चीन जाँदै उपराष्ट्रपति पुन

समाचार

लिभु संवाददाता
काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ छिमेकी मुलुक चीनको आगामी असोज ३ गते छ दिने औपचारिक भ्रमणमा जान लाग्नु भएको छ । उपराष्ट्रपतिमा दोस्रो पटक निर्वाचित भएपछि यो उहाँको पहिलो वैदेशिक भ्रमण हो ।

सिचुवान प्रान्तको राजधानी छन्दुमा असोज ४ गतेदेखि सुरु हुने ‘१७ औं चीन पश्चिम अन्तर्राष्ट्रिय मेला’मा सहभागी हुन उपराष्ट्रपति चीन जान लाग्नुभएको हो । उहाँले असोज ४ गते अन्तर्राष्ट्रिय मेलाको उद्घाटन समारोहलाई नेपालको तर्फबाट संबोधन गर्नुहुनेछ । ‘चीनमा नयाँ क्षेत्र, पश्चिमी चीनमा नयाँ विकास’ भन्ने मुख्य थिमका साथ आयोजना भएको मेला असोज ८ गतेसम्म जारी रहनेछ ।

उपराष्ट्रपतिले असोज ५ गते अन्तर्राष्ट्रिय मेलाको अवसरमा छेन्दूमा आयोजित डिजिटल फोरमलाई संबोधन गर्नुहुनेछ । चीनमा रहँदा उहाँले चीन सरकारका उच्च पदाधिकारीहरु, चिनियाँ कम्यूनिस्ट पार्टी (सिपिसी)का सिचुवान प्रान्तका पदाधिकारी, सरकारी प्रतिनिधिहरुसँग भेट वार्ता गनुहुनेछ । उहाँले सिचुवानको विकासे परियोजना लगायत विभिन्न क्षेत्रको अवलोकन भ्रमण समेत गर्नुहुनेछ ।

भ्रमण टोलीमा उपराष्ट्रपतिकी धर्मपत्नी हस्तमाली पुन, उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्य, चीनका लागि नेपाली राजदूत लिलामणी पौडेल, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, उपराष्ट्रपतिका स्वकीय सचिवालय, सुरक्षा अधिकारी लगायत करिब १५ जना रहने जनाइएको छ ।

सिपिसीका सिचुवान प्रान्त सचिव फङ छिङह्वा र चिनियाँ जनसरकारका सिचुवान प्रान्तका गभर्नर यिन लिले मेला आयोजक समितिको तर्फबाट गरेका निमन्त्रणामा चीन जान लाग्नुभएका हो । उहाँ असोज ८ गते स्वदेश फर्कनुहुनेछ । अघिल्लो कार्यकालमा उपराष्ट्रपतिले दुई पटक चीनको औपचारिक भ्रमण गर्नुभएको उपराष्ट्रपतिको प्रेस संयोजक मनोज घर्तीमगरले विज्ञप्तिमा जनाउनु भएको छ ।

Leave a Reply

Your email address will not be published.