नरेश वाम्बुले राईको शब्दमा दक्षिण कोरियामा हिलेपाने युवाहरूको संघर्ष कथा

बिशेष विचार / ब्लग

दक्षिण कोरियामा हिलेपाने युवाहरूको संघर्ष कथा

नरेश वाम्बुले राई

१. विषय प्रवेशः
दक्षिण कोरिया नेपालको उत्तर–पूर्वी भागमा छ । यो देश हामी नेपाली युवाहरूको गन्तव्य बनेको छ । सन् २००७ जनवरी १ बाट मजदुर रोजगार अनुमति प्रणाली (E–9) भिसा दिन दक्षिण कोरिया र नेपालबीच सम्झौता सम्पन्न भयो । त्यसपछि मात्र व्यापक रूपमा नेपाली युवाहरूको गन्तव्य देश बनेको हो । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका वडा नं.६ हिलेपानीका युवाहरू पनि यो देश आइपुगेका छौं । हिलेपानीबाट निकै पहिलेदेखि नै फाट्टफुट्ट आइ रहनुभएको थियो । इपीएस खुलेपछि गाउँघरबाट क्याम्पस पढ्न सहर पसेकाहरू, लाहुर भिड्ने निहुले काठमाडौं छिरेका हिलेपानीका युवाहरू ललितपुरको इमाडोलतिर रल्लेर बसिरहेका हुन्थ्यौं । यी युवाहरूको लिडर पचुराम राई कुनै मेनपावरमार्फत् कोरिया छिरिसक्नु भएको थियो ।

कोरियामा दुःख गर्नसके महिनाको ६०-६५ हजार तनाखा कमाउन सकिने थाहा लाग्यो । मेनपावरमार्फत् जाँदा १०-१२ लाख रुपैयाँ लाग्ने गथ्र्यो । सरकार–सरकारबीच सम्झौता भएको नियममा जानसके १ लाख रुपैयाँ हाराहारीमात्र खर्च लाग्ने खबर कोरियाबाट लिडरले जानकारी दिनुभयो । लिडरबाट प्राप्त खबरले इमाडोलको चिया पसलमा कोरियाको सपना बुन्न थाल्ने युवाहरूको झुण्ड नै बन्यो । कोरियान भाषा सिक्ने लहर आयो । पहिलो परीक्षामा ८-९ जना युवाको सहभागिता रह्यो । भाग्यामानी रमेशकुमार राई र कृष्णकुमार राई मात्र ठहरियो । भाषा पास गरेको वर्षदिनभित्र दुवैजना कोरिया उडे ।

त्यसको २ वर्षपछि फेरि भाषा परीक्षा खुल्यो । त्यतिबेला सम्ममा लिडर पचुराम पनि छुट्टी आएर नेपालमै हुनुहुन्थ्यो । उहाँको कोरियाको पहिलो भिसा क्यान्सिल भैसकेको थियो । यो कुरा सन् २०१० को थियो ।

अनि कोरियन भाषाको लागि कुमारीपाटी, बागबजारतिर धाउनेको लर्को लाग्यो । त्यो पालिको परीक्षामा सहभागीमध्ये लिडरसहित ६ जनाले पास गरे । त्योपछि कोरियाको लहर हिलेपानीमा चल्यो । वैदेशिक रोजगारमा मलेसिया, साउदी, कतार, दुबईतिर रोजगार गर्नेहरू पनि कोरियाको लागि फर्कन थाले । गाउँघरमा एसएलसी पास गर्ने अनि १८ वर्ष पुग्नेहरू कोरियन भाषा पढ्न काठमाडौं, धरान, इटहरी, पोखरा लगायतको ठाउँतिर लागे । हरेक परीक्षामा हिलेपानीको नतिजा आफ्नो पक्षमा पार्न सफल रह्यो । केही अपवादबाहेक सबैको मेहनत भाग्यामानी ठहरियो । एकै परिवारबाट ४ जनासम्म पास भए ।

