डा.धनप्रसाद सुवेदी
सिरिसर आलामसँगै बिहान ५ बजे उठे । शौचालय छिरेका पानी रहेनछ । हतारहतार लघुशङ्का गरे र दीर्घशङ्का चाहिँ उतै क्याम्पसमा गरौँला भन्ने सोचे ।
आज सिरिसरलाई गाडीमा सारै सकस भो । सानो सानो भए पनि गरौँ भारी छ जेब्रामा । खलासीले यो सामान डिकीमा राखौँ भनेर ५ चोटि भनिसक्यो । “जेब्रामा जाँच्न ल्याका र जाँचीसकेर बुझाउन लगेका कापी छन् ।” भन्न नमिल्ने । आफ्नो सिद्धान्त विपरीत सिरिसरले ५ चोटि ढाँटिसके, “यहाँ फुट्ने सामान छ, डिकीमा राख्न मिल्दैन ।”
क्याम्पस नपुग्दै मोबाइलको घन्टी बज्यो । मोबाइलको स्क्रिनमा हेर्दै सिरिसर बर्बराए, “यी मोरामोरीहरू कति न पढन्ते भाका, दस मिनेट त ढिलो हो नि । हाम्रो यातायात व्यवस्था तिनेर्लाई पनि त थाहै छ । यो मोबाइल पनि घाँडै भो ।”
क्याम्पस गेटनेरैको पुस्तक पसलमा कापीवाला जेब्रा थन्क्याएर सिरिसर क्याम्पस छिरे अनि कक्षा छिर्नुभन्दा पहिले शौचालय छिरे । खुट्टा राख्ने ठाउँसम्मै गुहुको रास । पानी राख्ने बाल्टी घोप्टीरहेछ । पानी उघाउने मख चाहिँ गुहुका रासको टोपी भएछ । सिरिसरले नाक थुनेर हतारहतार लघुशङ्का भ्याए । च्यातिएका किताब र गेसपेपरको थुप्रोमा पिसाब फेर्नुपर्दा सिरिसरलाई कताकता असजिलो लाग्यो ।
शौचालयको ढोकैमा क्याम्पसको पाले भेटियो । “कुनै ट्वाइलेटमा पानी छ ?” सिरिसरले सोधे । “चिफ साबकोमा छ, तर अरुलाई छिर्न दिने होइनन् । बुढा आफैँ चाबी बोक्छन् ।” पालेले भन्यो ।
“आज मलाई अलिक सन्चो छैन ।” कक्षाकोठाभित्र पस्नासाथ सिरिसरले भने ।
“हो सर, सरलाई आज एकदम अनइजी फिल भइरहेको छ भन्ने सरको अनुहारले बताउँछ ।” एक जना प्रौढ छात्राले भनी ।
“आज नपढौँ न त बरु चिया पिउन जाऊँ ।” सुटेडबुटेड विद्यार्थी बोल्यो ।
“तपाईंहरू पिउनोस्, म आज बल्खु जानु छ, कापी पु¥याइदिनु छ, अर्को क्लासमा पढौँला ।” सिरिसरले भने ।
गोप्य शाखाको एक कुनामा कापीवाला जेब्रा राखेर सिरिसर हतार हतार शौचालय छिरे । बाल्टी रहेनछ, धारो रहेछ, तर पानी रहेनछ । च्यातिएका गेसपेपर त त्यहाँ थिएनन् तर आची पुछिएका कागजका टुक्राहरूले दिसामा झुम्मिरहेका भुसुना र झिँगाहरूलाई अवरोध पु¥याएको अनुमान गर्न सकिन्थ्यो । सिरिसरले कोटको गोजीमा छामछुम गरे, एउटा कागजको टुक्रा फेला प¥यो, नातिको फि तिरेको रसिद रहेछ । एक हातमा त्यही रसिद बोकेर अनि अर्को हातले नाकमुख छोपेर सिरिसर दिसा बसे । अँहँ दिसा आएन । अपान वायु आयो, आइरह्यो । अपान वायुको आवाजले हो वा त्यसको गन्धले हो, दिसामा बसेका झिँगा, भुसुनाहरू जताततै उड्न थाले । दिसा नआएकाले पुछ्न परेन । हातको रसिदलाई कोटको खल्तीमा राखेर सिरिसर उठे ।
त्यहाँ पनि ढोकैमा पाले रहेछ । सिरिसरले पालेलाई सोधे, “पानी भाको टाइलेट छैन ?”
“छ, कन्ट्रोलरको कोठाभित्रको ट्वाइलेट, कन्ट्रोलर सरसँगै चाबी छ, मागेर जानु न ।” पालेले भन्यो ।
“ए, त्यो हिजोको फुचे, त्योसँग ट्वाइलेटको चाबी माग्न जाने म ?” सिरिसर जङ्गिँदै बाहिर निस्के ।
सिरिसर फटाफट हिँडे । पनिकाको गेट नाघेर अलि पश्चिम लागेपछि नयाँ बिल्डिङ देखाप¥यो । सिरिसर सरासर त्यतै लागे । भुइँतलामै विज्ञान डिनको कार्यालय रहेछ, सिरिसर हतारहतार भित्र पसे र दायाँबायाँ नहेरी शौचालयमा छिरे, साँचो लाएको रहेछ । उनी फरक्क फर्केर माथिल्लो तला चढे । ‘मानविकी डिनको कार्यालय’ लेखिएको साइबोर्ड देखाप¥यो । सिरिसर हतारमा भित्र पसे र सामुन्नेको शौचालयमा छिरे, बाल्टीमा हेरे, बाल्टी रित्तो छ, कतै धारो छ कि भनेर हेरे अँहँ रहेनछ ।
सिरिसर रन्थनिँदै शौचालयबाट बाहिर आए । एक जना बुढोबुढो मानिस उभिरहेको रहेछ । सिरिसरले उसलाई सोधे, “पानी भाको ट्वाइलेट छैन ।”
“छ, ऊ त्यो चाबी लगाएको कोठाभित्र ।” बुढोबुढो मान्छेले भन्यो ।
“चाबी लेऊ न त ।” सिरिसरले भने ।
“चाबी त डिन साबसँग छ, गर माग्नोस् न, दिनुहुन्छ कि ।” बुढोबुढो मान्छेले भन्यो ।
“ए, त्योसँग मैले जाबो ट्वाइलेटको चाबी माग्ने ? त्यसैले गर्दा हो, मैले पिएच.डी गर्न नपाको । प्रपोजलमा झुलायो, गाइड तोक्ने कुरामा झुलायो, ५० नाघेकालाई बिदा दिन मिल्दैन भनेर क्याम्पस चिफको कान फुकेछ । मलाई यिनेर्को चाकरी गर्न मन लागेन, मैले पिएच.डी नै हापी दिएँ । अब यिनैकहाँ दाँत ङिच्याउँदै हग्ने ठाउँको चाबी माग्न जानु !” सिरिसरले उत्तेजित भएर भने र फटाफट बाहिर निस्के । बुढोबुढो मान्छेले एकोहोरो भएर हेरिरह्यो ।
सिरिसर औँला ठड्याउँदै एक्लै बोल्दै अघि बढे, “भिसी कार्यालय जाऊँ र भिसीसँग ट्वाइलटको चाबी मागौँ ? रेक्टरसँग गएर मलाई एकछिन ट्वाइलेटको चाबी दिइस्योस् न भनुँ ? कि रजिस्टारसँग मागुँ ? एउटा सिनियर रिडरले लङट्वाइलेट गर्नुपर्दा आधा लिटर पानी दिन नसक्ने विश्वविद्यालय पनि के विश्वविद्यालय ?”
सिरिसर अरु उत्तेजित हुँदै बोल्दै गए, “हामीलाई प्रोफेसर हुनबाट रोक्ने तिनीहरू को हुन् ? हामीलाई था छैन र, कोको कसरी प्रोफेसर भए । बहुदल आयो स्वतः थाई लेक्चर, गणतन्त्र आयो स्वतः रिडर, अनि आन्दोलन ग¥यो, मान्छेभन्दा बढी सिट खुलायो र प्रोफेसर भयो । आफू भयो अनि अरुलाई रोक्न पिएचडि चाहिने रे ! इन्टरनेसनल जर्नलमा आर्टिकल रे ! भो चाहिएन तिनेर्को प्रोफेसर । मलाई यै सिनियर रिडर अर्थात् सिरि भए पुग्छ । सबैले सिरिसर भनेर चिनेका छन् । प्रोफेसर भएँ भने जुप्रोसर भन्दान् ।”
सिरिसरले बोल्दै गए । क्रिकेट मैदान छेउमा पुगेपछि उनी झाडीभित्र पसे । झन्डै २० मिनेट झाडीमा बिताएर बाहिर आउँदा उनी शान्त देखिए ।
( यसका घटना, पात्र, परिवेश सबै काल्पनिक हुन् । कहीँ, कतै र कसैसँग मिल्न गएमा संयोग मात्र हुनेछ । )