‘मावली बाजेको प्रेरणाले मुन्दुमबारे गहन अध्ययन गरेर पीएचडी गर्न सकेको हुँ’
डा. शान्तिदेवी राई
(शान्तिदेवी राईको जन्म विसं. २०२७ असोज ६ गते खोटाङको रतन्छा गाउँमा भएको हो । आमा लीला राई र बुवा बयानसिं चाम्लिङ राईको जेठी छोरी हुनुहुन्छ । उहाँले प्रसिद्ध गायक तथा संगीतकार जीतेन राईको जीवनसँगीनी हुनुहुन्छ । दम्पतीको छोरा पुसान किरात राई र छोरी नाइमा किरात राई हुनुहुन्छ । बहुमुखी प्रतिभाका धनी शान्तिदेवी राईको पेशागत रूपमा अधिवक्ता, नृत्य निर्देशक र गायनमा समेत रुचि राख्नु हुन्छ । उहाँ दम्पतीले सांस्कृतिक चलचित्र ‘बिनायो’ निर्माण गर्नु भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायबाट यही २०८० सालमा ‘किरात राई जातिकोमुन्दम र मुन्दुमी ज्ञानको केन्द्रविन्दु सुप्तुलुङ (तीनचुला) विषयमा विद्यावारिधि उपाधि हासिल गर्नु भएको छ । यही विषयमा २०८० पुस ७ गते उहाँसँग सम्पादक गणेश वाम्बुले राईले गरेको कुराकानी प्रस्तुत गरिएको छ ।)
किरात राई जातिको मुन्दुम र मुन्दुमी ज्ञानको केन्द्रविन्दु सुप्तुलुङ (तीनचुला) विषयमा विद्यावारिधि हासिल गरी त्रिभुवन विश्वविद्यालयको ४९औं दीक्षान्त समारोहमा सहभागी हुनु भयो ? कस्तो अनुभूति गर्दै हुनुहुन्छ ?
म खुसी छु । सबैजना खुसी हुनुहुन्छ होला । मुन्दुम विषयको पहिलो विद्यावारिधि हो । मुन्दुमलाई पनि प्राज्ञिक हिसाबले शिक्षाको यो स्तरसम्म पु¥याउन सफल भएको म ठान्दछु । समुदायको निम्ति एउटा इँटा थम्ने काम गरेको छु भन्ने लाग्छ । धेरैले सोध्छन् मुन्दुम विषयमा पनि विद्यावारिधि हुन्छ भनेर ।
यो विषयमा अरु विश्वविद्यालयबाट कसैले विद्यावारिधि गरेका छन् कि ?
मैले फेला पारेको छैन । सरहरूले भन्नु भएअनुसार कसैले गरेको छैन । यो नै पहिलो हो । उहाँहरूलाई विद्यावारिधि गराउन निक्कै चुनौतीपूर्ण रह्यो । कसरी अगाडि बढाउने भन्ने कुरामा धेरै अन्तरसंवाद ग¥यौं । धेरै धेरै नयाँ आइडिया लगाएर अगाडि बढ्यौं ।
तपाईं शोधपत्रको शीर्षकचाहिं के थियो ?
मेरो शोधग्रन्थ अंग्रेजीमा रहेको छ । यसको शीर्षक ‘किरात राईज् सुप्तुलुङ एज ए प्लेस फर ट्रान्सफरिङ रिलिजिअस् लर्निङ इन्टु एडुकेसनल प्राक्टिस’ रहेको छ । त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र संकाय डिन कार्यालयअन्तर्गत यो शोध गरिएको हो ।
कति वर्ष लगाएर विद्यावारिधि शोध गर्नुभयो ?
मैले साढे तीन वर्षमा सबै खाका तयार गरेर बुझाएको थिएँ, कोरोना महामारी अगाडि । तर पेन्डामिकले भौतिक रूपमा मात्रै विद्यावारिधि शोधले अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुन्छ, जुमबाट हुँदैन भन्नुभयो । त्यसैले झण्डै ६ वर्षमा यो शोधकार्यले पूर्णता पायो ।
तपाईं कानुनको विद्यार्थी, किरात राई जातिको मुन्दुमसंस्कृति विषय कसरी रोज्नु भयो ? केले प्रेरित ग¥यो ?
मुन्दुमलाई शिक्षासँग जोडियो भने सबैले बुझ्न पाउँछ । अन्य समुदायलाई पनि बुझ्ने अवसर मिल्छ । कानुनसँग जोड्दा कानुनमा मात्रै सीमित हुन्छ । शिक्षासँग जोड्दा तल जगबाट अझ भनौं मातृभाषा शिक्षालाई यसले सपोर्ट गर्छ । मुन्दुमलाई शिक्षासँग जोडेर लान सकिन्छ । कथा त धेरै भनिएको छ । तर शिक्षासँग नजोडिदा नन–एकेडेमिक भनिदै आएको अवस्था छ । यसकारणले यसलाई शिक्षामै लगेर यसको सिकाइ कस्तो रहेछ । यसको ज्ञान कसरी पुस्तान्तरण भएको रहेछ । हाम्रो शिक्षा कस्तो खालको रहेछ । अहिलेको औपचारिक शिक्षासँग हाम्रो शिक्षा किन विमति हुन्छ । र मातृभाषी समुदायको विद्यार्थी किन धेरै ड्रप आउट हुन्छन् । सानो कक्षामा धेरै भर्ना हुने तर माथिल्लो लेभलमा धेरैले पढाइ किन छाड्छन् भन्ने कौतुहलता थियो । र त्यसलाई शैक्षिक रूपमा अगाडि बढाउनु पर्छ भन्ने भावनाले शिक्षामा जोडेर शोध गरिएको हो ।
कानुनको कुरा गर्नुभयो । कानुनमा मैले जोडेको पनि छु । तर कानुनले यति धेरै पक्ष समेट्न सक्दैन । कानुन एउटा संकाय हो । थोरैमात्र कभर गर्छ । कानुनको कुरा शिक्षामै जोडिन्छ । त्यसैले शिक्षामा जोडेर गरें । अब अवसर पाएँ भने कानुनमा पनि शोध गर्ने इच्छा छ ।
यो मुन्दुम, मुन्धुम, मुक्तुम, मुदुदुम आदि भन्छौं । खासचाहिं के हो ?
भौगोलिक आधारअनुसार भाषिकाहरू फरक भएको कारणले बुझाइहरूलाई त्यसरी व्याख्या गरिएको मात्रै हो । खासमा मुन्दुम नै हो । ‘मुन’ भनेको ‘उत्पत्ति’ र ‘दुम’ भनेको ‘कुरा’ हुन्छ । कसरी हामी उत्पत्ति भयौं । कसरी हाम्रो दैनिकी अगाडि बढायौं भन्नेबारे भन्दै ल्याइएको कुरा मुन्दुम हो भन्ने छ । जति भाषामा भए पनि त्यसको सारचाहिं एउटै छ ।
किरात राई जातिभित्र २६ भाषी समुदाय छौं । तपाईले शोध अनुसन्धानका क्रममा कतिवटा भाषा समुदायसम्म पुग्नु भयो ?
मैले करिब २२÷२३ भाषा समुदायमा पुगेर अध्ययन गरें । दुई–तीन भाषीको चाहिं मुन्दुम रहेनछ । जस्तो मुगालीको बान्तावासँग मिल्दो रहेछ ।
कति भाषीले मुन्दुम लेखेर प्रकाशन गरेको पाउनु भयो ?
चाम्लिङ, बान्तावा, खालिङ, थुलुङ, कोयु, मेवाहाङ, बायुङ भाषाको मुन्दुम लेखेर प्रकाशनमा आएका छन् । सबैले आफ्नो आफ्नो भाषा, ठाउँ, परिवेशअनुसारको लेखेर प्रकाशन गर्नु भएको पाएँ । मुन्दुमी भाषा फरक भएपनि दर्शन र सार एउटै छ ।
मुन्दुमबारे स्थलगत अध्ययन अनुसन्धानको क्रममा सबैभन्दा टाढा कहाँसम्म पुग्नु भयो ?
काठमाडौंबाट सबैभन्दा टाढा पाँचथर होला । सोलु होला । तर यो भन्दा टाढा गयो भने दार्जिलिङ, सिक्किमसम्म हो । नेपालको कोर बस्ती छ, जहाँ हाम्रो बस्ती छ । चाम्लिङको विशेष गरी खोटाङ हो । तर चाम्लिङको बसोबास पाँचथर, सुनसरी, झापा जहाँ गए पनि छन् । संखुवासभामा कुलुङमात्र होला भनेको चाम्लिङ, लोहोरुङ, याम्फुको बस्ती रहेछ । खोटाङको चाम्लिङ र संखुवासभाको चाम्लिङको भाषा एउटै भएपनि मान्ने तरिकाहरू, विचारहरू भौगोलिक हिसाबले अझ नयाँ नयाँ कुराहरू पाइयो ।
डकुमेन्टेसन कसरी गर्नुभयो ?
एक समूहमा सबै भाषीको धामीहरू खोजें । एक समूहमा मुन्दुमी कार्य गर्ने रिसिमीहरू खोजें । अनि सबै भाषीले प्रयोग गर्नुहुन्छ, त्यो मान्छेलाई खोजें । त्यसरी विभिन्न भाषा समूहलाई अनुसन्धानमा समेटें ।
विद्यावारिधि अध्ययन अनुसन्धानका गर्नका लागि तपाईंले श्रीमान् प्रसिद्ध गायक, संगीतकार तथा रचनाकार हुनुहुन्छ जीतेन राई, उहाँको साथ सहयोग कस्तो रह्यो ?
कतिपय ठाउँमा एक्लै गएँ । तर ९९ प्रतिशत ठाउँमा मेरा श्रीमान जीतेन राईसँग गएँ । उहाँसँग जाँदा सजिलो भयो । किनभने उहाँको कार्यक्रममा सबै मान्छे आउने भए । जस्तै भोजपुरको सालेवा भन्ने ठाउँमा गइयो । त्यहाँ वारिपारि सबैतिरको आउनु भयो । पहिले नै जानकारी गराएर पुगेपछि सजिलो भयो । मुन्दुमको संकलन गर्दैछौं भनेकोले टाढाको मान्छे पनि एक दिनको बाटो गरेर आउनु भयो । हाम्रै कामको निम्ति आउनु भयो । कार्यक्रम सकेको बेलुकाचाहिं हामीले उहाँहरूसँग मुन्दुमी कुराहरू ग¥यौं । यसरी समय र आर्थिक भार पनि कम भयो । त्यसरी उहाँहरूमा भएको ज्ञान स्रोतलाई अध्ययन गर्ने अवसर मिल्यो । दम्पती नै मिलेर गरेका छौं । श्रव्य, दृश्य अभिलेखहरू रहेका छन् ।
थुमथुममा पुगेर संकलन गर्नु भएको सांस्कृतिक अभिलेखलाई कसरी संरक्षण गर्ने सोच्नु भएको छ ?
हामीले स्थलगत रूपमा सुनेको, रेकर्ड गरेको कुरा सबै शब्दमा उतार्न सक्दैनौं । हामीसँग तीन टेराबाइटको श्रव्यदृश्य सामग्रीहरू छन् । यसलाई यत्तिकै राख्यो भने बिग्रिन सक्छ । अहिले घर पुनःनिर्माणको कारण समय मिलेन । त्यसैले अब थोरथोरै गरेर सार्वजनिक गर्दै जाने योजना छ । भ्लगको नाम ‘जीतेन राई’ रहेको छ । यसैमार्फत् क्रमशः सार्वजनिक गर्दै जानेछौं ।
तपाईंको शोधग्रन्थ हामीले किताबका रूपमा पढ्न पाउँछौं ?
मेरो शोधग्रन्थ अंग्रेजीमा रहेको छ । यसलाई सरहरूले किताबको रूपमा निकाल्न भन्नु भएको छ । प्रकाशन गर्दा अंग्रेजी र नेपाली दुवै भाषामा निकाल्नु पर्छ । त्यसो भयो भने सबैले पढ्न सक्नु हुनेछ । अंग्रेजीको करिब तयारी छ । त्यसलाई नेपालीमा बनाउन कोशिस हुनेछ । कस्तो हुन्छ, बुझ्दैछु ।
तपाईं दम्पतीको मात्र कुरा गरिरहेका छौं । घरगृहस्थी भएको मान्छे छोराछोरीचाहिं के गर्दैछन्?
(लामो हाँसो) हाम्रो छोराछोरीको हौसलापूर्ण सहयोग मिलेको छ । हामी यसरी अध्ययन अनुसन्धानमा हिंड्दा पनि उनीहरू आफ्नो जिम्मेवारी पूरा गरेर बसेका छन् । यो अध्ययनमा लागेपछि डुबिन्दो रहेछ । परिवारमा भन्दा त्यही काममा बढी भिजिदो रहेछ । अहिले छोरा पुसान पढ्नको लागि जापान गएको छ । छोरी नाइमाचाहिं यही काठमाडौं युनिभर्सिटीमा ब्याचलर फाइनल इयरमा पढ्दैछिन् ।
प्राज्ञिक अध्ययन अनुसन्धानमा घरपरिवारमा बुवा–आमा पनि त साथसहयोग रह्यो नि होइन ?
म यहाँसम्म आइपुग्नुको पृष्ठभूमिबारे थोरै भन्न चाहन्छु । यसको प्रेरणाको मुख्य व्यक्ति मेरो मावली कोक्पा जयबहादुर राई हुनुहुन्छ । मुन्दुमलाई कसरी विश्वव्यापी बनाउन सकिन्छ भन्नेबारे उहाँले व्यक्त गर्नु भएको भावनाहरूबाट म प्रेरित भएँ । म मावलीघरमा हुर्केको हो । म पाँच–छ वर्षको उमेरको थिएँ । कोक्पासँग बसेको र उहाँको घरमा धेरै मान्छेहरू मुन्दुम सम्बन्धी सोध्न आउनु हुन्थ्यो । यो मंसिरमा प्रायजसो टाढाटाढाका मान्छेहरू कोही बास बस्दै, कोही बिहान आएर बेलुका फर्किने गर्थे । हाम्रो कोक्पा ज्योतिषी पनि हुनुहुन्थ्यो । उहाँहरूको चिना लेख्ने, बुटी बनाउने जस्ता सबै काम गर्नुहुन्थ्यो । जिम्मावल पनि हुनुहुन्थ्यो । बहीखाता तमसुक टिपहरू लेख्नु पथ्र्यो ।
यस्तो समयमा उहाँले यो मुन्दुमबारे धेरै मान्छेले सोध्नु हुन्थ्यो । कुन किसिमको राई कहाँ छन् । सामे, पाछा, कसको सन्तान सबै बताइदिनु हुन्थ्यो । त्यतिखेर मैले बुझेको थिइनँ । उहाँले त्यतिखेर मैले जानको कुरा मसँग आएर सिक । मेरो त समय सिद्धिन लागिसक्यो । म जस्तै अरु निस्कियो भने अझ राम्रो हुन्छ भनेर प्रेरित गर्नुहुन्थ्यो । मावली बाजेको प्रेरणाले मुन्दुमबारे गहन अध्ययन गरेर पीएचडी गर्न सकेको हुँ ।
उहाँलाई कुन वंश कहा छ भन्ने कुराहरू पनि ख्याल हुन्थ्यो । कोक्पा–कोकु सन्तान छोरीमात्र भएकोले गर्दा नजिकको दाजुभाइले शाखाले त कहाँ थाम्छ र सन्तानले नै थाम्छ भन्ने कुरो गरेको सुन्दा मलाई नराम्रो लाग्थ्यो । बाजे–बोजुले यस्ताकुराहरू सहेर बस्नुको विकल्प थिएन । मलाई लाग्थ्यो हामी शाखाले पनि केही गर्न सक्छौं । ग¥यौं भने कोक्पाको आत्माले शान्ति पाउँछ होला भन्ने बारम्बार सोच आउथ्यो । अथवा उहाँको कुरालाई कसरी विश्वव्यापी गरौं । मलाई कोक्पाले ६,७ वर्षको हुदाँ होला मुलुकी ऐन हातमा राखिदिएर पढ्न लागाउनु हुन्थ्यो तर म के पनि बुझदिनथें । तर मलाई अपुताली भनेको के हो ? जान्न मन थियो किनभने यो कुरा हरेक चाडबाडमा रक्सी खाएको बखत दाजुभाइबाट मेरो कोक्पा–कोकुले सुन्नु पर्दथ्यो । त्यसले उहाँहरूलाई मर्माहित बनाएको मलाई अनुभव हुन्थ्यो तर उहाँहरूले मनभित्रै लुकाउनु हुन्थ्यो । त्यसरी पारिवारिक पृष्ठभूमि सुरु भयो ।
हाम्रो बुवा (बयानसिं चाम्लिङ राई)ले पनि भाषा, संस्कृतिबारे लेखिरहनु भएको छ । आमा (लीला राई)ले नलेखे पनि भन्नु हुन्छ । उहाँले भन्नुभएको उहाँका टिपेर ‘टुवाचुङ’ पत्रिकामा छापेका छौं । यो गर्नु पर्छ है । हामीले जानेका कुराहरू अरुलाई छोड्नु पर्छ है भन्ने भावना र प्रत्यन रहेको छ ।
तपाईंहरू पारिवारिक रूपमा कतिजना छोराछोरी हुनुहुन्छ ?
बुवा र आमाको सन्तानमा म जेठी छोरी हो । माइली बहिनी बाग आयाग्मी राई, जेठा भाइ विजय कुमार राई, कान्छी बहिनी निला राई र कान्छा भाइ स्यान किरात राई छन् । हामी सबैले उच्च शिक्षा हासिल गरेका छौं । बुवा–आमाले अहिलेसम्म साथ दिइरहनु भएको छ ।
तपाईंको प्रारम्भिक शिक्षा कहाँबाट सुरु भयो ?
यो कुरो सम्झिदा एकदमै भुल्न नसकिने, वर्णन गर्न नसकिने त्यो किसिमको आनन्द लाग्छ । खोटाङको रतन्छा वार्ड नं. ७ स्थित कोक्पा जयबहादुर राई र कोकु हुनुहुन्थ्यो । हाम्रो मामा नभएकोले हामी मावला बसेको हो । मावलामा पनि म चाहिं बाजे–बोजुसित बसें । कोक्पा–कोकुले आमा–बाबुको निम्ति अर्को घर बनाइ दिनु भएको थियो । मावली कोकुुहरू दुईजना हुनुहुन्थ्यो, पत्थरशिला र शुक्रशिला । जेठी बोजुपट्टिको हाम्रो आमा एक जनामात्रै छोरी हुनुहुन्छ । शुक्रशिला बोजुतर्फको छेमा भाग्यवती राई अहिले बेलायतमा हुनुहुन्छ । उहाँको श्रीमानको नाम रत्नकुमार राई हो ।
म सानो छँदा मेरो कोक्पा–कोकु नै मेरो आमा–बाबु हुन् जस्तो लाग्थ्यो । सानैमा कोक्पा–कोकुुले मलाई आफ्नो साथमा राख्नु भएको थियो । कोक्पा अलिकति पढेलेखेको, एकपटक दार्जिलिङ गई भर्ती लागेर छुट्टीमा आउनु भएको थियो । छुट्टीमा आउँदा बोजुहरूले घरमा गोरु जोत्ने मान्छे छैन भनेर नपठाउनु भएको रे । उहाँको पल्टनको पट्टा र खुकुरी लुकाइदिनु भएको थियो रे ।
कोक्पाले मलाई घरमै पहिला किताब पढ्न सिकाउनु भयो । बिहानै झिसमिसमै उठेर आँगन बढार्नु पथ्र्यो । त्यही आँगनका धुलोमाथि बाँसको कलमले क ख लेख्न सिकाउनु हुन्थ्यो । खाजा खाएर घाँस काट्न जानु पथ्र्यो ।
तल साल्मे स्कुल थियो । हाम्रो घरबाट करिब १० मिनेट ओरालो झर्नुपथ्र्यो । त्यहाँबाट मेरो प्रारम्भिक शिक्षा सुरु भयो । पढ्नु भन्दा पनि छेमालाई पछ्याउँदै जाँदा शिक्षा प्राप्त गरें । त्यसरी कक्षोन्नति हुँदै गएँ । मैले पास÷फेल भन्ने थाहा नपाइकन कक्षा चढ्दै गएछु । सात कक्षा पुगेछु । मेरो उमेर सोध्दा मैले छिटै पढेको रहेछु भनेर सर भन्नुभयो । कोक्पाले प्रारम्भिक शिक्षा घरमै सिकाउनु भयो । त्यसपछि साल्मे स्कुलमा औपचारिक शिक्षा सुरु भयो । आँगनमा लेखेर सिकें । पाटीमा लेख्न सिकें । गोटामाने कोक्पाले नै सिकाउनु भएको थियो । त्यसरी सबै शिक्षा मावली कोक्पाबाट आरम्भ भयो ।
त्यसपछि साकेला माविमा पढें । नौ कक्षापछि विद्यार्थी संगठन अखिल पाँचौं, छैटौं, सातौंको आन्दोलन भयो । त्यसले गर्दा पढाइ राम्रो भएन । त्यसपछि म काठमाडौं आएँ । डिल्लीबजारको पद्मकन्या विद्याश्रम माविबाट एसएलसी पास गरें । बागबजारको पद्मकन्या क्याम्पसबाट आईए पढें । रत्नराज्य क्याम्पसबाट बिए गरें । त्यसपछि त्रिवि कीर्तिपुरबाट म्याथमेटिक्समा एमएस्सी गरें । शिक्षाशास्त्रमा एमएड् गरें । नेपाल ल क्याम्पसबाट एलएलबी पढें । त्रिवि शिक्षाशास्त्र संकाय केन्द्रीय विभागबाट एमफिल गरें । पीएचडी पनि त्यहींबाट गरें ।
छोरीलाई पढाउनु पर्छ भन्ने सामाजिक चेतना नभएको जमाना छिचोल्नु भयो । आज तपाईं पीएचडी गरिसक्दा छोरीले केका लागि पढ्नु पर्छ भन्नुहुन्छ ?
आफू खुसी रहनको लागि पढ्नु पर्छ । पढियो भने आफूले चाहेको आफ्नो जिन्दगीलाई जिउन सकिन्छ । पढिएन भने जिन्दगी के हो भन्ने बारेमा थाहा हुँदैन । जिउन त जो पनि जिउनु हुन्छ । खुसी पनि हुनुहुन्छ होला । तर जीवनलाई बुझेर जिउन र नबुझी जिउन फरक हुन्छ । बुझेर खुसी हुन र नबुझी खुसी हुन फरक हुन्छ ।
शिक्षा आर्जनसँगै के के पेसामा आवद्ध रहनु भयो र अब के गर्ने सोच्नु भएको छ ?
यसअघि स्कुलमा पढाउने काम धेरै गरियो । पछि कानुनी क्षेत्रमा लागियो । कानुनको अभ्यास पनि गर्दैछु । महिलाहरूको हक अधिकारको लागि शान्त रूपमा फेमिलीलाई सपोर्ट गर्दै कसरी अगाडि बढ्न सकिन्छ भन्नेबारे मलाई त्यो टिप्सहरू दिन मन लाग्छ । त्यसमा मैले केही सोचेको छु । त्यसैमा केही गर्दै जानेछु । अहिले अध्ययनमै व्यस्त छु । जर्नलहरूमा लेख लेख्दैछु । मुन्दुक किताब अस्ति सार्वजनिक ग¥यौं, हामी दम्पती नै सह–लेखक भएर । मुन्दुमलाई प्राज्ञिक रूपमा संसारले चिनोस्, पढ्न पाउन् भन्नेतर्फ लागिपरेका छौं । सुप्तुलुङमा विश्वास गर्ने मुन्दुमीहरूले जहाँ बसेर पनि आफ्नो संस्कृति मान्न सकोस् पितृ मान्न पाओस् भनेर प्राप्त भएका मध्येबाट आवश्यक मुन्दुम रिसियाहरू संस्करणगत निकाल्दै जाने प्रयत्न गर्दैछु । साथै मुन्दुम अध्ययन अनुसन्धान, प्रवचन, छलफलबाट समुदायलाई मुन्दुमी सचेतना गराउने कोशिस छ । मुन्दुमी ज्ञानमा भएका शैक्षिक, आर्थिक, नैतिक, राजनीतिक, चिकित्सा, आध्यात्मिक, कानूनी कुराहरूलाई विश्वव्यापी गर्ने प्रयासमा छु । मुन्दुमी पाठ्यक्रम वा आदिवासी पाठ्यक्रम निर्माणमा पनि मेरो चासोको विषय छ ।
अध्ययन अनुसन्धानकै क्रममा किरात मुन्दुम अध्ययन केन्द्र नेपाल नामक संस्था स्थापना गर्नु भयो । यो कस्तो संस्था हो ?
संयोगले यो सस्थाको स्थापना भयो । मुन्दुमी शैक्षिक बहस, अध्ययन, अध्यापन, अन्वेषण गर्ने गराउने संस्थाको रूपमा विकास गर्दै लैजाने उद्देश्य रहेको छ । मानवशास्त्रका कुरा, संस्कृतिको कुरा त धेरै गरियो तर शैक्षिक हिसाबले भएन । शैक्षिक चेतनाले मात्रै समाजलाई सांस्कृतिक समृद्धि, राजनैतिक समृद्धि, आर्थिक समृद्धिसहितको सभ्य समाज निमार्ण गर्नसक्छ भन्ने उद्देश्य यस संस्थाले बोकेको छ ।
अबको प्राज्ञिक योजना के के छन् ?