२. सपनाको देश कोरिया

भूगोलको हिसाबले दक्षिण कोरिया पूर्वी एसियाको पेनेन्सुलामा रहेको एक सानो देश हो । पहिले उत्तर र दक्षिण कोरिया एकै देश थिए भने पछि छुट्टिएका थिए । तीनतिरबाट समुद्रले घेरिएको रिपब्लिक दक्षिण कोरियाको क्षेत्रफल १ लाख वर्ग किलोमिटर रहेको छ । सन् २०२२ को तथ्यांकअनुसार दक्षिण कोरियाको कुल जनसंख्या ५ करोड १६ लाख रहेको छ । करिब २ हजार मिटर उचाईका पहाड रहेको यो देश नौवटा प्रदेश रहेका छन् । विकासको उचाईमा रहेको कोरिया र नेपालबीच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । यहाँ नागरिक गोरो मंगोलियन मुहारका चिटिक्क परेका देखिन्छन् ।

सीडी लगेर टीभीमा जोडेर हेरेको सिरियलको गोरो राम्रो मान्छे अनि मनै लोभ्याउने देश सोचेजस्तो रहेन । सबैको जहाजले फुल्चोकीको डाँडा काटेपछि पैसा कमाउने सपना त मनमस्तिष्कमा छँदैछ ।

इन्छन विमानस्थल झरेपछि सुरुभयो अनकन्टार यात्रा । पाइला पिच्छेको समस्या छँदैछ । पहिलो समस्या भाषाको समस्याबाट सुरु हुन्छ कोरियाको कथा । नेपाल र कोरियाको सम्झौता बमोजिम ३ दिन २ रात तालिम केन्द्रमा विविध सुरक्षा, नीति, नियम, कानुन, रहनसहनको तालिम हुन्छ । नेपालमा १२ मसलालाई सिलौटोमा १६ करङ भाँचेर चट्टको तरकारीमा धनियाको हरियो पात हालेर हात धोएर पलेँटी कसेर हातले ग्वाम कि ग्वाम खाने बानी छ । त्यो स्वतन्त्र एक्कासी आर्मी शासनमा ठुस्स गनाउने किम्छी, चिनी र अजिनामोटा हालेको झोलसँग कस्तो होला । सुनकोशी र दुधकोशीको माछा खाने केटोलाई समुन्द्रको किरामिराको झोल, लेउको झोल अनि कुहाएको भटमासको झोल, भटमासको टुसा उमारेको झोलसँग ज्युनार गर्नु परेको अवस्था आइपर्छ । लगेजमा हालेको १०-१२ पोका चाउचाउ अनि १-२ पोका दालमोठले भोक मेटाउनुको विकल्प हुन्न सुरुमा ।

कोरिया पुगेको तेस्रो दिन १० बजेदेखि सुरु हुदाँरहेछ, कलंकीको खसी बजार जस्तै विदेशी कामदारहरूको अन्तिम गन्तव्यको लागि साहु अथवा कम्पनीको आधिकारिक मान्छे आउँछन् । अनि बोलाएको मान्छे टिप्यो लग्यो ।

३. मेरो कोरियाको यात्रा
मनोरम सहर गगनचुम्बी भवन नागबेली चिल्ला सडक छिचोल्दै २ घण्टापछि पु¥यायो येजन सहरको बिकट खोला किनारको एकान्त औद्योगिक क्षेत्रमा । हामी ३ जना नेपाली पुगियो । कम्पनीले विदेशी कामदार परिक्षणको लागि बोलाएको रहेछ । करिब दिउँसो ३ बजे सबै हाम्रो सम्झौता सकियो । अनि पैसा टिप्ने पोशाक बुटसुट दिएर पैसाको बोट देखाउन लग्यो, मिस्टर ओ भन्नेले जसले हल्का अंग्रेजी दिन्थ्यो । हामी तीनैजना कोरियन भाषा ४–५ वटा शब्दबाहेक केही आउँदैनथ्यो । पैसाको बोट बडे बडेमानको थियो ।

मार्बल बन्ने कम्पनी रहेछ । मार्बल ढुंगाबाट बन्छ भन्ने सबैलाई थाहा भएकै कुरा हो । विशेष किसिमको कच्चा पदार्थ, जुन विभिन्न रंगमा आउँछ । मेसिनले हालेर मसिनो किसिमको चिप्स बन्छ । चिप्सबाट मार्बलको बुटा निस्किन्छ । सबै देखाएर काम गर्ने टिमसँग परिचय गरायो । संयोग एकजना कोरियन लिबियामा काम गर्दागर्दै एउटा घटनाले स्वदेश फर्केको रहेछ । हाम्रो अंग्रेजी ठ्याक्कै मिल्थ्यो । त्यसको नाम नै लिबिया बुडो भनेर कम्पनी बसुन्जेल चिनियो । अनि खाना खाने भान्छाघर पु¥यायो, मिस्टर ओले । अनि खाने तरिका समय बतायो । हरेक काम भएको दिन बिहान ६ः३० बजेभित्र, दिउँसो १२–१ बजे, साँझ ५ः३० बजेदेखि ६ बजेभित्र करिब १०० जना कम्पनी स्टाफहरूसँग लाइनमा बसेर खानुपर्ने । अनि लग्यो बस्ने ठाउँ । कम्पनीबाट पैदल करिब १० मिनेटको बाटोमा रहेछ । कोठा सुबिधा सम्पन्न थियो । त्यो कम्पनीमा सुखदुख ४ वर्ष ९ महिना काम गरेर २७ मे २०१६ मा नेपाल फर्कें ।

नेपालमा बसाइ त्यति सुखद रहेन । फर्केको १ महिनामै मोटरसाइकल दुर्घटनामा परियो । न मेरो गल्ती न मोटरसाइकलको गल्ती न बाटोको गल्ती । गल्ती थियो त केवल त्यो निलो रुस्लानको । दसा बाजा बजाएर आउँदैन भनेर चित्त बुझाइयो । बी एण्ड बी अस्पतालको १७५ ग्रामको स्टिल खगालीमा २८ महिना बोकियो । फेरि निकालेर बट्टामा घर ल्याएर दराजमा राखियो । अनि कोरियन भाषा पढियो । तीनचोटिमा पास गरियो । अनि फेरि २४ सेप्टेबर २०१९ मा कोरिया आइयो । पहिलो पटक नेपालबाट सम्झौता गरेको कम्पनीमा ३ महिना काम गरियो । त्यसपछि कम्पनी परिवर्तन गरेर दोस्रो कम्पनीमा अहिलेसम्म कार्यरत छु ।

४. हिलेपानी सेवा समाज दक्षिण कोरिया
हाम्रो लटको कोरिया छिर्ने म अन्तिम थिएँ । त्यो दिन थियो, ७ अगस्ट, २०११ । कोरियामा पाउने विदा भनेको प्रत्येक आइतबार र छिटफुट शनिबार हुन्छ । लामो बिदा भनेको कोरियाको नयाँ वर्ष (सलनाल) ३ दिन कोरियाको दशैं (कुसक÷चुसक) । अनि गर्मी विदा कम्पनीको अनुसार अगस्ट महिनामा २÷३ दिन हुन्छ । त्यो बेला भर्खर स्मार्ट फोनको जमना सुरु भएको थियो । इन्टरनेटको पहुँच पनि सबैलाई थिएन । गाउँले साथीभाइहरूसँग भेटघाट गर्नलाई यही दुइटा कोरियाको चाड नै कुर्नु पथ्र्यो ।

त्यो बेला नेपाली रेस्टुरेन्ट, नेपाली पसलहरू पनि कोरियाको प्रमुख सहरमा मात्र थिए । सबै जना नेपालीहरूको भेटघाट गर्ने ठाउँ भनेको राजधानी सउलको दोङदेम्न में गेट भन्ने ठाउँमा हुन्थ्यो । त्यो एरियामा पुरानो नेपालीहरूको रेस्टुरेन्ट र पसल थियो । हामी पनि त्यतै गाउँले साथीभाइहरूसँग भेटघाट हुन थाल्यो । त्यो ठाउँ सबैलाई पायक पर्ने थिएन । घण्टौंको एक्सप्रेस बस, ट्रेनबाट आउनुपथ्र्यो । गाउँघरमा सञ्चार खासै थिएन । चिठ्ठीको चलन पनि थिएन । तर सहरबजारमा फेसबुक, भाइबर, स्काइपको सुबिधा आइसकेको थियो । भेटघाट गरेर सुखदुखको बातचित गर्न भए पनि भेटघाट हुन्थ्यो । कोरियामा पनि हिलेपानेको जमात ठूलो हुने देखियो । कसरी हाम्रो एकतालाई मजबुत र दीर्घकालीन बनाउने भन्ने सोंच आयो ।

स्मरण रहोस् उता मलेसियामा साथीहरूले हिलेपानी सेवा समाजको नाममा संगठित भैसकेका थिए । हामी पनि सन् २०१२ सेप्टेबर ३० (विसं. २०६९ असोज १४) मा कोरियन चाड कुसकको अवसरमा भेटघाट गर्ने सल्लाह ग¥यौं । त्यही भेटघाटमा पचुराम राईको अध्यक्षतामा हिलेपानी सेवा समाज दक्षिण कोरियाको नाममा संस्था गठन ग¥यौं । त्यति बेला हिलेपानीका १५ जना र तत्कालीन बाहुनीडाँडा–६ खोटाङबाट तुलाराज राईको सहभागिता थियो । हाम्रो उद्देश्य थियो कि कोरियामा हिलेपाने साथीभाइहरूमाझ भाइचारा हुनुपर्छ । आपतबिपत पर्दा सर–सहयोग गर्नुपर्छ ।

हरेक हिलेपाने कोरिया आएपश्चात् संस्थामा आबद्ध हुनुपर्ने अनि तोकिएको लेबी मासिक रूपमा तोकिएको समय सीमासम्म अनिवार्य तिर्नु पर्ने नियम बनायौं । एउटा कोषको स्थापना ग¥यौं । त्यही कोषको पैसा हिलेपानीको साथीसँगी आपतविपत पर्दा न्यूनतम ब्याजमा चलाउन पाउने बनायौं । नेपालदेखि आउने नयाँलाई पनि सहजिकरण गर्ने भयौं । त्यो बेलाको आवश्यकता अनुरुप एउटा ऐम्बुलेन्स किनेर हिलेपानी गाउँवासीको सेवामा सहयोग गर्ने लक्ष्य लिएका थियौं । कोष अहिले सन् २०२३ सम्म पनि संस्थाको नीति नियमबमोजिम सञ्चालित छ ।

५. एकादेशको कथा एम्बुलेन्स
बिचमा गाउँलाई राहत स्वरूप एम्बुलेन्स सेवा दिनलाई कम्मर कसेर लाग्यौं । धेरै पापड बेलियो । जनस्वास्थ्य कार्यालय रुम्जाटार, जिल्ला प्रशासन कार्यालय, केन्द्र हुँदै एकचोटि त कोटेशनसम्म लिइयो । अन्तमा समुदायले एम्बुलेन्स सञ्चालन गर्न गाह्रो हुने अरुतिर पनि धेरै त्यस्तो उदाहरणहरू पाईयो । र चलाउन नसकिने निष्कर्षमा पुगियो । तत्कालको लागि स्थगन गरियो । हामीले एम्बुलेन्स किन्नु नै ठूलो कुरा हो भन्ने ठान्यौं । कसरी सञ्चालन गर्ने भन्नेबारे ख्याल गरिएको थिएन । सबैतिर बुझ्दा र सञ्चालन नियमावली हेर्दा समुदायले चलाउन असम्भव प्राय रहेछ ।

स्मरण रहोस्, एम्बुलेन्स किन्ने लक्ष्यलाई मध्यनजर गरेर ओखलढुंगा सेवा समाज दक्षिण कोरियाले २०२० जनवरी २५ मा बृहत् लाइभ कन्सर्ट गरेको थियो । कन्सर्टबाट उठेको रकमका नाफाबाट मानेभन्ज्याङ गाउँपालिकालाई एउटा एम्बुलेन्स किनेर दिने सहमति ओखलढुंगा सेवा समाज, दक्षिण कोरिया र हिलेपानी सेवा समाज, दक्षिण कोरियाबिच सहमति भयो । तत्पश्चात् मानेभन्ज्याङ गाउँपालिका तत्कालीन प्रमुख मोतीराज राई र ओखलढुंगा सेवा समाज दक्षिण कोरियाको तत्कालीन अध्यक्ष श्रीराम गुरुङबिच लिखित सम्झौता भयो । गाउँपालिका र ओसेसबिच ११ असोज २०७७ मा भएको सहमतिपत्रमा एम्बुलेन्स सेवा दीर्घकालीन सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

सरकारी निकायको कमजोरी या राजनैनिक खिजातानीले अहिलेसम्म एम्बुलेन्स खरिद भएको छैन । गाउँपालिकाको पहिलो प्रमुख मोतीराज राईको कार्यकाल सकिएपछि एम्बुलेन्स खरिद गर्न नसकिने प्रक्रिया मिलाएर रकम संस्थालाई नै फिर्ता गर्ने सहमति भयो । सहमतिपछि एम्बुलेन्स खरिद समिति दक्षिण कोरियाका सदस्य पचुराम राईको नाममा चेक तयार भयो । २०७९ सालमा भएको स्थानीय निर्वाचनपछि नवनिर्वाचित गापा प्रमुख ज्ञानेन्द्र रुम्दाली राईले ३ देखि ६ महिनामा खरिद गर्ने प्रतिबद्धतासहित रकम फिर्ता नलिन मौखिक अनुरोध गर्नुभयो । ओसेस दक्षिण कोरियाको पूर्वअध्यक्ष तथा एम्बुलेन्स खरिद समिति दक्षिण कोरियाका संयोजक फडिन्द्र अधिकारीको सल्लाहमा सहमति गरियो । तर अहिलेसम्म केही भएको छैन । यता प्रस्तावक हिलेपानी सेवा समाज दक्षिण कोरिया जबाफबिहीन छौं । यसबाट थाहा हुन्छ कि नेपालको अवस्था कस्तो छ भनेर ।

अर्काको देशमा ज्यान बाजी राखेर पसिनासँग साटेको ज्यालाको केही अंशबाट आफ्नो समाजलाई टेवा प¥याउन भनेर उठाएर दिइएको सहयोग रकमले एउटा एम्बुलेन्स किन्न नसक्ने स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार कति उत्तरदायी छन् भन्ने कुरा प्रष्ट हुन्छ । नेपालको भोलिवादको यो ज्वलन्त उदाहरण हो । हामी जनताहरूले बुझ्ने भनेको काठमाडौंको सिंहदरबार गाउँ–गाउँ पुगेको छ । भन्नेले पनि ल्याएका छौं भनिरहेको थियो । छ अझै पनि भन्ने छन् । हुन त स्थानीय सरकारको पनि आफ्नो समस्यहरू होलान् तर कुरा गर्ने बेलामा यति गुलियो बचन हुन्छ कि किराना पसलमा सलाई किन्नुभन्दा सजिलो जस्तो ।

कार्यमा चासो राखेर दिलोज्यान दिएर अहिलेसम्म सहयोग गर्नु हुने मानेभन्ज्याङ गापा वार्ड नं. ५ का वडाध्यक्ष रामकुमार राई लगायतलाई नमन ।
बजारको हल्लाहरू सुनियो भने पालिकाको पार्टीहरूको कुरा नमिलेर किन्न नसकेको रे । सरकारबाट राजस्व छुट हुने भएकोले कमिसन नआउने भएकोले काम नभएको रे । फाइल नै अगाडि नबढाको रे । यो सबै हल्लामात्र होस । लौन हजुर तपाईंहरू नै स्थानीय सरकार तपाईंहरूको हातमा डाडुपन्यू शक्ति अधिकार छ । जनतालाई सेवा दिने कसम खाएर लागीपर्नु भएको छ । हामी त हात उठाएर विदेश पलायन भयौं । समाजलाई केही गर्न सकेनौं । तपाईंहरूले यति गर्दिनुस् न भन्दा हुन्छ भनेर पैसा दिएको सवा ४ वर्षमा पनि काम नहुनु भनेको लज्जास्पद कुरा हो । निमुखा जनताहरू टुलुटुलु कुरेर बस्नु सिवाय के नै छ र ।

६. कोरियामा रोजगारको प्रक्रिया
कोरिया सरकारले बिभिन्न १६ मुलुकबाट Employment Permit System (EPS) मार्फत् हरेक वर्ष कोटा निर्धारण गरेर भित्र्याउँंछ । यसको लागि हरेक वर्ष कोरियन भाषाको परीक्षा लिन्छ । कोटा हेरेर उत्तीर्ण गर्छ टपबाट कोटाभन्दा बढी संख्यामा पास गर्छ । एउटा प्रश्नका अंकभार २.५ को ४० प्रश्न हुन्छ । त्यो पनि २० वटा पढेर २० वटा सुनेर यसमा उत्तीर्ण अंक तोकिएको हुँदैन । जस्तो नेपालीलाई ५,००० कोटा छ भने ५,००० जना टपमा पर्नु पर्छ । २,५०० जनाले ४० प्रश्न मिलायो । २,७०० जनाले ३९ प्रश्न मिलायो भने ५,२०० पास हुन्छ । पछिल्लो समय नेपालको अवस्था भनेको यस्तै छ भने अरु देशमा अहिले पनि २०–२० प्रश्न मिलाउने पास हुन्छन् । सबैभन्दा बढी क्रेज नेपालीको देखाउँछ तथ्यांकले । अनि भाषामा पनि नेपाली अब्बल रहेको छ पछिल्लो समय ।
पास भएपछि स्वास्थ्य परीक्षण प्रहरी प्रतिवेदन सबै तयार भएपछि रोजगारको लागि आवेदन दिनु पर्छ ।

स्मरणको लागि स्वास्थ्य परीक्षणमा सरुवा रोगहरू रक्तचापलाई कडाइका साथ हेर्छन् । नेपालदेखि टीबी, जन्डिस भएको कतैबाट भुलवस छिरेको खण्डमा कोरियाको तालिम केन्द्रबाटै स्वदेश फिर्ता गर्छन् भने लागुऔषध सेवन गर्नेको रिपोर्ट पोजेटिभ देखिएमा कम्पनीबाटै स्वदेश फिर्ता गर्छन् । यसको तथ्यांक सायद गोप्य रहन्छ होला ।

त्यसपछि सबै कागजात सही सलामत भएमा रोजगारको लागि आवेदन दिनुपर्छ । तत्पश्चात् कोरियाको Human Resources Development Service of Korea रुजु गरेको खण्डमा योग्य कामदारको सूचीमा रहन्छ, जसलाई रोष्टर भनिन्छ ।

कोरियाको रोजगारदाताले आफ्नो सबै शर्त पुगेको खण्डमा विदेशी कामदार नियुक्ति गर्न श्रम मन्त्रालयमा आवेदन दिन्छ । आफूलाई चाहिने कामदारको राष्ट्र, उमेर, उचाइ, वजन निर्धारण गरेर माग गर्छ । त्यसपश्चात् त्यही बमोजिम १ जनाको मागेको छ भने ३ जनाको विवरण दिन्छ, रोजगारदातालाई अनि १ जना छनोट गर्दछ । यो सबै प्रक्रिया कोरियन पास हुनेहरूले आफ्नो आईडी हेर्न सक्छ । अहिले E-7 भिसा लिने क्रम बढेको छ ।

७. कोरियामा हिलेपानेको अवस्था
श्रम गर्छु अर्थात् बेच्छु भनेर नेपालमै सम्झौता गरेर आएपछि कठिन श्रमको विकल्प छैन । स्वास्थ्यले साथ दिएमा र भगवान दाहिना भएमा हरेक नेपालीले कोरियामा श्रम गर्न सक्छन् । यहाँ विशेष गरी अधिकांश औद्योगिक उत्पादन क्षेत्रमा कार्यरत छौं । फाट्टफुट्ट कृषि क्षेत्रमा पनि कार्यरत छन् । कोरियाको नियमअनुसार उत्पादन क्षेत्रभन्दा कृषि क्षेत्रको कामदारलाई असहज छ । सरकारले तोकेको न्यूनतम तलबमा तोकिएको समयभन्दा बढी समय काम गर्नुपर्ने अवस्था पनि छ । सिजनमा धेरै समय काम गर्नु पर्ने र अफ सिजनमा कामबिना पनि न्यूनतम तलब भुक्तान दिनुपर्ने भएकोले हुन सक्छ । जाडो महिनामा भारी हिमपात हुने गर्छ ।

बंगुर पालन, कुखुरा पालन, गाई पालन, च्याउ खेती लगायतको कामलाई कृषि क्षेत्रको कामदारको रोजाइमा पर्ने गर्दछ । यसमा अरु क्षेत्रभन्दा बढी कमाइ हुने गर्दछ । कोरियामा पनि विश्वव्यापी नियमको आधारमा प्रतिघण्टा ज्याला प्रत्येक वर्ष निर्धारण गर्दछ । सोमबारदेखि शुक्रबारसम्म सार्वजनिक बिदाको दिन काम नगरे पनि ८ घण्टाको ज्याला पाइनेछ । काम गरेको खण्डमा अतिरिक्त भुक्तान पाइन्छ । प्रतिदिन ८ घण्टा गर्नुपर्ने हुन्छ । यो बाहेक काम गरेको खण्डमा अतिरिक्त अर्थात् ओभर टाइममा गनिने छ ।

८. २०२४ मा श्रमिकले पाउने ज्याला
प्रतिघण्टा ज्याला दैनिक ८ घण्टा हप्तामा ४० घण्टा (मासिक तलब) हप्तामा ४४ घण्टा (मासिक तलब)
९,८६० वान ७८,८८० वान २०,६०,७४० वान २३.१७.७९० वान

अतिरिक्त ज्याला भुक्तानी नियमहरूः
१. रात्रिकालिन काम गरेमा प्रतिघण्टा : १४,७९० वान प्रतिघण्टा (राति १०– बिहान ६ बजेसम्म)
२. रात्रिकालिन ओभरटाइमकोः १९,७२० वान प्रतिघण्टा
३. दिवा ओभरटाइमकोः १४,७९० वान प्रतिघण्टा

नोटः कोरियाको नियमअनुसार उत्पादन क्षेत्रको कम्पनीमा ४ जनाभन्दा कम कामदार भएमा र कृषि क्षेत्रको कामदारले अतिरिक्त काम गरेको ज्याला न्यूनतम प्रतिघण्टा ज्याला ९,८६० वान मात्र भुक्तानी पाउने छन् । साथै यो नियम हुबहु लागू नहुन पनि सक्छ । साहु र कामदारबिचको आपसी समझदारीमा हुनसक्छ ।

९. कोरिया बसाइ अबधी
कोरिया श्रम गर्न आउनेले पाउने भिसालाई E–9 भिसा भनिन्छ । यो पहिलो र दोस्रो कार्यकाल ४ वर्ष १० महिनाको दरले झण्डै ९ वर्ष ८ महिनासम्म बस्न पाउनेछ । तत्पश्चात् अरु भिसा परिवर्तन गरेर बस्न पाइनेछ ।

१. कोरियामा ४ बर्ष काम गरेको र एउटै कम्पनीमा १ वर्ष काम गरेको अवस्थामा साहुको सहमति र सरकारले तोकेको मापदण्द पुगेको खण्डमा भिसा परिवर्तन गर्न सकिन्छ । जसलाई E–7–4 भनिन्छ । यसले दक्ष कामदार भनेर जनाउँछ । यो भिसा होल्डरले आफ्नो परिवारलाई १ पटकमा ६ महिनासम्मको लागि कोरिया लैजान सक्छ । तर ती सदस्यले कुनै काम गर्न भने पाउने छैन ।

२. पछिल्लो समय कोरियामा ग्रामीण भेगमा कामदारको अभाव र कोरियाको न्यून जन्मदरको कारण विदेशी कामदार तथा विभिन्न भिसा भएकालाई विशेष भिसा दिएर काम गर्न पाउने व्यवस्था गरेको छ, जुन भिसालाई F2R भनिन्छ । यसमा चाहिं आफ्नो परिवारको सदस्य (पार्टनर)ले पनि काम गर्न पाउने नियम छ । तर २०२४ मा हामीजस्तो भिसावालालाई बन्द गरिएको छ । कोरियामा भिसा परिवर्तन गर्न कोरियन भासा अनिवार्य छ ।

१०. हिलेपानी सेवा समाज दक्षिण कोरियाको सहयोग विवरणः
१) वाम्बुले राई समाज, नेपाल (वाम्रास)को इमाडोल, ललितपुरमा भवन निर्माण
संयोजक : पचुराम राई रकमः रु.३ लाख ८०

२) दमनसिं राई (मृगौला उपचार सहयोग)
संयोजक : पचुराम-नरेश राई ओ.से.स. र हि.से.स. रकमः करिब रु.७ लाख

३) लिब्जुभुम्जु अक्षयकोष निर्माण सहयोग
संयोजक : पचुराम राई रकमः रु.१८ हजार

४) हिलेपानी मितेरीभन्ज्याङ डबली निर्माण
संयोजक : सुजनकुमार राई रकमः रु.८२०००/–

५) बिमनकुमार राईको निधनपछि
हि.से.स. बाट सहयोग रकम रु.५००००/–

६) श्यामिका राई उपचार सहयोग (२०२०–०२–२१)
संयोजक : पचुराम राई रकमः रु.४,९३,६००/–

७) कपिल राई सहयोग (मोटरसाइकल दुर्घटना)
संयोजक : संग्राम राई रकमः रु. २,५७,७३३/–

८) अर्जुन राई सहयोग (प्यारालाइसिस)
संयोजकः सुजनकुमार राई रकमः रु. १,५५,४००/–

९) वाम्रास जनगनणा अभियान २०७८ सहयोग (सबै वाम्बुले राई सहभागी)
संयोजक : संग्राम राई रकमः ६९,६२७/–

१०) भक्तिसरी राई सहयोग (आगलागी)
संयोजक : सुजनकुमार राई रकमः २०८७०५/–

११) मंगराज राई सहयोग (मुटुरोगी)
संयोजक : सुजनकुमार राई रकमः रु.५००००/–

१२) रासबहादुर राई सहयोग (क्यान्सर)
संयोजक : संग्राम राई रकमः रु.१८८०१/–

१३) हर्कबहादुर राई सहयोग (क्यान्सर)
संयोजक : रमेशकुमार राई रकमः रु.१,००,०००/–

१४) रस्टमान राई उपचार सहयोग
संयोजक : सुजनकुमार राई रकमः रु.५०,०००/–

१५) मनपुरे राई सहयोग (क्यान्सर)
संयोजक : तीर्थराज राई रकमः रु.१,०८,०००/–

१६) संस्कृति राई उपचार सहयोग
संयोजक : रमेश-भलामान राई रकमः रु.१,९९,५००/–

दक्षिण कोरियाका ओखलढुंगे युवाको सपना साकार


यही २०८० चैत १६ गते मानेभन्ज्याङ गाउँपालिकाले एम्बुलेन्स गाडी प्राप्त गर्न सफल भएको छ ।


हिलेपानी सेवा समाज दक्षिण कोरियाको प्रयासमा ओखलढुंगा सेवा समाज दक्षिण कोरियाले साथ दियो ।


हिसेसका पूर्वअध्यक्ष पचुराम राई, संग्राम राई, ओसेसका पूर्वअध्यक्ष श्रीराम तमु, फडिन्द्र अधिकारीलगायत टोलीले गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दाली, उपाध्यक्ष आश्रचन राईलगायत जनप्रतिनिधिलाई एम्बलेन्स हस्तान्तरण समारोह सम्पन्न भएको छ ।

(यो लेख इक लिब्जु–भुम्जु त्रैमासिक वर्ष १० अंक ३, पूर्णाङ्क २२, (लिब्जुभुम्जुको ९५औं शृंखला), २०८० कात्तिक–पुस (किरात येले संवत् ३८०२÷सन् २०२३–२४)मा छापिएको छ । सम्पादक)

Leave a Reply

Your email address will not be published.