किराती ढोगभेट परम्परा ‘भुइँसोरी सेवा’ सार्वजनिक

समाचार

लिभु संवाददाता
काठमाडौं– किरात जाति र समुदायमा मान्यजनसँग भेटघाट हुँदा गरिने ढोगभेट गर्ने शब्दलाई ‘भुइँसोरी सेवा’ भनिन्छ । भुइँसोरी अभिवादन दुई हातले भुइँ छोएर करजोरी गरिन्छ ।

यही संस्कृतिको अभिन्न पातोलाई लिएर पत्रकार तथा लेखक सचित राईको ‘भुइँसोरी सेवा’ गीत रचना भिडियोमार्फत् सार्वजनिक भएको छ । गायक थिरज राई र गायिका नुमा राईले स्वर दिएका छन् । थिरजकै संगीत रहेको गीतमा फणीन्द्र राईले संगीत संयोजन गरेका छन् ।

यो गीतको भाकासँगै विवाह कर्ममा गरिने सामाजिक परम्पराको मर्मलाई बुझाउने भिडियो बनेको छ । कलाकार सीता राई र माईलाइफ सुनुवारले अभिनय गरेका छन् । सानु लामाको निर्देशन र किरात बिन्द्र राईको कोरियोग्राफी रहेको छ ।

राई जाति एक, भाष अनेक, जसमा २६ वटा भाषा बोलिन्छन् । यस गीतमा नेपाली, चाम्लिङ राई भाषा र वाम्बुले राईको मौलिक पहिरनलाई प्रयोग गरिएको छ ।

थिरजका अनुसार गीतमार्फत् किरात संस्कृतिलाई देखाउने प्रयास भएको छ । गायक राईले यसअघि ‘दासी’, ‘कलियुग’, ‘यता टाले’, ‘लाहुरे’लगायत दर्जनौं गीत गाएका छन् । गायिका नुमा भ्वाइस किड्सकी फाइनलिस्ट हुन् ।

 

Leave a Reply

Your email address will not be published.