कवि कला सेरेङले ल्याए, ‘कलाका अन्तर्मन’ र ‘अतितका यादहरू’ कृति

कला साहित्य -संस्कृति समाचार

लिभु संवाददाता
काठमाडौं । कवि तथा गीतकार कला सेरेङको कविता तथा गीत सङ्ग्रह ‘कलाका अन्तर्मन’ र गीतिभिडियो ‘अतितका यादहरू’ सार्वजनिक भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति तथा कवि भुपाल राई, सदस्यसचिव डा. धनप्रसाद सुवेदीलगायतले शनिबार काठमाडौंमा आयोजित समारोहमा संयुक्त रूपमा उक्त कृति सार्वजनिक गर्नु भएको हो ।

अढाइ दशकदेखि कर्मथलो हङकङमा रहनु भएको सेरेङको यो पहिलो कृति हो । पुस्तक कृतिभित्र १ सय १५ शीर्षकका गीत तथा कविता रहेका छन् । परदेशमा रहँदा घरदेशको सम्झनालाई विषयवस्तु केन्द्रित रहेका छन् । मातृभूमि नेपालको वनपाखा, गाउँघर, सर्वोच्च शिखर सगरमाथा, बाबुआमा, पुर्खाले सिंचेको मातृभूमिप्रति माया, मायाप्रितीका शब्द उनिएका छन् ।

पुर्खाले सिंचेको मातृभूमिप्रति
धेरै माया जाग्दो रहेछ
अर्काको भूमिमा एकजना नेपाली हुनु
नेपालीपनमा बाँच्न चाहनु नै
आफ्नोपनको खोजी गर्नु रहेछ..
जीवनभर अर्काको भूमिमा
श्रम बेच्नेहरूलाई पनि
स्वदेशको माटो प्यारो लाग्दो रहेछ..

कवि सेरेङले डायस्पोरामा रहेर मातृभूमि नेपालको मायाले गर्दा मनका भावनाहरू साहित्यमा उतारेको बताउनु भयो । ‘मैले नेपाली साहित्यको इतिहास पढेर, सिद्धान्त घोकेर कुनै रचना रचेको छैन,’ उहाँको भनाइ छ, ‘हामी डायस्पोरामा रहेर मातृभूमि र नेपाली भाषाको श्रीवृद्धि गर्ने चाहनाले भावनाको सँगालो प्रकाशनमा ल्याएको हुँ ।’

विनोद चोङबाङले संयोजन गर्नुभएको कृतिमा डा. दिलकुमार हाङसुरुङ लिम्बू र नरेन नुगो लिम्बूले भूमिका लेख्नु भएको छ ।

यसैगरी कला सेरेङको ‘अतितका यादहरू’ गीतिभिडियोको गीतलाई संगीतकार बीबी अनुरागीले संगीत दिएका छन् भने प्रसिद्ध गायिका अन्जु पन्तले गाउनु भएको छ । उक्त भिडियोमा ओखलढुंगाको लिखु गाउँपालिका–९ पोकली वाच्पुको ग्रामीण जनजीवन समेटिएको छ । परम्परागत कृषक परिवारको जीवनशैली प्रस्तुत गरिएको छ । त्यसमा कला सेरेङ र उनका जीवनसाथी सीएम सुनुवार स्वयंले अभिनय गर्नु भएको छ । सीएम सुनुवार वाम्बुले राई संस्कृतिमा आधारित चलचित्र ‘सुम्निमा’को नायकसमेत हुनुहुन्छ ।

सदस्यसचिव डा. सुवेदीले कुनै बेला आफू ओखलढुंगाको तत्कालीन पोकली गाविसको सचिव रहँदा सुम्निमा फिल्मका नायक सीएमका बुवा खड्गसिं सुनुवार गाविस अध्यक्ष रहेको स्मरण गर्नुभयो । ‘आज उनै खड्गसिंज्यू र उतिखेर हाम्रा प्यारा फुच्चे भाइ सीएमलाई भेट्न पाउँदा औधी खुसी लागेको छ,’ त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापकसमेत रहनु भएका सुवेदीले भन्नुभयो, ‘पोकलीको त्यो वाच्पु गाउँको बसाइले मेरो जिन्दगीको टर्निङ प्वाइन्टका रूप लिएको ठानेको छु । र उनी सीएम भाइकी जीवनसंगीनी कला सेरेङको कृति विमोचन गर्न पाउँ ज्यादै हर्ष लागेको छ । हार्दिक बधाई दिन चाहन्छु ।’

उपकुलपति राईले विमोचित कृतिका स्रष्टालाई बधाई ज्ञापन गर्दै प्रवासमा रहेका नेपालीले नेपाली भाषा, साहित्य, कला र सस्कृतिको प्रवद्र्धनमा महत्वपूर्ण योगदान गरेको बताउनु भयो । उहाँले हालैमात्र आफ्नो अमेरिका भ्रमणको स्मरण गर्दै अमेरिकामा नेपाली मौलिकता, भाषा, साहित्य, कला र संस्कृतिको जगेर्ना गरेको पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

यसैगरी लिम्बू भाषाका ज्ञाता प्रा.डा. नृसिंहकुमार खत्रीले कवि कलाका कृतिमा लिम्बुवानको सुगन्ध रहेको बताउनु भयो । विनोद चोङबाङले कृतिबारे बोल्नु भएको थियो ।

समारोहमा सुनुवार सेवा समाज अध्यक्ष अमृत बहादुर सुनुवार, सेरेङ समाज काठमाडौंका अध्यक्ष दुर्गा सेरेङ, गीतकार सरिता राई, गीतकार डिबि पालुङ्वा, प्राज्ञ चेतनाथ धमला, चलचित्र निर्देशक विनोद सेरेङ, पत्रकार गणेश राई, चलचित्र निर्देशक उदय सुब्बा, संगीतकार बीबी अनुरागीलगायतको उपस्थिति रहेको थियो । सेसेमी लिम्बूले संचालन गर्नु भएको कार्यक्रममा पत्रकार सरोज ढुंगेलले स्वागत मन्तव्य दिनु भएको थियो ।

 

Leave a Reply

Your email address will not be published.