्याउ खायौं । होटल गजुरमा स्वादिष्ट खाना खाएर १२ बजे जोमसोमे बजारको हावासँंग हुत्तिदै उपल्लो मुस्ताङका लागि पाङ्ग्रा गुडाउन थाल्यौं ।

हिउँ र बतासले पखालेर राखेका नाङ्गा पहाड र पठार नियाल्दै दगुरी रहँदा कागबेनीको स्याउ र उवाबारीको हरियालीले हाम्रो आँखाको ज्योतिलाई फुरुङ्ग बनाइ दियो । कालीगण्डकीको खोंचबाट उठेर आएको हावाको हुलले कुस्ती खेल्नका लागि जोरी खोजिरहन्थ्यो । ताम्बे गाउँमा कफीको सुर्का लगाउँदै राताम्मे भएर फलेर बसेको स्याउ बारी नियाल्दै बस्यौं । ६ जना राइडर छुसाङ गाउँमा पुग्दा बाँकी ५ जना राइडर आइपुगेनन् । पर्खिबस्दा १४५७७ को बाइकको पछाडिको पाङ्ग्राको टायरलाई काटीले दनक दिएपछि उफ्रन छोड्यो । बनाउनका लागि २ घण्टा लाग्यो ।

छुसाङको केभ मोनाष्ट्री होटलको आँगनमा हाँगै लाछिने गरी फलेको स्याउ टोक्यौं । वाईवाई सुप खाएर ४ बजे छुसाङ गाउँदेखि घमी गाउँ पुग्ने योजनाले बटारिन थाल्यौं । चैइले गाउँको सिरानमा पुग्दा घामको प्रकाश थोरोङ््ला हिमालको शिरतिर हिंड्दै गरेको देखिन्थ्यो । स्याङ्बोचेन गाउँमा पेट्रोल भर्यौं । धिलिङ गाउँमा पुग्दा गोधुली साँझको आँगन हुन थाल्यो । जइते गाउँको उकालो घुम्तीहरू छिचोल्न साँझ पर्न थाल्यो । बाइकको हेडलाइटले सन्ध्यालाई पन्छ्याउँदै घमी गाउँ पुग्यौ । होटलमा पुग्दा साँझको ७ बजेको थियो । उही हो फेरि दुरुङपानीको ओखतीले दिनभर बाइक लडाएको, उठाएको, कुदाएको प्रसंग कोट्याउँदै हाँस्दै बस्दाका क्षणहरूमा लहरिदै साँझको १० बजे खाना खाएर पलङमा ढल्नेबित्तिकै कुम्भकर्णका मित्र भइहाल्यौं ।

घमीबाट ६ बजे लोमान्थाङका लागि टाप कस्यौं । ९ बजे उपल्लो मुस्ताङको राजधानी लोमान्थाङ बजारमा पाइला टेक्यौं । चौतर्फी नाङ्गा पठारको थुम्का र हिमालको लस्करलाई कुहिरोको बथानले छेकेर राखे तापनि लोमान्थाङ गाउँमा सूर्यको किरण उपस्थित थियो । कोरला नाका पुग्नका लागि १४३९८ र १४५३३ ले आफनो बाइक वर्कसपमा ठोकठाक बनाए । बाइकमा १४९०२ लोमान्थाङ बजारलाई एक चक्कर हानिदिएँ । लोमान्थाङ दरबार वरिपरि घुमाएँ २०१८९ लाई मैले । उसको लागि पथप्रदर्शक पनि बनी टोपलिएँ । हिमालयन होटलमा थुक्पा सुप खायौं । १० बजे लोमान्थाङ बजारदेखि कोरला सिमानातर्फ बढारियौं । समुन्द्र सतहदेखि ४६०० मिटरको उचाईमा अवस्थित नेपाल र चीनको सिमाना कोरला स्तम्भ नं २४ मा भिडियो र तस्बिर खिच्यौं । १४६२७ भने चाइनाको भौतिक संरचना र उच्च गतिको सीसी क्यामरा झुण्डिएको देख्दा मन भक्कानिएर आउँछ भन्दै मलाई सुनाए ।

मेरा लागि उपल्लो मुस्ताङको यात्रा ४ पटक भए तापनि खल्लो नहुने सँधै नयाँ दृश्यजस्तै लागिरहेको थियो । कोरला नाका वरिपरिका पाटन पठार जति हेरे पनि आँखाको नानीका लागि गहना हुने खालका ठाउँलाई छोडेर जाने रहर भएन राइडर टिमलाई । चाँदनीको गहना लगाएर बसेकोजस्तै लाग्ने नेपालका हिमालहरूको लस्कर बादलले छोपेर राखेकाले त्यो सुन्दरता देख्न पाएनौं । छोसेर गाउँको पुरानो गुम्बा र गुफा नियाल्यौं । साहेब र गुरुजीहरू छक्क भए छोसेर गाउँको प्राकृतिक सम्पदाहरू देखेर । १ बजे लोमान्थाङको होटल हिमालयनमा खाना खायौं । २ बजे लोमान्थाङदेखि छुसाङ गाउँ बास बस्न पुग्ने हिसाबले बाइकको गति बढायौं । हिमाली बस्तीहरू चराङ, मराङ, घमी, जैते, घिलिङ, स्याङबोचेन, चैइले हुँदै गोधुली साँझको शुभ साइतमा छुसाङको केभ मोनाष्ट्री होटलको आँगनमा बिसाउन पुग्यौं । साँझ फेरि उही सेनतेरेम र याकको सुकुटीको स्वादमा बाईक गुडाइको कथाहरू आपसमा बाँड्यौं । साँझ हुर्केको पत्तै पाएनौं । ११ बजे साँझको खाना खायौं ।

छुसाङको हुर्कदै गरेको कलिलो बिहानीमा कफी पियौं । ६ बजे छुसाङ गाउँदेखि मुक्तिनाथका लागि दगुर्न थाल्यौं । निलो आकाशमुनि नाङ्गा पर्वतमालाका फेदीमा लुक्दै निस्कदै गरी बगेकी कालीगण्डकीको स्वच्छ पवनसँंग रत्यौली खेल्दै ६.४० बजे मुक्तिनाथ मन्दिर पुग्यौं । म र १४३९८ गुरुजीबाहेक बाँकी सबैले १०८ धारा र २ वटा कुण्डमा हाम फाले । त्यहाँ भारतीयमूलका धर्मावलम्बीहरू धेरै थिए ।

मुक्तिनाथ दर्शनपश्चात् होटल लालीगुँरासमा रोटी आलु तरकारी खायौं । ११ बजे मुक्तिनाथदेखि दुम्बा तालका लागि सोझियौं । ११.४० बजे दुम्बा तालमा पुग्यौं । धौलागिरि, टुकुचे र निलगिरि हिमाललाई कुहिरोले छोपेकाले हिमालको फूर्ती दुम्बा तालबाट हेर्न पाएनौं भन्दै सुनाएँ मैले । थाकखोलाको गडतिरका गाउँहरू मार्फा, स्याँङ र जोमसोम बजारको दृश्य लोभलाग्दा थियो । दुम्बा तालको सौन्दर्यमा लठ्ठ भएर ४० मिनेट अल्झियौं । थाकखोलाको झोलुङ्गे पुलबाट स्याङ गाउँ निस्कियौं । १ बजे मार्फा गाउँदेखि पोखरा पुग्ने सुरले हुत्तिन थाल्यौं ।

काभ्रेको हिलोसँग कुस्ती खेल्दै रुप्से झरनामा पुग्दा सवारी साधनहरू हिलो माटोसँग लर्बरिदै साँगुरा बाटामा ताँती भएर जाम भएको भेट्यौ । हिलो, खाल्डाखुल्डीमा उफ्रिदै तातोपानीमा ४ बजे पुग्यौं । होटलमा कफी नास्ता खायौं । पोखरा नपुगिने भयौं अब बाग्लुङ बजार बास भन्दै तातोपानीबाट ५ बजे बाटो कस्यौं । बेनीबजार पुग्दा समय ५.३० भएको थियो । इन्धन थप्यौं बाइकमा ।

म्याग्दी खोलाको पक्की पुल तरी बाग्लुङ बजारका लागि सोझियौं । बाग्लुङको राजन होटलमा पुग्दा साँझको ६ बजेको थियो । नुहाएर फ्रेस भयौं । मद्यपानको साथमा काभ्रेको अक्कर र रुप्सेको हिलाम्मे सडकमा पछारिदाका कथाहरू मजाक गर्दै खुबै हाँस्यौं । १४९०२ गुरुजीको जन्मोत्सव परेकाले केक काटेर जन्म दिनको शुभेच्छा प्रकट ग¥यौं । अब भोलि मनाङको भ्राताङ गाउँ पुग्ने योजना बनाई सुत्न लाग्यौं ।

 

Leave a Reply

Your email address will not be published.