सेवा भट्टराई आइतबार, मंसिर ३०, २०८१
सुनुवार समुदायको उँधौली उँभौलीमा जीवनपद्धति, कला र संस्कृतिसँगै प्रकृतिको सम्मान र दिगोपनको अभ्यास पनि जोडिएको छ।
किरात समुदायले मंसीरमा उँधौली र वैशाखमा उँभौली मनाउँछ। यसमध्ये एक हो, वल्लो किरात पनि भनेर चिनिने कोइच सुनुवार समुदाय। थोरै जनसंख्या भए पनि यो समुदाय संस्कृतिमा भने धनी छ।
नेपालको मध्य र पूर्वी पहाडी र हिमाली क्षेत्रमा बग्ने लिखु, तामाकोशी, सुनकोशी, खिम्ती, मोलोङ खोलाका वरिपरि पर्ने दोलखा, रामेछाप, सिन्धुली, ओखलढुंगा लगायत जिल्लामा सुनुवार समुदायको बसोबास पाइन्छ। करीब ८० हजारको हाराहारीमा जनसंख्या रहेको सुनुवार समुदायका चाडबाड, संस्कृति र भाषाका विशेष मौलिकता छन्।
किरात समुदायले मनाउने उँधौली र उँभौली उत्सवको प्रकृतिसँग सम्बन्ध पाइन्छ। विशेषगरी सुनुवार समुदायले ‘मुक्दुम’ भनिने मौखिक परम्परा अनुसार यी चाडपर्व मनाउँछ। “कुल कुलायनदेखि लिएर इष्टमित्र, कुलपितृहरू, देवी देउराली सबै बुझाइन्छ। उनीहरूलाई पानी फेर्ने, धूप दिने गरिन्छ,” दोलखाका पदमबहादुर सुनुवार भन्छन्, “दाजुभाइ, दिदीबहिनी, इष्टमित्र, बाउआमा सबै मिलेर जमघट गर्ने, रमाइलो गर्ने पनि पर्व हो।”
यी पर्वको शुरूआत र अन्त्यमा प्रकृति र पितृको सम्झना गरिन्छ। “सबैभन्दा पहिले ढोललाई पिँदार गर्दा अधिपति मानेर आगो भाक्छौं। त्यसपछि प्रकृति, पितृहरू, देवीदेउतासँग माफी माग्दै वातावरणको पूजा गर्छौं,” सुनुवार संस्कृतिकी ज्ञाता तथा अभियन्ता शोभा सुनुवार भन्छिन्, “अनि उहाँहरूसँग अनुमति मागेर काम शुरू गर्छौं।”
पर्वको अन्त्यमा पनि त्यसैगरी प्रकृति र पितृलाई भाकिन्छ। पर्व सम्पन्न गर्दा प्रकृति र पितृसँग क्षमायाचना गरिने बताउँदै पदम भन्छन्, “हामीले तपाईंहरूलाई यति समय यसरी बोलायौं, त्यसो भनेर प्रकृति र पितृसँग माफी मागरेर अन्त्य गर्छौं।”
उँधौली र उँभौलीमा विशेष संगीत
सुनुवार समुदायले दुवै पर्वमा जीवनपद्धति, उत्पत्ति र इतिहासको कुरा गर्ने र बुझ्ने गरेको शोभा सुनाउँछिन्। यो वेलामा गरिने विधानलाई स्याँदर पिँदार भनिन्छ। उँधौली र उँभौली पर्वमा ढोल र झ्याम्टा लिएर नाच्ने गरिन्छ र हरेक चरणको छुट्टाछुट्टै ताल हुन्छ। “हामी किराती एउटा दर्शनमा विश्वास राख्छौं। त्यसलाई आधार मानेर मुक्दुम अनुसार विधान गर्छौं,” उनी भन्छिन्।
मुक्दुममा उँधौली, उँभौली, पिंदार गर्दा के के गर्ने भन्ने बेग्लै कथा हुन्छ। गीतमा शब्द थोरै हुन्छन्। “हेर्दा ढोल मात्र बजाएको देखिन्छ, तर त्यसको ताल र हामीले लगाएको लुगा समेतले एउटा कथा भनिरहेको हुन्छ,” शोभा थप्छिन्, “बुझ्नेले चाहिं धुनहरू बुझेर कुन वेला के गरेको भनेर ठ्याक्कै थाहा पाउँछन्।”
प्रकृति र पितृको पूजापछि संगीत र नृत्यले प्रकृतिसँग सम्बन्धित अरू विभिन्न चरण दर्शाउँछन्। जस्तै- धोबिनी चराको चरण नाचमा त्यो चराको नक्कल गरिन्छ। पुरुषले लगाउने कपडा र ढोल झ्याम्टाको तालले धोबिनी चराको पखेटा र हाउभाउ जनाउँछ। त्यसपछि किल्लो भनिने कल्चुँडा चरा देखाइन्छ। यस्तै अरू पनि नृत्य गरिन्छन्।
यी सबैले प्रकृतिका विभिन्न अवयवसँग सुनुवार समुदायको निकटता दर्शाउँछन्। खासमा, उँधौली र उँभौली पर्वका आधार नै प्राकृतिक ऋतुचक्र र त्योसँग सम्बन्धित कृषक र पशुपालन गतिविधि हुन्।
प्रकृति प्रेम
हिउँदमा उँधौली पर्व मनाइन्छ, जब लेकका वस्तुभाउलाई उँधो बेंसीतिर झारिन्छ। “मैले पुर्खाबाट सुन्दै आएको कुरा के हो भने, हाम्रो ‘डेली’ हुन्छ, सामल-खाजा बोक्ने बाँस वा निगालोको भाँडो। त्यो डेली जता फर्क्यो, त्यतैबाट यो पर्वको नाम छ,” शोभा सुनाउँछिन्, “डेली जता फर्कायो, वस्तु त्यतै फर्किन्छ। डेली हेरेर लेक लागेको र बेंसी लागेको वस्तुलाई पनि थाहा हुन्छ भन्ने कथन छ।”
कतिपय चराचुरुंगीु र जनावर पनि जाडो याममा न्यानो ठाउँतिर झर्ने र गर्मी याममा शीतल ठाउँतिर उक्लिने गर्छन्। प्रकृतिको यही रीत अनुसार नै प्राचीन सुनुवार जीवनशैली बनेको देखिन्छ। वैशाखमा वस्तुभाउलाई उँभो लगेको प्रतीकमा यो समुदायले उँभौली मनाउने गर्छ।
विशेषगरी उँभौलीमा बालीनाली लगाउने सन्दर्भ हुन्छ भने उँधौलीमा त्यही बाली उठाउने सन्दर्भ। “उँभौलीमा अन्नबालीको बीउ राख्दै छौं, बाँझो बारीमा बीउ राख्दै छौं, अन्नबाली लाउने वेला हो, राम्रो फलोस्, फुलोस् भन्छौं,” पदम सुनाउँछन्, “यो बालीलाई हावाहुरी वा अरू कुनै पनि चिजले असर नगरोस् भनेर भाकल गर्दै बालीनाली राम्रो होस्, कुनै अप्रिय घटना नहोस्। मानव, जीवजन्तु, चराचुरुंगी, वनस्पति सबैलाई राम्रो होस् भनेर प्रकृतिलाई पुज्छौं।”
उनका अनुसार सुनुवार समुदायको परम्परा कन्दमूल खाने, शिकार खेल्ने हो। त्यसैले यो वेलामा प्रकृति, देवी-देउराली, शिकारी सबै पुज्ने गरिन्छ।
उँधौलीमा प्रकृतिप्रतिको सुनुवार समुदायको सम्मान अझ झल्किन्छ। “धान, कोदो जस्ता बाली उठाउने समय हो। त्यो उठाउँदा, बारी खनजोत गर्दा कीरा, फट्यांग्रा, कमिला, चराचुरुंगीं आदि जीवजन्तु मारेका हुन सक्छौं,” शोभा भन्छिन्, “त्यो सबैका लागि माफ पाऔं भनेर प्रकृतिलाई भन्छौं। हामीले गरेको यस्तो गल्ती अन्जानमा हो, तपाईंको आज्ञाले हामी खाँदै छौं भनेर पूजा गर्छौं।”
सम्मान र संरक्षण
मानिसलाई पृथ्वीको मालिक ठान्ने, प्राकृतिक स्रोतलाई मानव-केन्द्रित दृष्टिकोणले मात्र हेर्ने र प्रकृतिको अत्यधिक दोहन गर्ने आधुनिक र विशेषगरी पश्चिमा प्रवृत्तिभन्दा उँधौली उँभौलीको अभ्यास बिल्कुल फरक छ। प्रकृतिको सम्मान गर्ने यो प्रवृत्तिले संरक्षणमा पनि योगदान पुर्याइरहेको हुन्छ। आधुनिक तरीकाले भित्रिइरहेको ‘दिगोपन’ को अवधारणा नेपालका आदिवासी समुदायमा पहिलेदेखि नै रहेको सुनुवार समुदायका अभ्यासले देखाउँछन्।
सुनुवार समुदायले रूख काट्दा पनि क्षमा माग्ने र एउटाको ठाउँमा दुइटा बिरूवा रोपेर मात्र रूख काट्ने गरेको शोभा बताउँछिन्। “प्रकृतिसँग अनुमति मागेर, धर्ती र वातावरणलाई पूजा गरेर ‘म यो रूख काट्दै छु, मलाई अनुमति दिनुस्, तलमाथि नगरिदिनुस्, चोटपटक नलागोस्, यो काटेर घर बनाउँदै छौं वा दाउरा बाल्दै छौं’ भनेर मात्र काट्छौं,” उनी थप्छिन्, “त्यति वेला आफ्नै तरीकाले क्षमा मागिन्छ, कसै कसैले कुखुरा काटेर बलि दिन पनि सक्छन्।”
त्यस्तै, सुनुवार समुदायको उँधौली उँभौली लगायतका पितृकार्यमा नभई नहुने तितेमाछाको पनि विशेष संरक्षण गरेका हुन्छन्। शोभाका अनुसार साउन-भदौमा तितेमाछा बच्चा पार्न आउँछ। मौसम अनुसार अनुमान लगाइन्छ। जेठतिर गड्याङगुडुङ गर्यो भने तितेमाछा आउने वेला भयो भन्ने गरिन्छ।
खोलाछेउका मुहानमा अन्डा पार्न आउने तितेमाछा केही समयका लागि मात्र भेटिन्छ। अन्डा पारेर फर्किंदै गरेका माछा समाउने गरिन्छ र तर त्यो वेला सबै माछा नष्ट गरिंदैन। “आधी मात्रै समातेर आधी चाहिं उसको उत्पादनका लागि चाहिन्छ, उसले बच्चा दिनुपर्छ भनेर छोड्छौं,” उनी भन्छिन्, “सबै मास्नु हुँदैन, केही जोगाउनुपर्छ भन्ने आदिवासीको मान्यता छ। यो ज्ञान हो, वैज्ञानिकीकरण नभएको मात्रै हो।”
यो अभ्यासले स्थानीय वातावरणसँग सुनुवार समुदायको गहिरो अध्ययन र अन्योन्याश्रित सम्बन्ध देखाउँछ, जसमा अथाह ज्ञान छ। नेपालमा अरू पनि आदिवासी र जनजाति समुदायमा यस्ता अभ्यास पाइने गरेको वन क्षेत्रमा लैंगिकता र आदिवासी समुदाय सम्बन्धी विज्ञ सुशीलाकुमारी थापा मगर बताउँछिन्। “वनका गिठ्ठा, भ्याकुर, कन्दमूल खोज्दा एउटा निश्चित आकार र तौलभन्दा ठूला मात्र खाने र साना नटिप्ने तथा माछा जालमा पारिसकेपछि ठूला माछा मात्र राख्ने र भुरा पानीमा छोडिदिने चलन छ,” सुशीला भन्छिन्, “यी अभ्यासले जल र जंगलसँग आदिवासी जनजातिको नजीकको सम्बन्ध र दिगोपनाको गहिरो परम्परागत ज्ञान दर्शाउँछन्।”
नेपालमा पनि ‘ओभरहार्भेस्टिङ’ अर्थात् अत्यधिक दोहनले प्राकृतिक स्रोतमाथि दबाब बढेको र यार्सागुम्बा जस्ता प्राकृतिक जडीबुटीको मात्रा र गुणस्तर घटिरहेको संरक्षणकर्मी बताउँछन्। अत्यधिक दोहनले नेपालमा मात्र नभएर विश्वमै निम्त्याउने समस्या बढिरहेका छन् भने यस्ता समस्या समाधानका परम्परागत उपाय उपेक्षित हुनुका साथै मासिंदै गएका छन्।
आदिवासी अभ्यासमा अवरोध
