किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राई भन्नुहुन्छ— ‘ढ्वाङकुम चाडले ऐतिहासिक, सांस्कृतिक, सामाजिक मूल्यमान्यता सबै बोकेको छ’

विचार / ब्लग
Kirat Rai Yayokkha President Diwas Rai

किरात राई यायोक्खा संसारभरि छरिएर रहेका आदिवासी किरात राई जातिको छाता संस्था हो । २०४५ साल साउन २२ गते स्थापित यस संस्थाको २०७५ फागुनमा किरात प्रदेश सुनसरी जिल्लाको धरानमा सम्पन्न दशौं राष्ट्रिय सम्मेलनबाट दिवस राई अध्यक्षमा निर्वाचित हुनु भयो । दिवस राई बान्तावा ताङलुक्वा पाछाको हुनुहुन्छ । उहाँ २०३५ साल भदौ १९ गते भोजपुर जिल्ला, आम्चोक गाउँपालिका वडा न.४ वालंखामा जन्मनु भएको हो । उहाँको श्रीमती सन्जु राई (बान्तावा हाङखिम) तथा छोरी सदिक्षा र छोरा हेन्कुबुङ हुनुहुन्छ । उहाँले त्रिविबाट ग्रामिण विकास र माजशास्त्र÷मानवशास्त्र गरी दुई विषयमा स्नातकोत्तर (एमए) हासिल गर्नु भएको छ । २०५५ सालमा किरात राई विद्यार्थी संघ, पाटन संयुक्त क्याम्पस, संस्थापक अध्यक्ष तथा २०५६ सालमा किरात राई विद्यार्थी संघ (किराविसंघ) स्थापना भई केन्द्रीय सदस्य बन्नुभयो भने २०६२ सालमा अध्यक्ष हुनु भएको थियो । किरात वाम्बुले राईहरू र उनीहरूले मनाउने महानचाड ढ्वाङ्कुमो चाडको सन्दर्भलाई लिएर उहाँसित सम्पादक गणेश वाम्बुले राई गरेको कुराकानी यस प्रकार रहेको छ ।

वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाको निमन्त्रणामा प्रमुख अतिथिका रूपमा वाम्बुले राईको उत्पत्ति थलो ओखलढुंगाको वामद्यालमा जानुभयो । तपाईलाई कस्तो अनुभूति भइरहेको छ ?
पहिलो चोटि वाम्बुले किरात राईहरूको मौलिक उत्पत्ति थलो उँबु वामद्याल पुग्ने अवसर जु¥यो । मुख्य चाड ढ्वाङकुमको अवसरमा । अत्यन्तै खुशी लाग्यो । त्यहाँ पुगेर धेरै कुरा सिक्न पाएको अनुभूति गरें । जहाँ किरात राईहरूको विरासत छ । हाम्रो विरासत भनेकै यो विविधता हो, भाषिक, सांस्कृतिक हिसाबले । त्योमध्ये वाम्बुले राईहरूले आफ्नो उत्पत्ति थलोमा समाज, संस्कृति, सभ्यतालाई विकास गरेर लगेका रहेछन् । उहाँहरूसँग जोडिएको मौलिक सांस्कृतिक र थातथलोको अन्तरसम्बन्ध के रहेछ भन्ने कुरो मैले बुझ्ने मौका पाएँ । जुन विषयमा सबैभन्दा बढी लिब्जु डाँडा छ, लिब्जु उपो भन्नु हुँदोरहेछ । लिब्जु उपोको थानमा पुग्ने सपना पुग्न पाइयो । दर्शन गरियो । त्यो मेरो लागि अविष्मरणीय क्षण हो ।
त्यो सँगसँगै मुख्य ढ्वाङकुमथान छ । त्यो आफैं ऐतिहासिक, पुरातात्विक मान्यताको रहेछ । प्रत्यक्ष देख्न पाएँ । त्यहाँको मुन्दुम विधिअनुसारको पूजा संस्कृति हेर्न पाइयो । र अर्को आधुनिकतासँग जोडिएर आउने स्वालेवा पार्क बनिरहेको छ । त्यो पूरै वाम्बुले राईहरूको संस्कारसँग सम्बन्धित स्वालेवा पार्क प्रतिकात्मक हिसाबले त्यो क्षेत्रको आकर्षण र वाम्बुले राईको नितान्त पहिचान जोडिएको स्मारक बनेको छ ।

वाम्बुले राईहरूको मातृभाषा कस्तो पाउनु भयो ?
ओहो वाम्बुले राईहरूको भाषा व्यवहार राम्रो पाएँ । म भोजपुरमा जन्मिएको बान्तावा राई हो । बान्तावा, चाम्लिङ, पुमा, दुङमालीको भाषा सामीप्यता धेरै छ । तर वाम्बुले राईहरूको फरक रहेछ । सबैले वाम्बुले भाषामै कुरा गर्नुहुँदोरहेछ । म चाम्लिङ, पुमा खोलाभित्र गएर उहाँहरूको कुरा सुनें भने लगभग ५० प्रतिशत बुझ्थें । तर वाम्बुलेको एउटै पनि बुझिन । त्यत्ति फरक र त्यसको आफ्नैपन रहेछ । भाषाको मौलिकता रहेछ भन्ने मैले बुझें । थोरै संख्यामा रहेको वाम्बुले समुदायले आफ्नो भाषालाई बचाउन सक्षम रहेको अनुभूत गरें ।

Dhwangkumo 2076

 

ढ्वाङकुमो चाडचाहिं कत्तिको मौलिक लाग्यो तपाईलाई ? किनभने यो जनैपूर्णिमा तिथिमा पर्छ । यो त हिन्दुचाडसँग मिल्ने रहेछ भन्छन् नि ? तपाईलाई कस्तो लाग्यो ?
यो संयोग होला । संयोग धेरै छन् । हिन्दु चाड यहाँका आदिवासीका चाडहरूसँग संयोजन गरेर उनीहरूले विकास गरेका छन् कतिपय । जस्तै, माघ १ गते मगर संक्रान्ति, छन्त्याल, थारूको माघी सँगसँगै हिन्दुहरूको मकर संक्रान्ति नुहाउने, कुम्भमेला लाग्छ । यस्तो संयोजन हुन्छ । चाडवाड भनेको वातावरण, पर्यावरण, त्यहाँको इकोसिस्टमसँग जोडिएर विकास भएको हुन्छ, सांस्कृतिक चाड पर्वहरू । त्यस हिसाबले संयोग हो, ढ्वाङकुम चाड जनैपूर्णिमासँग मिल्ने भन्ने । तर त्यहाँको समदायमा गएर हेरेपछि थाहा हुन्छ, अरू हिन्दु चाडसँग त्यसको सामिप्यता छैन । एकदमै मौलिक छ । एउटा महत्वपूर्ण चाड हो, ढ्वाङकुमो । भूमि, भूमिबाट उत्पादित अन्नबालीलाई पितृ र प्रकृतिलाई चढाउने अवसर हो ढ्वाङकुमो चाड । मुख्यतः मकै बाली पाकेपछि त्यो अन्नलाई पितृहरूलाई सम्झिने । घरघरमा सबैको पितृपूजा गर्ने, त्यहाँचाहिं मुख्य पगरी जस्तो रहेछ । मुखियाको घरमा गएर सबै पूजामा सामेल हुने, मुख्य घरबाट निकालिसकेपछि मुलथानमा जाने, जाँदाखेरी सबै गाउँभरिको आफ्नो आफ्नो पुजा सामग्रीहरू थुन्सेमा राखेर ल्याउने रहेछ । सबैभन्दा बढी थुन्से यस्तो नयाँ चिज छ कि त्यहाँ अरू किरातीको चाडमा त्यस्तो देखिदैन । सयौंको संख्यामा थुन्सेहरू ढ्वाङकुमथान अगाडि राखिएको छ, मुख्य पुजा थानको वरिपरि । नाचगान चलिरहेको छ । राम्दले भाकामा गीत गाउँनेहरूको समूह समूह देखियो । एकदम भव्य छ । कतिले दसैं भनेर राष्ट्रिय चाडको रूपमा राज्यले लागू गरेकोले त्यो भव्य भयो । दसैंभन्दा दश गुणा वाम्बुलेको लागि भव्य छ । ऐतिहासिक महत्व, सांस्कृतिक महत्व, सामाजिक मूल्यमान्यता सबै बोकेको रहेछ, सांस्कृतिक पक्षमा ढ्वाङकुम चाडले ।

वाम्बुले राईहरूको मौलिक विशेषता त फरक पाउनु भयो । अरू किरातीहरूको यस्तै विशेषताहरू छन् कि ?
छन् नि । मैले जहिल्यै भन्ने गरेको छु र यथार्थ पनि हो । किरात राई समुदाय भनेको यस्तो समुदाय जसको भाषिक विविधता विशाल छ । २८ भाषा छन् नै सांस्कृतिक विविधता उस्तै छन् । हामी किरात राई जातिको मूल विरासत र यसको गौरव गर्न लायक सम्पदा पनि यही हो । विश्व मानचित्रमा हेर्ने हो भने नेपाली समुदायभित्र पनि किरात राईको विविधता छ भाषिक, सांस्कृतिक हिसाबले । ती विविधताहरू जति बृहत हुन्छन् त्यत्ति नै त्यो भाषिक, सांस्कृतिक हिसाबले धनी हुन्छ । सांस्कृतिक हिसाबले जसरी वाम्बुलेको ढ्वाङकुमो भनेजस्तो अरू हरेक किराती राईहरूभित्र आफ्नो आफ्नो चाडपर्वहरू छन् । चाडहरू मौलिक खालको छ । उधौली, उभौलीचाहिं समग्र किरातीहरूको मूल चाडको रूपमा लिइन्छ । त्योभित्र पनि कतिले साकेला नाच्छ होला । खालिङले तोसी, भुमे गर्ने आफ्नो आफ्नो तरिका छन् । यही भदौमै चाम्लिङको छौवा, लुङखिमले नयाँ अदुवालाई पितृ बुझाउने चाड मनाइरहेका छन् । सबैको आफ्नो आफ्नो चाड छ । त्यसलाई समग्रतामा एउटा मालामा गाँस्ने हो किरात राई जातिलाई । आफ्ना मौलिक परम्परागत सांस्कृतिक संस्कार, चाडहरू छँदैछ । त्यो नै हाम्रो गौरवको विषय हो ।

ढ्वाङकुमोमा सहभागी भएपछि किरात राई यायोक्खाले सांस्कृतिक पक्षमा थप काम गर्न बाँकी रहेको अनुभूत गर्नुभयो ?
एकदमै महसुस गरेको छु । जति हाम्रा सांस्कृतिक विविधताहरू छन्, ती सबै हाम्रा मौलिक पहिचानहरू हुन् । यसको मौलिकताको महत्व समुदायलाई थाहा हुन्छ, अरूलाई थाहा नहुन सक्छ । किनभने त्यसको महत्व, विरासत उसले मात्रै गर्व अनुभूति गर्छ । यस्ता सांस्कृतिक पक्षलाई जोगाउनै पर्छ । संरक्षण गर्ने हो । कमीकमजोरी आए त्यसलाई सुधार गर्ने हो । आधुनिक नयाँ पुस्ताले कतिपय अंगिकार गरिरहेको छैन । सांस्कृतिक रूपमा विशुद्ध पुजाआजा विधिमै कतिपय फरकता आउन खोजिरहेको छ । त्यो मौलिकतामा नयाँपन ल्याउन दिनु हुँदैन । उहिले हाम्रा पितापुर्खाले जे सृष्टिकालदेखि सुरू गरे त्यो चिजको मौलिकतामा तलमाथि नहुने गरी हामीले सधैं समाजसामु ल्याउनै पर्छ । त्यो भयो भनेमात्र हाम्रो सांस्कृतिक विविधताको अर्थ रहन्छ । परिमार्जित हुँदैहुँदै जाने हो भने अस्तित्व मेटिनेछ । राम्दलेकै तालमा नाचे पनि भोलि डिस्को हुँदैहुँदै जाला । वाम्रासले जति गर्दैछ, सबै व्यक्ति, परिवारले आफ्नो आफ्नो मौलिक संगठनहरूले बढीभन्दा बढी ध्यान दिनु पर्छ ।

यो पल्ट ढ्वाङ्कुमोको अवसरमा बृहत् सभा र सांगीतिक कार्यक्रम भयो । लिब्जु पुजाचाहिं अलिक हतार हतारमा चारजना नाक्सोलाई गराउनु भयो भन्ने छ । यसो गर्नु कति उचित होला ?
मैले पनि त्यसो भएको सुनें । म ठ्याक्कै हतार गराएकै अवस्थामा पुगिन । अर्को कार्यक्रमलाई हतार छ भनेर हतार गरिनु राम्रो होइन । त्यो मौलिकतालाई बचाउनलाई जति त्यसको समय अवधि हो । जति श्लोकमा पुजा गर्नु पर्ने, प्रस्तुत गर्नुपर्ने, व्याख्या गर्नु पर्ने, मुन्धुमी रीतिभाँतीहरू होला । त्यो चाहिं पूरा हुनैपर्छ । हतार भयो भनेर आधामात्रै गरेर उठौं भन्ने कुरा राम्रो हुँदै होइन । त्यसलाई परम्पराअनुसार पूरा गर्नैपर्छ । यसलाई छोट्याउँ भन्ने संस्कारको कुरामा आउँदैन ।

यसै पटक किरात समुदायको चर्चित गायक राजेशपायल राई र विल्सन विक्रम राईलाई निम्तो गरेर ढ्वाङकुमको आकर्षण बढाउने काम भयो । स्थानीय कलाकारहरूलाई पनि प्राथमिकता दिइयो । यसलाई तपाईले कसरी लिनुभएको छ ?
त्यो आफैंमा कार्यक्रमिक हिसाबले भव्य थियो । राई इज किङ भन्नेबित्तिकै देश, विदेश संसारभरि अहिले सुपरस्टारकै रूपमा चर्चित गायक हाम्रा राजेशपायल राई हुनुहुन्छ । अनि तक्मेबुढा जो बहुप्रतिभाशाली हुनुहुन्छ । उहाँचाहिं हास्यकलाकारबाट सुरू गरेको एक नम्बर डान्सर पनि हो । क्यारिकेचरमा पनि त्यत्तिकै राम्रो र अरू सबै हिसाबले उहाँ बहुप्रतिभा देखिन्छ । यस्तो व्यक्तित्वहरू त्यहाँ पुग्नु भएको थियो । सँगसँगै स्थानीय कलाकारहरूले पनि राम्रै प्रस्तुति गर्नुभएको थियो । जसले गर्दा रातको १२ बजेसम्म पनि हजारौं मान्छे कोही पनि घर फर्केका थिएनन् । त्यसको भव्यता महत्वपूर्ण रहेको छ भन्ने मैले अनुभव गरेको छु ।
त्यसको मतलब ढ्वाङकुमोको सांस्कृतिक मौलिक परम्पराको पाटोलाई असर पर्नु हुँदैन । मौलिक सांस्कृतिक पाटोलाई पूर्णता दिंदै त्यसमा थप मनोरन्जनात्मक हिसाबले सांस्कृतिक कार्यक्रम गरेको कुरा मलाई पनि राम्रै अनुभूति भयो । सायद लाग्छ, ओखलढुंगा जिल्लाको आधा भूभागको मान्छे त्यहाँ ओइरिएका थिए । सोलु, खोटाङ, उदयपुरबाट समेत आएका थिए । सिंगो त्यो ढ्वाङकुम चाडको उपलक्ष्यमा त्यत्ति विशाल मान्छेहरूको उपस्थिति हुनु भनेको चाडको महत्वलाई पनि थप ऊर्जा दिनु हो भन्ने अनुभूत गरें ।

Rajesh Payal Rai

ढ्वाङकुमटार वाम्बुले राईहरूको उत्पत्ति थलोमा सम्पन्न समारोहमा संसारभरिका किरात राई जातिलाई किरात राई यायोक्खाको तर्फबाट कस्तो सन्देश प्रवाह गर्नुभयो ?
ढ्वाङकुमटार मुलथान छ । त्यो अतिक्रमणमा परिरहेको थियो भन्ने कुरा पहिलेदेखि म जानकार थिएँ । त्यसबारे बोल्नै पथ्र्यो । मैले त्यो कुराहरू उजागर गरें । ढ्वाङकुम थान प्राचीनतम आदिकालदेखि त्यसको छुट्टै मौलिक महत्व छ । जुन ठाउँ अतिक्रमण हुनु भनेको सिंगो देशको एउटा सांस्कृतिक धरोहरलाई समाप्त गर्नु हो । त्यस्तो कुरालाई किमार्थ कसैले पनि त्यसलाई अनुमोदन गर्दैन । स्विकार्य छैन । हामी जसरी ढ्वाङकुमथानलाई संरक्षण गर्ने, त्यसको विकास र विस्तार गर्ने, त्यसलाई व्यापक बनाउने भन्ने अर्थमा भन्नुपथ्र्यो, मैले त्यही कुरा राखें । त्यसको अर्थ जुन स्कुलको भवनहरू बनिरहेको छ त्यहाँ, स्कुल बन्नै हुँदैन भन्ने होइन । स्कुल बन्नुपर्छ तर स्कुल बन्ने नाममा सांस्कृतिक महत्वका प्राचीन स्मारक स्थलहरू, पुरातात्विक ठाउँहरू मिचिनु पर्छ भन्ने त्यो झन खराब मनसाय हो । स्कुल भवन बन्नुपर्छ, वैकल्पिक ठाउँमा । स्कुलको नाममा आदिम समुदायको पूरै संस्कृति, र इतिहास समाप्त पार्ने जुन खालको षडयन्त्र देखिएको थियो, त्यो कुराको मैलेमात्र होइन सबैले खुलेरै विरोध गरे ।

Artists in Dhwangkumo

समुदायले जिम्मेवार ढंगले विकल्प पनि दिनु भएको रहेछ । नजिकै जग्गा निःशुल्क दिनु भएको छ । अब त्यहीं बनिनु पर्छ, नयाँ आधुनिक भवनहरू । किनभने झुप्राझाप्रीमा सधैं बस्नु पर्छ भन्ने छैन । नयाँ उपलब्ध जग्गामा स्कुललाई सार्ने, त्यसलाई व्यवस्थापन गर्ने, अझै राम्रो भव्य र व्यवस्थित होस् । ढ्वाङकुमथान पनि भव्य र विशाल त्यसको आफ्नै पुख्र्यौली आकारमा संरक्षण होस् भन्ने कुरा राख्यौं ।
हामी मुख्यतः १ नम्बर प्रदेशको नामाकरणको विषयमा केन्द्रित रह्यौं । यो यो आधारमा किरात प्रदेश हुनुपर्छ । यो देश प्राचीन हिसाबले किरातहरूको आदिम थलो हो । १ नम्बर प्रदेश उनीहरू उत्पत्ति थलो नै हो । सिंगो नेपाल राष्ट्रको ऐतिहासिक महत्वका हिसाबले किरात एउटा पहिचान हो । ऐतिहासिक सभ्यता, संस्कृतिको हिसाबले किरात एउटा पहिचान हो । भूमि र भूगोलको हिसाबले पनि ओल्लो किरात, माझ किरात र पल्लो किरात भनिएको छ । प्राचीन किरात प्रदेश हो । त्यसैले १ नम्बर प्रदेशको नाम किरात हुनुपर्छ भन्नेमा एकमत रह्यो । सांसदहरूले पनि आआफ्नो प्रतिवद्धता राख्नुभयो ।

जनप्रतिनिधि सांसद लगायतको अभिव्यक्ति किरात वाम्बुले राईहरूको बारेमा कस्तो बुझाइ पाउनु भयो ?
उहाँहरूको एकदमै सकारात्मक धारणाहरू आयो । थोरै संख्यामा रहेका वाम्बुले राईहरू, जसले आफ्नो मौलिकतालाई बचाइरहेका छन् । एकै ठाउँमा उहाँहरू ठूलो संख्यामा हुनुहुन्छ । त्यो आफैंमा महत्वपूर्ण पक्ष हो । त्यो हिसाबले उहाँहरूको संस्कार, संस्कृति, इतिहास, परम्परालाई बचाउने कुरा र उहाँहरूको आर्थिक जीवनपद्धतिमा पनि फड्को मार्ने कुरा स्वभाविक रूपमा राजनीतिक नेताले गर्छन् नै । त्यही गर्नुभयो उहाँहरूले पनि । सँगसँगै त्यहाँ वाम्बुलेहरूको सांस्कृतिक मौलिक थातथलो छ । त्यो ढ्वाङकुमथान त्यसलाई बचाउनै पर्छ । संरक्षण हुनुपर्छ । त्यसमाथि अतिक्रमण हुनुहुँदैन भन्ने कुरा नै उहाँहरूले गर्नुभएको छ ।

वाम्बुले राई समाजले साउन १५ गते तेस्रो बाँसुरी दिवस र साउन ३० गते ढ्वाङकुमो चाड मनाउँदा किरात राई यायोक्खाको केन्द्रीय अध्यक्ष तपाईलाई हामीले प्रमुख अतिथिका रूपमा रोज्यौं । कस्तो अनुभव गर्नुभयो ?
मलाई तपाईहरूप्रति कृतज्ञ छु । तपाईहरूलाई धन्यवाद दिन्छु । तपाईहरूको लागि म नौलो विषय भइन । मेरो लागि तपाईहरूको कार्यक्रम नौलो विषय बनेको छ । किनभने किरात राईहरूको सांस्कृतिक, भाषिक विविधता, मौलिकताहरू जहाँ जेजे छ, त्यो कुराहरूमा आफू पुगेर शुभकामना दिने अवसर पाउने कुरा आफैंमा राम्रो पनि हो । त्यही माथि बाँसुरी दिवस फरक पाटो हो । त्यसको आफ्नै मौलिकता छ । त्यो आफैंमा महत्वपूर्ण थियो भने यता ढ्वाङकुम आफैंमा फरक विशेषतासहितको सांस्कृतिक चाड हो । दुइटै उत्तिकै सान्दर्भिक मलाई लाग्यो । बाँसुरी दिवस पछि विकास गरेर लिएको हो । परम्परागत संस्कृतिसँग जोडेर ल्याउनु भएको छ । ढ्वाङकुम भनेको त उत्पत्ति कालदेखि कै मूल आस्थाको केन्द्र हो । मूल चाड पनि तपाईहरूको त्यही हो । त्यो हिसाबले दुइटैको आआफ्नो महत्व छ । मुख्य चाडचाहिं ढ्वाङकुम हो ।

बाँसुरी दिवसमा तपाईले पनि बाँसुरी बजाउनु भयो । तपाईको पनि त परम्परा रहेछ नि त ? बैसको बेला तपाईले पनि त बजाउनु हुन्थेछ नि त ?
(हाँसो) हो हो मैले त्यति बेला पनि भनेको थिएँ नि । मैलेमात्रै होइन, सबैजना कलाकार नभए पनि गाउँघरमा बाँसुरी बजाउँछन् । तर हामीले बजाएको, गाउँघरमा बजाएको कलाकारिताको हिसाबले संगीत हो । संगीतमा सबै झुम्मिन्छन् । संगीतको एउटा माध्यम हो, बाजागाजा । संगीतको वाद्यवादनका हिसाबले बजायौं । तर वाम्बुले राई समाज (वाम्रास)ले चाहिं आफ्नो मौलिक सांस्कृतिक परम्परासँग जोडेर बाँसुरी दिवस मनाउने गरेको छ । फरकपन भनेकै त्यो हो । मैले पनि बजाउँथें । त्यो चाहिं व्यक्तिगत रूपमा सांगीतिक वाद्यवादनका रूपमा हामीले प्रयोग ग¥यौं । यता वाम्रासले गर्ने बाँसुरी दिवसचाहिं उसको समाजको मौलिकतासँग जोडिएको उसको परम्परागत सांस्कृतिक आयाम हो । त्यो हिसाबले पनि त्यसको फरक विशेषताहरू छन् ।

यायोक्खाले २०६७ चैत अन्तिम र २०६८ वैशाखमा काठमाडौंमा अन्तर्राष्ट्रिय किरात महत्सवको आयोजना गरेको थियो । त्यतिखेर कलाकारले चिन्डो कला प्रदर्शन गर्नुभयो । आज वाम्बुले राईहरूको थलोमा जाँदा एउटा स्वालेवा (चिन्डो) स्तम्भको अगाडि उभिदा तपाईलाई कस्तो अनुभव भयो ?
वास्तवमा स्वालेवा प्रयोग सबै किरातीले गर्छौं । तर आफ्नो आफ्नो विधि र मनोविज्ञानको हिसाबले हुनेरहेछ । वाम्बुले राईहरूले चाहिं स्वालेवालाई मुख्य आफ्नो सांस्कृतिक प्रतिकको रूपमा ठान्ने रहेछ । पूर्वतिर स्वालेवा कम र अर्को त्यो डल्लो घाँटी भएको चिन्डो बढी प्रयोग गर्छ । मुख्य शुभकार्यमा प्रयोग गर्ने वाम्बुले राईहरूको चाहिं स्वालेवा रहेछ । त्यो पनि बुझियो । नाम स्वालेवा भएपनि चिन्डोकै प्रतिक हो । आकारमा स्वालेको लामो घाँटी भयो । अरूको चाहिं डल्लो घाँटी हुन्छ । स्वालेवाचाहिं विशेष महत्वका साथ वाम्बुले राईहरूले प्रयोग गर्दोरहेछ भन्ने मैले अनुभूत गरें । मुख्य प्रतिकको रूपमा किरात राईहरूले विश्वभरि बनाइरहेका छौं ।
ढ्वाङकुम चाडको उपलक्ष्यमा मैले विशेष गरी यही कुरा फोकस गरेको थिएँ । वाम्बुले राईहरूको आफ्नो मौलिक थातथलो उँबुमा तीनवटा धरोहरहरू टिपिकल हेरिटेजहरू बनिरहेको छ । त्यसलाई विकास ग¥यो भने अब संसारले चिन्ने धरोहर बन्छ है भनेको छु । त्यो भनेको माथि टुप्पोमा लिब्जु डाँडा (लिब्जु थान), जुन वाम्बुलेको सृष्टिसँग जोडिएको महत्वपूर्ण ठाउँ हो । त्यसपछि बीचमा आएर ढ्वाङकुमटार, जो सृष्टिकालदेखि आफ्नो सांस्कृतिक सम्बन्ध भएको छ, ढ्वाङकुमथान । त्यो भन्दा तल नयाँ आधुनिक ढंगले बनाइएको स्वालेवा पार्क छ । यो तीनवटा मौलिक र अत्यन्तै विशिष्ट खालको वाम्बुले राईहरूको सम्पदा सूचिमा अब आउँछ । अब वाम्बुले राईको मात्रै हुँदैन विश्वले चिन्ने प्रतिकात्मक हिसाबले पनि वाम्बुलेको सांस्कृतिक प्रतिक राष्ट्रिय सम्पदाको रूपमा विकास हुन्छ । यी तीनटा ठ्याक्कै तला तला जस्तो देखिन्छ । माथिल्लो तलामा लिब्जु उपो, बीचको तलामा ढ्वाङकुमटार छ र तल्लो तलाको अन्तिम डाँडामा स्वालेवा पार्क बनेको छ । त्यो टोपोग्राफीको हिसाबले पनि भौगोलिक बनावट सेटिङ हेर्दा पनि तीनटा खण्डमा ठूलठूलो धरोहर बनेको देख्छु । अब वाम्बुले को हो भनेर चिनाइराख्नु पर्दैन । संसारले आफैं चिन्ने ठाउँ बन्दैछ ।

