डा. माधव प्रसाद पोखरेल
२०७६ फाल्गुण १० शनिबार ०९:०८:००
११ माघमा ८५ वर्षको उमेरमा ज्ञानीमैयाँ सेनको देहान्त भएपछि कुसुन्डा भाषा लोप भयो भन्ने खबर समाचार माध्यममा आयो । कसैले अर्की वक्ता कमला खत्री बाँकी रहेको, तर उनी ज्ञानीमैयाँ जत्तिकै त्यो भाषा बोल्न नजान्ने भन्ने झुटा कुरो पनि सार्वजनिक गरे । अखबारहरूले तनहुँका राजामामा बितेका वेलामा पनि ‘कुसुन्डा भाषाका अन्तिम वक्ता सिद्धिए’ भन्ने समाचार कथुरे ।
वास्तविक कुरो के हो भने, कुसुन्डा भाषा सबभन्दा बोल्न जान्ने चाहिँ रोल्पाकी कमला खत्री नै हुन्, ज्ञानीमैयाँको नम्बर त्यसपछि मात्र आउँथ्यो, त्यसपछि दाङका प्रेमबहादुर शाही हुन् । राजामामालाई केही शब्द (२२%) मात्र आउँथ्यो, वाक्य आउँदैनथ्यो । डा. चूडामणि बन्धुको सौजन्यले प्रेमबहादुर नै मैले भेटेका कुसुन्डाका पहिला वक्ता हुन् (०५३ मा)। उनलाई पनि वाक्य आउँदैनथ्यो, आधारभूत शब्द (६४%) मात्र आउँथ्यो ।
जनजाति विकास समितिले ०५७ सालमा तनहुँबाट राजामामालाई काठमाडौँमा ल्यायो । डा. बन्धुले राजामामाकी आमा (विष्णुमैयाँ) लाई भेटेका रहेछन् । उनलाई चाहिँ बोल्न आउँथ्यो अरे । उनले रेकर्ड गरेको विष्णुमैयाँसँगको कुराकानी मसित पनि छ । बीके रानाले मलाई कुसुन्डा भाषा फरर्र बोल्न सक्ने देउखुरीकी ज्ञानीमैयाँ र रोल्पाकी पुनी ठकुरी छन् भन्ने सूचना दिएका थिए । त्यसै सूचनाका आधारमा समितिले एउटा टोली कुसुन्डाहरूको खोजी गर्न पश्चिम तिर पठायो । त्यो टोलीकी सदस्य सँगिनी राना मगरले कुसुन्डाहरू कहाँ कहाँ भेटिए भन्ने सूचना (‘कुसुन्डा जातिको संस्कृति’, ‘कान्तिपुर’, ०५७ साउन १४) प्रकाशित गरिन् ।
विसं. ०६१ वैशाखमै जनजाति महिला मञ्चले तिन जना कुसुन्डा (ज्ञानी, कमला र प्रेम) लाई काठमाडौँ ल्यायो । तिनीहरू मध्ये एकजना ज्ञानीमैयाँ (६७) थिइन् । उनी प्रेमबहादुरकी भान्जी रहिछन् । उनी कुसुन्डा भाषा नअड्की बोल्न सक्ती रहिछन् । ज्ञानीमैयाँकी चाहिँ आमा कुसुन्डा बाबु मगर भएको कुरो उनले मलाई सुनाएकी थिइन् । ज्ञानीमैयाँकै कुरो अनुसार उनकी कान्छी आमा पुनी ठकुरी कुसुन्डा भाषा ऊ भन्दा नअड्की बोल्न सक्थिन् अरे । पुनी चाहिँ प्रेमबहादुरकी बहिनी भनेर मलाई ज्ञानीले सुनाएकी थिइन् । प्रेमबहादुर र पुनीका चाहिँ आमाबाबु दुवै कुसुन्डा अरे । कमला चाहिँ पुनीकी छोरी रहिछिन् । मैले ज्ञानी र कमला दुवै जनालाई पहिलो पल्ट त्यहीँ भेटेको हुँ । मैले भेट्ता ज्ञानी र कमला दुवै जना फरर्र बोल्न सक्थे, तर प्रेमबहादुरले चाहिँ आठ वर्ष अघि भन्दा अरू बिर्सेछन् ।
जनजाति प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालय भाषा विज्ञान विभागको सहभागितामा ज्ञानी, कमला र प्रेमलाई कीर्तिपुरको एउटै घरमा बसाएर ३ महिनासम्म हामी (डेभिड वाटर्स, बलराम प्रसाईँ, योगेन्द्र यादव र म) ले कुसुन्डा भाषाको अभिलेखीकरण गर्यौँ । त्यस अध्ययनको फल ‘ए नोट्स अन कुसुन्डा’ (२००५ इ) भन्ने किताब प्रतिष्ठानले निकाल्यो, मैले ‘कुसुन्डा भाषाको सर्वनामीकरण’ भन्ने लेख प्रकाशित गरेँ । त्यो तिन महिनासम्म एउटै डेरामा बसेर कुसुन्डा भाषा बोल्दा ज्ञानीमैयाँले झन्डै साठी वर्ष सम्म बोल्न नपाएको भाषा झन फरर्र भयो भने, प्रेमबहादुरले झन्डै ६५ वर्ष बोल्न छोडेर बिर्सेको भाषा पनि अलिकति पलायो ।
संवत् ०६७ मा अस्ट्रेलियन नेसनल युनिभर्सिटीका डा. मार्क डोनोह्युले मसँग कुसुन्डा भाषाको अध्ययन अघि बढाउन बल मागे । खर्च उनले हाल्ने, चाँजो मैले मिलाउने टुंगो लाग्यो । म भोजराज गौतम भन्ने भाषा विज्ञानको उत्कृष्ट चेलालाई साथ लिएर रोल्पामा पुनी ठकुरीलाई भेट्न काठमाडौँबाट हिँडेँ । दाङ पुग्दा नपुग्दा पुनी ठकुरी एक वर्ष अघि नै बितिसकेको र कमला पनि बनी गर्न महाकाली पारि गएको थाहा भयो । त्यसपछि हामी ज्ञानीमैयाँकै भाषाको अभिलेखीकरण गर्न बाध्य भएर कुलमोहोर पुग्यौँ । मैले भोजराजलाई ज्ञानीमैयाँकै छिमेकमा खाने बस्ने चाँजो मिलाई दिएँ, उनको भाषाका पाठ कसरी बटुल्ने र विश्लेषण गर्ने भन्ने सिकाई दिएँ र म फर्केँ । तिन महिनासम्म ज्ञानीको भाषा सिक्तै, बोल्दै, रेकर्ड गर्दै र विश्लेषण गर्दै जाँदा भोजराज कमलासँग कुसुन्डा भाषा फरर्र बोल्न सक्ने भएका छन् । भोजराजले बटुलेको हामीसँग २० घण्टाको कुसुन्डा भाषाको रेकर्ड छ, तर त्यसलाई विश्लेषण गर्न खर्चिलो छ ।
तिनचार वर्षअघि चीनको युन्नानमा अनुसन्धान गरी रहेका एक जना भँडारी भाइले कुसुन्डा जातिको वंशाणुको अध्ययन गर्न सहयोग मागे । मैले कुसुन्डा समाजका अध्यक्ष धनबहादुर कुसुन्डाको सहयोग मागेँ । धनबहादुरले रोल्पा, सुर्खेत, दाङ, अर्घाखाँची, प्युठान र कपिलवस्तुका कुसुन्डाहरूलाई दाङमा बटुले । त्यहाँ मैले भोजराजलाई हामी किन पुगेका भनेर कमलालाई कुसुन्डा भाषामै कुरो बुझाउन लगाएँ । मैले कमलालाई सोधेँ, ‘मेरा चेलालाई तपाईंहरूको भाषा बोल्न आउँदो रहेछ कि रहेनछ ?’ कमलाले भनिन्, ‘मलाई भन्दा राम्रो आउँदो रहेछ ।’ डोनोह्युले हाम्रो सामग्री र ज्ञानीमैयाँसँगको कुराकानीको अध्ययन गरे । उनलाई ‘कुसुन्डा भाषाको अकरण’ विषयमा सबभन्दा चाख लाग्यो । भाषा विज्ञानको विश्व प्रसिद्ध शोध पत्रिका ‘लेङ्ग्वेज’ (२०१४ इ) मा मार्क, भोजराज र मेरा नाममा त्यसैबारे एउटा पत्र प्रकाशित भएको छ ।
कुसुन्डा एकल भाषा हो, अर्थात्, आज संसारमा भएका ७०९७ (एथ्नोलग, २०१९) ओटा मातृभाषाहरू धेरैजसो त संसारका १३५ ओटा भाषा परिवार (वल््र्ड एट्लास, २०१८ इ) मध्ये कतै–न–कतै पर्छन्, तर कुसुन्डा भाषाको गोती कतै पनि पाइँदैन । दक्षिण एसियामा अरू दुइटा एकल भाषा छन्, एउटा काश्मीरको बुरुसास्की र अर्को मध्यप्रदेशको निहाली ।
कसैले कुसुन्डा जातिलाई नेपालकै सक्कली आदिवासी भनेका छन् । कसैले अफ्रिकाबाट मानव जाति दक्षिण पूर्वी एसिया र अस्ट्रेलिया तिर लाग्दा नेपालमै छुटेको जाति भन्ने अड्कल गरेका छन् । हङकङ विश्व विद्यालयका प्राध्यापक पल ह्वाइटहाउसले कुसुन्डा भाषाका शब्दहरूको साइनो प्रशान्त महासागरका भाषासित जोड्न खोजेका छन्, राइन्हार्ट र तोबा (१९७० इ) ले बुरुसास्कीसित साइनो गाँस्न खोजेका छन्, तर कुसुन्डा जातिको गोती कतै भेटिएको छैन ।
कुसुन्डा भाषै अनौठो छ । वनवासी फिरन्ता कुसुन्डालाई सर्वत्र हरियो देख्नाले होला, हरियो त रङै होइन रहेछ किन भने भाषामा हरियो बुझाउने शब्दै छैन । संस्कृतमा ‘कचटतप’ का पाँच ओटा उच्चारण स्थान छन्, तर कुसुन्डामा त तिन ओटा (ओष्ठ्य, जिह्व्य, कण्ठ्य) मात्र छन् । दक्षिण एसियामा यस्ता तिन ओटा उच्चारण स्थान भएको भाषा अर्को छैन ।
अर्कातिर यस भाषामा ‘इकार–एकार’, ‘उकार–ओकार’, ‘अकार–आकार’ बिचको अर्थभेद नै पाइँदैन, त्यसैले भाषालाई ‘गिपन’, ‘गेपन’, ‘गिपान’, ‘गेपान’ जे भने पनि हुन्छ । यस भाषामा सर्वनामीकरण पनि अनौठो छ, ‘हात’ शब्द बुझाउने तिन ओटा शब्द हुन्छन्, ‘तावै’ (त्–आवै, मेरो हात), ‘नावै’ (न्–आवै, तेरो हात), ‘आवै’ (अरूको हात) । यसरी ‘म’ र ‘तँ’ बुझाउन उपसर्गको प्रयोग गरिन्छ । यसै अनुसार ‘त–मन’ (म खान्छु), ‘न–मन’ (तँ खान्छस्), ‘ग–मन’ (कसैले खान्छ) (वाटर्सहरू, २००५, ‘नोट्स अन कुसुन्डा’)।
कुसुन्डा नेपालको एउटा अनौठो जनजाति हो, किनभने, न यसको पहिरन अरूसित मिल्छ, न यसको बसोवास अरूसित मिल्छ, न यसको खान्की अरूसित मिल्छ, न पूजन सामग्री र यसको लोकाचार नै अरूसित मिल्छ ।
कुसुन्डाहरूको संस्कृति पनि अनौठो छ । कुसुन्डा नेपालको एउटा अनौठो जनजाति हो, किन भने, न यसको पहिरन अरूसित मिल्छ, न यसको बसोबास अरूसित मिल्छ, न यसको खान्की अरूसित मिल्छ, न पूजन सामग्री र यसको लोकाचार नै अरूसित मिल्छ । चोखा कुसुन्डाहरू सरदर नेपाली भन्दा होचा हुन्छन् । उहिले कुसुन्डाहरू अल्लो भाङ्राको गादो र घलेक लगाउँथे अरे । धनुष काँड चलाएर सिकार गर्नु कुसुन्डाहरूको मुख्य पेसा थियो ।
आधारभूत रूपमा कुसुन्डा वनवासी भए पनि अहिले कुनै पनि कुसुन्डा वनमा भएको सूचना छैन । बाबु मरेपछि राजामामा आप्mना मामासित दमौली नजिकैको वनमा बस्थे भन्ने सूचना बन्धु (०६९, वनराजा र तिनका भाषा बारे) ले दिएका छन् । वनमै बस्ने हुनाले कुसुन्डा पुरुषलाई वनराजा, श्रीमतीलाई वनरानी र छोरीलाई वनमैयाँ भन्ने चलन छ । अरूले कुसुन्डा लोग्नेमान्छेहरूलाई मामा मात्रै र कुसुन्डाका श्रीमतीलाई माइजु मात्रै भनेर सम्बोधन गरेको पनि सुनिन्छ । मगरकी छोरी भए पनि राजामामाकी रानीलाई अरूले ‘माइजु’ भन्ने गरेको सुनिएको छ । कुसुन्डाहरू आफुलाई म्याक र गाउँलेलाई निउ (बन्धु) भन्छन् । रमाइलो कुरो के छ भने, कुसुन्डाहरू बाघलाई पनि ‘म्याक’ भन्दछन् । बाघ पनि वनको राजा र कुसुन्डा पनि वनराजा भएकाले कुसुन्डा भाषामा दुवैको नाउँ मिलेको पनि हुन सक्छ । कुसुन्डा महिलाहरूले पनि फेटा बाँधेको देखिन्छ ।
धनुषकाँड कुसुन्डा पुरुषहरूलाई चिनाउने हतियार हो । धनुषकाँड लिएर पुरुषहरू सिकार गर्थे । कुसुन्डाहरू काँड जनाउन संस्कृत भाषाको ‘शर’ शब्द प्रयोग गर्छन् । कुसुन्डाहरू काँडले नै उड्दो चरो खसाल्थे र चितुवा नै पनि ढाल्थे । एउटा धनु र २३ ओटा काँड बोकेर उनीहरू सिकारका लागि हिँड्थे । “कुनै वेला काँड लक्ष्यमा पुगेको नदेखेमा वा हराएमा त्यसै ठाउँबाट त्यसरी नै अर्को काँड हानी पत्ता लगाउँथे ।” महिलाहरू खुर्पा बोक्थे र तरुल खन्न जाँदा जाबी र कोदालो बोक्थे । कुसुन्डाहरूको धनुषकाँडबाट चेपाङहरू पनि डराउँथे । राउटेले कुसुन्डालाई तिरो नतिरेकाले कुसुन्डाहरूले राउटेलाई देखे भने धनुषकाँडले हानी हाल्छन् भन्ने किम्बदन्ती छ (बन्धु, २०६९) ।
कुसुन्डाहरूको दिन कन्दमूल, सागपात, च्याउ र सिकारको खोजी गरेर बित्थ्यो । उहिले वनमै बस्ता अघिल्लो दिनको सिकारबाट ल्याएको बासी मासु वा कन्दमूल जे छ खाएर सिकार, तरुल, कटुस, गिठा, भ्यागुर, निगुरो, जलुको, सिप्लीगान, जामुनो, ऐँसेलु, काफल, फर्याँत, फल्लुक, आदि गाउँमा पुर्याउन जान्थे । धेरै तरुल पाइने ठाउँमा उनीहरू धेरै समय सम्म बस्थे । कुसुन्डाहरू तरुलका अनेक जात चिन्दछन् । सिकार गरेर ल्याएको कुरो माइत लगाउन गाउँ जान्थे अनि गाउँलेबाट पाएका वस्तु ल्याएर खाई सकेपछि दिउँसो सिकारमा जाने उनीहरूको चलन हुन्थ्यो । लोग्नेमान्छे सिकार खेल्थे; स्वास्नीमान्छे सागपात बटुल्थे । पुरुष र स्त्री दुवै सिकारमा जान्थे, तर वनबाट महिलाहरू छिटै फर्कन्थे; लोग्नेमान्छेहरू आवश्यकता परे आधरात सम्म सिकारमै हुन्थे । उनीहरू पशु पालन र कृषि गर्दैनथे । महिलाहरू धागो पनि बाट्थे र भाङ्राको कपडा आफैँ बुन्थे । चूडामणि बन्धु (०६९) ले उल्लेख गरेका कुसुन्डाहरूका खान्कीको लगत निम्नानुसार छ :
(क) चरी भेगुरीको सिकार नै कुसुन्डाहरूको मुख्य सिकार थियो । वर्षायाममा कालिजले चल्ला काढ्छ । कुसुन्डाहरू त्यहाँ पासो थापेर ढड्डी खरको नल च्यातेर मुखले बजाएर कालिजको चल्लाको जस्तो आवाज निकाल्थे । चल्ला पासामा परेछ भनेर कालिज झुक्किन्थ्यो र पासोमा पथ्र्यो । कालिज उनीहरू गाउँका प्रतिष्ठितहरू कहाँ माइत लगाउन लैजान्थे । रुखको गाँजमा सुतेको लोखर्केलाई ढुङ्गाले हानेर बिच्क्याउँथे र काँडले हानेर मार्थे ।
(ख) भदौअसोजमा डम्बरे पाक्छ । वन बिरालो जस्तो देखिने भार्से डम्बरेको फल खान आउँछ । भार्से एक्लै रुखमा बसेका वेलामा ढुंगाले हानेपछि भार्सेले टाउको उठाउँछ; त्यसै वेला वाणले हानेर अथवा लौराले लखेटेर भार्से मारिन्थ्यो । ठुलो भार्से ५ किलो जतिको हुन्छ अरे । भार्से कुसुन्डाहरूको प्यारो खान्की हो ।
(ग) गोहोरो ३ किसिमको हुन्छ : गोब्रे, साखिनो र सुन गोहोरो । गोहोरो रुखको ध्वान्द्रो वा अप्ठ्यारा ठाउँमा बस्छ । कुसुन्डाहरू गोहोराको मासु पनि खान्थे, बच्चो भेटे भने चाहिँ छोडी दिन्थे । गोहोराको पहिले पुच्छर समात्यो अनि टाउको समातेर खुट्टा भाँची दियो; त्यस पछि जाबीमा बेरेर लट्ठीले कुटी कुटी मारिन्थ्यो । छाला काढेर मासु खाइन्थ्यो । उनीहरू गोहोराको फुल उसिनेर वा पातका खोचामा बेरेर पोलेर पनि खान्थे ।
(घ) कुसुन्डाहरू सर्पको टाउको बाहिर राखेर उसिन्दा विष जति बाहिर खस्छ अनि मासु बाफिएपछि काँढा केलाएर खान्थे ।
(ङ) दुम्सीलाई पनि धनुषकाँडले मारेर खाइन्थ्यो ।
(च) कुसुन्डाहरू धेरै किसिमको च्याउ खान्थे : साल घारी तिर भुइँमा पाइने दुध आउने दुधे च्याउ, सल्याने च्याउमा दुध आउँदैन; चैत वैशाखको जङ्गली भुइँमा पाइने सुपाडे च्याउ वा पुड्के च्याउ, कुखुराको सिउर जस्तो रातो कुखुरे च्याउ, आदि ।
कुसुन्डाहरू सुत्केरीलाई वनकै तरुल, अन्न र कालिज, भार्से, गोहोरो, लोखर्के र वन कुखुराको मासु खान दिन्थे, तर साग पात खान दिँदैनथे । कुसुन्डाहरू खुर भएका जन्तुको मासु, दुध, दही, घिउ नखाने हुनाले गाई भैँसीको दुध, दही, घिउ र गोबर उनीहरूलाई वर्जित थियो । त्यसैले सिकार गरेर ल्याएको कुरो खोलामा धुँदा माथिबाट दुध, दही, गोबर बगाई दियो भने त्यसै छोडेर जान्थे भन्ने किम्बदन्ती पनि छ । गाउँले घर भित्र र पिँढीमा पनि उनीहरू बस्तैनथे ।
कुसुन्डाहरूका घर सेउलाका छाना भएका ससाना एकपाखे, गोला र चारपाटे, ढोका र बन्धन नभएका भित्र पस्ने भ्वाङ भएका छाप्रा हुन्थे । त्यसमा एउटै परिवारका लोग्ने स्वास्नी र मसिना केटा केटी सुत्थे । बेग्ला बेग्लै परिवारका लागि ससाना छाप्रा बेग्ला बेग्लै बनाउँथे । बन्धनको साटो सेउलालाई ढुङ्गा र काठले थिच्थे । एक ठाउँमा घर बनाए पछि २३ महिना भन्दा बढ्ता बस्तैनथे । ठुल्ठुला पात गाँसेर बनाएका लाफाकै ओढ्ने ओछ्याउने बनाउने चलन कुसुन्डाहरूमा थियो (बन्धु, ०६९) । यसरी कुसुन्डाको भाषासँगै जैविक विविधता, साँस्कृतिक विविधता, मानव जातिको नपाइने सम्पदा पनि लोप भएर जाने अवस्थालाई वेलैमा जोगाउन नसकेको अब्जस नेपालका थाप्लामा पर्ने डर छ ।
https://jhannaya.nayapatrikadaily.com/news-details/859/2020-02-22