युद्धसाहित्यका साथमा कवि गणेश राई

कला साहित्य -संस्कृति

लिभु संवाददाता
बेलायत– कलात्मक भैकन पनि कविताका स्रोता पाउन सजिलो छैन । त्यसैले त कविता सुन्नु परेमा यातना ठानिन्छ यदाकदा । तर शनिबार युकेको हाई वेकोम्बमा आयोजित कार्यक्रमको माहौल भने युद्ध कविताले स्तभ्द बनायो । कविता वाचन हुँदैजाँदा दर्शक कतिबेला उत्तेजित हुन्थे,कति बेला भावुक हुन्थे आँसु बगाउँदै ।

कविता सुनाउँदै थिए कवि एवं उपन्यासकार गणेश राई । युद्ध साहित्य सिद्धान्तका परिकल्पनाकार समेत रहेका पूर्व गोरखा सैनिक राईले कार्यक्रममा सुनाए आधादर्जन युद्ध कविता र त्यत्ति नै संख्यामा अरु कविता ।

कविता सुनेपछि कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका बीबीसी नेपाली सेवाका पूर्व प्रमुख एवं नेपाली सुन्ने साहित्यका प्रणेता खगेन्द्र नेपालीले भने, ‘कविता सुनेपछि म स्क्रिप्ट हराएको रेडियो प्रस्तोता जस्तो निःशब्द बनेँ ।’

खोटाङमा जन्मी हाल पूर्वी लण्डनमा बसोबास गर्ने राईका छवटा पुस्तक प्रकाशित छन । विद्यालय पढ्दाबाट साहित्यमा आकर्षित भएका राई जे पायो त्यही विषयमा कविता लेख्दिनँ भन्छन् । ‘म फूलको कविता लेख्दिनँ, हिमालको, पहाडको, नदीको कविता लेख्दिनँ,’ उनले थपे, ‘म मात्र लेख्छु जीवनको कविता ।’

तीन चरणमा विभाजन गरिएको कार्यक्रमको आयोजना नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले गरेको थियो । अभिव्यक्ति शृंखला नाम दिइएको सो कार्यक्रममा राईले सुरुमा युद्धसाहित्यको अर्थ र इतिहास बुझाए अनि सुरु गरे कविताको वर्षा ।

प्रतिष्ठानका उपाध्यक्ष टंक वनेमको अध्यक्षतामा भएको कार्यक्रमको प्रारम्भिक सत्र महासचिव मिजास तेम्बेले संचालन गरेका थिए । सो अवसरमा प्रतिष्ठानका नयाँ आजीवन सदस्यहरु जानु काम्बाङ लिङदेन, भावना परिस्कृत सुनुवार, अग्निप्रसाद लिम्बु, दीपक लिम्बु र उमाकान्त गुरुङलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रतिष्ठानका पूर्वअध्यक्ष दयाकृष्ण राईले स्वागत मन्तव्य दिएको कार्यक्रमका अर्का पूर्वअध्यक्ष एवं संरक्षक रक्ष राईले कार्यक्रममा वाचन गरिएका कविताको समीक्षा गरेका थिए ।

कार्यक्रमको तेस्रो चरणमा उपस्थित स्रष्टाहरु चोक गुरुङ, डा. रुपक श्रेष्ठ, भावना परिस्कृत सुनुवार, भगवान चाम्लिङ, सेमन्त राई, जानु काम्बाङ लिङदेन आदिले कविता, मुक्तक, गीत सुनाएका थिए ।

कार्यक्रममा नेपालबाट आएका साहित्यकार मदन लामाखुलेले बेलायतका केही साहित्यकारहरुको लेखनको समीक्षा गर्दै विगतमा दार्जिलिङबाट झैं भविष्यमा बेलायतबाट पनि नेपाली साहित्यमा आयाम थपिने आशा व्यक्त गरे ।
दोस्रो चरणको कार्यक्रमको संचालन कोषाध्यक्ष देबेन्द्र खेरेस र तेस्रो चरणको कार्यक्रम सहसचिव अन्जु अन्जलीले संचालन गरेकी थिइन् । प्रतिष्ठान विगत ११ वर्षदेखि अभिव्यक्त शृंखला नामक एकल कार्यक्रम गर्दैआएको छ ।
http://wenepali.com/2018/09/56958.html

Leave a Reply

Your email address will not be published.