अर्कोचाहिं वाम्बुले टोपी आयो । यसलाई कसरी लिनु हुन्छ ?
टोपी दुनियाँमा थरी थरी खालको बन्छ । वाम्बुलेहरूको टोपी वाम्बुलेबाहेक अर्कोले बनाएको पनि छैन । त्यो चिजको मौलिकता आफैं ठूलो महत्व छ । त्यो समारोहमा सबै अतिथिहरूलाई वाम्बुले टोपी लगाइ दिनुभयो । त्यो हेर्दै विश्वमा जहाँसुकै जानोस् त्यो टोपी लगाएर जाँदा यो वाम्बुले राई हो भनेर ठ्याक्कै चिनिन्छ । त्यो टिपिकलनेस तपाईहरूमा छ । आदिवासीहरू चिन्ने, चिनिने भेषभूषाहरू आआफ्ना हुन्छन् । त्यसमा वाम्बुलेहरूको टोपीले ठ्याक्कै सुरूमै टोपीबाट चिनिन्छ । ब्रान्डको रूपमा विकास गर्दैजानोस् । यसले विश्वभरि चिनाउने अर्को प्रतिक पनि बन्छ ।

किराती समुदाय नारी प्रधान थियो भनिन्छ । वाम्बुलेको ढ्वाङकुमोमा सहभागी हुँदा त्यसमा केही संकेत पाउनु भयो ?
मैले अलिक धेरै गहिरिएर हेरिन त्यहाँ । तर महिलाहरूको आफ्नै भेषभूषा छँदैछ । जेजस्तो पहिरन पहिरिनु भयो त्यो पनि टिपिकल खालकै छ । तर अलिअलि किराती महिलाहरूको भेषभूषामा थोरैमात्र नमिल्ने एकरूपता चाहिं छ । वाम्बुले महिलामा पनि अरू राई महिलाभन्दा थोरै मौलिकताचाहिं छ ।

संसारभरि रहनु भएको २८भन्दा बढी विविध भाषी किरात जातिलाई के सन्देश दिन चाहनु हुन्छ ?
विशेषतः किरात राई यायोक्खाको केन्द्रिय अध्यक्ष भएको हैसियतले संसारभरिका किरात राई समुदायहरूलाई हाम्रो भाषाको हिसाबले यत्रो विरासत छ । सांस्कृतिक हिसाबले पनि यत्ति विविधताको धनी छौं । भाषा र संस्कृतिको हिसाबले यत्रो संसारमा नेपालमा किरात राई जाति छ, जसको यति धेरै भाषा र यति धेरै संस्कृतिहरू छन् । त्यो भाषा र संस्कृतिको धनीको रूपमा हामीले यसलाई गौरव गर्नुपर्छ । यो हाम्रो विशिष्ट पहिचान हो । हामी एकाकार हुन सकौं । किरात राई यायोक्खाले संचालन गरेको भाषिक, सांस्कृतिक, कला, संस्कृति, साहित्य, लिपि, जनशक्ति विकास, राजनीतिक अभियानहरू छन् । उद्देश्य प्राप्तिमा सबैले साथ सहयोग दिनु हुनेछ भन्ने अपेक्षा गर्दछु । सबैको साथ सहयोगले नै हामी यो देशको एउटा प्राचीन धर्तीपुत्र आदिवासी जनजाति किरातीहरू हो भनेर स्थापित गराउने काममा हामी सफल पनि हुनेछौं । यहाँहरूको साथ सहयोग भयो भने हामी लक्ष्यमा पनि पुग्छौं भनेर मैले विश्वास पनि लिएको छु । यसका लागि सम्पूर्ण विश्वभरि छरिएर रहेका किरात राई दिदीबहिनी तथा दाजुभाइहरूलाई सहयोगको लागि र यो अभियानमा लामवद्ध भइदिन पनि म हार्दिक अपिल गर्दछु । सबैलाई जिउ बाःमे । धन्यवाद ।

इक लिब्जुभुम्जु त्रैमासिक, २०७६ वैशाख–असोज अंकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *