पञ्चबहादुर राईको वंंशखोजीः प्रातःस्मरणीय पुर्खाहरू सम्झिदै जन्मथलो ओखलढुंगाको माधवपुरका वाम्बुले राई वंशहरूको लेखाजोखा

वंंशखोजीः
सुदूर अतित, प्रातःस्मरणीय पुर्खाहरू सम्झिदै जन्मथलो ओखलढुंगाको माधवपुरका वाम्बुले राई वंशहरूको लेखाजोखा

पञ्चबहादुर राई

ओखलढुंगा जिल्ला मानेभन्ज्याङ गाउँपालिका वडा नं.९ माधपुर (तत्कालीन माधवपुर गाउँ पञ्चायत र त्यसपछि गाउँ विकास समिति)मा वाम्बुले राईहरूको बसोबास रहेको छ । वाम्बुले राईमध्ये पनि ब्राङख्याल्चो गौरठोके पाको वंशबारे केही लेखाजोखा गर्न लागिएको छ ।


१) माधवपुरे राईहरूमा भिन्नता
हाम्रो पुख्र्यौली वंशज भाइबन्धुहरू वामद्याल (उँबु), धिमिले, उदैपुर, हिलेपानी तथा विभिन्न स्थानमा रहनु भएका वाम्बुले भाषी राईहरूले हामीलाई शंकाको दृष्टिले हेरेको महसुस गरेका छौं । यसको मूल कारण भनेको हामीले बोल्ने गरेको भाषिका मिश्रण हो । हाम्रो ३-४ पुस्ता अघिदेखिका अग्रजहरूले जेरो राईहरूसँगको वैवाहिक सम्बन्धले गर्दा आमाको माध्यमबाट छोराछोरीहरूमा मातृभाषाको प्रयोग हुनगई वाम्बुले भाषा र जेरो भाषाको मिश्रित हुनपुग्यो ।

जसले गर्दा अनौठो भाषा सृजना हुनजाँदा माधवपुरे राईहरू सबै जेरो हुन् कि भन्ने भ्रम पर्नु स्वभाकिकै हो । तल्लो र माथिल्लो दुई माधवपुर छ । माथिल्लोमा उँबुले मूलका राई ब्राङख्याल्चो गौरठोके पाछाको बस्ती छ भने तल्लो माधवपुरमा सिस्नेरी, बिनासे, डाँडा जेरोङ, गैरी जेरोङ, साँदी, बलखु ,छापगाउँ, कुम्लिङमा जेरो राई बस्ती रहेको छ ।

जेरोहरूमा लाइम्चो, ठिट्लिच्वा, दङखम्चो, सेताल्चो जस्ता थर उपथर छन् । जेरोहरूको भाषिक समाज, समूहमा घुलमिल भई रहिआएकोले उनीहरूसँग हाम्रो निकटता, सम्बन्ध गाढा भएकैले यिनीहरू सबै जेरो हुन् भनेर हाम्रो पुख्र्यौली वाम्बुले वंशजहरू शंकालु हुनु जायज नै होला । तर यहाँ भिन्न छ । हामी उँबुले मुलका राईहरू कसरी भयौँ ? त्यसबारेमा सत्य, तथ्य इतिहास तल उल्लेख गर्दैछु ।

२) उँबुबाट माधवपुरमा बसाइ सरेको

मेरो हजुरबा कृष्णध्वज राई (१९४६–२०२९)
म १६ वर्षको हुँदा उहाँ बित्नु भयो । उहाँ गुडगुडे हुक्कामा तमाखु तानी रहने । म पातामा तमाखु भर्ने, आगो राख्ने अनि पुख्र्यौली कुरा सोध्ने । उहाँको भनाइअनुसार निम्न विवरण प्रस्तुत छ :—

विसं. १९१० तिर हाल मानेभन्ज्याङ गाउँपालिका वडा नं.३ उँबुको लिब्जु थुम्कामुनि किर्सेेपु गाउँबाट जिजुबाजेहरू दुई भाइ जेठा हंशराज र कान्छा वंशराज किर्सेपुमा बस्न असहज भएपछि माधापुर (हाल रूपान्तरित माधवपुर) बेलटारमा आएका रहेछन् । उनीहरूमध्ये जेठा हंशराजको छोरा भानु राई र भानुको छोरा कुइरिदल राईको वंशज निम्नानुसार छन् ।

कुइरिदलको २ बिवाहमध्ये जेठीपट्टिको १ छोरा जब्बरबहादुर र नाति कर्णबहादुरको १ छोरा भालु राई हुन् । भालु राईको २ छोरा हाल गाउँमा छन् । कान्छीपट्टि ५ छोराहरू थिए– सर्वजित, नरबहादुर, डबलसिंह, मक्करध्वज, काइँला ….. (नाम भुलेको) । माइला सर्वजितको छोरा भ्वाने राई २०२३ सालमा मुगलान पसेको । साइला नरबहादुरको ७ भाइ छोराहरूमा जेठा रामकुमार प्रहरी सेवाको स.ई. पदमा अवकास भई हाल मोरङको पथरीमा बस्छन् ।

माइला दिपबहादुर नेपाली सेनाबाट निवृत्त भई भक्तपुरमा छन् । साइला भारतीय सेनाबाट अवकास भई गाउँमा छन् । काइँला, ठाइँला, अन्तरे गृहस्थी जीवनमा रहेका र कान्छा मदन राई उच्च शिक्षाको लागि काठमाडौंमा छन् । काइँलाभाइको ४ छोराहरूमा जेठो रत्नबहादुर मुगलान गएका, माइला अजगुत राईको २ छोरा छन् ।

जसमा जेठो गृहस्थी जीवनमा छन् भने कान्छा राजकुमार नेपाली सेनाबाट निवृत्त भई मोरङको पथरीमा रहेका छन् । साइँला पृथसिंहको सन्तान नरहेको र कान्छा भीमबहादुर नेपाली सेनाको सुबेदार पदबाट अवकास भई उदयपुरको खोक्सामा बसोबास गर्छन् ।

ठाइँला डबलसिंह राईको ४ छोराहरूमा जेठा रामबहादुरको ५ भाइ छोराहरूमा जेठा प्रेमबहादुर भारतीय सेनाबाट निवृत्त भई मोरङको पथरीमा बसोबास गरेका छन् भने साथमा एक भाइ उच्च शिक्षा हासिल गरी पथरीमै शिक्षण पेशामा संलग्न छन् । अरू तीनभाइ गाउँमा रहेका छन् । माइला नरबहादुर र साइँला हर्कबहादुर नेपाली सेनाबाट निवृत्त भई पथरीमा बसोबास छ । साइँलाको १ छोरा हाल अमेरिकामा छन् । कान्छा छोरा सिंहबहादुर दुई छोरासहित माधवपुरमा छन् ।

कुइरिदलको कान्छा छोरा मक्करध्वजको २ छोरामध्ये जेठो गणेश राईको १ छोरा महेन्द्र राई कटारीमा छन् । माइला तमबहादुरको पनि २ छोराहरूमा जेठा भारतीय सेना र कान्छा नेपाल प्रहरीमा सेवारत छन् । उँबुबाट आएका जेठा हंशराजको वंशज यत्ति हुन् । खासगरी नेपाली सेना र भारतीय सेनामा, नेपाल प्रहरीमा सम्वद्ध कुइरिदलको वंशज सन्तानहरू माधवपुर, उदयपुरको कटारी र खोक्सा तथा मोरङको पथरीमा रहेका छन् । आर्थिक तथा शैक्षिक क्षेत्रमा पनि राम्रो स्थिति रहेको छ ।

कुइरिदलको ठाइँला छोरा डबलसिंह राई (१९६९–२०४०) पनि यस पुख्र्यौली इतिहासको ज्ञाता हुनुहुन्थ्यो । उहाँको अनुसार किर्सेपुमा रहँदा हंशराज र वंशराजको पिताको नाम अज राई थियो ।

३) भाइ वंशराज राईको सन्तानहरू
वंशराजको छोराहरू
१) आसदल राई
२) नखवीर राई
३) नैनसिंह राई

१) आसदलको ३ छोराहरूमा जेठा र माइला माधवपुर छोडेर मानेभन्ज्याङ गैरीगाउँ र उदैपुर सिरानटोल गएर बसेका र कान्छा चिसापानी मैदान डाँडा गइबसेको छोरा २००० सालतिर मुगलान गएको ।

२) नखबीर राई– विसं.१९६० तिर ज्यान मुद्दाको कलंक लागी ओखलढुंगा जेलबाट फरार भएर सिरहाको उत्तरी भेग चुरिया पहाडमुनि मुक्सार टोड्केमा बसाइ गएकोमा निज परलोक भई उनका छोरा नातिहरू २०१०-१२ सालसम्म माधवपुर आउँने–जाने गरेका जानकारहरू बताउँछन् । त्यहाँका वंशजहरू राईको मुन्धुमअनुसार पित्रिकार्य (खाउमो) गर्दा दाजुभाइ लिन माधवपुर आउँने र पित्रिकार्य (खाउमो)मा सुँगुर र राँगो काटेर कुलपूजा गर्दथे । त्यसरी कुलपूजा गरेको छिमेकी मधेसी समुदायमा घृणा हुने भएकाले कुलपूजा गर्न छाडेकाले त्यसैबेलादेखि आवतजावत ठप्प रहेको अग्रजहरू बताउँछन् ।

नखबीरको ३ भाइ छोराहरू
१) कमलमान राई
२) धिर्जमान राई
३) कीर्तिमान राई

१) जेठो कमलमानको ४ भाइ छोराहरूमा माइला अमिनलाल र कान्छा तुङ्जा राईको सन्तानहरूको प्रस्ट विवरण थाहा हुन सकेन । २०४२÷४३ साल ताकाको सिरहा जिल्ला पञ्चायत उपसभापति शुभलाल राई यिनै दुइभाइमध्येको सन्तान रहेको ठम्याइ छ । साइँलो अपमलालको पनि ४ छोराहरूमा ललितपुरको धोबिघाट र महोत्तरीको बर्दिबास हातिलेँठमा बसोबास रहेको बुझिएको छ । उनीहरूको उन्नति, अवनतिबारे केही जानकारी छैन । गौशालामा छन् भन्ने अपुष्ट खबर पाएर २०७८ सालमा मेरो छोरा रेशम राईलाई लिएर सोधखोज गर्न गएको त्यहाँ नरहेको पाइयो । कमलमानको जेठो छोरा अगमलालको एउटै छोरा मधुलालको २ छोराहरूमध्ये प्रदीप टोड्केमै रहेको र उनको ५ भाइ छोराहरू रहेको बुझिएको छ ।

कान्छो डा. पृथ्वीविक्रम राई त्रिभुवन विश्वविद्यालयबाट प्रोफेसर पदबाट सेवा निवृत्त भई हाल झापाको भद्रपुरमा बसोबास रहेको बुझिएको छ । तथापि हाम्रो भेटघाट चिनाजानी छैन । समय निकालेर पुख्र्यौली घरगाउँ आई दाजुभाइमा परिचय गर्ने गराउने उहाँहरूमा सोच नभएको बुझिन्छ ।

४) वंंशराजको कान्छा छोरा नैनसिंह राई
३) नैनसिंह राईको छोराहरू
१) जेठा रङ्गध्वज राई
२) माइला भक्तमान राई
३)) साइँला जङ्गवीर राई
४) कान्छा कृष्णध्वज राई

१) जेठा रङ्गध्वजको १ छोरा माइतीराज र माइतीराजको एउटै छोरा पूर्णमान राई २००५ सालदेखि मुगलान भासिएर बेपत्ता ।

२) माइला छोरा भक्तमानको ३ छोराहरूमा जेठा कृतिमान, माइला फौदसिंह, कान्छा जीतबहादुर थिए । तीमध्ये कृतिमानको जेठो छोरा लालबहादुरको १ नाति छन् । साइँला छोराको २ छोरा रहेकोमा बेपत्ता छन् । फौदसिंहको एउटै छोरा रहेको काले राई बेपत्ता छन् । कान्छा जीतबहादुरको ३ छोराहरूमा जेठा दुर्गबहादुर बेपत्ता छन् । माइला खड्गबहादुरको एउटै छोरा माधवपुरमा छन् । कान्छा मानबहादुरको २ भाइ छोरा रहेका छन् ।

३) साइँला जङ्गवीरको छोरा, नाति, पनाति, खनाति रहेकोमा खनाति पदमबहादुर भारतीय सेनाको सुबेदार पदमा सेवा निवृत्त भई सुनसरीको तरहरामा बसोबास छ ।

४) कान्छा छोरा कृष्णध्वजको ४ छोराहरूमा जेठा चन्द्रबहादुर, माइला नरबहादुर, साइँला गमबहादर, कान्छा लालबहादुर हुन् । जेठा चन्द्रबहादुरको ३ छोराहरूमा कान्छो रामबहादुर १ छोराको साथमा माधवपुरमा रहेका छन् । कृष्णध्वजको माइला छोरा नरबहादुरको ३ छोराहरू छन् । जसमा जेठा बिक्रम राई नेपाली सेनाको सुबेदार पदबाट सेवा निवृत्त भई माधवपुरमा बसोबास गर्छन् । उनको २ छोरामध्ये जेठो काठमाडौं र कान्छा भारतीय सेनामा छन् ।

नरबहादुरको माइला छोरा सुनिल राई ब्रिटिश सेनाबाट अवकास भई परिवारका साथ हाल बेलायतमा रहेका छन् । कान्छा नवीन भन्ने सइन्द्र राई भारतीय सेनाको सुबेदार पदबाट निवृत्त भई भारतको सिलिगुडीमा स्थायी बसोबास गर्छन् ।

कृष्णध्वजको साइँला छोरा गमबहादुरको ३ छोराहरू जेठा रणबहादुर, माइला भैरबबहादुर, कान्छा पन्चबहादुर राई हुन् । जेठा रणबहादुरको २ छोराहरू अजय र बिजय सानातिना व्यापार व्यावसायमा संलग्न छन् । माइला भैरबबहादुरको ५ छोराहरूमा जेठो कृष्ण राई व्यापार व्यावसाय र अन्य चार जना हिराजित, पदमजित, टंकजित र भलाजित अध्ययन लगायत शिक्षण पेसामा आवद्ध छन् ।

गमबहादुरको कान्छा छोरा पन्चबहादुर राई (पंक्तिकार)को उदयपुरको कटारी गबुवामा बसोबास छ । जसका ३ छोराहरूमा माइला रेशम राई परिवारसहित संयुक्त राज्य अमेरिकामा छन् । साइँला बिभूषण शिक्षण पेशामा आवद्ध छन् र कान्छा बृन्जकेशर राई घरव्यवहारमा रहेका छन् ।

कृष्णध्वजको कान्छा छोरा लालबहादुर राईको ३ छोरा छन् । जसमा जेठा हर्कबहादुर राई २०४४ सालदेखि मुगलानमा रहेका, माइला बंकबहादुर राई स्थानीय नोकरी एवं घरव्यवहारमा संलग्न छन् । कान्छा देबेन्द्र राई प्रहरी सेवामा प्र.ना.नि.पदमा धरानमा कार्यरत छन् ।

यहाँ वाम्बुले राईहरू कहाँ–कहाँ छन् ? के–के गर्दैछन् भन्ने विषयमा खोज अनुसन्धान गर्न लागिएको हो । उँबुबाट माधवपुर आएर बसेका वाम्बुले राईहरू माधवपुरबाट केही पुस्ता मानेभन्ज्याङको गैरीगाउँ, उदैपुर सिरानटोल, उदयपुरको कटारी, गबुवा, खोक्सा चुरियामुनि टोड्के, मुक्सार, मोरङको पथरी, महोत्तरीको बर्दिबास, हातिलेँठ र ललितपुरको धोबिघाट समेतमा छरिएर रहेका छन् । जनसंख्याको हकमा यकिन गरिएको छैन ।

झण्डै पौने २०० वर्ष भयो, उँबु छाडेको । माधवपुरका अत्यन्तै सहृदयी मिलनसार अन्य पाछाका छिमेकी इष्टमित्र नरनाता आफन्तजनहरू, उखानझैँ कागको गुँडमा फुलअण्डा खाई दिएर कोइलीको अण्डाबाट निस्केको बचेरा कागलाई छाडेर फेरि कोइलीकै समूहमा मिल्न पुग्छ । त्यसरी नै हामी गौरठोके ब्राङख्याल्चोहरू तपाईहरूलाई छोडेर वामद्यालतिर गयौँ है सबैलाई बाई बाई ।

२०८० भदौ ४
कटारी नपा वडा नं.४ गबुवा, उदयपुर ।
(प्रस्तुत लेख इक लिब्जु–भुम्जु त्रैमासिक वर्ष १० अंक २, पूर्णाङ्क २१, (लिब्जुभुम्जुको ९४औं शृंखला), २०८० साउन–असोज (किरात येले संवत् ३८०२÷सन् २०२३मा प्रकाशित छ । सम्पादक)

 

प्रकाशित : सोमबार, फागुन ०७, २०८००५:५८

कवि स्वर्गीय दुर्गा बैरागी राईको वाम्बुले राई भाषाका छैटौं कविगोष्ठी–२०६१ मा पहिलो पुरस्कार प्राप्त कविता ‘र्याक्सिपर्छ’