गणेश वाम्बुले राई
चीनको हुबेई प्रान्तको वुहान सहरबाट फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९)ले विश्व समुदायलाई संत्रासमा गुजारिरहेको छ । त्यो पनि लगभग सय दिनको समयावधिमै । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस विश्वका १२० भन्दा बढी मुलुकमा फैलिएको भन्दै विश्वव्यापी महामारीको घोषणा गरेको छ । उसले संक्रमण नियन्त्रणको लागि तयारी गर्न, जनस्वास्थ्य, राजनीतिक नेतृत्व र आम सर्वसाधारण एकजुट भएर लाग्न भनेको छ । तैपनि नेपालको तयारी त्यस्तो छैन, जुन डब्लुएचओले भनेको मापदण्ड छ ।
नेपालमा एकजनामात्र कोरोना संक्रमित देखिएको र ऊ उपचारपछि घर फर्किइसकेको भनिएको छ । ‘पशुपतिनाथले सबै नेपालीको कल्याण गरुन्’ भनिइसकेका छन्, छिमेकीले, जुन शब्द बितेका शासकले भन्ने गर्थे । कोरो महाभूकम्पझैं हो । हावा हुण्डरीभन्दा खतरनाक हुनेछ भन्ने सहरवासी मानिसलाई लाग्न थालेको छ । सामाजिक सञ्जालमार्फत् फैलाइएका अहफाहले ग्रामीण भेगलाई त्रसित तुल्याएको स्थिति छ । पुस अन्तिमदेखि फागुन अन्तिमसम्म आइपुग्दा कोरोना संत्रासले प्रमुख सहरहरुमा कालो बजारी उत्पन्न गराएको छ । हल्लाको भरमा घटनाहरु हुन थालेका छन् ।
घटना–१ :
बालकृष्ण राई काठमाडौंको एक कलेजमा स्नातक तह पहिलो वर्षमा पढ्दैछन् । कोरोना फैलियो भन्ने हल्ला उनको बुवा–आमाको कानमा पुग्नु स्वभाविक हो । बुवा दिलिपकुमार राई ओखलढुंगा जिल्ला हिलेपानी गाउँस्थित महादेवस्थान माध्यमिक विद्यालयका शिक्षक हुन् । उनले छोरालाई तुरुन्तै घर आउन भने । यता कलेजको पढाइ जारी रहेकोले बालकृष्ण फर्किन मानेनन् । अन्ततः उपाय सुझ्यो । उनलाई आमाले फोन गरेर ‘म विरामी छु तुरुन्तै आऊ’ भनेपछि खुरुक्कै गाउँ फर्किएका छन् । ‘भाको एउटा छोरो, तलमाथि केही होला कि भन्ने लागेर बोलाको’ पिताको कथन छ । त्यसरी कोरोना त्रासले धेरै धेरै अभिभावकलाई गाँजिरहेको स्थिति छ । मानौं कोरोना भाइरस सहरको हो, गाउँलाई छुँदैन । गाउँमा भिरपहरा, ओढारमा गएर छल्न सकिन्छ ।
घटना–२ :
राजधानी काठमाडौंको विद्यालयहरू धमाधम जाँच भइरहेको छ । चैत ५ गतेसम्ममा जाँच सक्नु पर्नेछ । सरकारले उर्दी जारी गरेको छ । त्यसलगत्तै चैत ६ गतेदेखि १७ गतेसम्म माध्यमिक विद्यालय परीक्षा (एसईई) हुनेछ । तथ्यांकअनुसार नेपालमा शिशु कक्षादेखि १२ कक्षासम्म ७५ लाख विद्यार्थी पढ्छन् । यो पटक ४ लाख ८२ हजारले एसईई दिनेछन् । कक्षा ११ र १२ को परीक्षा वैशाखमा हुनेछ । सरकारको विश्वास छ, कि तुरुन्तै जाँच लिएर विद्यार्थीलाई सहरमा भीडभाड गर्नबाट पन्छाऊँ । अथवा गाउँतिर जाऊन् । गाउँमा कोरोनाले छुनै सक्दैन । सरकारको उर्दीपछि विद्यालय गर्ने वार्षिकोत्सव लगायतका कार्यक्रमहरू रद्ध गरिएका छन् । सार्वजनिक भेला, समारोहहरूको आयोजना नगर्न भनिएकाले कम हुन हो ।
घटना–३ :
आदिवासी जनजाति महासंघले विधान सम्मेलन चैतभित्र गर्ने तय गरेको थियो । सम्मेलन हुन नसक्दा महाधिवेशन मिति तोक्न रोकिएको उपाध्यक्ष गोबिन्द छन्त्याल बताउँछन् । ‘हाम्रो कार्यकाल सकिएको छ, विधान सम्मेलनबाट महाधिवेशन मिति तोक्नु पर्ने तर कोरोना त्रासले ठप्प बनेको छ,’ छन्त्याल भन्छन् । त्यसैगरी महासंघका सदस्य जातीय संस्थाहरूको महाधिवेशन रोकिएका छन् । नेपाल छन्त्याल संघ, नेपाल तामाङ घेदुङ, आदिवासी जनजाति युवा महासंघ लगायतको महाधिवेशन रोकिएका छन् । यो आदिवासी जनजातिको सवालमात्र नभई विश्वव्यापी चासोको बेला धैर्य गर्नुको विकल्प छैन ।
हो, नेपाल कोरोनाबाट प्रभावित भइसकेको छैन । यद्यपि विश्वभरि फैलिसकेकोले अछुतो रहन सक्छौं भनेर विश्वस्त हुने स्थिति पनि छैन । नेपाल सरकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’ का सबै कार्यक्रम रद्ध गरिसकेको छ । विदेश भ्रमण रोकिएका छन् । वैदेशिक रोजगारीमा जानेहरु रोकिएका छन् । विदेशमा रहेर स्वदेश फर्किने तयारीमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरुले तत्काल आफ्नो तालिका परिवर्तन गरेको स्थिति छ ।
यदि कोरोना फैलिए के हुन्छ ? परिणाम कल्पना बाहिरको कुरो हो । कोरोनाको त्रास मानसिक रोग नबनोस् । यतिखेर नेपालको राष्ट्रिय चाडपर्व, आदिवासीहरूको विशेष चाडवाड पर्दैन । फागुपूर्णिमा भरखरै सकिएको छ । देश–विदेशमा रहेका आफन्तजनहरूले आपसी संयमता अपनाउने संगीन घडी हो । डब्लुएचओले भनेको छ– ‘तयारी गर्नुहोस् । तयार रहनुहोस् । पत्ता लगाउनुहोस् । सुरक्षित रहनुहोस् र उपचार गर्नुहोस् । संक्रमण फैलिन नदिनुहोस् । नवीन खोज गर्नुहोस् र सिक्नुहोस् ।’