डा. गोपीकृष्ण गौतम
१. ऐतिहासिक पृष्ठभूमि
प्रदेश नं. १ अन्तर्गत ओखलढुङ्गा जिल्लाको दक्षिणी भेगमा अवस्थित भगवती माध्यमिक विद्यालय मानेभन्ज्याङ गाउँ पालिकाको वडा नं. ५ मा अवस्थित छ । पूर्वी तथा दक्षिणी तराईबाट विश्वको सर्वोच्च शिखर सगरमाथा प्रवेश गर्ने स्थलमार्गका रूपमा परिचत सिद्धिचरण राजमार्गको समीपमा रहेको मानेभन्ज्याङ बजारको केन्द्रमा यो विद्यालय रहेको छ । विद्यालयको पूर्वमा दूधकोशी र पश्चिममा मोलुङखोला आसपासका मनोरम बस्ती.छन् भने उत्तरमा ओखरबोट, तिलपुङ भन्ज्याङ र बालेथुम्का डाँडो र दक्षिणमा आरुबोट, काफलडाँडोजस्ता आबादी रहेका छन् । यी दुवै पर्वत श्रेणी र गाउँबीचको समथर भूमिमा विद्यालय रहेको छ । पर्वतको शिखरबाट अवलोकन गर्दा विद्यालय निकै मनमोहक ठाउँमा रहेको देखिन्छ । लेकदेखि बेँसीसम्म, गाउँदेखि बजारसम्म सबैलाई सरेक (पाइक) पर्ने स्थानको छनोट गरी साविक मानेभन्ज्याङ, थाक्ले, टोक्सेल र माधवपुर गाउँ पञ्चायतको केन्द्रबिन्दु मानेभन्ज्याङमा वि.सं. २०१७ साल चैत्रमा यस विद्यालयको स्थापना भएको हो । स्थापना काल २०१७ देखि २०७७ सालसम्म ६० वर्षको यात्रामा विद्यालयले भोगेका आरोह अवरोहलाई यसरी हेर्न सकिन्छ:
१.१ विद्यालय स्थापना, नामाकरण र स्तरोन्नति
(क) प्राइमरी (प्राथमिक) तह
समाजमा चेतनारूपी शिक्षाको ज्योति फैलाई सभ्य सामाजिक व्यवस्थालाई अक्षुण्ण राख्दै समुन्नत समाज निर्माणको उद्देश्य लिएर राष्ट्रिय प्राइमरी स्कुलको नामबाट भगवती माध्यमिक विद्यालयको बीजारोपण भएको पाइन्छ । खरको छानो र ढुङ्गामाटोको गारो भएको ४८ फिट लामोे कटेरो आकारको भवनबाट यस विद्यालयको जन्म भएको पाइन्छ । मानव भएर पृथ्वीमा जन्म लिएपछि आपूm बसेको समाजलाई पनि केही योगदान दिई कीर्ति राख्नुपर्छ भन्ने सकारात्मक सोच राख्ने स्थानीय समाजसेवी र समाजका केही अग्रजको प्रयासमा वि.सं. २०१७ सालमा यस विद्यालयको स्थापना भएको हो ।
वि.सं. २०१५ सालमा बहुदलीय व्यवस्थाको पहिलो आम निर्वाचनका क्रममा मतदान केन्द्र रहेका स्थानमा सम्भव भएसम्म एक केन्द्र एक विद्यालय स्थापना गर्ने सरकारी नीति रहेको र यसको जानकारी प्राप्त गरेका यस क्षेत्रका बुज्रुक व्यक्तिहरूले नियम बमोजिमका शर्तहरू पूरा गरी मानेभन्ज्याङ धिमिलेका शैक्षिक अभियन्ता अर्गबहादुर राईले कुलबहादुर अधिकारीको सहयोग लिई मानेभन्ज्याङ क्षेत्र (उदयपुर, ओखरबोट, हिटी, आरुबोट र धिमिले) का बालबालिकाहरूको नामावली सङ्कलन गरी २०१६ सालमा जिल्ला सदरमुकामस्थित शिक्षा इन्सपेक्टरको कार्यालय समक्ष पेश गरेको पाइन्छ ।
सबैलाई पायक पर्ने स्थान मानेभन्ज्याङमा विद्यालय स्थापना गर्ने अठोटका साथ मानेभन्ज्याङ आसपासका क्षेत्रबाट सबैले आपूmसँग खर, बाँस आदि जे उपलब्ध हुनसक्छ, जम्मा गरी श्रमदानबाट र केही ज्यालामा समेत कार्य गरी कटेरो (विद्यालय भवन) निर्माण गरेको पाइन्छ । कटेरो निर्माणको कार्य पूरा भई मानिस बस्न योग्य भएपछि प्रारम्भमा १२० जना विद्यार्थी जम्मा गरी पठन—पाठन प्रारम्भ भएको बुझिन्छ । सोही विद्यालयलाई सरकारी तर्फबाट २०१७ साल फागुनमा सुपरीवेक्षण कार्य सम्पन्न भएपश्चात् सोही वर्षको चैत्र महिनादेखि राष्ट्रिय प्राइमरी स्कुलका नामले विद्यालय सञ्चालन गर्ने अनुमति दिएको पाइन्छ ।
विद्यालय सञ्चालनको अनुमति प्राप्त भएपछि चारओटै पञ्चायत (मानेभन्ज्याङ, माधवपुर, थाक्ले र टोक्सेल) का स्थानीय भद्र भलादमीहरूको भेलामा मानेभन्ज्याङका प्रधानपञ्च कुलबहादुर अधिकारीले राष्ट्रिय प्राइमरी स्कुललाई भगवती प्राइमरी स्कुल भनौँ भनी राखेको नामाकरण सम्बन्धी प्रस्तावलाई सबैले मन्जुरी जनाएको बुझिन्छ । भेलामा उपस्थित सबैको सहमति प्राप्त भएपछि २०१७ सालबाटै यस विद्यालयको नाम भगवती प्राइमरी स्कुल रहन गएको बुझिन्छ । यसरी विद्यालयको स्थापना र नामाकरण भएको पाइन्छ । सरकारी अनुमतिबाट स्थापना भई सञ्चालनमा आएको हुनाले विद्यालयलाई सरकारी अनुदान प्राप्त भएको पाइन्छ । यसरी निरन्तर रूपमा सरकारी अनुदान प्राप्त हुने भएकाले शिक्षक व्यवस्थापनमा पनि सहजता भएको पाइन्छ ।
(ख) पृथ्वी हाई स्कुलको स्थापना, बन्द र भगवती प्राइमरी स्कुलको निरन्तरता
समाज परिवर्तनको प्रमुख कारक तŒव शिक्षा नैहो भन्ने कुरालाई हृदयङ्गम गरी यस भेगका बुज्रुग वर्गले प्राथमिक तहभन्दा माथिको शिक्षा पनि प्राप्त गर्नुपर्छ भन्ने आवश्यकता महसुस गरी हाई स्कुल सञ्चालन गर्ने मनस्थिति बनाएको बुझिन्छ । उनीहरूले स्थानीय जनताको चाहना र अपेक्षा बमोजिम माथिल्लो तहको शिक्षा प्राप्त गर्नु अपरिहार्य मात्र नभई अधिकार पनि हो भन्ने कुरा बुझेको पाइन्छ । बालबालिकाको सर्वाङ्गीण विकास र शिक्षित समाज बनाउने लक्ष्य राखेर नवीन सोच र वैचारिक हिसाबले बौद्धिक वर्गमा गनिने स्थानीय शैक्षिक अग्रजहरूले निजी खर्चबाट व्ययभार व्यहोर्ने गरी २०२५ साल चैत्रमा पृथ्वी हाई स्कुलको स्थापनागरेको पाइन्छ ।
सबैले चन्दा सहयोग, मुष्टिदान, श्रमदान जुटाई मानेभन्ज्याङमा रहेको गोदाम घरमा यस विद्यालयको स्थापना गरी कक्षा ६ देखि कक्षा ८ सम्मको पठन—पाठन आरम्भ गरेको पाइन्छ । मानेभन्ज्याङ, माधवपुर, थाक्ले र टोक्सेलका चारै पञ्चायत र ती पञ्चायतमा बसोबास गर्ने सहयोगी स्थानीयबासीका अतिरिक्त आसपासका क्षेत्रमा बसोबास गर्ने सहायेगीद्वारा दिइएको चन्दा सहयोग, मुष्टिदान आदिबाट विद्यालय सञ्चालनमा आएको बुझिन्छ । यसरी सञ्चालन हुँदै आएको पृथ्वी हाई स्कुललाई शिक्षक व्यवस्थापन, भौतिक सुविधा विस्तार गर्न कठिन पर्न गयो ।
आर्थिक व्ययभार बढ्दै जान लागेको अवस्थामा सहयोगीहरूलाई पनि निरन्तर रूपमा सहयोग गर्न कठिन पर्न गयो र पछिल्लो चरणमा आर्थिक अभावका कारण र राष्ट्रिय शिक्षा पद्धति योजना २०२८ ले निजी तवरबाट खोलिएका विद्यालयहरू पूर्णरूपमा बन्द गरिनु पर्ने सिफारिस गरेअनुरूप विद्यालय बन्द हुने अवस्थामा पुगेको र विस्तारै बन्द भएको पाइन्छ ।
भगवती प्राइमरी स्कुललाई कुनै बाधा अड्चन नपु¥याई निजी रूपमा स्थापना भएको पृथ्वी हाई स्कुल बन्द हुँदा भगवती प्राइमरी स्कुललाई कुनै असर परेको पाइएन । पृथ्वी हाई स्कुल सञ्चालन हुँदा भगवती प्राइमरी स्कुल आफ्नै नामबाट सञ्चालनमा रहेको बुझिन्छ । भगवती प्राइमरी स्कुल आफ्नै भवनमा सोही नामले सञ्चालनमा रहेको बुझिन्छ भने पृथ्वी हाई स्कुल स्थानीय गोदामघरमा सञ्चालन भएको पाइन्छ । बालबालिकाहरू कक्षा १ देखि कक्षा ५ सम्म भगवती प्राइमरी स्कुलमा र कक्षा ६ देखि माथि पृथ्वी हाई स्कुलमा अध्ययन गर्ने गरेको कुरा बुझिन्छ ।
भगवती प्राइमरी स्कुल पूर्ण रूपमा सरकारी हो भने पृथ्वी हाई स्कुल निजी रूपमा सञ्चालन भएको पाइन्छ । भगवती प्राइमरी स्कुलका शिक्षकहरूले पनि पृथ्वी हाई स्कुलमा अध्यापन गरेको पाइन्छ । पृथ्वी हाई स्कुल २०२५ देखि २०२८ सम्म सञ्चालनमा आएर बन्द भएपछि पनि भगवती प्राइमरी स्कुल भने निरन्तररूपमा सुचारु रहेको पाइन्छ ।
(ग) निमावि स्तरोन्नति, अवनति र पुनः कक्षोन्नति हुँदै माध्यमिक तह
नयाँ शिक्षा अर्थात् राष्ट्रिय शिक्षा पद्धति योजना २०२८ कार्यान्वयनका क्रममा ओखलढुङ्गामा पनि सो नीति कार्यान्वयनमा आएको पाइन्छ । यसै समयमा भगवती प्राइमरी स्कुललाई प्राइमरीबाट मिडिल स्कुल अर्थात् निम्न माध्यमिक तहमा स्तरोन्नति गराएको देखिन्छ । अतः नयाँ शिक्षा कार्यान्वयनको चरणमा आइपुग्दा भगवती प्राइमरी स्कुल वि.सं. २०३१ सालबाट भगवती मिडिल स्कुल अर्थात् निम्न माध्यमिक विद्यालयको रूपमा बढोत्तरी भएको पाइन्छ । निम्न माध्यमिक तहलाई पूर्ण रूपमा सरकारी अनुदान प्राप्त नभएको र अध्यापन गराउने शिक्षक तथा भौतिक सुविधा विस्तारमा कठिनाइ आएको कारणबाट वि.सं. २०३१ मा निम्न माध्यमिक तहमा पढाइ प्रारम्भ भएको विद्यालय वि.सं. २०३२ सालमा निम्न माध्यमिक तहबाट अवनति भई पुनः प्राइमरी (प्राथमिक) तह कक्षा ३ सम्म कायम भएको देखिन्छ । निम्न माध्यमिक तहमा स्तरोन्नति भएको सो विद्यालय पुनः प्राथमिक तहको पनि कक्षा ३ मा झरेको पाइन्छ । कक्षा अवनति भएपछि स्थानीय शैक्षिक अग्रजहरूको नेतृत्वमा फेरि २०३४ सालबाट कक्षोन्नतिका लागि कार्य अगााडि बढाएको पाइन्छ ।
२०३४ सालमा कक्षा ४ हुँदै २०३७ सालमा कक्षा ७ सम्म सञ्चालनमा आएको बुझिन्छ । २०३१ सालमा प्राप्त निम्न माध्यमिक तह सञ्चालन गर्न पाउने अनुमतिबाटै कक्षा ७ सम्म विद्यालय सञ्चालन भए पनि २०३८ सालबाट कक्षा ८ अध्यापन गराउनका लागि माध्यमिक तहको अनुमति लिनुपर्ने आवश्यकता भयो । सोही आवश्यकतालाई महसुस गरी जिल्ला पञ्चायत शिक्षा शाखामा माध्यमिक तह सञ्चालनका लागि आवश्यक पर्ने न्यूनतम आधारहरू पूरा गरी अनुमतिका माग गरेको देखिन्छ । विद्यालयले २०३८ सालमा कक्षा ८, २०३९ सालमा कक्षा ९ र २०४० सालमा कक्षा १० सञ्चालन गर्न पाऊँ भनी गरेको मागबमोजिम अनुमति प्राप्त भएकाले माध्यमिक तह २०३८ सालदेखि सञ्चालनमा आएको पाइन्छ ।
२०१७ सालमा स्थापना भएको भगवती प्राइमरी स्कुल प्राथमिक तहबाट २०३१ सालमा पहिलो पटक र २०३४ सालमा दोस्रो पटक गरी निम्न माध्यमिक तह एवं २०३८ सालमा माध्यमिक तहमा स्तरोन्नति भएको पाइन्छ । विद्यालयमा उपलब्ध अभिलेख अध्ययनबाट २०३८ सालदेखि माध्यमिक तह कायम भएको देखिन्छ । २०१७ सालमा प्राइमरी तहबाट अध्यापन कार्य प्रारम्भ गरी विभिन्न उतार चढाउ पार गर्दै २०४० सम्म आइपुग्दा विद्यालयमा कक्षा १ देखि कक्षा १० सम्म अध्ययन भइरहेको पाइन्छ ।
पूर्णरूपमा सरकारी माध्यमिक तहको अनुमति पाई यो विद्यालय सञ्चालनमा आएको अभिलेखहरूबाट अवगत हुन्छ । माध्यमिक तह सञ्चालनमा आएपछि भगवती माध्यमिक विद्यालयका विद्यार्थीहरू २०४१ सालमा प्रथम पटक प्रवेशिका (एस्.एल्.सी.) परीक्षामा सामेल भएको पाइन्छ । २०४१ सालबाट प्रवेशिका परीक्षामा सामेल भएको विद्यालय वर्तमान (२०७७) समयसम्म निरन्तर रूपमा सो क्रम कायमै रहेको छ ।
१.२ उच्च माध्यमिकमा स्तरोन्नति र थप कार्यक्रम
(क) उच्च माध्यमिक तह (मावि) र बाल विकास केन्द्र
२०१७ सालमा स्थापना भई प्राथमिक तहका कक्षा सञ्चालन प्रारम्भ गरेको यस विद्यालयले विभिन्न उतार चढाउको यात्रा पूरा गरी २०२५ सालमा पृथ्वी हाई स्कुलसमेत स्थापना भएको विषयलाई माथि उल्लेख गरिएको छ । हाई स्कुल बन्द भएपछि २०२८ सालमा यो विद्यालय पुनः प्राथमिक तह कायम भएको देखिन्छ । २०३१ सालमा निम्न माध्यमिक तहमा स्तरोन्नति भई २०३२ मा पुनः प्राथमिक तहमा अवनति भएको पाइन्छ । २०३४ सालबाट फेरि निम्न माध्यमिक तहका कक्षा सञ्चालन प्रारम्भ गरी २०३८ सालमा माध्यमिक तह सञ्चालनको अनुमति प्राप्त गरेको पाइन्छ । माध्यमिक तह (कक्षा १—१०) सञ्चालन भएको यस भगवती माध्यमिक विद्यालयले उच्च माध्यमिक शिक्षा परिषद्बाट २०६४ सालमा शिक्षा विषय लिई अध्ययन गर्न पाउने गरी कक्षा ११ र २०६५ सालमा कक्षा १२ सञ्चालनको सम्बन्धन प्राप्त गरेको र विद्यालय उच्च माध्यमिक तहमा स्तरोन्नति भएको कुरा विद्यालयमा रहेका अभिलेखबाट अवगत हुन्छ ।
उच्च माध्यमिक विद्यालयका रूपमा सञ्चालन भएको विद्यालय शिक्षा ऐन, २०२८ को आठौं संशोधनबाट नेपाल सरकारको परिमार्जित शैक्षिक संरचानाअनुरूप कक्षा ९—१२ लाई माध्यमिक तह हुने परिवर्तित संरचनागत ढाँचा कार्यान्वयनसँगै यो विद्यालय उच्च माध्यमिक तहबाट पुनः माध्यमिक तह भएको हो । कक्षा १ मा पूर्व तयारीका साथ विद्यार्थी भर्ना हुने सरकारी नीति कार्यान्वयनसँगै यस विद्यालयमा पनि प्रारम्भिक बाल विकास केन्द्रको कोटा प्राप्त भई सञ्चालनमा आएको छ । यसरी हेर्दा प्रारम्भिक बाल विकास केन्द्रदेखि कक्षा १२ सम्म अध्यापन गराइने विद्यालयका रूपमा भगवती माध्यमिक विद्यालय अद्यावधि सञ्चालनमा रहेको छ ।
(ख) बालीविज्ञान (पिजेटिए) तर्फ
परिवर्तित समयानुकूल समायोजन हुन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश सुहाउँदो शैक्षिक जनशक्ति उत्पादन गरी समयको मागसँगै अहिलेको शिक्षा प्रणालीलाई प्रविधि र सीपसँग जोडी प्राविधिक शिक्षातर्फको जनशक्ति उत्पादनका लागि सो सँग सम्बन्धित विषयको आवश्यकता महसुस गरी विद्यालयले न्यूनतम आधारभूत प्रक्रिया पूरा गरी प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) मा १८ महिने बालीविज्ञान (पिजेटिए) कार्यक्रमको अनुमति माग गरेको देखिन्छ । विद्यालयले गरेको माग बमोजिमको सम्बन्धन प्राप्त गरी हाल १८ महिने बालीविज्ञान तर्फको पिजेटिए कार्यक्रम पनि सञ्चालनमा रहेको छ ।
२०१७ सालमा राष्ट्रिय प्राइमरी स्कुलका नामबाट स्थापना भएको विद्यालय भगवती प्राइमरी स्कुल भनी नामाकरण भएको देखिन्छ । २०२५ सालमा पृथ्वी हाई स्कुल स्थापना भई सञ्चालनमा आएर आर्थिक अभाव र सरकारी नीतिका कारण पछि बन्द हुन पुगेको पाइन्छ । पृथ्वी हाई स्कुल बन्द हुँदा पनि भगवती प्राइमरी स्कुलको अस्तित्व भने कायमै रहेको पाइन्छ । २०३१ सालमा निम्न माध्यमिक तहमा स्तरोन्नति भएको विद्यालय विविध कारणले २०३२ मा पुनः प्राथमिक तहमा अवनति भएको र २०३४ सालदेखि पुनः निम्नमाध्यमिक तहको कक्षा ४ बाट कक्षोन्नति भई क्रमशः २०३७ सालमा कक्षा ७ सम्म अध्ययन हुन थालेको पाइन्छ । २०३८ सालमा माध्यमिक तह सञ्चालन अनुमति प्राप्त भएपश्चात् सोही सालबाट कक्षा ८ को पठन—पाठन प्रारम्भ भएको पाइन्छ ।
२०४० सालसम्म आइपुग्दा कक्षा १० सञ्चालन भएको पाइन्छ । कक्षा १० मा अध्ययन गर्ने विद्यार्थी भगवती माध्यमिक विद्यालयको तर्फबाट २०४१ सालमा पहिलो पटक प्रवेशिका परीक्षामा सामेल भएका हुन् । पूर्व तयारीका साथ कक्षा १ मा भर्ना हुनका लागि प्रारम्भिक बालकक्षा सञ्चालनमा आएदेखि शैक्षिक मार्गमा विद्यालय एक कदम अगाडि बढेको देखिन्छ । उच्च माध्यमिक परिषद्बाट सम्बन्धन प्राप्त गरी २०६४—६५ बाट कक्षा ११ र १२ सञ्चालनमा आए पनि सरकारी नीतिले लिएको विद्यालय पुनः संरचना ढाँचाले कक्षा ९—१२ माध्यमिक तह भएकाले यो विद्यालय उच्च माध्यमिक तहबाट माध्यमिक तह भई सञ्चालनमा आएको छ । प्राविधिक तथा व्यावसायिक तालिम परिषद्बाट अुनमति प्राप्त गरी हाल यस विद्यालयमा बालीविज्ञान तर्फको १८ महिने पिजेटिए कार्यक्रमसमेत सञ्चालित छ ।
१.३ विद्यालयका संस्थापक तथा सहयोगीहरू
अज्ञानरूपी अन्धकार निरूपणका लागि ज्ञानरूपी शिक्षाको अपरिहार्यतालाई महसुस गरी मानेभन्ज्याङ, माधवपुर, थाक्ले, टोक्सेल र आसपासका क्षेत्रमा बसोबास गर्ने सामाजिक परिवर्तनगामी सोचका धनी समाजको अगुवा गर्ने अग्रजहरूबाट यसक्षेत्रमा एउटा विद्यालय स्थापना हुनुपर्दछ भन्ने मान्यता अगाडि आएको पाइन्छ । त्यसै मान्यताको प्रतिफलका रूपमा २०१७ सालमा भगवती माध्यमिक विद्यालयको बीजाङ्कुर राष्ट्रिय प्राइमरी स्कुलबाट भएको हो । राष्ट्रिय प्राइमरी स्कुलबाट भगवती माध्यमिक विद्यालयलाई वर्तमान अवस्थासम्म ल्याउन योगदान गर्नुहुने संस्थापक एवं उदार हृदय हुने, समाजका लागि केही गरौँ भनी सकारात्मक सोच राख्ने शैक्षिक अभियन्ताहरूको योगदानका बारेमा चर्चा गर्नु बाञ्छनीय भएकाले सोही अनुरूप यहाँ तिनै समाजिक अग्रजहरूको क्रमिक रूपमा चर्चा गरिएको छ । मानेभन्ज्याङ, माधवपुर, थाक्ले, टोक्सेल र आसपासमा रहने अन्यक्षेत्रका सहयोगीहरूले विद्यालय स्थापनादेखि सञ्चालन तथा व्यवस्थापन कार्यमा पु¥याएको योगदानको प्रसङ्गलाई यसरी प्रस्तुत गरिएको छ:
१.३.१. मानेभन्ज्याङ
विद्यालयको स्थापना र सञ्चालनका क्रममा सर्वप्रथम मानेभञ्ज्याङ धिमिलेका अर्गबहादुर राईको नाम अग्रपङ्तिमा उल्लेख गर्नु सान्दर्भिक हुन आउँछ । विद्यालय स्थापनाका लागि उनले भवन निर्माण, विद्यार्थीको नाम सङ्कलन गर्नेदेखि लिएर विद्यार्थीलाई पढाउने शिक्षकको व्यवस्थापनमा लाग्ने खर्चका लागि दान तथा चन्दा सङ्कलन गरेका र त्यसले अपुग हुँदा आफ्नै निजी सम्पत्तिसमेत बेचेर विद्यालय सञ्चालन गरेको पाइन्छ । विद्यालय सञ्चालन कार्यमा उनले गरेको सहयोगलाई सदैव स्मरण गर्नुपर्ने हुन्छ ।
विद्यालयको हित र शैक्षिक उन्नयनका लागि महŒवपूर्ण योगदान दिनुहुने अर्का उल्लेखनीय व्यक्तित्व हुन्, कुलबहादुर अधिकारी । विद्यालयको समग्र विकासमा उनको नामबिना विद्यालयको इतिहास अधुरो हुन जान्छ । राष्ट्रिय प्राइमरी स्कुललाई भगवती प्राइमरी स्कुल बनाउनु पर्छ भनी नाम प्रस्ताव गराई सहमति गराउने तथा मानेभन्ज्याङ हिटी र ओखरबोटतिरका विद्यार्थी जम्मा गरी पढाउनु पर्छ भनी प्रेरणाका स्रोत बनेका कुलबहादुर अधिकारीले आफू प्रधानपञ्च र विद्यालय व्यवस्थापन समितिको अध्यक्षसमेत भएर समाजका अनपढ बाबु–आमाका कलिला बालबालिकाहरूलाई शिक्षा प्राप्तितर्फ उन्मुख गराउने, चेतना जगाउनेजस्ता महŒवपूर्ण कार्यहरू गरेका हुन् ।
बेलायती सेनामा कार्यरत सेवा निवृत्त स्वर्गीय आशाजित मगरले समाजको समृद्धि शिक्षाले मात्र सम्भव हुन्छ भन्ने कुरालाई राम्रोसँग बुझेको हुनाले विद्यालय सञ्चालनमा उनले गरेको योगदानलाई महŒवपूर्ण रूपमा हेरिन्छ । २०२५ सालमा पृथ्वी हाई स्कुल स्थापना र सञ्चालनमा उनले देखाएको सदासयतालाई मुक्तकण्ठले प्रशंसा गर्नुपर्ने हुन्छ । २०२९ सालदेखि विद्यालय सञ्चालक समितिको अध्यक्ष पदमा रहँदादेखि नै उनले विद्यालयप्रति देखाएको उदारता र सहयोग स्मरणीय रहेको छ ।
२०३८ सालमा माध्यमिक तहको अनुमति लिने क्रममा बैंक धरौटीका लागि रकम अभाव हुँदा टङ्कबहादुर अधिकारीको अनुरोधमा आशाजित मगरको १५ तोला सुन बैंकमा धितो राखेर आएको नगदलाई विद्यालय स्थापनार्थ धरौटी जम्मा गरी विद्यालयलाई माध्यमिक तह सञ्चालन अनुमति लिएको विषय अझ प्रशंसनीय मानिन्छ । उनी विद्यालय व्यवस्थापन समितिको पदमा रहँदा होस् वा नरहँदा जुनसुकै बखत लगभग आजीवन विद्यालयप्रति समर्पित रहेको पाइन्छ ।
विद्यालयको भवन निर्माण, फर्निचर निर्माणलगायतका कार्यमा आफैँ लागी परेर कार्य सम्पन्न गर्ने, श्रमदान जुटाउने, विद्यालयलाई आवश्यक पर्दा जुनसुकै बेला जस्तोसुकै सहयोग गर्न पछि नपर्ने स्व. आशजित मगर सदैव हाम्रो स्मरणमा रहने व्यक्तित्व हुन् ।
माथि उल्लिखित व्यक्तित्वहरूका अतिरिक्त यस क्षेत्रमा पर्ने उदयपुर गाउँका ब्रिटिस आर्मीबाट अवकासप्राप्त क्याप्टेन टीकाबहादुर राई (पूर्व प्रधानपञ्च), ब्रिटिस आर्मीबाट अवकासप्राप्त सिपाही जनबहादुर राई, ब्रिटिस आर्मीबाट अवकासप्राप्त सार्जन हर्कबहादुर राई (उप–प्रधानपञ्च), बखतबहादुर राई (वडाध्यक्ष तथा जिल्ला पञ्चायत सदस्य), धिमिलेका इच्छालाल राई, मानेभन्ज्याङका भैरवबहादुर राना मगरगायतका अन्य सहयोगी महानुभावहरूले पनि विद्यालय स्थापना र सञ्चालनमा पु¥याएको योगदानलाई सदैव सम्झनु पर्ने हुन्छ । विद्यालय स्थापनामा मात्र नभई सञ्चालन तथा व्यवस्थापनका लागि गरिने सहयोग कार्य अद्यावधि कायमै रहेको पाइन्छ ।
१.३.२. माधवपुर
शैक्षिक चेतनाबाट मात्र समाज रूपान्तरण हुन सक्छ भन्ने मान्यता राख्ने माधवपुर निवासी कुशल सामाजिक अभियन्ता स्वर्गीय टङ्कबहादुर अधिकारीले विद्यालय स्थापना र सञ्चालनमा पु¥याएको सहयोगलाई जतिसुकै वर्णन गरे पनि अपुग देखिन्छ । २०१७ सालमा राष्ट्रिय प्राइमरी स्कुल स्थापनादेखि २०२५ सालमा पृथ्वी हाई स्कुल स्थापना र सञ्चालनसम्म आइपुग्दा उनले गरेका सहयोग अतुलनीय रहेको छ । २०३४ सालमा निम्न माध्यमिक तहको पुनः स्तरोन्नति एवं २०३८ सालमा माध्यमिक तह सञ्चालनको अनुमति लिन होस् या विद्यालय सञ्चालन तथा व्यवस्थापन कार्यमा उनले गरेको सहयोग उदाहरणीय रहेको पाइन्छ ।
हाल विद्यालय रहेको स्थान ऐलानी जग्गा हो, कोही कसैले विद्यालयको नाममा दर्ता गराउन नसकेको सो जग्गा २०४४—४५ सालको नापीमा विद्यालयको नाममा दर्ता गराई आधिकारिक रूपमा विद्यालयको नाममा जग्गाधनी दर्ता प्रमाणपुर्जा दिलाउन सफल भएका थिए । विद्यालय स्थापना र सञ्चालनका खातिर उनले माथि उल्लिखित चारै गाउँ पञ्चायतका प्रधानपञ्चलाई आफ्नो क्षेत्रबाट कम्तीमा एक लाख रुपियाँ विद्यालयलाई सहयोग गर्नुपर्ने प्रस्ताव गरेका र केही मात्रामा सहयोग पनि उपलब्ध भएको पाइन्छ । आफू जिल्ला पञ्चायत सदस्य भएका कारण पनि जिल्लाबाट विभिन्न योजना र सरकारी रकमसमेत उपलब्ध गराई विद्यालयका भवन तथा छात्रावास निर्माण, शिक्षकलाई बस्ने खाने व्यवस्था नहुँदा आफ्नै घरमा व्यवस्थापनलगायत विद्यालयका लागि आवश्यक पर्ने अन्य थुप्रै कार्यहरू अधिकारीले गरेको पाइन्छ ।
गाउँमा स्थापना भएको विद्यालयलाई स्थायित्व दिन सके सेवाक्षेत्र भित्रका विद्यार्थीहरू अन्यत्र जानुनपर्ने र घर गाउँमा बसेर माध्यमिक तहसम्मको शिक्षा पूरा गर्न सकिन्छ भन्ने भावना बोकेका माधवपुरवासी प्रेमबहादुर अधिकारीको पनि विद्यालय स्थापना र सञ्चालनमा ठूलो योगदान रहेको पाइन्छ । प्रधानपञ्च भएका बेलामा विद्यालयलाई गरेको सहयोग र अघिपछि पनि आवश्यक पर्दा विद्यालय भवन निर्माण, फर्निचर व्यवस्थापन लगायतका कार्यमा उनको उल्लेख्य सहयोग रहेको बुझिन्छ । विशेषगरी पृथ्वी हाई स्कुल स्थापना र सञ्चालनका लागि चन्दा दिने अग्रणी व्यक्तित्वका रूपमा स्वर्गीय पदमबहादुर अधिकारीको नाम पनि स्मरणीय रहेको छ ।
त्यसैगरी विद्यालयलाई महŒवपूर्ण सहयोग गर्नेमा माधवपुर निवासी परशुराम अधिकारीको नाम पनि स्मरण योग्य मानिन्छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर होस् या बाहिर रहेर उनको सहयोगलाई प्रशंसनीय मानिन्छ । जिल्ला विकास समितको उप—सभापतिसमेत बनेका अधिकारीले विद्यालय सञ्चालनका लागि महŒवपूर्ण योगदान दिएको पाइन्छ । नेपाली सेनाका नाममा रहेको जग्गाको केही क्षेत्रफल विद्यालयले उपभोग गरेकोमा भोगचलन गरेजति जग्गाको भोगाधिकार कायम गराउन सफल भएको कुरा अविस्मरणीय रहेको छ । सो कार्यका लागि विद्यालय व्यवस्थापन समितिका तत्कालीन सदस्य लक्ष्मीप्रसाद बास्कोटा, जिल्ला विकास समितिका तत्कालीन सभापति महेश कोर्मोचा, होमनाथ दाहाल र नेपाली सेनाका प्रधान सेनापति रुक्माङ्गत कटवालसमेतको सहयोगमा मन्त्रिपरिषद्को निर्णयबाट भोगाधिकार कायम भएकाले विद्यालयलाई गरेको सो सहयोग अस्मरणीय रहेको छ ।
१.३.३. थाक्ले
शिक्षाले नै मानिसमा रहेको अन्तर्निहित प्रतिभा प्रस्फुटित हुन सक्छ भन्ने चेतनाको विकास भएका थाक्ले हिलेपानी निवासी बीरसिं राई (भू.पू. प्रधानपञ्च), जयबहादुर राई (भू.पू. उपप्रधान तथा प्रधानपञ्च), थाक्ले निवासी भवनाथ बाँस्कोटा (भू.पू. प्रधानपञ्च), देवीप्रसाद बाँस्कोटा (तत्कालीन शाही नेपाली सेनामा कार्यरत भू.पू. मेजर तथा भू.पू. प्रधानपञ्च), लेखराज दाहाल (भू.पू. उपप्रधानपञ्च), मानबहादुर राई (पूर्व शिक्षक, पूर्व गाविस अध्यक्ष तथा जिल्ला सदस्य), तल्लो रिचुवा निवासी खम्बसिं मगर लगायतका महानुभावको सहयोग प्रशंसनीय रहेको पाइन्छ । पछिल्लो चरणमा विद्यालयको नाममा जग्गाको भोगाधिकार कायम गराउन होस् या गुणस्तरीय शिक्षाका लागि सही मार्गनिर्देशन जुनसुकै बखत विद्यालयप्रति सकारात्मक सोच राख्ने लक्ष्मीप्रसाद बास्कोटाको पनि विद्यालय सञ्चालनमा सहयोग रहेको पाइन्छ । उल्लिखित दाताहरू विशेष गरी पृथ्वी हाई स्कुल स्थापना र सञ्चालनका बखत गरेको आर्थिक एवं भौतिक सहयोगको कार्य उल्लेखनीय रहेको पाइन्छ ।
१.३.४. टोक्सेल
हरेक मानिसमा लुकेर रहेको क्षमतालाई अभिव्यक्त गर्न सक्ने शक्ति शिक्षा प्राप्तिपछि मात्र हुन्छ र यो सबैले प्राप्त गर्नुपर्छ अनिमात्र समाजलाई चेतनशील बनाउन सकिन्छ भन्ने सकारात्मक सोचका धनी सामाजिक अगुवाहरू टोक्सेलमा पनि त्यतिकै मात्रामा रहेको पाइन्छ । यस विद्यालयको स्थापना र सञ्चालनका अतिरिक्त विशेष गरी पृथ्वी हाई स्कुल स्थापना र सञ्चालनमा बढी योगदान गर्नु हुने महानुभावहरूमा टोक्सेल निवासी पदमप्रसाद गौतम (जिम्वाल) को योगदान उल्लेखनीय रहेको पाइन्छ । टोक्सेल पञ्चायतका तत्कालीन प्रधानपञ्च रहेका गौतमले पञ्चायतको तर्फबाट, आफ्नो तर्फबाट र स्थानीयबासीसँग पनि चन्दा उठाएर विद्यालयलाई सहयोग गरेको पाइन्छ । यसैगरी, विद्यालय सञ्चालनमा उल्लेखनीय चन्दा सहयोग गर्नु हुने टोक्सेल निवासी होमनाथ अधिकारी (भू.पू. उप–प्रधानपञ्च), केदारप्रसाद गौतम (भू.पू. उप–प्रधानपञ्च), मोदनाथ गौतम (भू.पू. वडाध्यक्ष), टेकप्रसाद ढुङ्गाना (भूपू वडाध्यक्ष), टोक्सेल राघवपुर निवासी वृद्धिमान मगर (भू.पू. प्रधानपञ्च), खड्गबहादुर राना मगर (भू.पू. प्रधानपञ्च) लगायतका अग्रज व्यक्तित्व रहेका छन् ।
१.३.५. अन्यक्षेत्र
शिक्षालाई ज्ञानचक्षुका रूपमा लिई शिक्षा प्रदान गराउने विद्यालयलाई सहयोग गर्नुपर्छ भन्ने उदार सोचका धनी व्यक्तित्वहरू हरेक समाजमा जन्मिएका हुन्छन् । यस विद्यालयको स्थापना र सञ्चालनमा अन्य क्षेत्रका सहयोगी मनहरूले पनि आफ्नो क्षेत्रबाट महŒवपूर्ण योगदान पु¥याएको पाइन्छ । यसरी सहयोग गर्ने क्रममा वाक्सा निवासी स्वर्गीय चक्रबहादुर कार्की (भू.पू. प्रधानपञ्च), उँबु निवासी स्वर्गीय हर्कबहादुर अधिकारी (भू.पू. जिल्ला पञ्चायत उप—सभापति), शमशेरबहादुर अधिकारी, काभ्रेपलान्चोक जिल्ला निवासी दामराज श्रेष्ठ र निजको छोरा काजी भनिने चितबहादुर श्रेष्ठ (तत्कालीन ठेकदारहरू) लगायत रहेका पाइन्छन् ।
त्यसैगरी यस विद्यालयलाई सहयोग गर्ने प्रशंसनीय व्यक्तित्वमा ओखलढुंगाको रगनी गाउँपञ्चायत–४ चण्डीस्थान (हाल– खिजिदेम्बा–१)का चन्द्रबहादुर सुनुवार (२०१७ सालमा नेपाली कांग्रेसका एरिया प्रमुख र त्यसपछि जिल्ला पञ्चायतका सभापति र राष्ट्रिय पञ्चायत सदस्य)ले पनि २०१७ सालमा रु.३०० (तीन सय रुपैयाँ) सहयोग गरेको पाइन्छ । विद्यालय स्थापना र सञ्चालन कार्यमा सहयोग पु¥याउने महानुभावहरूमा अन्य व्यक्तित्वहरूको नाम पनि प्रशंसनीय रहेको पाइन्छ ।
भगवती माध्यमिक विद्यालयको स्थापना कालदेखि वर्तमान समयसम्म आइपुग्दा विभिन्न महानुभावहरूले सहयोग गरेको पाइन्छ । नगद सहयोगदेखि जिन्सी सामानसमेत विद्यालयको नाममा दान दिने दाताहरूबाट विद्यालय सञ्चालन भएको पाइन्छ । विद्यालय स्थापना एवम् सञ्चालनका क्रममा माथि लेखिएका सम्पूर्ण व्यक्तित्वहरूले गरेको सहयोग स्मरणीयमात्र नभई प्रशंसनीय पनि रहेको छ ।
विशेष गरी धिमिलेका अर्गबहादुर राई, मानेभन्ज्याङका आशाजित मगर र माधवपुरका टङ्कबहादुर अधिकारीले आफ्नो घरजग्गा र परिवारका गरगहनासमेत बिक्री गरी विद्यालय सञ्चालन गरेको घटना स्मरणीय रहेको छ । विद्यालयलाई राम्रोसँग सञ्चालन गरेमात्र बालबालिकाले उचित शिक्षा पाउँछन् भन्ने भावनाबाट प्रेरित राई, मगर र अधिकारीका विचारबाट हामी सबै प्रभावित भएका छौं । सहयोगी मनहरूले विद्यालयलाई गरेको दान र सहयोगले यस क्षेत्रका सबै नागरिकको मस्तिष्कमा शिक्षा प्राप्त गर्ने सकारात्मक सोचको विकास भएको पाइन्छ ।
१.४ पछिल्लो चरणमा प्राप्त सहयोग
समयको गति अविराम रूपमा अघि बढिरहेको हुन्छ । माध्यमिक तह उत्तीर्ण गरेपछि प्रमाणपत्र तहसम्मको शिक्षा पनि गाउँमै बसी प्राप्त गर्न पाए अझ राम्रो हुुने सोचको विकास भएको हुनाले भगवती माध्यमिक विद्यालयमै कक्षा ११ सञ्चालन गर्ने प्रयास स्वरूप विद्यालय स्थापना भएको ४७ वर्षपछि कक्षा ११ सञ्चालनको सम्बन्धन प्राप्त भएको पाइन्छ । कक्षा ११ को सम्बन्धन प्राप्त गर्न, विद्यालय सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक आर्थिक व्ययभारलाई कम गर्नका लागि पछिल्लो चरणमा पनि विद्यालयलाई सहयोग गर्ने दाताको कमी देखिएको छैन ।
शिक्षाप्रतिको प्रगाढ अभिरुचिका कारण नै मानिसले विद्यालय र शिक्षामा लगानी गर्दछ । यसैको प्रतिफलका रूपमा पछिल्लो समयमा विभिन्न सहयोगी मनका धनीहरूले विद्यालयलाई चन्दा सहयोग गरेका छन् । उक्त सहयोग गर्ने महानुभावहरूको नाम र सहयोग रकमलाई अनुसूची २ मा उल्लेख गरिएको छ भने अक्षयकोष स्थापना गर्ने दाताहरूको विवरण अनुसूची २ (क) मा प्रस्तुत गरिएको छ ।
१.५ भौतिक सुविधा विस्तार कार्यक्रम
चन्दादाताको सहयोग र दानले मात्र विद्यालय सञ्चालन र व्यवस्थापन गर्न कठिन र असहज हुन्छ । समय र परिवेशअनुसार, विद्यार्थीको रुचि, स्तर र तह अनुसारका बसाइ व्यवस्थापन गर्नुपर्ने हुन्छ । यसका लागि सम्भव भएसम्म सुविधा सम्पन्न भवन, उमेरअनुसार उपयुक्त फर्निचर, पिउने पानी, शौचालय, प्रयोगशाला, शैक्षिक सामग्री, खेलकुदका सामग्री, खेलमैदान, विद्यालय छेकबारजस्ता भौतिक सुविधा विस्तारका कार्यक्रम पनि त्यतिकै मात्रामा आवश्यक हुन्छन् । उल्लिखित कार्य सम्पन्न गर्नका लागि विद्यालय स्थापनादेखि वर्तमान समयसम्म आइपुग्दा विभिन्न सरकारी तथा गैरसरकारी सङ्घ—संस्था, व्यक्ति आदिले गरेको सहयोग र सुविधाप्रति विद्यालय हार्दिक कृतज्ञता व्यक्त गर्दछ । विद्यालयलाई सहयोग गर्ने व्यक्ति तथा दातृ निकायको विवरणलाई अनुसूची ३ मा प्रस्तुत गरिएको छ ।
विद्यालयको ऐतिहासिक पृष्ठभूमिमा उल्लेख भएका विवरणहरू लिखित दस्तावेजबाट मात्र नभई विद्यालय स्थापनादेखि हालसम्म उपलब्ध व्यक्तित्वहरूलाई भएको जानकारीबाट समेत लिइएको हो । कतिपय वक्ताले स्मरणका आधारमा भन्दा कुनै कुरा बाझिएका, कुनै कुरा कारणवश तलमाथि परेको वा हुनुपर्ने नभएको र नहुनुपर्ने भएको पनि हुन सक्छ । यदि यस लिखित दस्तावेज वाचन गर्दा कुनै त्यस्तो त्रुटि पाइएमा सुधारका लागि अविलम्ब जानकारी गराई सम्पादन कार्यमा सहयोग गर्नुहुन विनम्र अनुरोध गरिन्छ ।
१.५ विद्यालयका संस्थापक प्रधानाध्यापक तथा हालसम्मका प्रधानाध्यापकहरू
२०१७ सालमा राष्ट्रिय प्राइमरी स्कुलका नामबाट प्रारम्भ भई भगवती प्राइमरी स्कुल प्राथमिक तह हुँदै निम्न माध्यमिक र माध्यमिक तहसम्म आइपुग्दा विद्यालयले धेरै प्रधानाध्यापकहरूबाट शैक्षिक नेतृत्व पाइसकेको छ । विद्यालय स्थापना हुनुपूर्व नै मानेभन्ज्याङ धिमिलेतिरका बालबालिकाहरूलाई जम्मा गरी इच्छालाल राईले र उदयपुरतिरका बालबालिकाहरूलाई जम्मा पारी जनबहादुर राईले अध्यापन गराएको चर्चा माथि नै गरिसकिएको छ ।
विद्यालय स्थापना हुँदाका बखत जनबहादुर राईलाई पहिलो शिक्षक बनाई अध्यापन कार्य प्रारम्भ गराएको भनी तिलप्रसाद खनाल, अर्गबहादुर राई र मानेभन्ज्याङ निवासी मानबहादुर श्रेष्ठले गराएको जानकारीलाई समेत आधार मानी जनबहादुर राईलाई यस विद्यालयका संस्थापक प्रधानाध्यापकका रूपमा लिइएको छ । अतः संस्थापक प्रधानाध्यापकदेखि वर्तमान समयसम्म आइपुग्दा विद्यालयले प्राप्त गरेका प्रधानाध्यापकजस्तो गरिमामय पदमा आसिन व्यक्तित्वहरूको विवरण अनुसूची ४ मा प्रस्तुत गरिएको छ ।
१.६ विद्यालयका संस्थापक अध्यक्ष तथा हालसम्मका अध्यक्षहरू
शिक्षाजस्तो पवित्र ज्ञान प्रदान नगराई मानिसभित्र रहेको अज्ञानतारूपी अन्धकार नहट्ने कुरालाई मनन गरी विद्यालय स्थापनामा अहोरात्र लागीपर्ने व्यक्तित्वहरू पनि समाजमा जन्मिएका हुन्छन् । यस्तै व्यक्तित्वहरू समाजका जागरुक वर्गको नेतृत्व गरी विद्यालयको उन्नति र प्रगतिमा तल्लीन हुन्छन् । विद्यालय स्थापना, सञ्चालन र आवश्यकीय व्यवस्थापनमा अगुवाइ गरी नेतृत्व प्रदान गर्ने व्यक्ति नै समूहको अध्यक्षता ग्रहण गरेको हुन्छ । भगवती माध्यमिक विद्यालयको जन्म राष्ट्रिय प्राइमरी स्कुलबाट भएको हो । यो विद्यालय स्थापना, सञ्चालन, रेखदेख र व्यवस्थापनको पक्षमा अगुवाइ गरेका मानेभन्ज्याङ धिमिले निवासी अर्गबहादुर राईलाई नै विद्यालयको संस्थापक अध्यक्षका रूपमा लिएको पाइन्छ । विद्यालय स्थापनाको समयदेखि वर्तमान अवस्थासम्म आइपुग्दा विद्यालयको सञ्चालन, रेखदेख र व्यवस्थापनका लागि अगुवाइ गरी विद्यालयलाई गति प्रदान गराउने अध्यक्षहरूको क्रमिकतालाई अनुसूची ५ मा प्रस्तुत गरिएको छ ।
१.७ विद्यालयका संस्थापक शिक्षक तथा हालसम्मका शिक्षकहरू
विद्यालयको स्थापना र भौतिक सुविधाको विस्तारले मात्र शिक्षाको ज्योति जनसमक्ष पुग्न सक्दैन । यसका लागि शिक्षा प्रदान गराउने व्यक्तिको आवश्यकता पर्न जान्छ । आपूmभित्रको ज्ञानलाई अरूसमक्ष प्रस्तुत गरी अशिक्षित व्यक्तिलाई शिक्षित गराउन सक्ने क्षमता भएको व्यक्ति नै शिक्षक हो । शिक्षक हुन पनि आवश्यक शैक्षिक योग्यता, तालिम, अनुभव, शैक्षिक सामग्री निर्माण र प्रयोगसम्बन्धी दक्षता लगायतका सिपको आवश्यकता पर्दछ । यो विद्यालय स्थापना कालमा सबै योग्यताले पूर्ण भएको शिक्षक खोजी गर्ने क्रममा मानेभन्ज्याङ उदयपुरका जनबहादुर राई र धिमिलेका इच्छालाल राई छनोटमा परेको बुझिन्छ । जनबहादुर राई संस्थापक प्रधानाध्यापक भएकाले इच्छालाल राईलाई संस्थापक शिक्षकका रूपमा लिएको पाइन्छ । संस्थापक शिक्षक इच्छालाल राईदेखि वर्तमानसम्म यस विद्यालयमा कार्यरत शिक्षकहरूको विवरण अनुसूची ६ मा दिइएको छ ।
१.८ विद्यालयबाट २०४१ देखि २०७६ सम्म प्रवेशिका परीक्षामा सामेल विद्यार्थीहरू
माध्यमिक विद्यालय तहको शिक्षा पूरा गर्ने भनेको प्रवेशिका परीक्षामा सामेल भई उत्तीर्ण हुनु हो । शिक्षा प्राप्तिका लागि विद्यालयमा भर्ना हुन आउने विद्यार्थीहरू सबैले विद्यालय शिक्षाको अन्तिम चरणसम्म अध्ययन पूरा गर्छन् भन्ने निश्चित हुँदैन । भगवती माध्यमिक विद्यालयमा पनि कक्षा १ मा भर्ना भएका सबै विद्यार्थी कक्षा १० सम्म पुगेका हुँदैनन् । कक्षा १० सम्म अध्ययन गरी ल्याकत परीक्षा उत्तीर्ण गरी प्रवेशिका परीक्षामा सामेल हुने विद्यार्थीले मात्र माध्यमिक शिक्षा पूरा गरेको ठहर्छ । यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरू २०४१ सालको प्रवेशिका परीक्षामा पहिलो पटक सामेल भएका हुन् ।
२०४१ सालदेखि २०७६ सालसम्म प्रवेशिका परीक्षामा सामेल भएका विद्यार्थीहरूको विवरण अनुसूची ७ मा दिइएको छ । त्यस्तै २०६४ सालमा कक्षा ११ र २०६५ सालमा कक्षा १२ सञ्चालन भएको विद्यालयको तर्फबाट कक्षा १२ अर्थात +२ उत्तीर्ण विद्यार्थीलाई प्रवीणता प्रमाणपत्र तह उत्तीर्णको मान्यता प्राप्त हुने हुँदा २०६७ सालदेखि १२ कक्षाको अन्तिममा हुने उच्च माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा सामेल हुने विद्यार्थी विवरणलाई अनुसूची ८ मा प्रस्तुत गरिएको छ ।
१.९ बिचैमा विद्यालय छाड्ने विद्यार्थीहरू
शिक्षा आर्जन गरी विश्वजगत्मा भएका घटनाहरूबारे सुसूचित हुन सबैलाई इच्छा हुन्छ । विद्यालयमा भर्ना भएपछि विद्यालय तहको शिक्षा पूरा गर्ने कसलाई मन हुँदैन ? तर विविध कारणले गर्दा बीचैमा विद्यालय छाडेर अर्को विद्यालयमा स्थानान्तरण हुनुपर्ने बाध्यता पनि पर्न सक्छ । कसैलाई शारीरिक, मानसिक, आर्थिक, भौगोलिक एवं भौतिक कारणले गर्दा विद्यालयीय शिक्षा पूरा नगरी बीचैमा छाड्नुपर्ने विवशता आइपर्न सक्छ । यस भगवती माध्यमिक विद्यालयमा पनि कक्षा १ मा भर्ना भएपछि कुनै पनि कारण परी विद्यालय तहको शिक्षा पूर्ण हुन नपाई बिचैमा कक्षा छाडेर जाने विद्यार्थीहरूको विवरणलाई आवश्यकताअनुसार पछि प्रकाशन गर्दै जाने कार्यक्रम रहेको छ ।
२. लेखनीका आधार र निचोड
अनुसन्धानात्मक लेख होस् या ऐतिहासिक दस्तावेज जुनसुकै लेखमा कुनै घटना वा विषयवस्तु घटित हुन्छ । कार्यकारण सिद्धान्तअनुसार कुनै कार्य हुनका पछाडि कारण हुनु जरुरी मानिन्छ । कारण कहिले देखिएको हुन्छ भने कहिले लुकेको हुनसक्छ । त्यस्ता कारणहरू कार्य सम्पन्न हुनासाथ लोप हुने र नहुने दुवै प्रकारका हुन्छन् । कार्य सम्पन्न गर्ने सिलसिलामा उपयोग गरिएका साधन, वस्तु, मानिस प्रमाणका रूपमा रहेका हुन्छन् । यो विद्यालय स्थापना गर्नु पनि एउटा कार्य हो भने विद्यालय स्थापना किन, कसरी र कसले ग¥यो भन्ने विषय सबैको चासोका रूपमा रहेको छ ।
विद्यालयको स्थापना र नामाकरण कसरी भयो ? विद्यालय स्थापना, सञ्चालन र विकासमा कुन समयमा कसले के के ग¥यो भनी सरोकारवाला समक्ष जानकारी गराउनु शुभ—हीरक जयन्ती महोत्सव २०७७ मूल समारोह समितिको प्रमुख कार्य हो । यही लक्ष्य पूरा गर्नका लागि विद्यालयको ऐतिहासिक पृष्ठभूमि तयार पारिएको छ । प्रामाणिक रूपमा यसको आधार र प्रमाण प्राप्त छैन ।
विद्यालय स्थापना गर्ने संस्थापक, विद्यालयमा अध्यापन गराउने शिक्षक तथा प्रधानाध्यापक, अध्ययन गर्ने विद्यार्थी, काम गर्ने मजदुरलगायत विद्यालय विद्यालयका बारेमा आद्योपान्त देखी जान्ने, सुनी जान्ने र अन्य माध्यमबाट घटना अवगत हुने व्यक्तित्वहरूसँगको भेटघाट, कुराकानी, साक्षात्कार, उनीहरूले लेखेको लेख र विद्यालयमा प्राप्त भएका केही लिखित दस्तावेजका आधारमा यो प्रस्तुत विद्यालयको ऐतिहासिक पृष्ठभूमितयार पारिएको हो ।
हामीले सम्पर्क गर्नुपर्ने महŒवपूण व्यक्ति छुटाएका रहेछौं भने वा कुनै घटनाक्रम तलमाथि परेको भएमा भूलसुधार गर्नका लागि सहयोग गर्नुहुन सम्बन्धित पक्षहरूमा विद्यालय हार्दिक अनुरोध गर्दछ । यदि कसैमा कुनै थप र नयाँ जानकारी रहेछ भने विद्यालय प्रशासन वा विद्यालय व्यवस्थापन समितिमा जानकारी गराई दिनुहुनसमेत विशेष अनुरोध छ । विद्यालयका महŒवपूर्ण जानकारीलाई मौखिक तथा लिखित रूपमा प्रदान गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति विद्यालय अनुगृहीत छ । प्राप्त भएका सूचनामूलक जानकारीहरूलाई अनुसूची १ मा प्रस्तुत गरिएको छ ।
परिवर्तित समयको माग र जनतामा आएको जागरणबाट परिचित समाजको नेतृत्व गर्न सफल स्थानीय बुज्रुक व्यक्तित्वहरूको अथक प्रयासबाट २०१७ सालमा मानेभन्ज्याङमा स्थापित राष्ट्रिय प्राइमरी स्कुल नै आजको भगवती माध्यमिक विद्यालय हो । सञ्चालनको क्रममा विभिन्न चरण र प्रक्रियाको सामना गर्दै आजको अवस्थामा आउन सफल यस विद्यालयले अनेकौं उकाली ओराली र घुम्तीहरू पार गरेको छ ।
विद्यालय सञ्चालनका क्रममा सहयोग गर्ने सहयोगीहरूको योगदान अतुलनीय रहेको छ । २०४१ सालमा प्रथम पटक माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा सामेल भएको यस विद्यालयले २०७६ सालसम्म आइपुग्दा ३६ औँ पटकको परीक्षा पार गरिसकेको छ । प्रारम्भिक बाल कक्षादेखि विभिन्न विषय छनोटको सुविधा सहितको कक्षा १२ सम्मको अध्ययन अध्यापन कार्य हुन थालेको अवस्था छ । समयको मागसँगै १८ महिने बालीविज्ञान कार्यक्रमको प्राविधिक धारसमेत सञ्चालनमा रहेको छ । यस विद्यालयबाट उत्पादन भएका शैक्षिक जनशक्तिहरू आज देशका विभिन्न ओहदा र भूमिकामा पुगेको अवस्था छ ।
माध्यमिक शिक्षा उत्तीर्णदेखि विद्यावारिधि उपाधिसम्म प्राप्त गरेका विद्यार्थी र स्थानीय समाज र सहयोगी मन नै यस विद्यालयका स्थायी सम्पत्ति हुन् । वर्तमान प्रधानाध्यापकदेखि अधिकांश शिक्षकवर्ग, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घका पदाधिकारीहरू प्रायः यसै विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरू रहनुले विद्यालयको प्रतिष्ठा बढेको अनुभूति हुन्छ । पूर्णरूपमा सरकारी अनुदानमा सञ्चालन भएको यस विद्यालयका भवनहरू सरकारी तथा गैरसरकारी दातृ निकायबाट निर्माण भएका हुन् । पुस्तकालय, कम्प्युटर, कृषि प्रयोगशाला लगायतका आवश्यकीय शैक्षिक सामग्रीहरू उपलब्ध छन् ।
विद्यालय स्थापनाका बखत होस् या सञ्चालनका क्रममा, कक्षोन्नतिका क्रममा होस् या माथिल्लो तह थपका सिलसिलामा सहयोग गर्ने सहयोगीहरूप्रति विद्यालय आभार प्रकट गर्दछ । सहयोगको क्रम अविरल यात्राका रूपमा अघि बढिरहने अपेक्षा विद्यालयको गरेको छ ।
स्थापनाको ६० वर्ष पूरा भएको सुखद उपलक्ष्यमा विद्यालयले यही २०७७ साल चैत्र २७ र २८ गते ‘भगवती माध्यमिक विद्यालय शुभ–हीरक जयन्ती महोत्सव—२०७७’ मनाउन लागेको छ । यस अवसरमा विद्यालय स्थापना, सञ्चालन र व्यवस्थापन कार्यमा तन, मन र धनले सहयोगका अतिरिक्त अक्षयकोष स्थापना गरी विद्यालयलाई शैक्षिक एवं आर्थिक रूपमा सक्षम बनाउने संस्थापक, दाता, सहयोगी र विद्यालयको गौरव बढाउनमा सफल व्यक्तित्वहरूलगायतका महानुभावहरूलाई सम्झना स्वरूप सम्मान गर्ने कार्यक्रम रहेको छ ।
अभिलेखका लागि विद्यालयमा भए गरेका सबै कार्यक्रमहरू विद्यालयबाट प्रकाशन हुने स्मारिकामा समावेश गरिएका छन् । विद्यालयको ऐतिहासिक पृष्ठभूमि लेखनमा आधार लिएका कुरालगायत सबै सूचनालाई विभिन्न अनुसूचीमा उल्लेख गरी जानकारी गराउने प्रयास गरिएको छ । स्मारिका लेखन कार्यमा विद्यालय स्थापनादेखि आजसम्म भएका सूचनामूलक जानकारी र आवश्यकीय विवरण, लेख रचनालगायतका सिर्जनाहरू उपलब्ध गराई कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्ण महानुभावमा हार्दिक कृतज्ञता अर्पण गर्न चाहन्छु । कुनै विवरण तलमाथि पर्न गएमा सम्भव भएसम्म यसै संस्कणमा र नभएमा आगामी संस्करणमा सुधार गरी प्रकाशन गरिने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । अन्त्यमा विद्यालयले गर्न लागेको यस महान् कार्यक्रम सफल पार्नमा दत्तचित्तले लागी पर्ने सबैप्रति अनुगृहीत रही धन्यवाद ज्ञापन गर्दछु ।
(डा.गौतम भगवती माविका पूर्व विद्यार्थी तथा हाल शिक्षक हुनुहुन्छ ।)
नोटः प्रस्तुत आलेख श्री भगवती माध्यमिक विद्यालय स्थापना भएको ६० वर्षको उपलक्ष्यमा प्रकाशन गरिएको ‘भगवती स्मारिका’ २०७७ बाट साभार गरी प्रकाशन गरिएको हो । यहाँ राखिएका तस्बिरहरू २०८१ सालभित्र भगवती माविको गतिविधिहरूलाई भगवती सेकेन्डरी स्कुल फेसबुकबाट साभार गरिएका हुन् ।–सम्पादक