२३औं वाम्बुले राई भाषाको कविता प्रतियोगिता धरानमा हुने, कविताको शीर्षक ‘इक किरात प्रदेस’

समाचार

लिभु संवाददाता
ललितपुर– वाम्बुले राई भाषाको २३औं कविता प्रतियोगिता सुनसरीको धरानमा हुने भएको छ । वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाको २६औं वार्षिकोत्सवको अवसरमा कविता प्रतियोगिता हुन लागेको हो । कविता प्रतियोगिताको आयोजक वाम्रास केन्द्रीय कार्यसमिति र व्यवस्थापन वाम्रास जिल्ला कार्यसमिति सुनसरीको रहेको हो ।

प्रदेश–१ मा जारी ‘कोशी’ बहिस्कार आन्दोलन जारी छ । उक्त आन्दोलनलाई सहयोग पु¥याउन ओखलढुंगा, खोटाङ र उदयपुरको गाउँघरमा मात्र आयोजना हुने गरेको वाम्बुले राई भाषाको कविता प्रतियोगितालाई धरानमा आयोजना गर्न लागेको वाम्रास केन्द्रीय अध्यक्ष तथा वरिष्ठ पत्रकार गजुरधन राईले बताउनु भएको छ ।

‘कोशी नामविरुद्ध जारी आन्दोलनलाई समर्थन गर्दै वाम्बुले भाषाको कविता प्रतियोगिता धरानमा गर्ने र त्यसको व्यवस्थापन जिम्मेवारी र कविताको शीर्षक चयनको जिम्मा पनि वाम्रास सुनसरीलाई नै दिने निर्णय भएको छ,’ अध्यक्ष राईले भन्नुभयो, ‘त्यसैअनुसार वाम्रास सुनसरी कार्यसमितिले ‘इक किरात प्रदेस’ (हाम्रो किरात प्रदेश) शीर्षक छान्नु भएको छ । यही शीर्षकमा कविता प्रतियोगिता हुनेछ ।’

वाम्बुले राई भाषाको कविता प्रतियोगिता २०५५ सालदेखि भौतिक उपस्थितिमाझ ओखलढुंगा, खोटाङ र उदयपुर जिल्लामा आयोजना गरिदैआएको थियो । २०७७ सालमा कोभिड–१९ को बेला २२औं कविता प्रतियोगिता अनलाइन (भर्चुअल) माध्यमबाट सम्पन्न भएको थियो । त्यसपछि २०७८ र २०७९ सालमा डेंगु महामारीको कारण प्रतियोगिता हुन सकेको थिएन ।

यो पटक कविता प्रतियोगितामा देश–विदेशबाट कविहरू सहभागी हुन पाउने छन् । पुरस्कारका निम्ति भने कवि स्वयं उपस्थित भएर आफ्नो वाचन गर्नु पर्नेछ । यसअघिको प्रतियोगितामा प्रथम भएका र लिब्जु–भुम्जु पुरस्कार प्राप्त कविले अप्रतियोगीका रूपमा सहभागी हुन पाउने छन् ।

वाम्रासले यसअघि आयोजित कविता प्रतियोगिता तथा गोष्ठीमा वाचन गरिएका कवितालाई संग्रहका रूपमा प्रकाशित गरेको छ । जसमा ‘सुरिम’ (२०७५), ‘खाक्चिलुपा रिनाखा’ (२०७६) र ‘द्याल रुच्चाल’ (गाउँ हेर्दा, २०७८) कविता संग्रह रहेका छन् । २३औं वाम्बुले राई भाषाको कविता प्रतियोगितामा सहभागी प्रतियोगी र अप्रतियोगी कवितालाई संग्रहका रूपमा प्रकाशन गरिने जनाइएको छ ।

 

‘२३औं वाम्बुले राई भाषाको कविता प्रतियोगिता आयोजना गर्न र किताब प्रकाशनका निम्ति धरान उपमहानगरपालिका र साँघुरीगढी गाउँपालिकसँग आर्थिक सहयोगको प्रस्ताव गरेका छौं,’ वाम्रास सुनसरीका अध्यक्ष लाखमान राईले भन्नुभयो ।

कार्यक्रम : वाम्बुले राई भाषाको २३औं कविता प्रतियोगिता
मितिः किरात येले संवत् ५०८३/२०८० मंसिर २० गते बुधबार
स्थानः धरान उपमहानगरपालिका–१०, यलम्बर स्मृति संग्रहालय, किरात राई यायोक्खाको कार्यालय, सुनसरी

प्रतियोगितामा सहभागी कविहरूले पालना गर्नुपर्ने नियमहरू :
१) कविको नाम, थर स्पष्ट खुलेको हुनुपर्ने छ । प्रतियोगितामा वाम्बुले भाषा बोल्न, लेख्न, पढ्न जान्ने जोसुकैले सहभागी हुन पाउने छ ।
२) कविताको शीर्षक ‘इक किरात प्रदेस’ (हाम्रो किरात प्रदेश) रहेको छ । कविता वाम्बुले भाषामा बढीमा १५० शब्दको हुनुपर्नेछ । वाचन गर्दा ३ मिनेटको हुनुपर्नेछ । सो कविता संग्रह (किताब)का रूपमा प्रकाशन गर्नु पर्ने भएकोले कविता देवनागरी लिपिमा खस नेपाली अनुवाद पनि पठाउनु पर्नेछ ।
३) कविताको भावार्थ किरात जाति, भूगोल, इतिहास, सभ्यता, लोकपरम्परा, मुन्दुम परम्परा केन्द्रित हुनुपर्नेछ । कुनै जात, जाति, धर्म, सम्प्रदायप्रति आँच नपुग्ने रचना हुनुपर्नेछ ।
४) कविता वाचन गर्दा मौलिक भेषभूषा लगाउनुहोस् । कविता वाचन शैली, वाचन कला (हाउभाउ र शैली), भाव, विचार (कविताको मर्म), मौलिकता र ठेट शब्दावली, भेषभूषा (साँस्कृतिक पक्ष)को मूल्यांकन गरिनेछ ।
५) कविता छनोट प्रक्रिया निर्णायक मण्डलको निर्णय अन्तिम हुनेछ ।
६) प्रतियोगितामा विजयी कविहरू क्रमशः प्रथम १० हजार, द्वितीय ६ हजार, तृतीय ४ हजार तथा सान्त्वना दुईजनालाई २–२ हजार रुपैयाँ नगद प्रदान गरिनेछ । विजयी र सहभागी कविलाई कार्यक्रमकै दिन तत्काल पुरस्कार र प्रमाणपत्र प्रदान गरिने छ ।

Leave a Reply

Your email address will not be published.