वाम्बुले कवि तोसेल बोबो र कबिन वाम्बुलेलाई लिब्जु–भुम्जु पुरस्कार

मातृभाषा समाचार

वाम्बुले कवि तोसेल बोबो र कबिन वाम्बुलेलाई लिब्जु–भुम्जु पुरस्कार
लिभु संवाददाता
काठमाडौं– वाम्बुले राई मातृभाषाका कविद्वय तोसेल बोबो (दुताराज राई) र कबिन वाम्बुले (तुलाचन राई)लाई ‘लिब्जु–भुम्जु पुरस्कार’ प्रदान गरिएको छ । २०५० सालदेखि वाम्बुले भाषामा प्रकाशित ‘लिब्जु–भुम्जु’ त्रैमासिक पत्रिका प्रकाशित उत्कृष्ट एक कविका कवितालाई हरेक वर्ष पुरस्कृत गरिदै आएको छ ।

ओखलढुंगाको मानेभन्ज्याङ–६ जाकुमो गाउँका ३० वर्षीय कवि तोसेल बोबोलाई २०७८ सालमा प्रकाशित ‘उङगुया बाँसुरि त्वाप्चो’ (म पनि बाँसुरी बजाउने) शीर्षक कवितालाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

यसैगरी खोटाङ हलेसी तुवाचुङ नगरपालिका–१ झाप्पागाउँका २५ वर्षीय कवि कबिनलाई २०७९ सालमा प्रकाशित ‘आ मामा’ (मेरी आमा) शीर्षक कवितालाई पुरस्कार प्रदान गरिएको हो ।

किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताचो राई, पुरस्कारका संस्थापक पत्रकार पुष्पहरि क्याम्पाराई, राष्ट्रगानका रचनाकार व्याकुल माइला, वाम्बुले राई समाजका अध्यक्ष तथा पत्रकार गजुरधन राई र सम्पादक गणेश वाम्बुले राईले ललितपुरको महालक्ष्मी नगरपालिका–१ इमाडोलस्थित वाम्बुले राई समाजको कार्यालयमा शुक्रबार आयोजित समारोहमा उक्त पुरस्कार प्रदान गरेका हुन् ।

पुरस्कारको राशि जनही पाँच हजार रुपैयाँ र प्रमाणपत्र रहेको छ । पछिल्लो तथ्यांकअनुसार वाम्बुले मातृभाषा बोल्नेको संख्या १५ हजार २ सय ८५ जना रहेको छ । वाम्बुले राई भाषा, साहित्य, संस्कृति, संगीत, किरात सिरिजङ्गा लिपिसम्बन्धी तीन दर्जन कृति प्रकाशित छन् ।

लिब्जु–भुम्जु पुरस्कारको संक्षिप्त परिचय

नेपाल टेलिभिजनमा कार्यरत वरिष्ठ पत्रकार तथा गीतकार पुष्पहरि क्याम्पाराईले पत्रिकाको नाममा ‘लिब्जु–भुम्जु पुरस्कार–२०५५’ स्थापना गर्नु भएको हो । यो पुरस्कारबाट आज २०८० असार २९ गतेसम्म २२ जना कविहरू पुरस्कृत भइसक्नु भएको छ ।

२०७२ सालमा ‘लिब्जु–भुम्जु पत्रिका अक्षयकोष’ गठन गरी हालसम्म करिब ६८ जना संस्था र दाता व्यक्तिबाट ९ लाख ७० हजार रुपैयाँ मूलकोष खडा गरिएको छ ।

मूलकोषको ब्याजबाट वर्षमा १ जना कविलाई पाँच हजार रुपैयाँ र प्रमाणपत्रसहित ‘लिब्जु–भुम्जु पुरस्कार’ प्रदान गरिदै आएको छ ।

वाम्बुले राई समाजले आयोजना गर्ने कविता प्रतियोगितामा पुरस्कार प्रदान गरिने परम्परा रहेको तर गत वर्ष आयोजना हुन नसकेकाले परिस्थितिवस अहिले दुईजनालाई प्रदान पुरस्कृत गरिदैछ ।

 

लिब्जु–भुम्जु पुरस्कार २०७८ प्राप्त कवि तोसेल बोबो

२०७८ सालको ‘लिब्जु–भुम्जु पुरस्कार’ प्राप्त कवि तोसेल बोबोको वास्तविक नाम दुताराज राई (वाम्बुले क्याम्पाचो) हो । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका वडा नं.६ जाकुमो गाउ“मा २०५० सालमा जन्मुनु भएको उहाँ पापा गुमानसिंह राई र मामा अम्बासरी राईको १ छोरी र ३ छोरामध्ये माइला सन्तान हुनुहुन्छ ।

उहाँलाई ‘इक लिब्जु–भुम्जु’ साहित्यिक त्रैमासिक वर्ष ८ अंक १२ (लिब्जुभुम्जुको ८५औं शृंखला), २०७८ वैशाख–असारमा प्रकाशित ‘उङगुया बाँसुरि त्वाप्चो’ (म पनि बाँसुरी बजाउने) शीर्षक कवितालाई पुरस्कार प्रदान गरिएको हो । यो कविताले वाम्बुले राईको सामाजिक लोक जनजीवन, सांस्कृतिक परम्परा, मूल्यमान्यता, चालचलनलाई प्रतिबिम्बित गरेको छ । वाम्बुले राई समुदायको भूगोल, संस्कार, परम्परा र समयको परिवर्तनसँगै भएको यातायात सुविधा, नयाँ पुस्तामा आएको नयाँ चेतना र परम्पराप्रतिको मोहलाई दर्शाएको छ ।

बाँसुरी बजाएर बैस झल्काउने, बिनायो खिपेर प्रेमिकालाई उपहार दिने परम्परालाई आजका युवा पुस्ताले सिको गर्न चाहेको तर बिस्तारै ओझेल पर्दैगएको पक्षलाई कविताले उजागर गरेको छ । उहिले गाइने लोकभाकाहरू पुनःजागरण गर्न चाहेको तर समयको भेलले बिस्तारै टाढा पार्दै गएको र देवीदेउराली चौतारीहरूमा बिसाउने बटुवाहरू सडक सञ्जालले बिसाउन नदिएको भनिएको छ ।

उहाँ वाम्बुले राई समाजले आयोजना गर्दै आएको २१औं वाम्बुले भाषा कविता प्रतियोगितामा तेस्रो पुरस्कार प्राप्त गर्नुभएको थियो । कक्षा १२ उत्तीर्ण कवि तोसेल बोबोले वाम्बुले राईको जनजीवनबारे भ्लग निर्माण गरी सार्वजनिक गर्दै आउने भएको छ । उहाँ वैदेशिक रोजगारीको क्रममा दक्षिण कोरिया उड्ने तयारीमा हुनुहुन्छ । उहाँको पेशागत रुपमा जहाँ रहनु भएपनि वाम्बुले राई मातृभाषा सिर्जना यात्रा निरन्तर रहोस् । उत्तरोत्तर प्रगतिको शुभकामना छ ।

लिब्जु–भुम्जु पुरस्कार २०७९ प्राप्त कवि कबिन वाम्बुले

२०७९ सालको ‘लिब्जु–भुम्जु पुरस्कार’ प्राप्त कवि कबिन वाम्बुलेको वास्तविक नाम वास्तविक नाम तुलाचन राई (वाम्बुले सुम्दिचाचो) हो । २०५५ वैशाख ७ गते खोटाङ हलेसी तुवाचुङ नगरपालिका–१ झाप्पागाउँमा जन्मिनु भएको उहाँ बुवा अबिधन राई र आमा बिभुरत्न राई तीन छोरा र दुई छोरीमध्ये माइला सन्तान हुनुहुन्छ ।

‘इक लिब्जु–भुम्जु’ त्रैमासिक पत्रिका वर्ष ९ अंक ३, पूर्णाङ्क १८ (लिब्जुभुम्जुको ९१औं शृंखला), २०७९ कात्तिक–पुसमा प्रकाशित ‘आ मामा’ (मेरी आमा) शीर्षक कवितालाई यो पुरस्कार प्रदान गरिएको छ । पुरस्कारका निम्ति छानिएको ‘आ मामा’ (मेरी आमा) शीर्षक कवितामा कविले दुर्गम गाउँमा जन्मेहुर्केको एक छोरा आफ्नो सुन्दर भविष्य निर्माणका निम्ति सहर पसेको कथा पस्केका छन् । आमाप्रतिको ममता, समाज, मुन्दुम रीतिथिति पालना र गाउँघरको सम्झनामा कर्तव्यवोध उनेका छन् ।

कबिनले वाम्बुले राई समाजले आयोजना गर्दै आएको वाम्बुले राई भाषाको कविता गोष्ठी २०६६ सालमा झाप्पागाउँमा सम्पन्न ११औं कविता गोष्ठीमा पहिलो पटक सहभागी हुनु भयो भने त्यसयता भएका कविगोष्ठी सान्त्वना पुरस्कार प्राप्त गर्नु भएको छ । उहाँ हाल काठमाडौंको चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पसमा स्नातक दोस्रो वर्ष अध्ययनरत हुनुहुन्छ । उत्तरोत्तर प्रगतिको शुभकामना छ ।

Leave a Reply

Your email address will not be published.