उत्साहजनक सहभागितामाझ ओखलढुंगामा साकेला सिली प्रशिक्षण सम्पन्न

प्रदेश १ समाज

लिभु संवाददाता
ओखलढुंगा । किरात राई यायोक्खा जिल्ला कार्यसमिति ओखलढुंगाले पाँच दिने साकेला सिली प्रशिक्षण सम्पन्न गरेको छ । उभौली २०८१ को अवसरमा जेठ १ गतेबाट ५ गतेसम्म प्रशिक्षण दिएको अध्यक्ष थगेन्द्रराज राईले जानकारी दिनु भएको छ ।

संस्कृतिविद् डा. शान्तिदेवी राई र निला राईले प्रशिक्षण दिनु भएको थियो । बायुङ, थुलुङ, जेरो र वाम्बुले राई महिला तथा पुरुष सहभागी थिए । दैनिक तीन सेसन सिली प्रशिक्षण दिइएको थियो । प्रशिक्षणमा नियमित रूपमा ९० जनाभन्दा बढी सहभागिता रहेको थियो । सुरुमा ४० जना प्रशिक्षार्थी रहने योजना थियो । उत्साहजनक रूपमा प्रशिक्षार्थी बढेकाले तीन सेसन संचालन परेको थियो।

उद्घाटन सत्रमा सिद्धिचरण नगरपालिकाका प्रमुख तेजन खनालले उद्घाटन गर्नु भएको थियो । यसैगरी समापन सत्रमा संघीय सांसद राज्य व्यवस्थापन तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले समापन गर्नुभएको थियो । समापनसँगै उभौली साकेलाको शुभकामना आदानप्रदान गरिएको थियो ।

जिल्लामा साकेला सिली प्रशिक्षण कार्यक्रम संचालन गर्न चुनौती रहेको थियो । साकेला प्रशिक्षणका निम्ति सिद्धिचरण नगरपालिकाले वित्तीय सहयोग गरेको जनाइएको छ । संस्थागत सम्पत्तिका रूपमा एक जोडी ढोल र एकजोडी चमर जोडिएको छ । प्रशिक्षकका निम्ति ४५ हजार रुपैयाँ पारिश्रमिक तथा चारजनाको टोलीलाई गाँसबासको व्यवस्था र प्रशिक्षार्थीहरूलाई खाजापानीको व्यवस्था गरिएको थियो ।

यायोक्खा ओखलढुंगाले सदरमुकामका करिब १० आना क्षेत्रफल जग्गा रहेको छ भने त्यसमा कार्यालय भवन निर्माण गरेको छ । यायोक्खाको स्वामित्वमा सिद्धिचरण नगरपालिका–३ असिनेडाँडामा ९ रोपनी किरात राई जातिको समाधिस्थल रहेको छ ।

यायोक्खा ओखलढुंगाले राष्ट्रिय जनगणना २०७८ अभियान संचालन गरेको थियो । प्रदेश–१ नो कोशी अभियानमा जुझारुपमा संघर्ष गर्दै आएको छ । सांस्कृतिक आन्दोलनमा सशक्त भूमिका निर्वाह गर्दै आएको छ । यायोक्खा अध्यक्ष राई प्रदेश नं.१ पुनःनामांकन संघर्ष समितिका ओखलढुंगा जिल्ला अध्यक्षसमेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *