किरात राई प्राज्ञिक गोष्ठी फागुन ३ शुक्रबार

कला साहित्य -संस्कृति

लिभु संवाददाता
काठमाडौं– किरात राई जातिको इतिहास, भाषा, लिपि, साहित्य, मुन्दुम संस्कृति, कलालगायत विषय समेटेर प्राज्ञिक गोष्ठीको तयारी पूरा भएको छ । किरात राई यायोक्खाअन्तर्गत किरात राई प्रज्ञा परिषद्ले उक्त ‘किरात राई प्राज्ञिक गोष्ठी–२०७५’को तयारी गरेको हो । आगामी फागुन ३ र ४ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान सभाकक्षमा हुनेछ ।

किरात राई प्राज्ञिक गोष्ठीको कार्यतालिका

‘२०७२ साउनमा सम्पन्न गर्ने पूर्वनिर्धारित कार्यक्रम महाभूकम्पले रोकियो र अहिले फेरि तयारीमा जुटेका छौं,’ परिषदका कुलपति जयकुमार राईले भन्नुभयो, ‘हाम्रो उद्देश्य भनेको किरात जातिभित्रका मुन्दुम, संस्कृति, भाषागत विविधता, कलाजस्ता पक्षलाई केलाएर नयाँ पुस्तामा पुस्तान्तरण तथा सरकारको ध्यानाकर्षण गराउनु हो ।’

भाषाशास्त्री प्राध्यापक नोवलकिशोर राईले किरात राई जाति एक र २८ वटा जति भाषा बोल्ने समुदाय रहेकाले ती विविधतालाई गोष्ठीबाट थप उजागर हुने बताउनु भएको छ । ‘यो गोष्ठीले मुलुक संघीय संरचनामा प्रदेश नं.१ को सरकारी कामकाजको भाषा निर्धारण गर्न सघाउ पुग्ने छ भने लोपोन्मुख किरात राई भाषाहरुको संरक्षण पहलको बारेमा विषय उठान गर्नेछ,’ उहाँले भन्नुभयो, ‘हाम्रो मुन्दुम संस्कृतिको प्रवद्र्धनलाई टेवा पुग्नेछ ।’

प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीबाट उद्घाटन हुने गोष्ठीमा पूर्वकुलपति बैरागी काइँला, भाषाविद् प्रा. टंक न्यौपाने, प्रा.विष्णुसिंह राई विशेष वक्ता रहनु हुनेछ । त्यसैगरी किरात इतिहासबारे प्रा. दिनेशराज पन्त, मञ्जुल याक्थुम्बा, डा. लाल रापचा, कमलजंग राईले कार्यपत्र प्रस्तुत गर्नु हुनेछ ।

त्यसैगरी समाजशास्त्रीहरु जितपाल किरात, डा. डम्बर चेम्जोङ, डा. जनक राई, डा. विष्णु राईले आजको किरात समाजको बहस गर्नु हुनेछ ।

किरात संस्कृतिबारे चन्द्रकुमार हतुवाली, शालिक शतासक, शान्तिदेवी राई, कमला राईले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । किराती भाषा र कलासम्बन्धी डा. कैलाश राई, क्वाङजो छो, शान्तिराम राई, नारद हार्तम्छाली तथा मुन्दुम दर्शनबारे भोगीराज चाम्लिङ, डा. भक्त राई, चतुरभक्त राई र हिमालधन राईले बृहत् चर्चा गर्नुहुनेछ । गोष्ठीमा करिब दुई सयजनाको सहभागिता रहने प्रतिष्ठानका सदस्य–सचिव डा. तारामणि राईले विज्ञप्तिमा जनाउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *