प्राध्यापक राईको ‘वासिम स्युरा’ र ‘हतुवाओ किवा’ कृति सार्वजनिक

कला साहित्य -संस्कृति बिशेष

लिभु संवाददाता
काठमाडौं– साहित्यकार प्राध्यापक डा. विष्णु एस राईको ‘वासिम स्युरा’ प्रबन्ध सङ्ग्रह र ‘हतुवाओ किवा’ ऐतिहासिक उपन्यास सार्वजनिक गरिएको छ ।

प्रसिद्ध भाषाविद् प्राडा नोवलकिशोर राई र इन्जिनियर उपेन्द्रनारायणसिं राईले कीर्तिपुरस्थित सेडा हलमा शनिबार आयोजित समारोहमा सार्वजनिक गर्नुभएको हो । सगुण–आसारा प्रकाशनले यी कृति प्रकाशित गरेको हो ।

उमेरले ७३ वर्षीय साहित्यकार राईको यसअघि १३ कृति प्रकाशित छन् । त्यसमा ‘खम्बुवानबाट हरएका सन्तानह’ इतिहास कृति चर्चित छ । नेपाली भाषामा प्रकाशित साहित्यिक कृतिहरूमा ‘सुदामा’ खण्डकाव्य, ‘नौ डाँडापारि’ नियात्रा, ‘जीवन’ कविता संग्रह, ‘पहेली’ उपन्यास, ‘जीवनका पानाहरू’ संस्मरण, ‘डाँडावारि डाँडापारि’ नियात्रा, ‘त्रितियाकी जुन’ कविता संग्रह छन् ।

यस्तै अंग्रेजीमा ‘मार्टियर्स’ कथा सङ्ग्रह, ‘रियलिटिज्’ नाटक, ‘वेगाबन्ड भर्सेस’ कविता सङ्ग्रह र ‘गजल इन इङ्लिस’ गजलसङ्ग्रह प्रकाशित छन् । त्रिभुवन विश्वविद्यालय अंग्रेजी विषयका प्राध्यापक राईका भाषाविज्ञान तथा विषयगत अनुसन्धानात्मक दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन् ।

‘वासिम स्युरा’ (अमिलो जाँड) चाम्लिङ राई भाषामा राखिएको नाम हो । यसभित्र १५ शीर्षकमा कविता तथा आलेख छन् । त्यसमा ‘किरातेश्वरका सन्तान किरात’, ‘किरात कस्तो हुन्छ ?’, ‘राई हुनु भनेको के हो ?’, ‘आदिवासी जनजाति र राई किराती’, ‘पहिचान’, ‘मुन्दुम’, ‘लाहुरे परम्परा’, ‘नेपालमा भाषा शिक्षा’, ‘माझकिरात भोजपुरमा दस दिन’, ‘मलाई डा. साब बनाउने गाउँ बलम्ता’ लगायत शीर्षक रहेका छन् ।

यसैगरी बान्तावा राई भाषामा ‘हतुवाओ किवा’ (हतुवाको बाघ) उपन्यास कृतिको नामाकरण गरिएको हो । माझकिरातको हतुवागढीको इतिहासलाई लिएर उपन्यासको रचना गरिएको हो ।

‘यो पुस्तक राई शासनको इतिहास होइन प्रत्युत साहित्यको माध्यमले त्यो कालखण्डको इतिहासलाई हेर्ने प्रयास हो । हतसजाको स्थलगत भ्रमण गरेर अनि उपन्यासका नायक अटलसिं राईको वंशजहरूसँग भेटघाट गरेको हो । इतिहास र साहित्य, सत्य घटना र कल्पनाहरूको सम्मिश्रण हो ।’ यसबारे कृतिकारले भनेका छन्– ‘अठारौं शताब्दी नेपालको राई शासित स्टेटहरूमा हतुवाको आफ्नै महत्व थियो । राई शासकहरूमध्ये विजयपुरका शासक बुद्धिकर्ण राईबाहेक हतुवाका राजा अटलसिंको नाम मात्र प्रायःजसो इतिहासको किताबहरूमा उल्लेख भएको पाइन्छ, जसले हतुवा र अटलको महत्वलाई दर्शाउँछ ।’

त्यस अवसरमा कक्षा ५ मा अध्ययनरत खारुमी राई र कक्षा ६ का रायोन हाङ राईले दुई कृतिको भूमिकालाई पढेर सुनाएका थिए । पुस्तकबारे भाषाविद् राई, पदम राईलगायतले चर्चा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *