माघ २२, २०७४
रुम्जाटार (ओखलढुंगा) — सीता दाहाल हिजोआज राडीपाखी बुन्ने सीप सिकिरहेकी छन् । ‘सीपले आफंैलाई फाइदा हुन्छ भनेर सिक्न थालेकी हुँ,’ उनले भनिन् । रुम्जाटारकै छलकुमारी दाहाल पनि राडीपाखी बुन्न सिक्दै छिन् । गाउँकै गुरुङ समुदायले राडी बुन्ने गरेकामा हाल २० महिला राडीपाखी बुन्ने तालिममा व्यस्त छन् । तालिम लिनेमा अधिकांश गुरुङ समुदायभन्दा बाहिरका छन् ।

रुम्जाटारको राडीपाखी देशकै लागि प्रसिद्ध मानिन्थ्यो । तर, यो पेसा संकटमा पर्ने स्थिति बनेपछि लोप हुन नदिन विगत दुई वर्षदेखि निरन्तर तालिम दिन थालिएको छ । राडीपाखी उद्योग बचाउन यहाँ ‘वस्तु विकास केन्द्र’ स्थापना गरिएको छ । तालिममा सीप सिकेका धेरैजसो महिलाले बुढेसकालमा जीविका गर्नका लागि राडी बुन्न सिक्ने गरेका छन् । ‘अब छोराछोरी जागिरे भए, गाउँमा बस्दैनन् । आफू घाँस बोक्न, वस्तु पाल्न सकिन्न,’ मीनकुमारी दाहालले भनिन्, ‘यो काम जानियो भने यसो बुढेसकालमा घरैमा बसेर आँखाले देखुन्जेल गर्न सकिन्छ भनेर सिकेकी हुँ ।’
संकटमा उद्योग
राडीपाखी बुन्न सञ्चालन गरिएको तालिममा ४० वर्षमुनिका सहभागी थोरै मात्र छन् । राडी बुन्दै आएको पुरानो पुस्ताले मात्र यो उद्योग बचाइरहेका छन् । युवा पुस्ता उद्योगमा आकर्षित भएको देखिँदैन । कोही पढ्न जाने, कोही छोराछोरी पढाउन जानेको संख्या बढदै गएपछि हाल गुरुङ समुदायभित्रै राडी बुन्नेको संख्या घटेको हो ।
रुम्जाटारमा ठूलो हूलमा भेडा चराउने दुई गोठ मात्र छन् । साना–ठूला गरेर जम्मा सात भेडीगोठ छन् । सो भेडी गोठबाट वर्षमा २२ क्विन्टल ऊन संकलन हुने गरेको छ । भेडा चरिचरनका लागि एउटा सामुदायिक वनलाई एकपल्टमा ५० हजार रुपैयाँसम्म रोयल्टी तिर्ने गरेको स्थानीय ढोलबहादुर गुरुङले बताए । उनले सोलुखुम्बुको दूधकुण्ड नजिकैदेखि उदयपुरको रौतासम्म भेडा चराउन लाने गरेको सुनाए । पहिले खुला रूपमा चराउन पाइने वन हाल सामुदायिक, कबुलियती र निजीमा परिणत भएपछि भेडा पाल्नै कठिन भएको उनले बताए । ‘मैले त भेडा पाल्दै छु ।’ ढोलबहादुरले भने, ‘मभन्दा पछि मेरै छोराछोरीले यो पेसालाई निरन्तरता दिन गाह्रो छ ।’ सरकारले भेडापालक किसानलाई निश्चित क्षेत्र तोकेर चरिचरन खुला गरे मात्र भेडापालन र राडीपाखी उद्योग बचाउन सकिने उनले बताए ।
बजार अभाव
राडीपाखीको अर्को समस्या बजार अभाव पनि हो । रुम्जाटारमा उत्पादित राडीपाखी जेनतेन बिके पनि सोचेजस्तो बजार पाएको छैन । बजारमा सस्तो मूल्यमा प्लास्टिकका चकटी र गलैंचा पाइन थालेपछि राडीपाखी ओझेलमा परेको उद्यमीहरूको भनाइ छ । ‘राडीको महत्त्व बुझ्ने घटिसके,’ पुराना उद्यमी प्रेमबहादुर गुरुङले भने, ‘सबैलाई सस्तो र हेर्दा राम्रो चाहिएको छ ।’
यहाँ उत्पादित राडीपाखी स्थानीय हाटबजार र विदेशमा रहेका नेपालीलाई कोसेलीका रूपमा बिक्ने गरेको छ । राडीको आकार हेरेर ३ हजारदेखि १२ हजार रुपैयाँसम्म मूल्य पर्न आउँछ । उद्यमीहरू उत्साहित हुने किसिमले राडी बिक्न सकेको छैन । ‘सरकारले जसरी पस्मिना र गलैंचा बिक्रीका लागि अन्तर्राष्ट्रिय बजार खोजिदिन्छ,’ उद्यमी पदमकुमारी गुरुङले भनिन्, ‘त्यसरी यसको बजार प्रवद्र्धन गर्न सरकारले सहयोग गरे उद्योगीहरूलाई प्रोत्साहन हुने थियो ।’
राडीपाखी बुन्ने शैली परम्परागत भएकै कारण मूल्य केही महँगो हुने गरेको छ । एउटा राडी बुन्नकै लागि एकजनालाई एक साताभन्दा बढी लाग्ने गर्छ । मिहिनेत र समयअनुसार हाल बिक्री मूल्यसमेत सस्तो भएको उद्यमीहरूको भनाइ छ । यसलाई नयाँ प्रविधि र वैज्ञानिक उपकरणमार्फत उत्पादन गर्न सके सस्तो र राम्रो हुन सक्ने अनुमान छ । रुम्जाटारमा बन्ने राडीपाखी भेडाहरूको प्रजातिमध्येमा पनि ‘सुनभेडा’ को ऊनबाट बन्ने गर्छ । भेडाको ऊनमा कुनै पनि कच्चा पदार्थ मिसाइन्न । धार्मिक र सांस्कृतिक रूपले यसलाई चोखो मान्ने परम्परा छ ।
कान्तिपुर दैनिकमा छापिएको छ ।