कृषि क्षेत्रको विकासका लागि झन्डै ८० करोडको लगानी

अर्थ / वाणिज्य

दाङ ।  कृषि क्षेत्रको विकासका लागि जिल्लामा करिब रु ८० करोड लगानी भएको छ । साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको रु २८ करोड ६५ लाख २७ हजार ४५७ अनुदान र सेवाग्राहीको रु ५० करोड ७९ लाख ६२ हजार २८४ गरी कुल रु ७९ करोड ४४ लाख ८९ हजार ७४१ लगानी भएको आयोजनाका जिल्ला संयोजक हरिप्रसाद शर्माले जानकारी दिनुभयो ।

शर्माका अनुसार, तरकारीसम्बन्धी २३, माहुरी २३, च्याउ १०, केरा खेती पाँच, जडीबुटी एक, कोल्डस्टोर दुई, बजार व्यस्थापन पाँच, अदुवा मसला उत्पादन प्रशोधन चार गरी कुल ८१ वटा उपआयोजनामार्फत सो लगानी भएकोे हो ।

यसरी सञ्चालन भएका उत्तः उपआयोजनामध्ये ५७ वटा उपआयोजना सम्पन्न भएका छन् भने तीन वटा योजना सम्झौता हुन नसकेको शर्माले जानकारी दिनुभयो । पछिल्लो समयमा जिल्लामा कृषिको क्षेत्रमा लगानी बढेसँगै प्रविधिसमेत फड्को मारेको जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण विकास अधिकृत पीताम्बर बस्नेतले जानकारी दिनुभयो ।

व्यापारिक, कृषि तथा पर्यटन महोत्सव शुरु 

यहाँ तेस्रो नारायणपुर व्यापारिक, कृषि तथा पर्यटन महोत्सव शुरु भएको छ । नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा घोराही उपमहानगरपालिका–१० नारायणपुरमा शुक्रबारदेखि महोत्सव शुरु भएको हो ।

कृृषि व्यवसाय एवं पर्यटनमा प्रोत्साहन ‘ दिगो अर्थतन्त्रका लागि अमूल्य योगदान’ भन्ने मूल नाराका साथ शुरु भएको महोत्सवमा व्यापारिक, पर्यटन, कृषि एवं अन्य स्टल राखिएका छन् । करिब एक लाख ५० हजार दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको सो महोत्सवमा करिब रु तीन करोडको आर्थिक कारोबार हुने अनुमान गरिएको नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक महेन्द्र दाहालले जानकारी दिनुभयो । महोत्सव माघ २४ गतेसम्म सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *