विदेशमा बसेर स्वदेशको बखान
बि. मुक्काचो
‘मन थिएन जोगी बन्नलाई’ भन्ने बद्री पँगेनीको गीत कुनै बेला खुब चर्चित थियो ।
त्यही पुरानो गीतलाई बिम्बको रूपमा प्रयोग गरेर यो लेखको शुरू गर्दैछु ।
बासी अथवा पुरानो जस्तो लाग्ने प्रसंगलाई कोट्टाएर खास लेख्नु मन थिएन । तर इक लिब्जु–भुम्जु त्रैमासिकका सम्पादक गणेश वाम्बुले राईले ढाडस दिँदै झकझकाउनु भयो, ‘यसपालिचै छोटो भएपनि लेख्नु प¥यो कावा ।’
नेपालीको बानी
विदेशको सुख सयलमा बसेर स्वदेशको गुणगान गाउने हाम्रो प्रवृत्ति बढेको छ । ‘आई मिस माई भिलेज, माई टाउन । आई विस आई वाज देयर टु’ जस्ता ओठे र छद्म कमेन्ट गर्नेमध्ये नेपालीहरूमा म पनि पर्दछु । तर, जेजस्तो भएपनि आफ्नो देश नेपालमै गरी खाने र विदेश गएपछि नेपाल नै फर्केर केही न केही व्ययसाय गर्ने नेपालीहरू भने कम पाइन थालेको छ । आफ्नो देशमा गÞरिबी छ । रोजगारी छैन । भ्रष्टाचार व्याप्त छ । सरकार अस्थिर छ आदि इत्यादिको बहाना बनाएर विदेश पलायन हुनेहरूको संख्या बढ्दो छ ।
हाइब्रिड अर्थात् आधुनिक रीतिरिवाज
वाम्बुले राईहरूको महान् चाड ढ्वाङ्कुमलाई आफ्नै गाउँटोलमा मानेको राम्रो लाग्छ । हाम्रो रीतिरिवाज सेसा, न्वाङ्गी र खाउमो पनि आफ्नै गाउँठाउँको घर आँगन र पिलुङ ब्लोमा पुजेको मन पर्छ ।
रीतिरिवाजलाई आफू जुन–जुन देश र सहर बजारमा गयो, त्यैत्यै लगेपछि आफू जन्मेको अथवा आफ्नो पितापुर्खाहरूको पुरानो थातथलो फर्किनु पर्ने कारण के ? यो मेरो व्यक्तिगत र यक्ष प्रश्न हो ।
कुनै जमानाका लाहुरेहरू पल्टने जागिरबाट सेवानिवृत्त भएपछि पेन्सन भत्ता लिएर पहाडको आफ्नै गाउँघर फर्कने चलन हुन्थ्यो । त्यतिबेला मधेसमा औलो ज्वरोको प्रकोप थियो । त्यो एउटा कारण र डर थियो होला । सहर बजारमा बसेर न्वाङ्गी, खाउमो र सेसाजस्ता रीतिरिवाजहरू गर्न पाइन्नथ्यो ।
त्यसैले पितापुर्खाको घर पहाडमै गएर बसोबास गर्नुपर्छ भन्ने मान्यता पनि थियो । लाहुरेहरू गाउँ फर्केर दुःख पाए । आफ्नो छोराछोरीहरूलाई राम्रो शिक्षादीक्षा दिन पाएनन् भन्ने अर्को खालको आलोचना पनि सुनिन्थ्यो । पछिल्लो जमानाका वाम्बुले राईहरूले जताजता बसाइँ सरे, उतैउतै न्वाङ्गी, खाउमो पनि गर्न थाले ।
कुन दिन बेलायतमा पनि न्वाङ्गी खाउमो गर्न सुरू हुन थाल्यो भने अचम्म नमान्दा हुने हो कि ? तर, मेरो विचारमा त्यो प्रचलन र मान्यता ठीक होइन । कारण, त्यसो गर्दा आफ्नो गाउँ र देश फर्कनु पर्छ भन्ने मान्यता हराउँदै जानेछ ।
सन्दर्भ, बेलायती ढ्वाङ्कुमको
विगत वर्षहरूझैं यो वर्ष पनि अगस्ट १७, २०२४ (भदौ १ गते)को दिन बेलायतमा वाम्बुले राईहरूले भव्य कार्यक्रम आयोजनाका साथ आफ्नो महान चाड ढ्वाङ्कुम मनायौं । करिब तीन वर्षपछि म (स्तम्भकार) पनि फेरि ढ्वाङ्कुम मान्न पुगेको थिएँ । खास फरक केही थिएन । फरक थियो त सिर्पm ढ्वाङ्कुम मान्ने ठाउँ अथवा पार्टी हल अथवा भेन्यु स्थल । इङलैंडको दक्षिण पश्चिममा अवस्थित अल्डरसोट टाउनको एम्पायर हलमा वाम्बुले राईहरूको खचाखच थियो ।
नेपालमा जस्तो सधैं ढ्वाङ्कुमटार, फकुल, टार्कोम, उदयपुरको वाल्लीबर, वाक्साको ड्वालकाकु, मोलीको फस्कु र खोटाङको झाप्प्पा‘मा ढ्वाङ्कुम नमानिनु पनि अर्को सहर बजारिया र विदेशी ढ्वाङ्कुमको विशेषता र विडम्बना हो । सहर, बजारिया र विदेशी चाडपर्व अथवा हाम्रो ढ्वाङ्कुम पनि आफै ठाउँ, तिथिमिति र समय मिलाएर मान्नु पर्ने बाध्यता छ । युकेको ढ्वाङ्कुम मान्न पनि विकेन्ड अथवा सप्ताहन्तमा पार्नु परेकोले नेपालको वास्तविक ढ्वाङ्कुमभन्दा दुई दिन अगाडि अगस्ट १७ तारिख शनिबार मानिएको हो । युके वाम्बुले राई समाजका अध्यक्ष नवल राई र उहाँकी श्रीमती गौता राईले पानसमा बत्ती बाल्नु भएपछि ढ्वाङ्कुम कार्यक्रमको औपचारिक उद्घाटन भएको थियो ।
विद्यालय र विश्वविद्यालयका विभिन्न तह र विधामा अध्ययन पूरा गर्ने विद्यार्थी नानीहरूलाई प्रमाणपत्र दिएर खादाको साथ सम्मान गरिएको थियो । त्यसैगरी बेलायती सैनिक सेवाबाट निवृत्त हुने, पदोन्नति हुने र नव विवाहित दम्पतीहरूलाई पनि सम्मान गरियो ।
सदाझैं संगिना चाम्दो नाचेर र वाम्बुले राईहरूको मौलिक भाकामा आधारित राम्दले गीत (सालाङ) गाएर रौनक शैलीमा रङ्गरवास गर्दैगर्दा किरात राई यायोक्खा नेपाल केन्द्रीय समितिका पूर्वउपमहासचिव तथा वाम्बुले राई समाज नेपालका उपाध्यक्ष तथा बहुआयामिक व्यक्तित्व शुभचन्द्र राईले पनि युके ढ्वाङ्कुममा पहिलो पटक उपस्थिति जनाउनु भयो ।
आफ्नो छोरा–बुहारी भेट्नलाई बेलायत भ्रमणमा आउनुहुने वयोवृद्ध व्यक्तित्वहरू दार्बुको डिगबीर राई (पदमको पापा) र थोप्लोमको अमृतबहादुर राई (असईको पापा) लाई पनि यो ढ्वाङ्कुममा पृथक अनुभवको साथ रमाइलो नै भयो ।
हरेक वर्ष लोकल तीनपाने रक्सी कोसेली लिएर आउनु हुने हाम्री चेली (रामरती राई) दिदीको ग्वालेङ चाख्दै गर्दा मैले पनि पहिलो पटक युके ढ्वाङ्कुमलाई सुङगाम टाङगाम (मालेमुले) हुनेगरी मानेको अनुभव गरेँ । त्यसमाथि केही ह्विस्की, वाइन र बियरजस्ता पेय पदार्थहरू मिसिएको अथवा मिक्स भएकोले भोलिपल्ट पनि हल्का ह्याङ्ओभर भएको अथवा कुब्डि पास्साङ बाम भन्ने अनुभूतिहरू पनि सुनियो । अधिकांशको त्यही हुनसक्छ भन्ने अनुमान लगाएँ ।
नेपालको पहाडी इलाकामा ढ्वाङ्कुम मान्दा थुम्से (टोलुम)भित्र जा हेपा (कागुनीको भात), माटोको भाँडो अर्थात् मटिया (प्वाँ) मा कोदोको जाँड र भैंसीको मासु लाने चलन हुन्छ । चार नाक्सोहरूले भूमेपूजा गरिसकेपछि टोलुमको जा हेपा र कोदोको जाँड (जिर्मा) बाँडेर खने-पिउने परम्परा छ ।
सहर, बजार र विदेशमा ती सामग्रीहरू उपलब्ध नहुने भएकोले सामान्य जाँड पानी र नाचगानको साथ भेला भएर ढ्वाङ्कुम चाड मानिएको हो ।
ढ्वाङ्कुम दिनकै अवसर पारेर इक लिब्जु–भुम्जु पत्रिकाका सम्पादक तथा वरिष्ठ पत्रकार गणेश वाम्बुले राईद्वारा लिखित ‘वाम्बुले भाषाको शिरउभौनी’ भन्ने पुस्तक पनि बिक्रीवितरण गरिएको थियो ।
गाउँकै ढ्वाङ्कुम अर्गानिक लाग्ने र मिस हुने
विदेश र सहर बजारमा जतिसुकै धुमधमाका र झाँकी ठाँटी मनाए पनि आफ्नै गाउँठाउँको ढ्वाङ्कुममा ओर्जिनालिटी अथवा निखुद स्वाद पाउँदछु । यो साल नेपालको ढ्वाङ्कुमलाई बर्खेझरीले केही बाधा पु¥याए पनि उमंग, जोश, जाँगर र रमाइलोपनामा खास कमी देखिएन । झरी, पानी र हिलोमै भए पनि राति अबेलासम्म नाचगान गरेको दृश्यहरू फेसबुक लाइभ भिडियो र तस्बिरहरू देखियो ।
म सानो छँदा मान्न जाने स्थानीय टार्कोमको र तन्नेरी भएपछि मान्न गएको भानाम अर्थात् उँबु बिजुवाथान, ढ्वाङ्कुमटारको मुख्य ढ्वाङ्कुम मनाइमा धेरै नै परिवर्तन भएको पाइन्छ । सोसल मिडियाले गर्दा आफ्नो गाउँठाउँको प्रायः सबै मेलापर्व र खेलकुद प्रतियोगिताहरू प्रत्यक्ष लाइभमा वा युट्युब भिडियोहरूमा देखिएको हुन्छ ।
मेला, चाडपर्व र खेलकुद
नेपालको राष्ट्रिय र महान मानिने दुई ठूला पर्वहरू दशै र तिहार पनि नजिकिंदै आएको छ । दशैतिहारको आगमनसँंगै नेपालीहरू आफ्नो गाउँघर फर्किने चलन र माहौललाई पनि मैले विशेष रूपमा हेर्दै आएको छु ।
विभिन्न मेला, महोत्सव र खेलकुद प्रतियोगिताहरूले गर्दा पनि युवा पिढीमा गाउँघरप्रतिको माया, आकर्षण र उत्तरदायित्व बढ्न थालेको छ । अघिल्लो वर्षहरूमा दशै अगाडि भएको ध्याप्ती फुटसल, पँखु फुटसल र वाक्सा फुटसल आयोजना भएका थिए भने तिहार अगाडि भव्य रूपमा व्याकुल माइला गोल्डकप र मानेभन्ज्याङ गोल्डकपले गर्दा पनि युवाहरू सलबलाएका थिए ।
यो वर्ष पनि दशै अगाडि माथिल्लो रिचुवा, टार्कोम र वाक्सामा फुटसल आयोजना हुन गइरहेकोछ । दशै र तिहारबिच रिनुवालको ब्ओकुला खेल मैदानमा चौरास प्रिमियर लिग संचालन हुनेछ । यसैगरी एघारौं उदयपुर–चुलेण्डी फुटसल कप यही असोजभित्र सम्पन्न हुँदैछ ।
अधिकांश युवा पिढीहरू गाउँ छोडेर सहर, बजार र विदेशतिर पलायन भइरहेको अवस्थामा पहाडी क्षेत्रको यस्ता खेलकुद प्रतियोगिताले पनि त्यहाँको स्थानीय व्यापार, व्यवसाय र आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्नुमा थप टेवा पु¥याएको छ । यो निरन्तर रूपमा हुनु पर्दछ । कुनै न कुनै मेला, महोत्सव, रीतिरिवाज र मान्यताले गाउँको विकास र आकर्षणमा कमी नआओस् भन्ने आम जनचासो बढेको छ ।