पुस्तक परिचय: कारागारमा रहेका सांसद रेशम चौधरीको ‘टिकापुर घटनाको चिरफार’ पुस्तक

मुख्य समाचार राजनीति विचार / ब्लग

लिभु संवाददाता
‘उक्त आन्दोलनमा बालकमाथि भएको घटनाको लागि म क्षमा चाहन्छु तर सही र सत्यतथ्य रिपोर्ट नआइकन बालक मारेको निहुँमा जुन थारुहरुको घरसम्पत्तिमा छानीछानी आगो लगाउने, लुटपाट गर्ने कार्य गरिएको छ, यो सभ्य समाजको परिचय होइन ।’ – रेशम चौधरी
काठमाडौं– सांसद रेशम चौधरी यतिखेर कारगारमा छन् । उनलाई राजनीतिक ज्यान मुद्धाको आरोपमा सजाय भोगिरहेका छन् । २०७२ भदौ ७ गते कैलालीको टिकापुरमा थरुहट÷थारुवान आन्दोलनमा घटेको दुर्घटना नेपाली राजनीतिको एक अविष्मरणीय घटना हो । त्यो आन्दोलनको नेतृत्वकर्ता रेशम चौधरी (थारु) हुन् । उनले आफ्नो संलग्नता, सामाजिक नेतृत्व, राजनीतिक नेतत्व, घटना, दुर्घटनालाई फेहरिस्त ढंगले लिपिवद्ध गरेका ‘टिकापुर घटनाको चिरफार’ पुस्तक कृति प्रकाशनमा आएको छ ।
यस पुस्तकमा २० वटा शीर्षकमा आलेख समेटिएका छन् । विषयसूचीभन्दा अगाडि लेखक स्वयंले ‘किन लेखें ?’ शीर्षकमा भूमिका रहेको छ । पहिलो आलेख पत्रकार गणेश चौधरीले ‘मैले चिनेको रेशमलाल’ छ । त्यसपछि क्रमशः मेरो नजरमा टिकापुर घटना’, यथार्थ, किन भेटें प्रचण्डलाई ?, जालु – भाइ (कथा), नाकाबन्दी, शोषण, देशद्रोह (मनोवाद), ओइ बाउ, खोइ मेरो साइकल ?, मेरो बाजे शीर्षक रहेका छन् ।
त्यसैगरी ११ नम्बरबाट क्रमशः मेरो दशै, एरिका, बज्र मेरो साथी, सद्भाव, दमन, पहिचान, प्रवासीय यात्राका अविष्मरणीय क्षण, चिट्ठी, म किन जेल गइँन ?, प्रवासमा बस्दा लेखेका लेखहरु, प्रवासमा लेखिएका कविताहरु, क्षतिपूर्ति र निर्वासनका मेरा साथीहरु शीर्षक रहेका छन् । लेखकले भूमिकामा भनेका छन्– ‘यो मेरो पुस्तकको महत्वपूर्ण विशेषता भनेको सही पात्र, सत्य अभिव्यक्ति र साँचो घटनाहरु नै हुन् । मैले यसलाई अक्षरशः उतारेको मात्रै हुँ भन्दा पनि हुन्छ । कुरा लुकाइएको छैन, बरु छुटाइएको हुनसक्छ । पुस्तक पढेपछिको प्रतिक्रिया तपाईँकै हातमा छ, भोलिका मेरा अक्षरका यात्राको त्यान्दो कति दूरसम्म पु¥याउने जिम्मा पनि तपाईँकै हो, धन्यवाद ।’
पुस्तक: टिकापुर घटनाको चिरफार
लेखक: रेशम चौधरी
प्रकाशक: जेकी क्याप्चा
पुस्तक पृष्ठ संख्या: ४१६
मूल्य : रु.५००÷–

यो पुस्तकमा लेखक रेशम चौधरीले आफ्नो विचारलाई प्रष्टसँग प्रस्तुत गरेका छन् । त्यही विचार ‘मेरो नजरमा टिकापुर घटना’ पहिलो आलेखको केही अंश यहाँ प्रस्तुत गरिएको छ ।
