वाम्बुले राई समुदायमा पुँजीवादको स्थिति र मध्यमवर्गीय चेतना
भौगोलिक आधारमा दुधकोसी र सुनकोसी नदी जोडिने जोर्तीघाटलाई केन्द्रविन्दु बनाएर त्यसको बीस किलोमिटर गोलाकारभित्र किराती वाम्बुले राईहरूको मुख्यथलोको रूपमा लिन सकिन्छ । ज्यामितीय हिसाबमा कम्पासले गोलाकार बनाउँदा यो परिकल्पना गरिएको हो (स्रोतः किरात वाम्बुले राईको नालिबेली) । यस भूगोलमा वाम्बुले राईहरूको आफ्नै प्रकारका राष्ट्रिय मातृभाषा, संस्कार, संस्कृति र मान्यताहरू रहेका छन् । यस समुदायको अर्थतन्त्रमा करिब दुई दशक अघि मात्रै पनि प्राकृत अर्थतन्त्रका समरूप आर्थिक इकाईहरू थिए । विकट, पिछडिएको र असमानता बापजुद यहाँका सामाजिक र आर्थिक धरातल सधै विपन्नता नै रह्यो । यसका कारण खोजी गरेमा प्रशस्तै भेटिन्छन् । तर अहिले त्यतातिर नजाउँ ।
मेरो ध्यान अहिले यो लेख लेख्दाबखत वाम्बुले राई समुदायको स्थिति भन्दा पनि नेपाली समुदाय र देशमा अत्याधिक प्रयोग हुने पुँजीवाद शब्दावलीमा छ । म यो बारे चर्चा गर्ने प्रयास गर्दछु ।
के हो, पुँजीवाद ? वाम्बुले राई समुदायमा यसको अवस्थिति के छ ?
पुँजीवाद : यो एउटा यस्तो आर्थिक प्रणाली हो, जुन अर्थतन्त्रलाई आफ्नो निजी स्वामित्व र लाभको लागि लगानी, वितरण, आय, उत्पादन र मूल्य बजारद्वारा सञ्चालन र निर्धारण गरिन्छ । बजारलाई मुनाफा केन्द्रित सोंचबाट चलाइन्छ । पुँजीवादीहरू बजारमा विश्वास गर्छन्, यसलाई बजारको शासन पनि भनिन्छ र स्वतन्त्र बजारबाट वस्तु वा माल त्यहाँ पुराइन्छ, जहाँ मुनाफाशील क्षेत्र होस् ।
अझ भूमण्डलीकरणले गर्दा अहिले विश्वको जुनसुकै कुनामा उत्पादित सामान, श्रमिकको उपयोग निर्वाध छ । जस्तै, अर्जेन्टिनाको सूर्यमुखी र फ्रान्सको तोरीको तेलले नेपालको तेलहन बालीलाई सकाउनै लागेको कुरा पनि छ । उसो भए पुँजीवादको प्रभाव र स्थितिले वाम्बुले राई समुदाय पनि अछुतो रहेन होला । यदि अछुतो छैन भने वाम्बुले राई समुदाय पुँजीवादी चरित्र विकास भयो भन्ने आधार चाहिं के हो त ? चार, पाँचवटा आधारभुत कुराहरूमा बहस गरौं ।
१) सामाजिक श्रम विभाजनको सघनता
प्राकृत अर्थतन्त्रका समरूप आर्थिक इकाईहरू हुन्छन् भने बजार अर्थतन्त्रमा बहुरूप आर्थिक इकाईहरू हुन्छन् । बजार हुनका लागि वस्तु, उपयोग मूल्य र विनिमय मूल्य हुनुपर्छ र वस्तु मुद्रामा प्राप्त गर्न सकिन्छ । ती वस्तुहरूको बजार सामाजिक श्रम विभाजनबाट सिर्जित हुन्छ । सामाजिक श्रम सघनता पुँजीवादी समाज निर्माणको प्रथामिक आधार हो । यसले कृषि अर्थतन्त्रको श्रम समरूपलाई समाप्त गर्दै लान्छ । कृषि अर्थतन्त्रलाई प्राकृत अर्थतन्त्रकमा रहन नदिएर विनिमय मूल्य सहितको वस्तु उत्पादन गर्ने क्षेत्रमा रूपान्तरण गरिदिन्छ ।
उसो भए यी चिजहरू क्रियाशिल छैन त ? के हाम्रो कृषि क्षेत्रका उत्पादनको उपयोग मूल्यमात्र छ, विनिमय मूल्य छैन ? वस्तु–बजारको विकास भएको छैन ? यदि वस्तुको उपयोग मूल्यसँगै विनिमय मूल्य र वस्तुको मुद्रामा विनिमय छ भने सामाजिक श्रम विभाजन सघन भएर गएको छ ।
दुई दशक अघि मात्रै हामीसँग सीमित प्रकारका पेशा थिए । खेतीपाती, पशुपालन र लाहुरे । अहिले श्रम, सीप, कला, वैदेशिक रोजगार पेसा र व्यावसायका अनेकौ नयाँ क्षेत्र देखापरेका छन् । स्थिति निकै अगाडि बढिसकेको छ । कृषि, व्यापार, शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात, होटल, प्रकाशन, सङ्गीत, सहकारी तथा गैरसहकारी सञ्चालन इत्यादि क्षेत्रमा श्रम विभाजन भएको छ। सामाजिक श्रम विभाजनमा देखिएको यस प्रकारको सघनता वाम्बुले समाजको मूल चरित्र पुँजीवादी भएको प्रमाण हो ।
२) कृषि क्षेत्रमा जनसंख्या अनुपात
समुदाय पुँजीवादी भयो कि भएन भन्ने अर्काे तर्क कृषिमा आधारित जनसंख्या अनुपात हो । जनसंख्याको कति प्रतिशत हिस्सा कृषि आधारित भए पुँजीवादी नभएको भन्ने र कति प्रतिशत हिस्सा गैर कृषिमा क्षेत्रमा भए पुँजीवादी हुन्छ ? यसको कुनै मानक अनुपात हुँदैन । बरू यसलाई जनसंख्या प्रवृत्तिमा हेर्नु पर्दछ । ती प्रवृत्ति यस प्रकार छन् ।
क) कृषि क्षेत्रको जनसंख्या गैर कृषिमा क्षेत्रमा जानु ।
ख) श्रम बजारमा प्रवेश भएको ठूलो जनसंख्या सिधै गैर कृषि क्षेत्रमा प्रवेश गर्नु ।
ग) गैर कृषि क्षेत्रको अनुपात निरन्तर बढ्दै जानु र कृषि क्षेत्रको अनुपात घट्दै जानु ।
घ) ग्रामीण जनसंख्या अनुपात घट्दै जानु र सहरिया अनुपात बढ्दै जानु ।
ङ) बाँकी बचेको कृषि क्षेत्रको ग्रामीण जनसंख्या पुँजीवादी उत्पादन र प्रभावमा पर्न थाल्नु ।
यी पाँच वटै प्रवृत्ति हामीसँग क्रियाशिल छ कि छैन ? हामीसँग यकिन तथ्याङ्क नभए तापनि माथि उल्लेखित प्रवृत्ति क्रियाशिल छ।
हामीमा पनि पेशा कृषि लेख्ने प्रचलन परम्परा छँदैछ । वैदेशिक रोजगारमा रहेका हाम्रा श्रमिक दाजुभाइहरूका अधिकांश परिवारले जनगणनामा कृषि नै लेखाएका हुन्छन् । जबकि उनीहरूको जिविका विप्रेशनले चलेको छ । त्यसैले हाम्रो समुदाय पनि पुँजीवादले लपेटेको छ ।
३) साना उत्पादनको बर्बाद
देशमा पुँजीवादी विकाससँगै हस्तकला, परम्परागत सीप र प्रविधिमा आधारित श्रम प्रधान उत्पादनहरू बर्वाद हुँदै जान्छन् । यो हाम्रो समुदायको हकमा पनि लागु हुन्छ । यस्तो हुनुमा आम उत्पादन र सानो आकारमा उत्पादन प्रक्रियामा पुँजी अनुपातको प्रवृत्तिमा फरक हुनु हो । आम उत्पादनमा प्रति एकाई वस्तु मुल्य सस्तो पर्न जानु र सानो उत्पादनमा प्रति इकाई वस्तु मूल्य बढी पर्न जानु हो । जब यस्तो प्रवृत्ति देखिन थाल्छ ।
साना उत्पादन टिक्न मुस्किल पर्छ र साना निजी स्वामित्वको उत्पादन व्यवस्थान गर्नु भन्दा ठूलो उत्पादनमा श्रम बेच्नमा फाइदा देख्छन् । फलस्वरूप घरेलु उद्योगहरू समाप्त हुँदै जान्छन् । साना किसानहरू कृषि क्षेत्र परित्याग गरी ज्यालादारी श्रममा प्रवेश गर्दछन् । हाम्रो समुदायमा पनि ज्यालादरी श्रम प्रवेश प्रक्रिया तीव्र छ ।
४) शोषणको मुख्य रूप ज्याला
कुनै पनि समाज पुँजीवादी हो वा होइन भनी जान्नै पर्ने आधार ज्यालादारी श्रम हो । अहिले हामीमा यो रूप क्रियाशिल छ । ज्यालादारी श्रम भन्ने बित्तिकै त्यो अतिरिक्त मूल्यको प्रक्रिया हो । वैदेशिक, स्वदेशी र स्थानीय गरी हामीमा कति हजार मानिस ज्यालादारी श्रममा आवद्ध छन् ।
हामीमा कृषि श्रमिकसमेत स्वतन्त्र ज्यालादारी श्रममा आवद्ध छन् । यो तथ्याङ्क केलाउने हो भने पक्कै हामीमा कुल वाम्बुले समुदायको करिब ५१ प्रतिशत भन्दा ज्यादा होला । उनीहरूको ज्याला राम्रो छैन, पेशागत सुरक्षा कमजोर छ । यति हुँदाहँुदै पनि स्वतन्त्र ज्यालादारी श्रममा आवद्ध छन् । यस दृष्टिकोणले पनि वाम्बुले समुदाय पुँजीवादी समाज नै हो ।
५) ग्रामीण अर्थतन्त्र निरन्तर बजार अर्थतन्त्रसँगको आबद्धता
हाम्रो समुदायसँग स्वाधिन र स्वावलम्वी स्थानीय अर्थतन्त्र छैन । हाम्रोे कृषि, फलफुल र पशुपालन आधुनिक अर्थतन्त्रसँग आबद्ध हुँदै आएको छ । भलै त्यहाँ अविसित, सडक र सञ्चारको राम्रो प्रबन्ध छैन होला ।
तर यति कारणले नै पुँजीवाद छैन भन्न मिल्दैन । त्यहाँ माल परिचालन भएको छ कि छैन ? त्यो हेर्नु पर्छ । मलाई लाग्छ, त्यहाँ अब नुनदेखि सुनसम्म, खाद्यान्नदेखि शरीर ढाक्ने कपडासम्म बाहिरी बजारबाटै आयात हुन्छ । त्यसैले गाउँ–गाउँमा पुँजीवाद छैन भन्ने कुरा अब निरर्थक हो ।
माथि उल्लेखित पाँच कारणहरूलाई आधार मान्ने हो भने पुँजीवादी समाज निर्माणको चरित्र हाम्रो समुदायले पनि विकसित गरी सक्यौं। यो पुँजीवादको सवालमात्रै होइन, यो शोषणको सवाल हो । यसै त हामी सामाजिक र आर्थिक रूपमा कमजोर थियौं । यो सँगै पुँजीवादी शोषणमा अझ लपेटिदा हाम्रो हालत त्यसै नाजुक त हुनै भयो । योसँग जोडिएको अवसरको उपयोग गर्न नपाउदै हामी पुँजीवादको जाँतोमुनि पिसिनु पर्यो ।
अब हाम्रो समुदायले पनि पुँजीवादसँग लड्न सिक्नुपर्छ । पुँजीवादसँग लडेर अवसर खोस्नु पर्छ । अब वास्तवमा हामीले एउटा यस्तो समाज निर्माणको परिकल्पना गर्नु पर्दछ कि जहाँ श्रम पनि गर्ने र स्वामित्व पनि आफूसँग राख्ने खालको मध्यमवर्गीय समाजको परिकल्पना गर्नु पर्छ । जुन श्रमिक दृष्टिकोण हो र श्रमिक संस्कृति हो । श्रमिक संस्कृति भनेको श्रमिकको उद्यमशीलता हो । ऊ ज्यालामा मात्रै सीमित नभएर आफ्नै श्रम, सीप, शिक्षा र जाँगरले र अनुभवले आफूलाई मालिक बनाउँदै लानु हो ।
एउटा मध्यमवर्गीय समुदाय बनाउन हाम्रो सामुहिक र व्यक्तिगत प्रयास अर्थतन्त्रका तेस्रो क्षेत्रमा अनिवार्य हस्तक्षेप, विकास र व्यावसायीकरणमा जोड दिनुपर्छ । जस्तै ः संगीत, सिनेमा, सञ्चार, कला, साहित्य, खेलकुद, समाजसेवा आदि । यी क्षेत्र विशेष रूची र प्रतिभा चाहिने क्षेत्र हुन् । झट्ट हेर्दा अनुत्पादित देखिए तापनि यी क्षेत्रले रोजगार वृद्धि गर्न ठूलो मद्दत गर्छन् ।
त्यसैगरी प्रोफेसनालिज्मको विकासलाई उच्च महत्व दिनु पर्छ । डाक्टर, नर्स, शिक्षक, पत्रकार, प्राध्यापक, कानुन व्यावसायी, परामर्शदाता, प्रशिक्षक, तालिम दाता, गैर–सहकारी संस्था संञ्चालन र इन्जिनियरिङ आदि जनशक्ति विकासले समाजको ज्ञान, सीप, क्षमता र आत्मविश्वासलाई बढाउने छ र मध्यमवर्गीय समुदाय विकासमा योगदान गर्नेछ ।
अतः यहाँहरूलाई के आग्रह गर्न चाहन्छु भने आधुनिक बजारले केवल भौतिक माललाई मात्रै उत्पादन बुझाउँदैन । त्यसले सेवा, विचार, ज्ञान, आविस्कार र व्यक्तित्व समेतलाई उत्पादन भन्छ । हामीले यी कुराको उपयोग गर्दै, आधुनिक बजार प्रक्रियामा जोडिनै पर्छ । हाम्रो आर्थिक र सामाजिक क्रियाकलाप मध्यमवर्गीय समुदाय निर्माणमा हुनुपर्छ । जय मातृभूमि ।
मानेभन्ज्याङ गाउँपालिका–६ सोक्मटार, ओखलढुंगा