डेढ शताब्दी अघिको कथामा ‘मेषी दण्ड’ मन्चन हुने

कला साहित्य -संस्कृति

लिभु संवाददाता
काठमाडौं– करिब डेढ शताब्दीअघिको कथालाई लिएर निर्माण गरिएको नाटक ‘मेषी दण्ड’ साउन ५ देखि २७ सम्म नियमित मन्चन हुने भएको छ । मण्डला थिएटरले हालै आधिकारिक रुपमा मन्चनको घोषणा गरेको हो । २०२४-०२५ मा १४ नाटक निर्माणको घोषणा गरेको मण्डलाले दोस्रो नाटकका रुपमा ‘मेषी दण्ड’ मन्चन गर्न लागेको हो ।

यसअघि प्रविण खतिवडाको निर्देशनमा ‘अन्धवेग’ मन्चन भइसकेको छ । यसपाला भने निर्देशक अनिल सुब्बाको निर्देशन रहेको ‘मेषी दण्ड’ मन्चन हुने भएको हो ।

निर्देशक सुब्बाले गीलु रातोसको कथालाई छानेका छन् । हिमाली जिल्लाको आदिवासीले भाषाका कारण तत्कालीन राज्यबाट कसरी दमन भोग्नुप¥यो भन्ने कुरा नाटकमा देखाइने निर्देशक सुब्बाले बताए । ‘केही समयअघि गीलु रातोससँग कुरा गर्ने क्रममा भाषाका कारण दण्ड तिर्नुपरेको एउटा कथा सुनाउनुभएको थियो । त्यो कथाले मलाई एकदमै धेरै छोइरहेको थियो । मण्डलामा नाटक गर्नुपर्ने भएपछि यहि कथामाथि म काम गर्छु भनेर निर्णय गरें’ सुब्बाले भने, ‘धेरै कुरा समेट्नुपर्ने भए पनि मुख्य रुपमा यो नाटकमा भाषाको जर्नी देखाइएको छ ।’

लेखक गीलु रातोसले पनि सुब्बाको कुरालाई सकारे । ‘मैले पहिल्यै अनिल सुब्बालाई एउटा कथा सुनाएको थिएँ । उहाँलाई एकदमै मन परेको रहेछ । एकदिन उहाँले त्यस कथामा नाटक लेख्न भन्नुभयो र यसलाई मैले लेखें’ रातोसले भने, ‘यो हाम्रो एउटा कथा भन्ने प्रयास हो । सीमान्त समुदायलाई हरेक कोणबाट राज्यले कसरी दमन गर्छ भन्ने कथा यस नाटकमा प्रस्तुत प्रयास गरेका छौं ।’

सोलुखुम्बु जिल्लाको खालिङ राई समुदायले भोगेको कथालाई नाटकमा प्रस्तुत गरिएको छ । राणाकालीन समयमा तिब्बत जानका लागि नाङपाला नाका जाने क्रममा राणा र उनिहरुका भारदारहरुको समूह खालिङ गाउँमा बास बस्न पुगेका थिए । जुन समयमा त्यहाँ खालिङ राई बाहेकका समुदाय कोही पनि थिएनन् । उनिहरु त्यसबेला आफ्नो बाहेकको भाषा बोल्दैनथे र बोल्नलाई आवश्यकता पनि थिएन ।

सोही क्रममा राणाहरुले गाउँका मान्छेलाई भेला गरी सामान्य मन्तव्य दिए । मन्तव्य सुन्ने क्रममा भेला भएका मान्छेहरुले केही पनि बुझेनन् । तर, उनिहरुले ‘मेषी, माका.. मेषी’ भनि बोले । राणाहरुले ‘मेषी’ भनेको बुझेनन् र आफूहरुको अपमान भएको ठानी गाउँका मानिसहरुलाई दण्ड तिर्न लगाए । जुन दण्ड त्यहाँका खालिङ राईहरुले लामो समयसम्म तिरे र दण्डको नाम ‘मेषी दण्ड’ रहन गयो ।

लेखक रातोस भन्छन्, ‘झट्ट सुन्दा यो एउटा भाषा बोल्ने आदिवासीको मात्रै कथा हो जस्तो लाग्छ । तर, यो विश्वभरका आदिवासीहरुको कथा हो । ‘रारामुरी’ भाषा मात्रै बोल्न जान्ने मेक्सिकोका रीटा पाटिनो नाम गरेको एक आदिवासी महिलाले अंग्रेजी भाषा नजान्दा १२ वर्षसम्म अमेरीकी मानसिक अस्पतालमा बिताउनुपरेको कथा हामीले डकुमेन्टीमार्फत हुर्न पायौं’ उनि थप्छन्, ‘यसरी नभनिएका कथा विश्वमा लाखौं छन् । त्यसैमध्येको एउटा कथा हो मेषी दण्ड ।’

नाटकलाई निकै मेहेनतका साथ निर्माण गरिएको निर्माता रिजन के.सी.ले बताए । ‘लामो समय अगाडिको कथा भएकाले धेरै कुराहरु अनुमानका भरमा गर्नुपर्ने भयो । र फेरि यो मौखिक इतिहासमा आधारित नाटक हो । त्यसकारण पनि लिखित दस्तावेजहरुको अभाव भयो’ के.सी. भन्छन्, ‘तर पनि कुनै प्रकारको कमजोरी नहोउन् भनेर हामीले विभिन्न विज्ञहरुसँग कलाकार, निर्देशक, लेखक र निर्माण पक्ष बसेर छलफल ग¥यौं । भाषा विज्ञानमा तारामणी राई (पिएचडी), इतिहास र संस्कृतिमा भोगीराज चाम्लिङ, नाटकमा प्रस्तुत वास÷साकेला नाचका लागि कुमार खालिङ र सीता कुमारी खालिङलगायतले प्रशिक्षण संचालन ग¥यौं ।’

नाटकमा तत्कालीन समयमा तिर्न लगाइएको दण्डवापतको रकमले सिंगो गाउँ आर्थिक रुपमा कसरी ढलपल हुन पुग्यो र त्यस समुदायको जीवनको लयलाई कसरी विथोल्यो भन्ने कुरा नाटकमा प्रस्तुत गरिएको मण्डला थिएटरले जनाएको छ । साथै नाटकमा पछिल्लो समय पेचिलो रुपमा उठान सह–अस्तित्वको मुद्दालाई समेत समेटिएको छ । नाटकले सह–अस्तित्व भनेको एक समुदायले अर्को समुदायलाई निषेध गर्ने नभई सबैको समान अस्तित्व हुनुपर्छ भनि स्थापित गर्न खोजिएको निर्देशक सुब्बाले दाबी गरे ।

मण्डला थिएटर नेपालको प्रस्तुति रहेको नाटकमा प्रतिना राई, मणि के राई, अरुण पौडेल, जय ढकाल, प्रशंसा गुरुङ, सलिना भुजेल, पूर्ण बहादुर गन्दर्भ, शायोक मुकारुङ, रमिता राई, सौजन लिम्बु, संजीप योगी, अमर बुढाथोकी, रमिता राई, संजय विश्वकर्मा, लहना राई, जंजीत थुलुङ राई, अजय लामा, प्रविण मगरलगायतको अभिनय रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *