बदलिएको नेपाली समाजको चित्रण गर्दै कथाकार जगत राई (प्लोकोचे)को कथा : सहारा

कला साहित्य -संस्कृति

कथा : सहारा
–जगत राई (प्लोकोचे)

काका, नमस्कार !
पिढीमा बसेर बुढीमान्छेले ल्याइदिएको खाजाको बटुको उठाउँदै मात्र थिएँ । कसैले पछाडिबाट बोलाएको आवाजले झस्किएँ । र बटुको त्यत्तिकै राखेर पछाडि फर्केर हेरें । पुछार टोले जेठा रहेछ । उसलाई देख्ने बित्तिकै मनमा चिसो पस्यो र पनि आफूलाई सम्हाल्दै ‘ए जेठा पो ! यतै बसन…’ भनें । हल्का बुढो मुस्कान सहित नजिकको थोत्रिएको मकैखोस्टाको पीरा अघि सारिदिएँ ।
‘हुन्छ काका’ भन्दै जेठा पिरामा बस्यो ।

‘ए बुढीमान्छे, अरु एउटा खाजा लेऊ है जेठा आको छ ।’ आफूलाई सामान्य बनाउँदै भित्र आवाज दिएँ । भित्रबाट जवाफ आयो कि आएन सुनिनँ ।

‘अनि काका सन्चै हुनुहुन्छ ?’ जेठा म तिर हेर्दै बोल्यो ।

‘सन्चै भन्नु प¥यो जेठा । तिमी सुनाऊ ।’ के कति कामले आयौ भन्ने शब्द निकाल्न सकिनँ ।

‘मेरो पनि ठिकै नै छ काका । सिरान टोलतिर अलिकति पैसा उठाउनु थियो । त्यतै पुगेर आको र अनि छोरा छोरीले फोन सोन त गर्दै होलान …।’

जेठाको जवाफले मेरो मन अझ भित्रभित्रै काम्न थाल्यो.र पनि आफूलाई सम्हाल्दै छोटो उत्तर दिएँ ‘गर्दैछ ।’
यतिन्जेल जेठाको अगाडि खाजा आइसकेको थियो । त्यसपछि हामीले सँगै बटुको उठायौं । बटुको भुइँमा राख्दै फेरि भित्र आवाज दिएँ– ‘थपनी लेऊ है ..।’

भित्रबाट कुनै जवाफ आएन । मलाई थाहा थियो किन जवाफ आएन भनेर । जेठाको अगाडिको खाजा पनि चिन्दै थिएँ । किनकि हामी बुढा–बुढीले खाजा खाँदा जहिले उनले यही बटुको चलाउने गर्थिन् । जेठासँग यता उताको गफ ग¥यो । तर भित्रबाट न जावफ आयो न थपनी नै । सायद जेठाले पनि कुरा बुझ्यो कसो । बचेको खाजा एकै घुट्मा स्वाट्टै पारेर म बाट बिदा भयो । जेठा गएपछि लामो सास तानेर छोडें । केहीबेर अगाडि सम्म कामेको मन बल्ल ढुक्क भयो । तर कहिले सम्म ? आज त केही भनेन । तर केही भनेन भनेर ढुक्कसँग बस्ने अवस्था छैन । पोहोर साल उसले भनेको कुरा सम्झिदा अझै मन मस्तिष्कले काम गर्दैन ।

त्यो रातको मलाई झल्झली सम्झना छ । दश कक्षामा पढ्दै गरेको एकमात्र छोराले ऊसँंगै पढ्ने केटीलाई बुहारी बनाएर अचानक घर ल्याएको । हामी बाबु आमाले छोराले यति सानो उमेरमा नै यस्तो गर्छ भनेर कहिल्यै सोचेका थिएनौं । उसको उमेर नै कति भएको थियो र ! भरखर त सोह्र वर्ष पूरा भएको थियो । यो उमेर भनेको साथीभाइसँग खेल्ने कुद्ने अनि भविष्यको लागि बाटो बनाउने हो । तर उसले यति सानो उमेरमै जिन्दगीको अति महत्वपूर्ण फैसला लिएको थियो । जुन कुरा न कानुनलाई स्विकार्य थियो न हामीलाई नै । तर कानुनलाई स्विकार्य नभए पनि हामी आमा–बाबुलाई समाजको लागि स्विकार्नु परेको थियो । किनकि छोराले कसैको छोरीलाई विवाह गर्छु भनेर घर ल्याएको थियो । तर यदि कसैले प्रहरीमा उजुरी गरिदिएको भए हामी सबैलाई बाल विवाहको कसुरमा सजाय हुने थियो । तर यसो कसैले गरेनन् किनकि गाउँमा प्राय केटा–केटीको विवाह यही उमेरमा हुने गर्छ ।

बुहारीको माइती पक्षबाट विवाहको लागि दबाब आएपछि पछि हट्न सकिएन । बेहुली पक्ष हामीभन्दा आर्थिक रूपमा बलियो र एउटा मात्र छोरी र हाम्रो पनि एक जनामात्र छोरा भएकोले विवाह धुमधामसँग हुनुपर्छ भनेर कलियाहरूबाट सन्देश पाइयो । विवाह त धुमधामसँग गर्ने तर कसरी ? घरमा आयस्रोत केही छैन । गाईबस्तु बेचौं भने जम्मा एउटा गाई र एक हल गोरु छ । अब गोरु बेचौं भने अलि अलि भएको बारी पनि बाँझो रहने । गाई बेचौं गोठ नै खाली हुने । खसी बोका छैन । बारी बेचौंभन्दा गाउँको बारी कसैले किन्दैनन् । अब के गर्ने ? छोरीजवाइँहरूलाई नसम्झेको होइन । तर उनीहरूको अवस्था पनि हामीभन्दा फरक थिएन ।. अन्तमा परिवारकै सल्लाहमा पुछार टोले जेठासँग ऋण माग्न पुगेको थिएँ । जेठाबाट चर्को ब्याजमा ऋण लिएर छोराको विवाहको तयारीमा लागिएको थियो ।
…….

गाउँमा नयाँ चलन आएको छ । कुनै पनि कार्यमा घरमा बनेको होल्ठे र लोकल रक्सी चलाउनु र मकैको च्याख्ला भतेरमा पाक्नु भनेको प्रतिष्ठाको निलाम गर्नु हो । सघौनी पनि चामल र बजारकै लाने (बियर, रम, कोकाकोला) र ल्याउने चलन चलेको छ । तर त्यो सघौनीले कति पनि पुग्दैन । गाउँमा कसैकोमा कुनै विवाह या भोजभतेर छ भने प्राय सबै निम्तारु (निम्तालु)हरूको घरमा त्यो दिन चुला बल्दैन । फुर्सदिला केटाकेटी, युवाहरूदेखि बुढा–पाकाहरूसम्म दुइ तीन दिन नै त्यो घरमा डेरा जमाएर बस्ने चलन छ. । डी.जे. घन्काउनै पर्छ.। यी सबै प्रतिष्ठाको कुराहरू हुन् । त्यसैले विवाहको राम्रै तयारी गर्नु थियो । बिहीबारे हाटबाट जेठाकै गाडीमा बियर, रम र कोकाकोला कति कार्टुन ल्याइयो । सम्झना छैन । त्यतिले पनि नपुगेर गाउँकै दोकानबाट ल्याएको च्याप्टेहरूको हिसाब नै भएन । अलिकति भएको खेतमा नुवांगी पुग्ने धान फल्दैन । त्यसैले चामल त नल्याई धरै थिएन । बाँकी तेल मरमसला पनि उही बिहीबारे हाट कै भर थियो ।

अन्ततः विवाह सकियो । विवाहमा निम्तारु सबैले राम्रै खाए । पिए । नाचे । रमाइलो गरे । बिस्तारै विवाहका दिनहरू पुरानो हुँदै गयो । गाउलेहरूले पनि भुल्दै गए । तर मलाई निन्द्रा लाग्न छोड्यो । कति रातहरू कोल्टे फेर्दै बिते । त्यसरी नै बुढीमान्छेले पनि बिताइन् । अब हामी एकसाथ सुत्न छोडेका थियौं ।. बुढो बाबुले रातभरी खोकेको सुन्दा सायद उहाँको अवस्था पनि हाम्रै जस्तै छ भनेर अड्कल गर्न मुस्किल थिएन । तर यसबारे न उनीहरूले केही भने न मैले नै । जबकि हामी सबैलाई एकअर्काको अवस्थाबाट जानकार थियौं । ऋणको ब्याज दिनदिनै बढिरहेको थियो । तर सोच्ने बाहेक हामीसँग अरु उपाय पनि थिएन ।

अन्तमा विदेश जाने योजना बनाएर त्यही जेठाकै बाट थप ऋण लिएर राजधानी गए । तर अन्तिम समयमा मेडिकलमा फेल भएपछि घर फर्किनु प¥यो । एउटा रहेको आशाको डोरी चुँडिएपछि अब हामीसँग मात्र एउटा विकल्प बचेको थियो र त्यो थियो पढ्दै गरेको छोरालाई विदेश पठाउने । छोरा बुहारीले पढाइ अगाडि बढाउने भनेर सँगै पढ्दै थिए । र हामी पनि यही चाहन्थ्यौं कि उनीहरूले धेरै पढून् । तर घरको अवस्थाबाट उनीहरू पनि अन्जान थिएनन् । र एकदिन छोरा आफैले विदेश जाने कुरा गरेपछि चाहेर पनि नजाऊ भनेर भन्न सकिएन ।

एउटा भएको छोरा, किशोर उमेर, त्यो पनि विवाह गरेको छ महिनामै त्यसरी परदेश लाग्दाको पीडा एउटा आमा बाबुले साहुको ऋणको अगाडि विवस भएर सहनु पर्ने दिन पनि आयो । र पनि यो सोचेर खुशी नै थियौँ कि छोराले ऋण तिरिसकेपछि त सधैको लागि सँगै हुनेछौं । दुख सुख जे जस्तो हुन्छ यही गरेर खाने छौं । तर सबै कुरा सोचेको जस्तो कहाँ हुन्छ र ! कलिलो उमेरमै आमा बन्न लागेकी बुहारीको नर्मलबाट सुत्केरी गराउन नसकेपछि अपरेशन गराउनु प¥यो ।. पनाति घरमा आएकै महिना बाबु पनि हामीलाई छोडेर यस संसारबाट जानु भयो भने उता परदेशमा छोराले पनि कमाई राम्रो छैन भनेर भन्ने गथ्र्यो । र पनि एकदिन त सबै ठिक होला भन्ने आशा भने छोडेनौं ।

समय बित्न कति पनि नलाग्दो रहेछ । गालाको छालामा मुजाहरूको संख्या पहिलेको तुलनामा धेरै बढिसकेको थियो । नातिले तोते बोल्न थालिसकेको थियो भने छोरा परदेश गएदेखि एक पटक पनि बिदामा आएको थिएन । फोनमा प्राय हामी आमा–बाबुसँग कम बोल्थ्यो । कहिले काही कुरा हुँदा एकैचोटि फिनिस आउने र गाउँमै केही गर्ने भनेर भन्थ्यो । छोराको यस्तो कुरा सुन्दा खुशी लाग्थ्यो । उसले कहिले काही पठाइदिएको पैसाले सावाँ तिर्न नपुगे पनि ब्याज तिर्दै थियौँ।

सबै कुरा सोचेजस्तै नभए पनि हामी खुशी थियौं.तर एक साँझ बुहारीको कुरा सुनेर हामी बुढाबुढी स्तब्ध भयौं । केही बोल्न सकेनौं । उनी भन्दै थिइन्– नातिलाई पढाउन ओखलढुंगा बजार जाने र उतै बसेर नातिलाई बोर्डिङ स्कूल पढाउने भनेर छोराले भनेको रे । जुन कुरा छोराले हामीसँग कहिल्यै भनेको थिएन । र एक दिन बुहारीले नाति लिएर ओखलढुंगा गएकी थिइन् ।

आफ्नो सन्तानलाई राम्रो र स्तरीय शिक्षा दिने सबै आमा बाबुको सपना हुन्छ । तर अहिले पहिलेको हाम्रो समय जस्तो छैन । गाउँकै सरकारी विद्यालय स्थानीय सरकारले राम्रो गरिदिएको छ । स्थानीयको मागलाई सम्बोधन गर्दै सानै कक्षाबाट अंग्रेजी पनि पढाइ हुन्छ.। तर बोर्डिङग विद्यालयको पढाइलाई मात्र स्तरीय मान्ने हाम्रो समाजको मानसिकताबाट छोरा बुहारी पनि अछुतो रहन सकेनन् । हामीले पनि यस्तै सपना देखेका थियौं । एउटा छोरा राम्रो पढोस् र गाउँमै सानोतिनो जागीर गरोस् ।

तर खै हाम्रो सपना ? कलिलो उमेरमै विवाह गरेर हाम्रो सपनामा तुसारापात गरिदियो । र आज हाम्रो सपना विदेशी भूमिमा छ । उसलाई नदेखेको वर्षौं भयो । बुढो शरीर त्यसमा पनि साहुको ऋणको पीडाले फतक्कै गलिसकेको छ । एक मुठी सासले यो छाला र हड्डीको शरीरलाई थामेको छ । तर खै कहाँ कुन बेला यो सासले पनि साथ छोड्ने हो ! उसको आवाज सुन्न नपाएको धेरै भयो । बुढो मानसपटलमा उसको तस्बिर धमिलो आउँछ । उसले बोलेको आवाजहरू यस्तै थियो भनेर छुट्टाउन नसक्ने भैसकियो ।

आफ्नो अलि अलि भएको बारी आधाभन्दा धेरै बाँझो रहेको पनि धेरै भयो । भएको एक हल गोरु पनि हामी सँगै बुढो भैसके । नयाँ किन्नलाई पैसा छैन । एउटा भएको गाई खोल्सामा लडेपछि ढाँड भाँचिएर वर्ष दिन थला परेर म¥यो । जन्म र कर्म दिने बाबुको बर्खन्ता गर्न नसक्दा घर कुयामो रहेको वर्षौं भयो । हामीले मासु किनेर अन्तिम पटक कहिले खाएका थियौं भन्ने सम्झना छैन । तर बुढी मान्छेले सब्जीसँगै त्यसमा भएका सबै फ्रीको मासुहरू पनि पकाइ पठाउछे। त्यसैले हामीलाई मासुको त्यति तिर्सना पनि लाग्दैन । उता जेठाको ऋण सावाँ ब्याज गरेर कति पुग्यो । थाहा छैन । एक वर्ष पहिले सबै सावाँ ब्याजको हिसाब सुनाउँदा म सुकेको रुखजस्तै भएको थिएँ । घरबारीले पनि नपुग्ने भैसकेको रहेछ । त्यसबेला ‘अब के गर्ने काका ?’ भनेर जेठाले सोधेका थिए । जवाफमा फुस्रो अनि विवश मुहारले उसलाई नै हेरेको थिएँ ।

गाउँलेहरूले भन्छन्– हाम्रो छोरा बिदामा उतै आउँछ । र उतैबाट परदेश फर्किन्छ रे । छिमेकी गाउँ ससुरालीमा पनि आउछ रे ! यस्तो कुरा सुन्दा मनमा गाँठो भएर आउँछ । छाती भतभती पोल्छ । यस्तो बेला रुन पनि नसकिदो रहेछ । घरको दुख, साहुको ऋण त्यसमाथि पनि आफैले जन्म दिएको सन्तानले यसरी बेवास्ता गरेको देख्दा ज्वाबे जुक्फु डाँडा र ग्लोकुको बुडुवा घागीमा बुढाबुढी दुवैजना डोरीले बाँधिएर एकैपटक फालहान्न सके यो सबै कस्टहरूबाट मुक्ति पाइने थियो भनेर धेरै पटक नसोचेको पनि होइन । तर जब बुढी मान्छेलाई हेर्छु उसको माया लागेर आउँछ । कहिल्यै केही कुराको गुनासो गर्दिनन् ।

नौ महिना आफ्नो गर्भमा राखेर मृत्युसँग पौठीजोरी खेल्दै जन्म दिइन् । आफ्नो अमृत समानको दुध पिलाउदै कैयौँ रातहरू जागेर बिताउँदै हुर्काएको सन्तान जो बुढेसकालको सहारा बन्छ भनेकोले फर्केर नहेर्दा पनि एक शब्द गुनासो गर्दिनन् । भुलेर जाने छोरा बुहारी अनि नातिको जहिल्यै खुशीको कामना गरेको देख्छु । तर पनि कति पटक एकान्तमा रुँदै गरेकी भेटेको छु । त्यसरी एक्लै रुनुको कारण मैले बुझेको छु । आखिर उनी पनि मजस्तै भावना भएको मान्छे नै हुन् ।

तर पनि खुलेर कहिल्यै केही बोल्दिनन् । सबै आमाहरू यस्तै हुन्छन् कि यिनी मात्र हुन् । त्यो थाहा छैन । तर यिनको महानता देखेर नतमस्तक छु । अनि आफै सोच्छु म त केवल बाबु मात्र हुँ । एउटा सृष्टि, एउटा धर्ती जसले सृजनामा अमूल्य भूमिका निभायो । जीवन दियो । अब उसलाई त कुनै गुनासो छैन भने म त कोही होइन जस्तो लाग्छ । सकिन्जेल गरेर खाउँला । नसक्ने भएपछि एक थोक होला भन्दै मन बुझाउँछु ।

‘ए बुढो मान्छे, खाना खाने होइन ?’ झसँग झस्कें । बुढी मान्छेले खाना र पानी ल्याइदिएकी रहेछ ।
‘यही राखिदेऊ’ भन्दै हात धुन आँगनको डिलतिर लागें ।

समाप्त ।

हाल– ब्रुनाई

Leave a Reply

Your email address will not be published.