टिकापुरमा भाद्र ७ गते जुन घटना घट्यो, त्यसले टिकापुर मात्रै होइन, एक पटक देश नै हल्लियो । जनयुद्धपश्चात् यतिका सुरक्षाकर्मी एकै दिन मारिएको यो पहिलो घटना हो । यो घटनाले जनताका असन्तुष्टि अझै रहेछन् भन्ने कुरा प्रमाणित मात्रै गरेन कि पहिचानका नाममा जनता यो स्तरसम्म उत्रि सक्दा रहेछन् भन्ने पुष्ट्याइँ पनि भयो । आखिर यस्तो गम्भीर बर्बर र जनताको नजरमा अपराधपूर्ण घटना कसरी घट्यो त ? के साँच्चिकै थारुहरुमा यस्तो घटना घटाउने सुनियोजित योजना नै थियो त ? या त त्यस्तो कुनै पर्दा पछाडिको शक्तिले उनीहरुलाई उकास्यो ? आखिर कसको आडमा यत्रो घटनाको सूत्रपात भयो ? के बाहिर मिडियामा आएका सबै समाचारहरुमा सत्यता थियो त ?
मैले आफूले पत्रकार भएर बिताएको दुई दशकलाई धेरै पटक स्मरण गरें । मलाई केही–केही घटनासँग मिडिया र सुरक्षाकर्मी जोडिएको स्मरण पनि छ । तर एकपक्षीय रुपमा मात्रै प्रचार गरिएको टिकापुर घटनाले मलाई सोच्न बाध्य बनायो, त्यही दिनबाट म नश्लवाद, एकात्मक शासन पद्धतिले नेपाललाई नराम्ररी गाँजिसकेको र यसबाट मुक्तिका लागि निकै ठूलो संघर्ष गर्नु पर्ने भविष्यको चित्र मानसपटलमा झल्किन्छ । टिकापुर घटना भौगोलिक रुपले कस्तो स्थानमा घट्यो ? घटनास्थल टिकापुर बजारबाट तीन कि.मि. पर सुरक्षाकर्मी किन कसरी पुगे ? टिकापुर घटनामा सुरक्षाकर्मीको लापरवाही छ कि छैन ? टिकापुर घटनाको पछाडि अखण्ड पक्षका उदण्ड चरित्रको मानसिकताले कस्तो भूमिका खेलेको छ ?
सुरक्षाकर्मीको आपसी तालमेल कस्तो थियो ? धेरै ठाउँमा राज्यका सञ्चालक सुरक्षाकर्मी चुकेका छन् तर यो भनिदिने साहस कसैले किन गरेनन् ? किन जनपद प्रहरीतर्फ त्यत्रो क्षति भयो ? टिकापुर घटना घट्नुभन्दा केही साता पहिले मात्र त्यसबेलाका गहमन्त्ती बामदेव गौतमले म जनपद प्रहरीबाटै असुरक्षित छु, कुनै पनि बेला ममाथि घटना हुनसक्छ जस्ता अभिव्यक्ति किन दिन्थे ? टिकापुर घटनापछि एकाएक जनपद प्रहरीका प्यारो कसरी भए ? घटनामा संलग्नको बयान किन बङ्ग्याइदैछ ? के टिकापुर घटनामा सुरक्षाकर्मीतर्फ मात्रै क्षति भयो ? गोली लागेका एउटा पनि आन्दालनकारीको बयान किन मिडियामा आउन सकेन ? सयौं अनुत्तरित प्रश्नहरु छन् ।
टिकापुर घटनाको समस्या समाधान हुन नसक्नाको एउटै कारण हो, जो जो अहिले समाधानका लागि पहल गरिरहेका छन्, तिनीहरु नै हिजो व्यवधान खडा गर्ने नायकहरु थिए । म निर्वासनमा छँदा अत्यन्तै सूक्ष्म तरिकाले यो घटनाको अवलोकन गरेको छु र साथै समाधानको सजिलो उपाय पनि । समस्यामा नुनचुक छर्केर चहराउने मेरो निय भए यतिका समय चुपचाप बस्ने थिइँन । किन र केका लागि पुस्तक लेखें मैले । मसँग जुन सीप, क्षमता, कौशल छ त्यही नै मेरो लडाइँको अस्त्र हो, त्यसैले मैले यसलाई अस्त्र ठानें र चुपचाप लेख्ने हिम्मत गरें ।
धेरैलाई लागेको छ, टिकापुर घटना केवल भाद्र ७ गते मात्रै भएको हो । यही कुरामा यो देशका मानवअधिकारकर्मी, पत्रकार, राजनैतिक दल र घटनास्थललाई अध्ययन नगर्नेहरु नराम्ररी चुकेका छन् । विशेषतः यो घटनाले मानवअधिकारकर्मी र पत्रकारको काम, कर्तव्य, अधिकार र विश्वसनियतामाथि ठूलो प्रश्नचिन्ह खडा भएको छ । पत्रकार र मानवअधिकारकर्मी पनि एकपक्षीय हुँदा रहेछन् भन्ने पुष्टि गरेको छ, टिकापुर घटनाले । भाद्र ७ गते भिडन्तमा मारिएका सबै सुरक्षाकर्मीको दोष एकपक्षीय रुपमा आन्दोलनकारीलाई थोपर्न खोजिएको छ । तर भाद्र ८ गतेदेखि थारु जातिमाथि भएको दमन र बर्बरताको न्यायिक खोजी गर्ने चेष्टा कसैले पनि गरेनन् । यसले थारुहरुलाई आत्मिक चोट लागेको छ, जुन चोटको असर अहिले पनि टिकापुरले भोग्दैछ ।
के टिकापुर घटना भाद्र ७ गते मात्रै भएको हो ? उसोभए भाद्र ८ गते ८७ जना थारुहरुको घर छानी छानी जलाउनुका पछाडि कुनै राजनैतिक शक्ति लुकेको छ त ? भाद्र ८ गते सुरु भएको राज्यको नश्लवादी दमनमा अहिलेसम्म पूर्णविराम लागेको छैन । ७ गतेको घटनाले सरकारी पक्षले कफ्र्यु आदेश जारी गरेको थियो, के त्यो कफ्र्यु केवल थारुहरुका लागि मात्रै लगाइएको थियो त ? कफ्र्युमा खटिएका सेना, प्रहरी, सशस्त्र सुरक्षा प्रणालीलाई ८ गतेको घटनाले के सन्देश दिन्छ ? यसबाट पनि प्रष्ट हुन्छ कि थारुहरुमाथि दमन र विभेद थियो, जुन टिकापुर घटनापछि अझै बढेर गयो । हो, राज्यले आतंक सिर्जना गर्नेलाई कारवाही गर्नुपर्छ तर के कार्वाहीका भागिदार केवल थारु मत्रै बन्नु पर्ने हो ? भाद्र ८ गतेको टिकापुर घटनाले पुष्टि गर्दछ कि थारुलाई मात्रै यो देशको कानुन, थारुले मात्रै सामाजिक विभेद र दमन सहनु पर्दोरहेछ । विश्लेषकहरुले दुवै दिनको घटनालाई केलाएर न्यायोचित पहल गर्नु पर्ने हो, तर यतातिर न राज्यको कानुनले देखायो, न त व्यहारले नै ।
थारुका होटल, पसल, एफएम झुपडीमा दन्किरहेको आगोका बीचमा ७ गतेको समाचार पढिन्थ्यो । टिभि स्क्रिनमा आगोको मुस्लो उडिरहेको हुन्थ्यो तर समाचार वाचन भने सातजना सुरक्षाकर्मी र बालक मारिएको मात्रै हुन्थ्यो । … टिकापुर घटनाको उचित छानविन नभएसम्म यो सबैका लागि रहस्यमय नै हुनेछ । त्यसबेलाका प्रधानमन्त्री सुशील कोइरालाको कार्यकालमा गठन गरिएको देविराम शर्माको छचानविन आयोगले बुझाएको प्रतिवेदनलाई सरकारले कार्यान्वयन नगर्नु, मानवअधिकार संस्था एमनेस्टी इन्टरनेसनको प्रतिवेदनलाई समते नमान्नु, एकोहोरो रुपमा आफ्ना कार्यशैलीलाई लादिरहनु जस्ता कार्य ने शंकाका प्रशस्त्र आधारहरु हुन् । …. आन्दोलनकारी र सुरक्षाकर्मीको भिडन्तमा जुन दुई वर्षे बालकले सहादत प्राप्त गरेका छन् त्यो उनको परिवारको साथसाथै राष्ट्रको लागि अपुरणीय क्षति हो । बालकमाथि घटेको घटनाको कुनै क्षतिपूर्ति हुन सक्दैन । …. उक्त आन्दोलनमा बालकमाथि भएको घटजाको लागि म क्षमा चाहन्छु तर सही र सत्यतथ्य रिपोर्ट नआइकन बालक मारेको निहुँमा जुन थारुहरुको घरसम्पत्तिमा छानीछानी आगो लगाउने, लुटपाट गर्ने कार्य गरिएको छ, यो सभ्य समाजको परिचय होइन । … कफ्र्यु सरकारी कानुनी आदेश हो, कुनै अप्रिय घटना सिर्जना नहोस् भनेर कफ्र्यु लगाइन्छ तर राज्यका तीनवटै सेना, सशस्त्र र जनपद प्रहरीका हजारौं सुरक्षाकर्मीका बीचमा थारुहरुको घर, पसलमा छानीछानी आगो कुन नियतले लगाइयो ? के यसैले पनि प्रमाणित हुँदैन र देशको शासन सत्ताले थारुहरुमाथि विभेद गरेको ? जति स्पष्टिकरण र सहानुभूतिका शब्द फलाके पनि राज्यले थारुहरुमाथि दमन गरेकै हो । उक्त घटनापश्चानत् महिनौं दिनसम्मको ज्यादती सहन नसकेर हजारौं थारु विस्थापित हुनुले पनि पुष्टि गर्दछ ।..
टिकापुरमा थारुहरुको आन्दोलन लुटपाट गर्ने र मान्छे मार्ने उद्देश्यले गरिएको होइन । राज्यसँग आफ्नो अधिकारको माग गर्दा सुरक्षाकर्मीसँग अचानक भएको भिडन्तले दुर्घटना हुन गएको हो । भाद्र ७ गतेको घटनालाई लिएर सयौंलाई झुठा मुद्दा लगाई पच्चीस जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । अहिले पनि देशमा लामो समय जेल जीवन व्यतित गरेर सत्ताको बागडोर सम्हालिरहेका नेताहरु छन् । दुई दुई वर्षसम्म राजनैतिक घटनाको न्यायिक फैसला हुन नसक्नु भनेको लोकतन्त्रको उपहास हो । भाद्र ८ गते भएको बर्बरतापूर्ण घटनाको दोषीमाथि कार्वाही नगर्नु भनेको नै थारुहरुमाथिको दमन हो । एकपक्षीय रुपमा थारुहरुमाथि भएको ज्यादतिले टिकापुर मुर्दाशान्तिमा छ । यस्तै संगालिएर बसको दमन र विभेद नै विष्फोटको कारक बन्न सक्छ । राज्य न्यायिक पक्षका निमित्त बरोबरी हुनु पर्दछ । कसैलाई काखा, कसैलाई पाखा गर्नाले समाज, वर्ग, समूह एक्लिएर जान्छ र यही एक्लिंदाको परिणाम नै एकल निर्णयको खतरनाक कारक बन्न पुग्दछ ।
अब राज्यले टिकापुर घटाबाट पाठ सिक्नु पर्दछ । थारुहरु न्यायको पर्खाइमा छन् । भाद्र ८ गतेको राज्यका कमजोरीबाट घट्न गएको घटनाप्रति थारु समुदायसँग माफी माग्नु पर्दछ र उनीहरुको जलेका धनजनको सम्पूर्ण क्षतिपूर्ति दिनु पर्दछ । सद्भावको रोटी एकोहोरो पाक्दैन, सद्भावको महसुस दुवै पक्षलाई हुनु पर्दछ । भाद्र ८ गते गोली लागेकालाई उपचार, यौन हिंसामा परेका चेलीबेटीको गोप्य रुपले छानविन गरी कुनै न कुनै रुपले राहत महसुस गराउन सक्नु नै राज्य सफल हुनु हो । राज्यसञ्चालकले गहनताका साथ थारुहरुको माग पूरा गर्नु नै बुद्धिमता हो । थारुहरुको असन्तुष्टिका कारणले नै टिकापुर घटना हुन गएको भन्ने कुरा बेलैमा बुझ्नु पर्दछ । राज्य आफ्नो जिम्मेवारीबाट पन्छिदै गएमा भोलि अर्को विद्रोह सिर्जना हुन जान्छ र त्यसबाट उत्पन्न हुने परिणाम पनि राज्यले नै भोग्नु पर्दछ । राज्यसञ्चालकले बुझ्नै पर्ने महत्वपूर्ण अंश चाहिं थारुहरुले देश होइन, प्रदेश मागेका हुन्, पहिचान मागेका हुन्, जुन सामथ्र्यको असली हकदार थारुहरु नै हुन् ।
…. टिकापुर घटना कसरी र किन घट्यो ? बितेका यति धेरै समयमा सबैले आ–आफ्ना आँकलन र विचार प्रस्तुत गरे । कसैको आँकलन सही थियो भने कसैको गलत । आआफ्नो विचार हो तर विचार राख्न पाइन्छ भन्दैमा गलत विचार राख्नु द्रोही जन्मको कारक हो । मैले करिब दुई वर्ष निर्वासित जीवन बिताएँ । किन ? केका लागि ? त्यो बिस्तारै खुल्दै जाला । तर पनि बुज्रुक साथीहरुले पक्कै बुझ्नुभएको होला । जतिलाई बुझाएँ उहाँहरुले सकारात्मक लिनु भएको छ । नबुझ्नेलाई अब बुझाउने प्रयत्न गर्नु पनि जरुरी छैन । आजबाट म खुला भएको छु । खुला भएर लेख लेख्छु । विचार राख्छु । अपराधको योजनाकार, देशद्रोही भए ममाथि कारबाही गरिनु पर्छ । होइन भने मेरा लागि न्या पाइने ठाउँ कुन हो ? म यही पुस्तकमार्फत् मानवअधिकारकर्मी, पत्रकार, राजनैतिक दल, सामाजिक अभियन्ता अनि नेपाली दाजुभाइहरुलाई सोध्न चाहन्छु ।

(टिकापुर घटनाको चिरफार, पुस्तकमा भनिएको छ– ‘यस पुस्तकको कुनै पनि अंश वा पुरै पुस्तक प्रकाशकको अनुमतिविना कुनै पनि माध्यमद्वारा पुनरुत्पादन, प्रशारण वा फोटोकपी गरेको पाइएमा प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार कारबाही गरिनेछ ।’ यसरी कानुनी अड्चन हुँदाहुँदै पनि यस पुस्तक प्रचारप्रसारमा आउन नसकेको हुँदा यो अंश प्रस्तुत गरिएको हो । प्रकाशक जेकी क्याप्चा विदेशमा रहनु भएको र लेखकलाई सरकारले कारागारमा राखेको स्थितिमा औपचारिक रुपमा पूर्वस्विकृति लिन सम्भव नभएकोले पुस्तक परिचयका रूपमा मात्र यो अंश प्रस्तुत गरिएको हो ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *