राष्ट्रिय कविता महोत्सवमा भोजपुरकी कविता राई प्रथम

कला साहित्य -संस्कृति मुख्य समाचार

राष्ट्रिय कविता महोत्सवमा भोजपुरकी कविता राई प्रथम
लिभु संवाददाता

काठमाडौं– नेपाल प्रज्ञा–प्रतिष्ठानको ६४औं वार्षिकोत्सव (असार ९ गते)का अवसरमा आयोजित राष्ट्रिय कविता महोत्सवमा भोजपुरकी कविता राई प्रथम हुनु भएको छ । भर्चुअल माध्यमबाट आयोजित कविता प्रतियोगितामा राईको ‘देशको नक्सा’ शीर्षक रचना प्रथम घोषणा गरिएको हो ।

त्यसैगरी धादिङकी अमृता स्मृतिको ‘डढेलापछि पनि बसन्त आउँछ’ शीर्षक कविता दोस्रो स्थान हासिल गरेको छ । तृतीय स्थानमा तीनजना कविका कविता छानिएका छन् । जसमा ताप्लेजुङकी सबिता बरालको ‘आमा म आएँ अब’, बर्दियाकी निरन्जनकुमारी चन्दको ‘युगीन प्रतिध्वनि’ र नुवाकोटका प्रकाश सिलवालको ‘बोधीसत्वको खोप’ शीर्षक कविता रहेका छन् ।

प्रथम घोषित राई भोजपुरको टेम्के मैयुङ गाउँपालिका–९ पानधारेस्थित पञ्जप्रकाश आधारभूत विद्यालयको शिक्षिका हुनुहुन्छ । २०३८ साउन ८ गते भोजपुरको षडानन्द नगरपालिका–१२ देउरालीमा जन्मनु भएका कवि राईको ‘आमा र जून’ कविता संग्रह प्रकाशित छ । त्यसैगरी ‘गुरु’ उपन्यास प्रकाशोन्मुख रहेको छ । उहाँ बान्तावा राई भाषामा समेत साहित्य सिर्जना गर्दै आउनु भएको छ । त्रिभुवन विश्वविदालयबाट नेपाली विषयमा एमएड् शिक्षा हासिल गर्नु भएको छ ।

‘साहित्यप्रतिको मेरो रुचि गाढा छ र साहित्य साधनामा रमाइरहेको छु,’ राष्ट्रिय कविता महोत्सवमा प्रथम भएपछि कविता राईले भन्नुभयो, ‘दुर्गम गाउँमा रहेर आज मेरो रचना प्रथम घोषणा भएकोमा ज्यादै हर्ष लागेको छ ।’

सानैदेखि साहित्यप्रति रुचि राख्नु हुने कविता राई कक्षा ८ मा पढ्दै गर्दा २०५२ सालको वीरेन्द्र शिल्ड गीति रचना प्रतियोगितामा प्रथम पुरस्कार पाउनु भएको थियो । ‘देउरालीको डाँडा हजुर वरपीपरलको छायाँ, जति टाढा गयो हजुर उति गाढा हुन्छ माया’ शीर्षक गीत रहेको उहाँ बताउनु हुन्छ । उहाँले काठमाडौंमा २०७४ साल असारमा एक कविता वाचनसमेत गर्नु भएको थियो । उहाँले ‘दैवज्ञराज न्यौपाने स्मृति पुरस्कार–२०७६’ बाट सम्मानित हुनु भएको छ ।

फोटो कविता राईको फेसबुकबाट

Leave a Reply

Your email address will not be published.