हुलाक टिकटमा नारदमुनी थुलुङ र चिनियाँलाल सिंह

लिभु संवाददाता
काठमाडौं । प्रजातान्त्रिक आन्दोलनका योद्धाद्वय नारदमुनी थुलुङ र चिनियाँला सिंहको मुहारचित्र अंकित हुलाक टिकक प्रकाशित भएको छ ।

नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मंगलबार उक्त हुलाक टिकट प्रकाशनको पहिलो दिन टाँचा लगाएर सुभारम्भ गर्नुभएको हो । बबरमहलस्थित हुलाक सेवा विभागले आयोजित समारोहको आयोजना गरेको थियो ।

दुवै राजनीतिक व्यक्तित्वको हुलाक टिकट १० रुपैयाँको रहेको छ । उक्त हुलाक टिकट जनक शिक्षा सामग्री केन्द्रमा छापिएका हुन् । गत आर्थिक वर्षबाट नेपालमै हुलाक टिकट छापिदैआएको छ ।

नारदमुनी थुलुङको जन्म वि.सं. १९६५ चैतमा माझकिरात भोजपुरको नौलगाउँ छिनामखुमा भएको थियो । उहाँ सन् १९२५ मा बेलायती भारतीय गोर्खा सैनिकमा भर्ना हुनु भएको थियो । उहाँले सन् १९३० मा पल्टन छोडेर स्वदेश फर्किनु भएको थियो । त्यसपछि फेरि सन् १९३४ मा फेरि पल्टन फर्केर १९४६ सम्म सेवा गर्नुभएको थियो । दोस्रो विश्वयुद्ध समाप्तिपछि मातृभूमि नेपालमा जहाँनिया राणाशासन विरुद्ध लड्न सैनिक साथीहरूलाई संगठित गर्नुभयो । एकतावद्ध गराएसँगै हातहतियार संकलन गर्नुभयो ।

क्रान्तिको उद्घोषसँग थुमथुमबाट राणाशासन समाप्त गर्न सैनिक नियम तथा हतियार संचालन गर्न पोख्त योद्धाहरूसँग गोप्य रणनीति बनाउनु भयो । जसअनुसार २००७ साल मंसिर २४ गते भोजपुर सदरमुकाम विना रक्तपात कब्जा गर्न सफल हुनुभयो । त्यसपछि उहाँकै नेतृत्वमा चैनपुर, ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा कब्जा गरेको थियो । त्यसैगरी पश्चिमतर्फ दिक्तेल, ओखलढुंगा, दोलखा, सिन्धुलीदेखि धुलीखेलसम्म कब्जा गर्न सफल भएको थियो । त्योसँग जहाँनिया राणाशासनको अन्त्य र प्रजातन्त्रको उदय भएको थियो ।

नेपाली काँग्रेस पार्टी संवद्ध भई उहाँ २००८ सालदेखि ११ सालसम्म तत्कालीन नेपाल सरकारको मन्त्रीपरिषद् सदस्य हुनु भएको थियो । २०१७ सालदेखि २०४७ सालसम्म राजसभा सदस्य रहनु भयो । २०४७ माघ २२ गते उहाँको निधन भएको थियो ।

उहाँको स्मृतिमा नारदमुनी थुलुङ स्मृति परिषद् रहेको छ । समारोहमा परिषद्का अध्यक्ष युवराज राईले नारदमुनीको योगदानबारे चर्चा गर्नुभएको थियो ।
यसैगरी चिनियाँलाल सिंह चार सहिद गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीसँग जेल पर्नुभएको थियो । जहाँनिया राणाशासनविरुद्ध शिक्षाको ज्योति फैलाएको भन्दै उहाँलाई जेल हालिएको थियो । सर्वस्वहरणसहित जेल हालिएको उहाँ चरम यातनाले सिकिस्त बिरामी पर्नुभयो । अन्ततः २००४ साल असार २६ गते जेलबाट निकालेको ७ घण्टापछि उहाँको निधन भयो ।

चिनियाँलालको वि.सं. १९६३ असार १७ गते काठमाडौंको ख्युलटोल भेडासिंमा भएको थियो । जहाँनिया राणाशासनविरुद्ध शैक्षिक चेतना फैलाउन अग्रसर हुनुभयो । विसं.१९९३ फागुनमा आफ्नै घरमा महावीर इनस्टिच्युट नामको निजी विद्यालय खोल्नु भएको थियो । त्यसरी शिक्षालय खोलेवापत सर्वस्वाहरणसहित जेल हालिएको थियो । उहाँको यातनाबाट मृत्यु भयो । उहाँ ओझेलमा पर्नुभयो ।

उहाँको स्मृतिमा राजनीतिज्ञ सहिद चिनियाँलाल सिंह स्मृति प्रतिष्ठान संस्था रहेको छ । समारोहमा चिनियाँलालको योगदानबार सीमाविद् बुद्धिनारायण श्रेष्ठ र प्रतिष्ठानका अध्यक्ष प्रा. रामकुमार पाँडेले बोल्नु भएको थियो ।

मन्त्री गुरुङले धेरै ढिलो गरी राणाशासनविरुद्ध क्रान्तियोद्धाको स्मृति हुलाक टिकट प्रकाशन भएको उल्लेख गर्नुभयो । ‘तर पनि मैले ती ऐतिहासिक योद्धाको मुहारअंकित हुलाक टिकट सार्वनिक गर्न पाउँदा खुसी लागेको छ,’ उहाँले भन्नुभयो ।

क्रान्ति योद्धा नारदमुनी थुलुङका भतिजो तथा सांसद हेमराज राईले नारदमुनी थुलुङ पहिलो रेडियो उद्घोषण भएको उल्लेख गर्नुभयो । ‘नेपालमा वायरलेस सम्बोधन गर्ने पहिलो व्यक्ति पनि हुनुहुन्थ्यो,’ उहाँले भन्नुभयो, ‘उहाँ पहिलो सामाजिक संस्थाको विधान निर्माता हुनुहुन्थ्यो ।’

मन्त्रालयका सचिव राधिका अर्यालले सरकारले टिकटको माध्यमबाट व्यक्तित्वको सम्मान गरेको बताउनु भयो । ‘टिकट कागज मात्रै होइन, ऐतिहासिक दस्तावेज हो,’ उहाँले भन्नुभयो । विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले सहजीकरण गर्नुभएको थियो । हुलाक टिकट अंकित दुई व्यक्तित्वबारे विभागकी शाखा अधिकृत चन्द्रा थापामगरले चर्चा गर्नुभएको थियो ।

प्रकाशित : मङ्गलबार, फागुन २७, २०८१२२:३८