एघार वर्षको प्रयासमा बल्ल सार्वजनिक भयो, बान्तावा भाषाको शब्दकोश (भिडियोसहित)

बिशेष मातृभाषा

लिभु संवाददाता
काठमाडौं– बान्तावा शब्दकोश तथा व्याकरण निर्माण समिति गठन भएको ११ वर्षमा बान्तावा भाषाको शब्दकोश सार्वजनिक भएको छ । यो ‘बान्तावा शब्दकोश’ बान्तावा–नेपाली–अङ्ग्रेजी भाषामा रहेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँला, निर्माण समितिका अध्यक्ष कुलबहादुर राई, किरात राई यायोक्खाका उपाध्यक्ष युवराज राई, बान्तावा खिमका अध्यक्ष ज्ञान काम्दुङ, पूर्वन्यायाधीश तेजबहादुर राई लगायतले (२०८० चैत १४ गते) बुधबार कमलादीस्थित प्रज्ञा भवन पारिजात हलमा सार्वजनिक गरेका हुन् ।

एघार वर्षअघि कुलबहादुर राईको अध्यक्षतामा ‘बान्तावा शब्दकोश तथा व्याकरण निर्माण समिति’ बनेको थियो । उक्त समितिले भाषावैज्ञानिक प्रा.डा. नोवलकिशोर राईको संयोजकत्वमा शब्दकोश निर्माण सम्पादक मण्डल गठन गरेको थियो । सदस्यमा पदमकुमार राई, निराजन राई तथा डिक बान्तावा रहेका छन् ।

प्रकाशित शब्दकोश भाषाविज्ञानको आधारमा बान्तावा, आइपिए उच्चारण, नेपाली र अङ्ग्रेजी भाषामा राखिएका छन् । बान्तावा–नेपाली–अङ्ग्रेजी, नेपाली–बान्तावा र अङ्ग्रेजी–बान्तावा गरी शब्दकोश तीन खण्डमा विभाजन गरिएको छ । बान्तावा भाषाको वर्ण, बान्तावा लेखनपद्धतिको आधारमा शब्दकोश निर्माणगरिएको सम्पादक पदमकुमार राईले विज्ञप्तिमा जनाएका छन् ।

बान्तावा शब्दकोशमा १४ हजार ९३ वटा मूल शब्द प्रविष्टि रहेको छ । यसमा १ हजार १ सय ८५ वटा बान्तावा र नेपाली उल्थासहित उदाहरणहरू समाविष्ट छन् । यसमा ७८ वटा बान्तावा संस्कृतिजन्य र लोपोन्मुख चित्रहरू पनि राखिएका छन् । जम्मा ७ सय १४ पृष्ठको शब्दकोशको मूल्य एक हजार रुपैयाँ राखिएको छ ।

लिम्बू शब्दकोश निर्माण गर्दाको अनुभव सुनाउँदै काइँलाले भाषा किताब लेखेर, शब्दकोश बनाएर संरक्षण हुन नसक्ने बताए । ‘व्यवहारमा संस्कृतजस्तै यत्रायत्रा शास्त्र छन् र त्यसबारे सबैले जानकारी लिन सक्दैन,’ काइँलाले भने, त्यस्तै हुन नदिनका लागि हामीले दैनिक भाषा बोल्ने काम जारी राख्ने, लेख्ने काम जारी राख्ने, अरुले लेखेको खोजेर पढिदिने, प्रचारप्रसार गरिदिने गर्नुपर्छ ।’ संघीय गणतन्त्रात्मक व्यवस्थामा स्थानीय पालिको मातृभाषाको प्रवद्र्धन गर्दै पठनपाठन गराउन थालेकाले मातृभाषी समुदाय त्यसतर्फ अघि बढ्नु पर्ने बताए ।

शब्दकोश निर्माण पाँच वर्षमा सम्पन्न गर्ने लक्ष्यमा रहेको तर प्राविधिक जटिलता र कोभिड–१९ महामारीले दुई वर्ष ढिलाइ भएको अध्यक्ष राईले बताउनु भयो । अध्यक्ष राईले तत्काल सहयोगदाताको नामावलीसहित स्मारिका प्रकाशन र बान्तावा व्याकरण निर्माण गरिने जानकारी दिनुभयो । शब्दकोशको अंग्रेजी अनुवादमा संलग्न भाषाशास्त्री प्रा.डा. विष्ण एस राईले जताततै अंग्रेजी हावी हुँदा मातृभाषाहरू संकटतर्फ धकेलिएको बताउने भयो । भाषाशास्त्री डा. नेत्रमणि दुमी राई, तीर्थराज मुकारुङ राई, चङ्मायुमा राईले बोलेका थिए ।

एघार वर्षअघि गठन भएको समितिको उपाध्यक्षमा बालकृष्ण मुकारुङ राई, चङमायुमा दुब्देङमा राई र पूर्व एआइजी रामकाजी बान्तावा हुनुहुन्छ । त्यस्तै सचिव तीर्थराज मुकारुङ र।ई, सहसचिवमा बसन्त राई र कोषाध्यक्ष पुरञ्जन मुकारुङ राई हुनुहुन्छ । सदस्यहरूमा प्रा.डा. नोवलकिशोर राई, पूर्व उपसचिव महेन्द्रकुमार बान्तावा, जितपाल किरात, क्याप्टेन ढुण्डीराज सुच्चा राई, क्याप्टेन नारायणप्रसाद राई, पदमकुमार राई, डिक बान्तावा, जय शिवाहाङ र हिमशैल रहनुभएको छ । समितिले समुदायबाट आर्थिक सङ्कलन गरी शब्दकोशको निर्माण भएको हो । समितिका उपाध्यक्ष बालकृष्ण मुकारुङ राई र जय शिवाहाङको निधन भइसकेको छ । शब्दकोश विमोचन समारोहमा दिवंगत सदस्यको सम्झनामा एकमिनेट मौनधारण गरिएको थियो ।

समितिअन्तर्गत प्राविधिक समूहले २०६९ कात्तिक १७ गते धरानमा १५ जना बान्तावाभाषीलाई शब्द सङ्कलनसम्बन्धी एक दिने अभिमुखीकरण तालिम दिई औपचारिक रूपमा कामको थालनी गरेका थियो । तालिमपश्चात् सहभागीहरूले गाउँमा गई करिब २२ हजार शब्दहरू सङ्कलन गरेर ल्याएका थिए । समितिले दमक र श्रीअन्तुमा नयाँ तथा प्राविधिक शब्द निर्माण कार्यशाला आयोजना गरेको थियो ।

त्यसैगरी ललितपुरको लामाटारस्थित एक होमस्टेमा १० दिने बन्दसत्र कार्यशालामा रहेर समितिले काम गरेको थियो । भाषाशास्त्री, विज्ञ, भाषिक समुदायसँग दर्जनौं पटक औपचारिक तथा अनौपचारिक बैठक र छलफलहरू गरेको थियो । शब्दकोशको लागि प्रा.डा. विष्णु एस. राई, प्रा.डा. बलराम प्रसाईं, प्रा.डा. हेमाङ्ग राज अधिकारी, डा. नेत्रमणि दुमिराई, क्वाङ्जु छो, हिमशैल राई, डेभिड रुडरफोर्ड र भारतका बान्तावा भाषीसँग कैयौँ पटक परामर्श र सहयोग लिएको सम्पादक पदमकुमार राईले विज्ञप्तिमा जनाउनु भएको छ । त्यस अवसरमा प्रा.डा. विष्णु एस. राई र डा. नेत्रमणि दुमिराईलाई फेटा गुथाएर सम्मान गरिएको थियो ।

शब्दकोश निर्माणबारे सम्पादक पदमकुमार राईको सम्बोधन

Leave a Reply

Your email address will not be published.