राष्ट्रिय विभूति फाल्गुनन्द पुरस्कारबाट प्राध्यापक लिम्बुनी पुरस्कृत (भिडियोसहित)

कला साहित्य -संस्कृति

लिभु संवाददाता
ललितपुर– समाजसेवी प्राध्यापक भारती ओख्राबो लिम्बुनीलाई राष्ट्रिय विभूति फाल्गुनन्द पुरस्कार २०८० प्रदान गरिएको छ ।
किरात याक्थुङ चुम्लुङले राष्ट्रिय विभूति समाज सुधारक महागुरु फाल्गुनन्द लिङ्देनको १३९औं जन्मजयन्ती अवसरमा शनिबार ललितपुरस्थित चुम्लुङहिममा आयोजित मारोहमा उक्त पुरस्कार प्रदान गरेको हो ।


पुरस्कार समर्पण तथा जन्मजयन्ती समारोहका प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर र चुम्लुङका संघीय अध्यक्ष प्रेम यक्तेनले उक्त पुरस्कार प्रदान गरेका हुन् । पुरस्कारको राशि २० हजार रुपैयाँ तथा सम्मानपत्र रहेको छ । म्यामार बर्माकी ८० वर्षीया प्राध्यापक लिम्बुनी किरात लिम्बू जातिको पहिचानका निम्ति आफूलाई समर्पित गर्दै आएकी छिन् ।


बर्मामा सन् १९४४ सेप्टेम्बरमा जन्मिएकी लिम्बुनी अखिल म्यामा देशीय किरात (गोर्खा) साहित्यिक एवं सांस्कृतिक संघ, म्यामा र किरात (गोर्खा) साहित्यिक एवं सांस्कृतिक संघ, थाइल्याण्डको संस्थापक तथा संरक्षक हुन् ।
‘लिम्बुवान भूमिभन्दा कोसौं टाढा बर्मामा जन्म भएर पनि लिम्बू र लिम्बुवानको सभ्यता, भाषा, संस्कृति, साहित्य, इतिहास, मुन्धुमलगायतको संरक्षण, विकास, अभ्यास, विस्तार र पुस्तान्तरणका लागि आजीवन समर्पित भई बर्मा र थाइल्याण्डमा रहेका नेपाली समुदायमा अभिभावकत्व प्रदान गर्दै,’ चारदशकदेखि विश्वविद्यालय प्राध्यापनमा संलग्न लिम्बुनीबारे पुरस्कार छनोट समितिकी संयोजक डा. चेतना लक्समले भनिन्, ‘त्यहाँका लिम्बू र नेपालको लिम्बूहरूको साझा संस्था किरात याक्थुङ चुम्लुङस“ग संस्थागत विकास सम्बन्ध जोड्नको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको छ ।’

दोस्रो विश्वयुद्धमा होमिएका बाजे पुस्ता बर्मामै अल्झिएपछि भारती ओख्राबो लिम्बुनी पुस्ता पुर्खाको थलो खोज्ने क्रममा एक दशकअघि नेपालसँग जोडिएकी हुन् । उनी थाइल्याण्डको एसम्पसन युनिभर्सिटबाट अवकासप्राप्त प्राध्यापक हुन् । ‘मेरो पितृ देशमा जति मान सम्मान पाएँ, इज्जत पाएँ, पुरस्कार पाएँ,’ सम्मान ग्रहणपछि प्राध्यापक लिम्बुनीले भनिन्, ‘त्यो चाहिं म जन्मेकै बर्मामा, मेरो कर्मभूमि थाइल्याण्डमा तीस वर्षमा आधा पनि पाएको छैन । उहाँको सरकारले सुने पनि केही फरक पर्दैन, यो सत्य कुरा हो । मेरो पितृभूमिमा यसअघि पनि सम्मान पाएको थिएँ । आज महागुरु फाल्गुनन्दका सम्मानमा पनि सम्मान पाएँ ।’


महागुरु फाल्गुनन्दको जन्म विसं. १९४२ कात्तिक २५ गते इलामका चुक्चिनाम्बामा भएको थियो । किरात, भाषा, लिपि, संस्कार, संस्कृति तथा समाज सुधारका निम्ति महत्वपूर्ण कार्य गरेका थिए । समाज सुधारको कार्यमा १९८८ साल वैशाख २४ गते दशबुँदे सत्य धर्म मुचुल्का जारी गरेका थिए । फाल्गुनन्दको निधन विसं. २००५ मा भएको थियो । नेपाल सरकारले फाल्गुनन्दको योगदानलाई लिएर २०६६ मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो । अधिवक्ता अमृता थेबेले फाल्गुनन्दको योगदानबारे चर्चा गर्दै महागुरुको जन्मथलो विशेष संरक्षण क्षेत्र घोषणा गर्न मागसहित दायर गरिएको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको बताइन् ।

मानव अधिकार आयोगका अध्यक्ष मगर संवैधानिक अधिकारभित्र जाति, भाषा, धर्म, संस्कृति संरक्षण अधिकार सुनिश्चित रहेकाले सम्बन्धित समुदाय सजग रहेर अघि बढ्न सक्ने बताए । साथै, मानव अधिकारको दृष्टिकोणले महागुरु फाल्गुनन्दको वाणी र कार्य ग्रहण गर्न योग्य रहेको बताए ।

चुम्लुङका अध्यक्ष प्रेम यक्तेनले महागुरु राजनीतिज्ञ, मानव अधिकारवादी, समाज सुधारक रहेको बताए । ‘समाजमै काम गर्नेका निम्ति हौसला प्रदान गर्न यो पुरस्कार स्थापन गरिएको हो,’ चुम्लुङको ३५ वर्षे संस्थागत यात्रा यतिखेर राजनीतिक अधिकारका निम्ति प्रदेश–१ मा लड्दै गरेको उल्लेख गर्दै उनले भने, ‘सामाजिक सांस्कृतिक संस्थाले यतिखेर प्रदेश–१ ‘कोशी’ नामाकरणविरुद्ध राजनीतिक संघर्षमा छौं । हामी आदिवासीको मानवअधिकारको गम्भीर उल्लंघन भएको छ । यसतर्फ मानव अधिकार आयोगको ध्यान पुगोस् ।’

अध्यक्ष यक्तेनले आन्दोलनका क्रममा एकजनाले सहादत प्राप्त गरेको उल्लेख गरे । सरकारले सदाहतप्राप्त योद्धा लाजेहाङलाई सहिद घोषणा ग¥यो तर राजपत्रमा प्रकाशन नगरेकाले मानव अधिकार आयोगले चासो दिनुपर्ने बताए ।

समारोहको आरम्भमा सभाध्यक्ष, प्रमुख अतिथि, अतिथिहरूले चुम्लुङहिम परिसरमा रहेको राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द, सिरिजङ्गा हाङ र इतिहासविद् इमानसिं चेम्जोङको शालिकमा माल्यापर्ण गरेका थिए ।

समारोहको आरम्भमा सभाध्यक्ष, प्रमुख अतिथि, अतिथिहरूले चुम्लुङहिम परिसरमा रहेको राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द, सिरिजङ्गा हाङ र इतिहासविद् इमानसिं चेम्जोङको शालिकमा माल्यापर्ण गरेका थिए ।
यसैगरी सोही समारोहमा किरात याक्थुङ चुम्लुङद्वारा आयोजित साताव्यापी लिम्बू भाषा तथा सिरिजङ्गा लिपि प्रशिक्षणमा खटिएका प्रशिक्षकद्वय प्राध्यापक विष्णु सिंगक र साहित्यकार निशेष आङदेम्बेलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.