अन्तरवार्ता :
‘व्याकुल माइला गोल्ड कप सञ्चालन भएका स्थल हिलेपानी वरपर ठाउँहरुमा पशुपालनबाट फाइदा लिनसकिने सम्भावना प्रशस्तै देखिन्छ’
रामजी खड्का, देश नेपालका एक कृषिवैज्ञानिक हुन् । उनको जन्म वि.सं. २००८ मंसिरमा ओखलढुंगा जिल्ला ज्यामिरेमा भएको हो । खड्ककुमारी र तेजबहादुर खड्काका जेठो छोरो उनले सगरमाथा हाई स्कुल ओखलढुंगाबाट २०२६ सालमा एसएलसी उत्तीर्ण गरेका हुन् । उच्चशिक्षा हासिल गर्न २०२७ जेठमा राजधानी छिरेका खड्काले कृषि महाविद्यालय (हालको कृषि तथा पशुविज्ञान अध्ययन संस्थान, रामपुर कृषि क्याम्पस)बाट आईएस्सी, पञ्जाब कृषि विश्वविद्यालयबाट बिएस्सी र त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र÷मानवशास्त्रमा स्नातकोत्तर हासिल गरेका छन् । २०३८ सालमा कृषि विकास अधिकृत भएर सरकारी सेवा प्रवेश गरेका उनले २०६८ सालसम्म वरिष्ठ वैज्ञानिक (सहसचिव) तहमा अवकाश लिए ।
हाल स्वतन्त्र कृषि वैज्ञानिकका हैसियतले देशको विभिन्न ठाउँमा कृषि परामर्श दिंदैआएका छन् । यही क्रममा ‘खेलकुदको माध्यमबाट विकास अभियान’ नारासहित २०७० कात्तिके १ देखि ९ गतेसम्म ओखलढुंगाको थाक्ले–८ सोक्मटार ब्आलेम बगर खेलमैदानमा सम्पन्न तेस्रो ‘व्याकुल माइला गोल्डकप, २०७०’ मा वैज्ञानिक खड्काले स्थानीयमाझ कृषिबारे परामर्श दिएका थिए । सोही सन्दर्भमा कृषिवैज्ञानिक खड्कासित सम्पादक गणेश वाम्बुले राई गरेको कुराकानीको अंश, यो अन्तरवार्ता लिब्जु–भुम्जु पूर्णाङ्क ५५, २०७० कात्तिक–पुस (किरात येले संवत् ३७९२÷सन् २०१३) मा प्रकाशित छ । सम्पादक)
व्याकुल माइला गोल्ड कपमा सहभागी भएर कस्तो अनुभव गर्नुभयो ?
पहाडको परिवेश दुर्गम क्षेत्र खेलमैदानको पनि अभाव भएको ठाउँमा जुन जाँगर देखाएर युवाहरूले ‘व्याकुल माइला गोल्ड कप’ सुरु गरे मलाई असाध्यै खुशी लाग्यो । गोल्डकपले त्यो ठाउँलाई अगाडि लैजाने माध्यम बनेको छ । मैले यही महसुस गरें । अत्यन्तै सराहनीय छ । यो सँग जोडेर विभिन्न किसिमका कार्यक्रमहरु अगाडि लगियो भने राम्रै हुन्छ ।
‘खेलकुदको माध्यमबाट विकास अभियान’ नारालाई कसरी लिनु भएको छ ?
जुन किसिमले कार्यक्रम गरिएको छ, यसलाई अलिकति परिमार्जन गर्नुपर्ला । खेलकुद भनेपछि दर्शक सहभागीहरूको सोचाई खेलकुदमा मात्र केन्द्रित हुन्छ । त्योदेखि बाहेकमा खासै रहँदैन । त्योसँग जोड्नचाहिं ठीक छ । खेलको अघि–पछि पारेर अरु कार्यक्रम राखेमा ‘खेलकुदको माध्यमबाट विकास’ प्रभावकारी हुन्छ । त्यसैबेला सबै कार्यक्रम गर्न सान्दर्भिक हुँदैन । किनभने कृषि भन्नासाथ ३६५ दिन नै जहिले पनि केही न केही गरिरहनु पर्ने हुन्छ । जुन दिन छोडिन्छ, त्यो दिन टाढिन्छ । कृषि दुई–चार दिनको लागि होइन । त्यो सच्चाइ राख्न जरुरी छ ।
नौदिने खेलअवधिमा स्थानीय कृषिहरुसँग कस्तो अनुभव साट्नु भयो ?
जस्तो मैले सोचेको थिएँ, चार–पाँच दशक र अहिले त्यस्तो धेरै फरक देखिन । मध्यपहाडी लोकमार्ग बनेकोले आवत–जावतको सुविधा बढेको छ । प्रविधिको विकास भएपनि कुनै पनि प्रविधि अपनाएर त्यसबाट फाइदा लिएको पाइएन । त्यसैले समाज पछि नै छ । परम्परागत किसिमको खेतीपाती यथावत छ । कृषिमा आधुनिक प्रविधिहरु प्रयोग भएको छैन । किसानले पहिलेजस्तै नभएर अन्य किसिमको आय आर्जन बढाएका छन् । खेतीपातीको हिसाबले बढाएको छैन । कृषिबाट जनजीवनको आधार थुप्रै परिवर्तन गर्न सकिन्छ । सुरुवात गर्न जरुरी छ । मध्यपहाडी राजमार्ग सुरु भएसँगसँगै कृषि प्रविधि प्रयोग ग¥यौं भने त्यस भेगमा धेरै कुरो बदल्न सकिने सम्भावना छ ।
कोसीको किनारा बस्तीहरू सुख्खा र खेतीयोग्य जग्गा कम छ । तैपनि परम्परागत खेतीपाती प्रणाली सुधार्न के गर्न सकिएला ?
सुख्खा ठाउँ छ । सुख्खामा हुने किसिमकै प्रविधि लिएर अगाडि जानु पर्दछ । सुख्खामा हुने प्रविधिहरु पनि निक्कै महत्वपूर्ण उत्पादनहरु हुनसक्छ । रुखोपाखाहरु प्रशस्तै पडेर बसिरहेका छन् । हामीले ती पाखाहरुलाई सदुपयोग गरेर नयाँ किसिमको बोटबिरुवा लगाउन सकिन्छ । भएकै बिरुवा व्यापक संरक्षण गरेर घाँस उत्पादन गर्न सकियो भने व्यावसायिक पशुपालनको सम्भावना छ । भोलि गएर व्याकुल माइला गोल्ड कप सञ्चालन भएका स्थल हिलेपानी वरपर ठाउँहरुमा दूग्ध संकलन केन्द्र चलाउन सकिन्छ । पशुपालनबाट फाइदा लिनसकिने सम्भावना प्रशस्तै देखिन्छ ।
परम्परागत खेती र व्यावसायिक खेतीमा के कति फरक छ ?
परम्परागत खेती जीविकोपार्जनमा सीमित हुन्छ । व्यावसायिक खेती भन्नाले आर्थिक उपार्जनका दृष्टिकोणले लिइन्छ । सबै किसिमले फाइदाजनक हुनुप¥यो । त्यसले गर्दा हामीले कुनै पनि चिजलाई जिविकोपार्जन गर्ने र व्यावसायिक खेती गर्ने तरिका फरक हो । व्यावसायिक खेतीमा सबै आर्थिक हिसाबकिताब राखिन्छ । दृष्टिकोण फाइदा लिने हो । मकै बालीको कुरा गरौं । हामीले मकै फलाएर आफूले खाने, पशुलाई खुवाउने भनेर सुकाएर राख्यौं भने जिविकोपार्जनको हिसाबले बुझ्छौं । त्यही मकैको गद्रीलाई टक्क बाटोमा पोलेर बेच्यौं भने सय घोगा मकैको कमसेकम एकहजार रुपैयाँ कमाइन्छ । तर त्यही सय घोडा मकै पाकेपछि सुकाएर बेच्ने हो भने डेढसय रुपैयाँभन्दा बढ्दा कमाई हुँदैन । यसरी चार–पाँच गुना बढी फाइदा दिने आर्थिक दृष्टिकोणसँग जोड्नु व्यावसायिक खेती हो ।
परम्परागत खेतीपातीबाट उत्पादित बिउबिजन बिस्तारै मासिदै छ । जोगाउनु पर्छ पर्दैन ?
परम्परागत बिउहरू जोगाउन जरुरी छ । परम्परागत बालीका ती जातहरू जोगाउन ‘जिन बैंक’ स्थापना गरिएका छन् । त्यसलाई संरक्षण गर्नकै निम्ति हो । ती जातहरूलाई आधार मानेर अरु जातहरूसित क्रस गराएर, वर्णसंकर निकालेर राख्न सकिन्छ । संरक्षण गर्न सकिन्छ । होइन भने ती हामीसँग भएको जुन वंशाणुगत बिउ राख्ने जिन बैंक भन्छौं, त्यहाँ राख्न जरुरी छ । त्यसको आफ्नै किसिमको महत्व हुनसक्छ ।
कृषकले वैज्ञानिक तहमा गर्न सक्दैनन् । तैपनि जोगाउन के गर्न सक्लान् ?
हामीहरु (वैज्ञानिक)ले हेरिसकेपछि त्यो ठाउँमा त्यो बिउले फाइदा दिएको छ कि छैन ? अरुसँग तुलना गरेर हेर्दा स्थानीय जातहरू त्योभन्दा राम्रो पनि हुनसक्छ । त्यो बिउका जातहरूलाई कृषकस्तरमा बचाएर राख्न जरुरी छ ।
पहिले कपास खेती गरेर तान बुनेर खाँडीको कपडा लगाउँथ्यौं । त्यसैगरी पुनः कपास खेती र कपडा उत्पादन गर्न कत्तिको व्यवहारिक हुन्छ ?
पहिले हामीहरूले जुन किसिमले कपास खेती गरेर, खाँडी कपडा बुनेर प्रयोग गथ्र्यौं । त्यो किसिमले बजार माग पूरा गर्ने अवस्था छैन । माग धेरै, उत्पादन थोरै हुन्छ । खर्चिलो बढ्ता हुन्छ । धेरै महँगो पर्न जान्छ । खाँडी जसले पायो उसले किनेर लगाउन सक्ने अवस्था हुँदैन । आय आर्जनका दृष्टिले ती चिजहरू व्यवहारिक हुन्न । पहिले ती चिजहरू सीमित थिए । अहिले संसार भनेको एउटा परिवारजस्तो भइसकेको छ । संसारको कुन कुनामा के चिजको सम्भावना छ त्यसलाई व्यावसायिक दृष्टिकोणले हेर्छौं । त्यो किसिमले हेर्दा कपास खेती लगाएर हामीलाई फाइदा हुने अवस्था छैन ।
कोसी किनारा सुख्खा क्षेत्रमा कुन–कुन अन्नबाली उपयुक्त छन् ?
कोसी किनाराको सुख्खा क्षेत्रलाई हेरेर लगाउन दाल बाली सबभन्दा बेस छ । अन्नबालीमा मकै, जुनेलो, कोदो अलि सुख्खा सहनसक्ने हुन्छन् । कम पानीमै फल्ने तर अति महँगोमा बिक्ने दाल बाली हुन् । जुन चिजलाई अहिले विदेशबाट ल्याएर परिपूर्ति गर्नुपरेको छ । नेपालमा अस्ट्रेलियाबाट चना, अफ्रिकाबाट रहर (दाल), बर्मा र भारतबाट मुङी दाल आयात गरिन्छ । त्यस्तै, क्यानडाबाट केराउ आउँछ । दाल बालीलाई सुख्खा क्षेत्रमा लगाएर आय आर्जन बढाउन सकिन्छ । र त्यस भेगका लागि असाध्यै सुहाउँदो बाली यिनै हुन् ।
तपाईले यो पटक व्याकुल माइला गोल्ड कप भएकै क्षेत्रमा कृषकलाई दालको बिउ उपलब्ध गराएर परीक्षणका रुपमा उमार्न लगाउनु भयो । परिणाम कस्तो पाउनु भयो ?
यस पटक केही थोरै परीक्षणका रुपमा कल्याण भन्ने मुङी दाल, सूर्य भन्ने बोडी र गोलभेडाको बिउ पठाएको थिएँ । दाल र बोडी उमारेको पाएँ तर समयको अभावले गोलभेडा हेर्न भ्याइन । स्थानीय बोडी, मासको दाल पाक्न पाँच महिना लाग्छ भने सूर्य बोडी र मुङी मास साढे दुई महिनामा तयार हुन्छ । कालो मासहरु सालको एक पटक उत्पादन गर्न सक्छौं भने मुङी मासहरु सिंचाई भएको अवस्थामा वर्षमा दुई बाल पाक्छ । यी बालीहरु त्यहाँका लागि असाध्यै सुहाउँदा रहेछन् भन्ने यसपटक थोरै लगाएको नमुनाबाट देखिएको छ । तरैपनि अलि ढिलो छरिएकोले तारिफयोग्य फलेको पाइएन ।
कृषकहरुले प्रयोग गरेको मलचाहिं कस्तो किसिमको छ ?
कृषकले धेरैजसो गोबरको कम्पोस्ट मल प्रयोग गरेको छन् । यी दालहरूलाई त्यत्ति धेरै मल चाहिंदैन । गोबर मल प्रयोग गर्नसके असाध्यै वेश हुन्छ । रासायनिक मल प्रयोग गर्न उचित होइन । लाइकिरा लागेमा सुर्ती, खरानीजस्तो वस्तु घोलेर लगाउन सकिन्छ ।
त्यस भेगमा कस्तो फलफूल लगाउन उचित हुन्छ ?
त्यो क्षेत्रमा रुख कटहर, अनार, जुनार जस्ता तीन–चारवटा फलफूल छन् । जसलाई व्यापक रुपमा लगाउन सकिने सम्भावना छ ।
गर्मी ठाउँमा उहिल्यैदेखि सरिफा (स्थानीयले आँक, आँटा भन्छन्) फल्छ । यसलाई कसरी कृषिमा जोड्न सकिएला ?
यसपटक सरिफा अचम्म भएको रहेछ । सरिफा फलेको देखिएन । किन देखिएन ? भनेर सोधेको थिएँ । यसपटक यस्तो हुइम आयो जसले गर्दा सरिफाको फूलै टिपेर बोराका बोरा बनाएर स्थानीयले राखेका रहेछन् । कुनै मान्छे आएर डेढ दुई सय किलो लगे पनि होलान् । फूलै टिपिएका सरिफा देख्न पाइएन । तर त्यसरी सरिफाको फूल के प्रयोजनका लागि त्यसरी टिपाइयो आश्चर्य लागेको छ । (कुनै बाहिरबाट आएका अवैध व्यापारी आएर सरिफाको फूल प्रति किलो एकहजार रुपैयाँका दरले किन्ने भनेपछि स्थानीयले सरिफाको फूलै टिपे तर पछि त्यो मान्छे आएन भन्नेछ ।)
सुख्खा क्षेत्रमा हुने फलफूलमध्येका एक सरिफा पनि हो । त्यही सरिफालाई पनि हामीले व्यावसायिक दृष्टिकोणले अगाडि ल्याउन सक्यौं भने वेस हुनसक्छ । फूलै टिप्नचाहिं हानिकारक हो ।
कृषकहरू परम्परागत सुर्ती खेती गर्दैछन्, कत्तिको उपयुक्त हो ?
सुर्ती सुख्खा क्षेत्रमा लगाइने हुँदा परम्परागत खेती बन्यो । व्यावसायिकभन्दा पनि जिविकोपार्जनका लागि गर्जो टार्ने किसिमको खेती गरिएको हो । पहिले बिंडी (सुल्पा), काँचोपात, तमाखु खाने चलन थियो । यो क्रम घट्दै गएको छ । सुर्ती खेतीलाई उद्योगका रुपमा बढावा दिन सक्ने स्थिति छैन । सरकारले ‘सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६६’ लागू गरेकोले सुर्तीजन्य नगदेबालीबाट आर्जनको दृष्टिले सम्भावना टुट्दै गएको छ । त्यसैले स्थानीय जनजीवन, मानिसहरुलाई सुर्ती खेतीको फाइदा, बेफाइदाको बारेमा बुझाएर तुलनात्मक किसिमले त्यत्तिकै वा त्योभन्दा बढी आम्दानी दिनसक्ने अरु बालीहरु लगाउनेतर्फ सोच्न जरुरी देखिन्छ ।
यस क्षेत्रमा कस्ता रुखबिरुवा लगाउन उपयुक्त हुन्छ ?
सुख्खामा हुनेमध्ये खयर त्यहाँ छ । त्यसैलाई सघन रुपमा लिएर जान सक्छौं । त्यसबाहेक टाँकी, कोइरालाजस्ता बिरुवा जुन पशुहरुलाई खुवाउन पनि काम लाग्छ । सकभर काठ, फल र घाँसका रुपमा प्रयोग गर्न सकिने वृक्षहरु लगाउन सकिन्छ । सुहाउँदा किसिमका रुख बिरुवा पत्तालगाएर लगाउन सकिन्छ ।
यसपटक मध्यपहाडी लोकमार्ग भएर हलेसी महादेवको दर्शन गर्न पुग्नुभयो । यो लोकमार्गले छोएको सबै बस्तीहरु सुख्खा देखेर तपाईलाई कस्तो लाग्यो ?
यसपटक म हलेसी पुगें । जाँडा गाडीमा र आउँदा जयरामसम्म पैदल हिंडेर फर्किएँ । लोकमार्ग जनजीवनसँगै जोडिदैछ । प्राविधिकको दृष्टिकोणले हेर्दा कृषि तथा पशुपालनका धेरै सम्भाव्य ठाउँहरू छन् । फलफूल, तरकारी र पशुपालन । यो कृषिको दुईवटा हाँगा हुन् । यसलाई लिएर जान जरुरी छ । यसले ठूलो परिवर्तन ल्याउन सक्छ ।
अहिले लोकमार्ग र अन्य पहाडी भूभागमा बनेका सडकमार्ग हेर्दा एकोहोरो सामानमात्रै लगेको पाउँछौं । सामान लिएर गएको ट्रक रित्तो फर्कन्छ । त्यसैले हामीले के सोच्न जरुरी छ । जुन किसिमले ट्रकमा खानेचिज लिएर जान्छ, त्यो ट्रकमा त्यहाँ उत्पादित वस्तुहरु त्यत्तिकै भरेर पठाउनु पर्छ भन्ने खालको सोच बन्न जरुरी छ । यस खालको सोचाई नबन्दा राजमार्ग बनेको तीसौं वर्षपछि पनि रहिरहेको अवस्था छ ।