चन्द्रकुमार राई
किरात राई जाति २६ भाषा बोल्ने समुदाय हो । जसमध्ये चाम्लिङ राई एक छुट्टै भाषा बोल्ने र विशिष्ट मुन्दुम संस्कार, संस्कृति, परम्परा, मूल्यमान्यताहरू रहेको समुदायमा पर्दछ । चाम्लिङ राईभित्र झन्डै २०० पाछाहरू छन् । साथै ती सबै पाछाका आ–आफ्ना छुट्टाछुट्टै सामई र बबी छन् । त्यसमध्ये रानाहोँछा पाछा एक प्रमुख पाछा हो । प्रथम किरात हाङ यलम्बरका कुनै सन्तान (राजा) काठमाडौंबाट तितरबितर भएर पूर्वतिर लागेपछि उनै राजाको एउटा हाँगा जो रानाहोँछा हुन् ।
रानाहोँछाहरूको आदिम पुर्खाको रूपमा सुरुमा खोटाङ दिक्तेलको लामाखु (पिप्चुङ) गाउँदेखि पारिपट्टि ट्याम्के डाँडा संगैको भुसुरी डाँडाको जंगलबिच ओडार बस्न आइपुग्नुभएको भन्ने मान्यता छ । त्यसपछि मुन्दुमी खोला साप्सु तरेर दोर्पाको बुवालुङ भन्ने ठाउँमा गएर केही समय बसी यहाँबाट लप्सेखोला तरेर लामाखु (पिप्चुङ) गाउँमा बसोबास गर्न थाल्नु भएको र त्यही गाउँबाट रानाहोँछा फैलिन पुगेको इतिहास छ । पुस्तै पिच्छे प्रत्येक पुर्खाहरूले सुनाउँदै आउनुभएको यस महत्वपूर्ण कुरा साथै ऐतिहासिक र साँस्कृतिक तत्थ्यहरूलाई यसरी आधार मान्दा रानाहोँछा पाछाको उद्गम थलोको रूपमा खोटाङको लामाखु भएकोले बबी ‘मुम्मातो बुसुरी’ रहन आयो । हवल्छाको पुर्खा र रानाहोँछाको पुर्खाबिच युद्ध भएर समापन भएपछि रानाहोँंछाको सामई ‘राना होँ दुङ्वाना तावा सं सुङ्चेरा’ भयो ।
यसरी बसोबास गर्दै जाँदा दाजुभाइ वंश फैलिदै गयो । दिक्तेलको लामाखुमा मात्र अटेन । विभिन्न समयमा विभिन्न ठाउँहरूमा बसाई सराई गरेर रहेको पाउन सकिन्छ । यसरी हेर्दा अहिले रानाहाँंछाहरू दिक्तेलको लामाखु (पिप्चुङ), सेखुवा, दोर्पा, बामराङ, बुइपा (कुसुङ्खा), मेरिला, काचोपत्ले दुर्छिम (हलेसी), मेरिला (खोटाङ)मा छन् । यसैगरी भोजपुरको पखुवा, वख्रेमा छन् । त्यसैगरी उदयपुरको गाईघाट, बेल्टारमा छन् । सुनसरीको धरान, बांगे, इटहरी, मोरङको लेटाङ, मिक्लाजुङ, झापाको पथरीमा छन् । काठमाडौं, भक्तपुर, लतितपुरमा स्थायी बसोबास गर्न पुगेका छन् । भारतको दार्जीलिङ, सिक्किम, बेलायत, जापान, अमेरिका, हङकङमा बसोबास गर्दै आएको पाउन सकिन्छ । वैदेशिक रोजगारीका क्रममा कोरिया, मकाउ, सिंगापुर, मलेसिया, दुबाई, कतार, इराक, अफगानिस्तान लगायतको देश पुगेका छन् ।
विश्वको जुनसुकै कुनामा पुगे पनि चाम्लिङ राई रानाहोँछाहरू आफ्नो पुर्खा, मुन्दुम र मातृभाषाप्रति गौरव गरेर यसको संवद्र्धनमा जुट्ने गरेका छन् । रानाहोँछाहरूको बसोबास गर्ने क्रममा कहाँ–कहाँ टाढा–टाढा बसोबास गर्न पुगेका छन् । पुर्खाले जोगाउँदै ल्याएका मुन्दुम संस्कार परम्परा, मातृभाषा, संस्कृति, वंश एकताका निम्ति हामीले रानाहोँछा सेवा समाज गठन गरेका छौं । कुनै एकाघरमा त कतिपय वंश जुटेर सामूहिक पितृपुर्खाहरूको मानमनितो, नराम्रो लागोभागोहरूलाई हटाउने, मन्छाउने, पन्छाउने, बगाइ पठाउने जस्ता मुन्दुमी कर्महरू छन् । मुन्दुम रीतिलाई पूरा गराउने वंशभित्रकै धामी (नछुङ) हुन्छन् । वंश भेला भएर सामूहिक रूपमा पितृपुर्खाको मानमनितो गर्ने एउटा विधिलाई हिया सल्मा (स्योल्मा) भन्दछौं ।
शब्द र अर्थका हिसाबले ‘हिया’ भनेको ‘रिसले अथवा झगडा गरेर आफ्नो वा अरुको रगत आएमा वा निकालेमा नराम्रो हुने’ मानिन्छ । ‘पिमा दख्लवा’ भनेको ‘रिसले भाँडा फुटाए नराम्रो हुने’ अर्थ लाग्दछ । ‘उलिया कुचिया’ भन्नाले ‘रिसले जनावर मारेर खाए नराम्रो हुने’ भनिन्छ । यस्तै, ‘सल्मा (स्योल्मा)’ भन्नाले माथिको नराम्रो कुराहरूलाई हटाउनु÷फ्याक्नु (खोलामा बगाएर पठाउनु) भन्ने मान्यता रहेको छ ।
रानाहोँछा वंश जहाँ जहाँ रहनु भएको पितृपुजा, कुलपुजा गर्दै आउनु भएकै छ । बसाई सराईको अवस्थाले करिब २५–२६ वर्षदेखि ठुलो चिन्ता हिया सल्मा (स्योल्मा) हुन नसकेको समाजका जेठापाका पुर्खाहरूले सुझाउनु भयो । त्यसमा सम्पूर्ण वंशहरूको एकमुस्ट एकै ठाउँ भेला भएर ठुलो चिन्ता हिया सल्मा (स्योल्मा) गर्दा दोषहरू हटेर जान्छ भनेर सल्लाह सुझाव पायौं । अहिलेसम्म जेजस्तो हुदै, गर्दै आएका छौं रानाहोँछा वंशहरू एकै ठाउँमा भेला भएर नछुङबाट ठुलो चिन्ता हिया सल्मा (स्योल्मा) नछुङबाट गराउनु पर्छ भनेर संस्थागत निष्कर्षमा पुग्यौं ।
त्यसैअनुसार हामीले २०७९ माघ २७ गते रानाहोंछाहरूको उद्गम स्थल खोटाङको लामाखु (पिप्चुङ) गाउँमा ठूलो चिन्ता हिया सल्मा (स्योल्मा) सम्पन्न गर्ने मिति तय ग¥यौं । कार्यक्रमको अध्यक्षता रानाहोँछा सेवा समाज (रासेस) का केन्द्रीय अध्यक्ष चन्द्रकुमार राईले गर्ने र प्रमुख अतिथिका रूपमा किरात राई चाम्लिङ खाम्बातिमका केन्द्रीय अध्यक्ष युवराज राईलाई निमन्त्रणा गर्ने निर्णय ग¥यौं । यसैगरी रासेस क्षेत्रीय समितिहरूको अध्यक्ष लगायत पदाधिकारी सदस्यहरूको सहभागिता रहने निष्कर्षमा पुग्यौं । हामीले तीन दिनमा ठूलो चिन्ता हिया सल्मा (स्योल्मा) सम्पन्न ग¥यौं ।
यही विश्वासलाई आधार मानेर हिजो पुर्खाहरूले सुरु गर्नुभएको सांस्कृतिक अनुष्ठानलाई बचाउने उद्देश्यले यस पाछाले ठुलो चिन्ता (हियासल्मा) को आयोजना गरेको हो । पहिलो दिन २०७९ साल माघ २६ गते खानपान, राँगा, सुँगुर काट्ने, टेण्ट टाँग्नेलगायत व्यवस्थापनको काम भएको थियो । दोस्रो दिन माघ २७ गते मुख्य दिन हिया सल्मा (ठूलो चिन्ता) को मुन्दुम विधि पूरा ग¥यौं । दिक्तेल रुपाकोट मझुगढी नगरपालिका–९ बामराम सुङ्खुनिवासी ८४ वर्षीय शक्तिशाली धामी नछुङ समशेर राई (डालहोँछा)लाई मुन्दुम विधिको जिम्मेवारी सुम्पिएका थियौं । अपेक्षा गरे अनुरूप नै नछुङले मुन्दुमी विधिपूर्वक अत्यन्त सफल तरिकाले ठुलो चिन्ता कार्य सम्पन्न गर्नुभयो । एकजना तकाया (धामीको साथी) जना र १४ जना ढोल तथा थाल बजाउने तालेहरूको सहयोग रहेको थियो ।
तेस्रो दिन माघ २८ गते हिया सल्मा सम्पन्न भई सबै सामान मिलाउने काम भयो । यसरी ३ दिनसम्म दाजुभाइ, छोरीचेली, नरनाताहरू, आगन्तुक पाहुना, चाम्लिङ बुतेपाछा, खेरेसुङ्छा, सिलहोँछा, बाडाछा, दाम्दीहोँछा साथै बान्तावा राई, दुमि राई, खालिङ राईलगायत ६ सय जनाभन्दा बढीको उपस्थिति रहेको थियो ।
ठुलो चिन्ता (हिया सल्मा) सम्पन्न गर्न दाजुभाइलगायतबाट ६ लाख ५० हजार रुपैयाँ उठेको थियो । सोही रकमबाट ५ लाख रुपैयाँ जति खर्च भयो । भेटी स्वरूप १ हजार ३ सय रुपैयाँ उठेको थियो । जम्मा २२५ (मिचिनुङ) घरधुरी दाजुभाइहरूबाट तीन चुलाको खरानी भेला भएको थियो । यसैगरी ४२ घर छोरीचेलीले माइतीघरको शोभा बढाउनु भएको थियो ।
यसरी निर्धारित समय तालिकामा हिया सल्मा सम्पन्न गरेका छौं । हिया सल्माको अध्यक्षता रासेस केन्द्रीय अध्यक्ष चन्द्रकुमार राईले गर्नु भएको थियो भने प्रमुख अतिथि किरात राई चाम्लिङ खाम्बातिमका केन्द्रीय अध्यक्ष युवराज राई रहनु भएको थियो । विशेष अतिथिमा किरात प्रज्ञा प्रतिष्ठानका कुलपति जयकुमार राई, रासेसका पूर्व केन्द्रीय अध्यक्ष धनकुमार राई, उपमेयर विशण राई हुनुहुन्थ्यो ।
यो कार्यमा भारतको सिक्किमबाट कमल राई, बेलायतबाट समाजसेवी राष्ट्रकुमार राई र किरात राई चाम्लिङ खाम्बातिम बेलायतका अध्यक्ष जयपाल राईको आतिथ्य रहेको थियो । जिल्ला प्रहरी प्रमुख डिएसपी मन्जिल मुकारुङ, दिक्तेल रुपाकोट मझुगढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, वडा नं.९ का वडाध्यक्ष दिनेश कठायत, किरात राई चाम्लिङ खाम्बातिमका जिल्ला अध्यक्ष ध्यानबहादुर राई, किरात राई यायोक्खा जिल्ला अध्यक्ष युग्सन किराती, भोजपुरको रामप्रसाद राई गाउँपालिका–१ का वडाध्यक्ष जोगेन्द्रकुमार राई (रानाहोंछा) र टेम्के मैयुङ गाउँपालिका–९ का वडाध्यक्ष नभराज माङपाहाङ लगायत सहभागी रहुनु भएको थियो ।
रासेस केन्द्रीय महासचिव तलबहादुर राई, सचिव मेघराज राई र रासेस क्षेत्रीय समिति काठमाडौंका सचिव बिकास राईले पालैपालो कार्यक्रम संचालन गर्नु भएको थियो । कार्यक्रममा व्यवहारिक कारणले रानाहोँछा वंशहरू भारत सिक्किम राज्यका पूर्व मुख्यमन्त्री डा. पवन चाम्लिङ, नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक टेकप्रसाद राई र नेपाल ललितला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा कवि चन्द्र रानाहोँछा, रासेस काठमाडौंका सल्लाहकारहरू साहित्यकार मदन राई लामाखुले, समाजसेवी जितेन्द्र राई, अधिवक्ता तिलक राई, रासेस काठमाडौंका अध्यक्ष क्या. जुक्तिमान राई उपस्थिति जनाउन सक्नु भएन ।
कार्यसमिति तथा उपसमितिमा रहेर वंशहरू चन्द्रकुमार राई, नन्दकेशर राई, ऋषिधन राई, टबिन्द्र राई, जोगेन्द्र राई, रानाहाङ इन्द्र, उदय राई, महेन्द्र राई, गौतम राई, रानाहोँछा अनिश, बुद्धिराम राई तथा यम राईले महत्वपूर्ण सहयोग गर्नु भएको थियो । हामीले ठुलो चिन्ता हिया सल्मा (स्योल्मा)को भिडियो, फोटो खिचेका छौं । वृत्तचित्र सम्पादनको चरणमा रहेको छ ।
हिया सल्माले दिएको सन्देशलाई तीन बुँदामा
१) किरात राई चाम्लिङभित्र रानाहोंछा वंशहरू देश–विदेश जहाँ रहेपनि वंश भेटघाटले आपसी एकताको भावना जगाएको छ ।
२) मुन्दुमी कार्य ठुलो चिन्ता (हिया सल्मा) गर्नु पितृपुर्खाको सत्कार र आशिर्वाद लिने काम हो । यसका निम्ति हामी वंशहरू एकजुट हुनुपर्छ र फेरि फेरि पनि जुटिरहन प्रेरणा मिलेको छ ।
३) चाम्लिङ राईको पहिचान भनेको हामीले बोल्दै आएको मातृभाषा र मुन्दुम संस्कृति परम्परा हो । पहिचान जोगाउन हामीले मुन्दुम संस्कार, परम्पराको पालना अनि मातृभाषा बोल्न, लेख्न, पढ्न, पढाउन, मुन्दुम परम्परा सिक्न, सिकाउनका निम्ति संस्थागत पहल गर्न सजिलो भएको छ ।
(लेखक चन्द्रकुमार राई, रानाहोंछा सेवा समाजको केन्द्रीय अध्यक्ष हुनुहुन्छ । प्रस्तुत आलेखलाई प्राज्ञ तथा कवि चन्द्र रानाहोँछाले सम्पादन गर्नु भएको हो ।
यो आलेख ‘इक लिब्जु–भुम्जु’ त्रैमासिक, वर्ष ९ अंक ४, पूर्णाङ्क १९ (लिब्जुभुम्जुको ९२औं शृंखला), २०७९ माघ–चैत अंकमा प्रकाशित छ । सम्पादक)