मुन्दुम विश्वविद्यालय स्थापना गर्न सके उत्तम हुन्थ्यो । किरात सभ्यता, किराती जाति, धेरै भाषिक समुदायको मुन्दुम अध्ययन, अनुसन्धान, अध्यापनको काम हुनसक्थ्यो । सबैको मुन्दुम लेखेर पढ्न पाए अझ धेरै राम्रो ज्ञानको प्रवद्र्धन हुने थियो । त्यो ज्ञान भनेको पृथ्वीलाई, प्रकृतिलाई पालनपोषण गर्ने, विश्वमा शान्ति ल्याउने, गरिबी कसरी घटाउने भन्ने कुराहरू त्यो ज्ञानमा छ । हाम्रो पुर्खाहरू त्यसैमा बाँचेर आउनु भयो । यो आधुनिक विज्ञानले दिएको सुविधाभन्दा त उहाँहरूको त्यो रैथाने संस्कृतिबाटै गुजारा चलाएर आउनु भयो । खाद्य सुरक्षाको कुराहरू छन् । ती कुराहरूलाई अझ विश्वव्यापी गराइयो भने संसारमा चलिरहेको यो अशान्ति, भोकमरी, महामारी, रोगहरूलाई अलिकति व्यवस्थित गर्न सकिन्थ्यो । घटाउन सकिन्थ्यो कि । बाढी पहिरो, भूकम्पजस्ता प्राकृतिक प्रकोपहरूलाई पनि व्यवस्थापन गर्न सकिन्थ्यो । यसतर्फ काम गर्न पाए हुन्थ्यो भन्ने लागेको छ ।
संस्कृति मन्त्रालयले रैथाने विश्वविद्यालयको अवधारणा अघि सारेको छ । यही विषयमा भन्न चाहनु भएको हो ?
मैले यो विषयमा सामाजिक सञ्जालमा मात्रै सुनेको छु । बरु मुन्दुम अध्ययन केन्द्रको तर्फबाट जितेन राईको अगुवाइमा किरात विश्वविद्यालय अथवा मुन्दुम विश्वविद्यालय हुनुपर्छ भनेर शिक्षामन्त्रीलाई अवधारणापत्र बुझाएका छौं । शिक्षा मन्त्री अशोककुमार राईज्यूले विश्वविद्यालयको विधेयकमा सहयोग गर्न सक्छु । त्यसको पृष्ठभूमि तयार गर्नु भन्नुभएको छ । किरात विश्वविद्यालय भयो भने हामी किराती जातिको मुन्दुमबारे धेरै धेरै काम हुन सक्छ ।
मुन्दुम शिक्षाले सिस्टम सिकाउँछ । त्यो सिस्टमलाई हामीले कति प्रयोग गर्ने, कति नगर्ने, समयअनुसारको मुन्दुम छन् । कहिले खेती गर्ने, कसरी खाद्य सुरक्षा गर्ने, जीवन कसरी सञ्चालन गर्नेबारे हाम्रो आफ्नै दर्शन छ । आफ्नै शिक्षा प्रणाली छ । त्यसलाई शिक्षा पद्धतिमा नजोडिएको मात्र हो । यो रैथाने, आदिवासी परम्परामात्र भनिएकोले पछि परेको हो जस्तो लाग्छ । त्यसैले यसलाई अगाडि ल्याउनु पर्छ । अहिलेको पुस्ताले तथ्य खोज्छन् । प्रमाणको आधार खोज्छन् । त्यो कथैकथामा भनिएका कुरालाई अलिकति नपत्याउने अवस्था पनि रहेको हुनाले यसलाई पाठ्यक्रम बनाएर अगाडि बढाउन जरुरी छ ।
(यो अन्तरवार्ता इक लिब्जु–भुम्जु त्रैमासिकवर्ष १० अंक २, पूर्णाङ्क २१, (लिब्जुभुम्जुको ९४औं शृंखला), २०८० साउन–असोज (किरात येले संवत् ३८०२÷सन् २०२३)मा प्रकाशित छ । सम्पादक)