विश्वमै आदिवासी अभ्यास मासिंदै गएका सन्दर्भमा नेपालको सुनुवार समुदायले पनि समस्या भोगिरहेको छ। उदाहरणका लागि तितेमाछा। सुनुवार समुदायको पिँदारमा नभई नहुने, चढाउनै पर्ने यो माछा अर्थोपार्जनको बाटो पनि हो। तर हाल कतिपय खोलामा तितेमाछा नै मासिंदै गएको शोभा बताउँछिन्। “सुनुवारहरू बसोबास गर्ने लिखु, खिम्ति खोलातिर तितेमाछा पाइन्छ। ती क्षेत्रमा जलविद्युत् आयोजना बन्दा पुर्खाले जोगाइराखेको वनजंगल र खोलानालामाथि अतिक्रमण भयो,” उनी भन्छिन्, “जलविद्युत् आयोजनाले पानी थुनेपछि खोलामा माछा नै हुन छोडे। तितेमाछा सम्झेर मात्रै पिँदार गर्नुपर्ने स्थिति पनि आएको छ।”
त्यसैगरी, उँधौली उँभौली पर्व ऋतु अनुसार वस्तुभाउ सहित बसाइँ सर्ने ‘पास्टोरल’ अर्थात् घुमन्ते पशुपालक जीवनशैलीमा आधारित छन्। अहिले भने त्यो जीवनशैली फेरिंदै गएको छ। “घुमन्ते जीवनशैली ३० वर्षअघिसम्म केही मात्रामा थियो, अहिले छैन नै भन्दा हुन्छ,” शोभा भन्छिन्, “किनभने एक त वस्तुभाउ पनि कम छन्। अर्को, विकासका नाममा विनाश भइरहेको छ। गाउँ शहरमुखी भएका छन्।”
अर्कातिर, खेती विषादिमुखी भएको छ। गाउँघरमा खाद्यान्न उत्पादन घट्दै गएको छ। धाराकुवा मासिंदै गएका छन्। जसले गर्दा संस्कृतिमा पनि असर परेको उनको भनाइ छ।
ऐतिहासिक बहिष्करण
संस्कृति र जीवनशैली मासिनुमा राज्यलाई नै दोषी देख्छिन्, शोभा। जलविद्युत् आयोजनाका कारण खोलामा सुनुवार समुदायको पहुँच घट्यो। जबकि माछा मार्न, शव बगाउन, सिंचाइ गर्न, खोलाको पूजा गर्न सुनुवार समुदाय खोलामा पुग्थ्यो। वन सरकारको नियन्त्रणमा पुग्दा मर्दापर्दा चाहिने पात र दाउराका लागि अनुमति लिनुपर्ने भयो। यससँगै वनमा पूजा गर्न पनि नपाइने भयो।
खोलानाला र भूमिमाथिको आधिपत्य मात्र नभएर समुदायका प्रथाजनित कानून, मुखिया जस्ता परम्पराका माध्यमबाट आत्मनिर्णय गर्ने अधिकार पनि बिस्तारै राज्य प्रशासनले मेट्दै गएको उनको भनाइ छ। राज्यले ऐतिहासिक रूपमा बहिष्करण गरेर सुनुवार समुदायमाथि हिन्दूकरण लादेको शोभाको जिकिर छ। “राज्यले सुनुवारको भाषा, संस्कृति खोस्यो। धर्म, संस्कार, संस्कृतिमाथि हिन्दू धर्म लाद्न थाल्यो,” उनी भन्छिन्।
यसमा उनी केही उदाहरण दिन्छिन्। उनका अनुसार ‘सुनुवार’ शब्द यो समुदायको आफ्नो भाषाको शब्द होइन्। उनीहरूले ऐतिहासिक रूपमा आफूलाई ‘कोइच’ भन्दै आएका थिए। अहिले पनि आफ्नो समुदाय र भाषालाई कोइच नै भन्छन्। थातथलोबाट किपट खोसिएर बसाइँ सर्दै हिंड्दा सुनकोशीको वारिपारि बस्न पुगेकाले ‘सुनुवार’ भनेर बोलाउन थालिएको शोभा बताउँछिन्।
त्यस्तै, मंसीर र वैशाख पूर्णिमामा मनाइने चाडपर्वका लागि आफ्नै नाम छन्। सुनुवार समुदायले ‘स्याँदर-पिँदार’ भन्ने गरेको छ, तर नेपाली भाषाका शब्द ‘उँधौली-उँभौली’ प्रचलनमा ल्याइएको छ।
नेपालमा किरात समुदायले नै पहिले बसोबास गरेको जिकिर गर्दै अहिले त्यही समुदायको संस्कृति मासिंदै गएको उनी चिन्ता जनाउँछिन्। “यो देशमा सबैभन्दा पहिला खोरिया फाँडेर अधिपति गरेको किरात समुदायले हो भन्ने हाम्रो इतिहास नै छ,” उनी थप्छिन्, “प्रथम किरात राजा यलम्बरका सन्ततिले यो देशमा ७०० वर्षसम्म राज्य गरेका थिए। हामी तिनै किरातका सन्तति हौं।”
गोकर्ण, हात्तीवन जस्ता ठाउँमा किराती राज्य थिए र ती पिँदार गर्ने भूमि थिए भन्ने स्वीकार गरेर राज्यले केही हदसम्म ती ठाउँ दिएको उनी सुनाउँछिन्। यतिले मात्रै संस्कृति नजोगिने उनको मत छ। शोभा भन्छिन्, “समग्रमा राज्यले हामीलाई हाम्रो संस्कृति र जीवनपद्धतिबाट विमुख गराइरहेको कुराको सम्बोधन गर्नुपर्छ। हरेक समुदायको संस्कृति बचाउनु त राज्यकै कर्तव्य हो।”
मायाको चिनो सुखुप
सुनुवार महिलाले लगाउने विशेष गहना हो, सुखुप। यसले सुनुवार समुदायको प्रकृतिसँगको सम्बन्ध पनि झल्काउँछ। मालिंगोले बनेको सुखुप हेर्दा सानो दुईमुखे काइँयो जस्तो देखिन्छ। यसलाई महिलाले मुगाको मालामा झुन्ड्याउने गर्थे। “कतै जीउमा घाउ, डाबर आयो भने पनि यो दल्दा निको हुन्छ भन्ने जनविश्वास छ,” शोभा भन्छिन्।
पितृको नाममा पिँदार गर्दा पनि सुखुपको काम आउँछ। कपाल राम्रो हुन्छ भनेर त्यो वेला कोर्ने गरेको उनी सुनाउँछिन्। “चोखो चाहिने हुनाले जुम्रा, लिखा झारेको सुखुप नचलाउने र तेल लाएर सेकेको चोखो सुखुप चलाउने चलन छ,” उनी भन्छिन्, “अरू वेलामा सुखुपलाई घिउ, तेल लगाएर, माया गरेर, सेकेर राख्नुपर्छ।”
सुखुप पारुहोपो र सुम्निमाको मिथकसँग पनि जोडिएको छ। केटा र केटी छुट्टिएछन्। केटा आकाशतिर जाँदा उसकी मायालु धर्तीमा तान बुन्दै रहिछन्। अनि चिन्नका लागि केटाले यो सुखुप झारेछन्। त्यो देखेपछि केटीले आफ्नो प्रेमीले झारेको भनेर चिनिछन्। त्यसरी चिनेको हुनाले सुखुपमा आत्मा हुन्छ भन्ने मिथक पाइन्छ। “सुखुप झर्यो भने जसको आत्मा धर्तीमा छ, त्यसको सास जान्छ भनिन्छ। त्यसैले यसलाई कुल्चिंदैनौं,” उनी भन्छिन्।
आत्मा हुन्छ भन्ने विश्वासले केटाले केटीलाई मायाको चिनोका रूपमा सुखुप दिने चलन छ। यो धेरै जनालाई बाडिंदैन, एक जनालाई मात्र दिइन्छ। जसरी काइँयो हार मिलाएर खिपेको हुन्छ, त्यसरी नै माया खिपिन्छ भन्ने विश्वास छ। शोभा थप्छिन्, “हाम्रा पुर्खाले गहना बनाउन मुगा, काँडेमाला बनाएका थिए र त्यसमा सुखुप झुन्ड्याउँथे। अहिले सुखुप माला एन्टिक भइसक्यो, जताजतै पाइँदैन।”
आइतबार, मंसिर ३०, २०८१ ०७:२५ मा प्रकाशित
https://www.himalkhabar.com/news/143487