ढुंगानाकृत ‘संक्षिप्त श्रीमद्भागवत महापुराण’ सार्वजनिक

कला साहित्य -संस्कृति

लिभु संवाददाता
काठमाडौं– लेखक विश्वराज ढुंगानाकृत ‘संक्षिप्त श्रीमद्भागवत महापुराण’ सार्वजनिक भएको छ । सोमबार आयोजित समारोहमा मोहनशरण देवाचार्य महाराजश्री र इतिहासविद् प्राध्यापक दिनेशराज पन्तले सार्वजनिक गरेका हुन् ।

लेखक ढुंगानाका यसअघि ‘सरल रामायण’ (भावानुवाद), ‘सरल पञ्चतन्त्र’ (कथासंग्रह), ‘नेपाल दर्शन’ (यात्रा उपन्यास) र ‘परलोकको विमर्श’ (ऐतिहासिक नाटक) कृति प्रकाशित छन् ।

सनातन वैदिक धर्म ऐतिहासिक कालखण्डभन्दा पहिलेदेखि ऋषिमुनिहरूको चिन्तनमनन र सत्प्रयासबाट विकसित धर्मलाई हिन्दुधर्म भनिएको छ । वेदव्यासले रचना गरेका अठार पुराणमध्ये भगवान श्रीकृष्णको व्यापक कथा समावेश गरिएको श्रीमद्भागवत महापुराण नै अन्तिम हो भन्ने छ ।

यस महापुराणमा भगवान श्रीकृष्ण गोकुलको कारागारमा अवतरित भएदेखि गोलोकधाम जाँदासम्मका बाललीलासहित सामाजिक, राजनीतिक, दार्शनिक र वीरतापूर्ण गतिविधिहरू सविस्तार उल्लेख गरिएका छन् ।

यस पुराणका सबै स्कन्धका हरेक अध्यायका सम्पूर्ण विवरणलाई संक्षेपमा सकेसम्म सरल भाषामा प्रस्तुत गरिएका छन् । ‘नेपाली समाजमा बढी नै रुचाइएको यो पुराणलाई सरल भाषमा प्रस्तुत गरेर सनातन वैदिक चिन्तनलाई पढेर बुझ्न सघाउ पुर्‍याउन मैले यस विषयमा कलम चलाएको हुँ,’ लेखक ढुंगानाले भने, ‘नयाँ पुस्ताका भाइबहिनी र संस्कृत नपढेका र अध्यात्मबारे जिज्ञासा राख्ने समुदाय नै यस पुस्तकका लक्षित पाठक हुन् ।’

वैदिक दर्शन र ७३२ पृष्ठमा समेटिएको कृतिबारे प्राध्यापक पन्त, लेखक टीकाराम अर्याललगायतले चर्चा गरेका थिए । कृतिको सम्पादन नारायण शरण काफ्लेले सम्पादन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published.