‘लकडाउन’ले उब्जाएका केही तरंगहरू

पत्रपत्रिका

चैत्र २०, २०७६

प्रा. नोवल किशोर राई

काठमाडौँ — हाम्रो नेपाल सरकारले ‘लकडाउन’ को घोषणा गर्न अघि नै चैत ३ गतेका दिन हाम्रा छोरीहरू नुमा र निनाम्माले हामीलाई ‘सेल्फ क्वारेन्टाइन’का निम्ति घरबाट कतै नगई ‘सोसल डिस्ट्यान्स’ गर्ने सल्लाह दिएका थिए ।

उनीहरूको आमालाई कस्तो लाग्यो कुन्नि मलाई भने ‘म किन हाउस एरेस्ट भएर बस्ने?’ भन्ने जस्तो अहम जागेर आयो। देशबाहिर रहेका आफूभन्दा अलि ज्यादै संसार बुझेका छोरीहरूसँग भाइबरमा निक्कैबेर वादविवाद चल्यो। आखिरमा मैले नै ‘मिड प्याक’ गर्न कर लाग्यो। मैले फेरि सम्झें यो काम त उनीहरूको लागि भन्दा पनि आफ्नै लागि हो भन्ने ठानें अनि मानें पनि। तसर्थ म चैत ३ गतेदेखि नै कडा लकडाउनमा बसेको छु।

अझ मैले यसो पनि ठानें, समयमा हाम्रो देशका केही असल नेताहरू पनि नजरबन्द र जेल–नेलमा बसेका हुन्। आजभोलि जेसो गरे पनि म्यान्मारकी नेता आङसाङ सुकी र दक्षिण अफ्रिकी प्रिय नेता नेल्सन मण्डेलाहरू त कति कठोर जेल–नेल भोगेर आएका हुन् नि। म त आफ्नै लागि त्यो पनि केही हप्ता वा महिनाका निम्ति किन अटेर गर्ने? किन यो पहेंलो पातलाई हावाहुरीबाट नबचाउने? भन्ने ज्ञान फुर्‍यो। त्यस दिनदेखि मैले आफ्नो आँगनको गेटको फाटक खोलेर बाहिर पाइला हालेकै छैन। धन्यवाद छोरीहरू। आमा पापाको भलाइका निम्ति तिमीहरूको सल्लाह, अनुरोध, (आदेश?) भनेर खुशी छु म।

आज यसो पछाडि फर्केर हेर्नलाग्दा दुई साताभन्दा ज्यादा भए म यसरी बसेको। यी दिनहरूमा घोत्लिएर बस्दा मेरा मानसपटलमा छल्किएका छालहरूलाई कोर्ने धृष्टता गरेको छु। अनेक छालहरूमा यो ‘होम क्वारेन्टाइन’ ले दिएका फाइदा र नोक्सानीलाई यसरी कोर्ने काम गरेको छु।

फाइदाहरू

१) मैले यो कामले ‘कोरोना भाइरस’ आफू र अरूलाई सारेको छैन।

२) लखरलखर सहर चहारेर फोहर फैलाउने काम पनि गरेको छैन।

३) काम बेकाममा गल्ली र गल्छेडो नापेर मैले आफ्नो गोजी दुलो पनि पारेको छैन।

४) बाल्यकाल (विद्यार्थी अवस्था), गृहस्थी आश्रम, वानप्रस्थ आश्रम नाघ्नै लागेको यो अवस्थामा आफ्नो घरमा यति व्यवस्थित र अनुशासित भएर अविछिन्न रूपमा पहिले कहिल्यै बसेको थिइन, यसै पाली हो। पक्कै पनि मेरो ‘होम मिनिस्टर’लाई खुसी लागेको हुनुपर्छ। हाम्रो बिहा भएकै बेला पो किन ‘लकडाउन’ भएन भनेर पनि सोच्न पुग्छु। भरखरै बिहा भएका र ससुराली नभएका युवाहरूलाई छड्के सलामका साथ बधाई !

५) परिवारमा सँगै बस्ने र सँगै खाने पिउने अवसर जुटेको पनि छ। आमाबाबुको माया र छोराछोरीको सेवा प्राप्त भएको यो कस्तो अनुपम संजोग !

६) हरेक सुनौलो बिहानी र रुपौलो साँझतिर आफ्नो घरको छत माथिबाट मातातीर्थ, चन्द्रागिरी र ठूलो हात्तीवनका डाँडाहरू कति सुन्दर, शान्त, स्निग्ध देखिन्छ। कुनै कुनै दिन पानी पर्ने र चैतेहुरी चल्दा यी पहाडहरू भरखरै स्नानगारबाट स्नान गरेर फर्किरहेकी षोडषीजस्तै पनि देखिदा यो अधबैसे मन पनि !

७) अहिले म मेरो आँगनको अम्बकको बोटमुनि बसेर आकाश हेर्दा मेरै पान्थरे–इलामे आकाशजस्तै नीलो–नीलो देख्दा म खुशीले बुरुक्क उफ्रिन्छु। कवि सिद्धिचरणको ‘यो मरूस्थल’बाट यस्तो नीलो आकाश देख्न नपाएको कैयौं वर्ष भएको थियो।

८) दूरदराजबाट ‘भाग्यको लहरमा लहरी लहरी’ अवसर खोज्दै हिंडेका हामीले यो ‘मण्डला’लाई भारी बोकाएर उकुसमुकुस भई बसेकामध्ये एउटा ठूलै जत्थाले चारभन्ज्याङ नाघेर जाँदा यो उपत्यकाले अलि सजिलै सास फेर्दैछ क्यारे ! सडकमा हल्ला, धुलो, हिलो र भीडभाड छैन। सडक र गल्लीमा तैछाड–मैछाड गर्दै दगुर्ने चक्काहरूले आराम पाउँदा हामीले पनि हाम्रो फोक्सोको सफाइ अनुभव गर्न पुग्छौ ! हाम्रो मुटुको स्पन्दन सुन्न सक्छौं।

९) आफ्नो पाठ्यक्रमभित्रका पुस्तकहरूमात्र रट्न पर्ने विद्यार्थीहरू नयाँ नयाँ विषयका पुस्तकहरू पढेर ज्ञानको फाँट बढाउन पाउने अवसर हो यो। स्रष्टाहरूले कति नवीन सृजना गर्ने होलान् यो ‘लकडाउन’को बेला !

१०) सहरको कोलाहलबाट गाउँघर पुगेर कतिले बाँझिएको बाँझो फोडेर अन्न लहलह पार्ने अवसर एकातिर छ भने आफन्तहरूलाई भेटेर रमाउन पाउने अवसर पनि त हो। यसअघि दशैमा मात्र यति लामो विदा पाउने थियो नि।

११) म जस्तो ‘परपरे मुख’ र ‘छुकछुके बानी’ले अलि मौन र शान्त भएर शरीर र मनलाई शुद्ध र स्फूर्त बनाउने अवसर पनि हो है।

१२) ठूलाले सानालाई हेप्ने होच्याउने गरेकोमा आज ‘कोरोना’ले सबैलाई बराबरको त्रास दिएकाले ठूला साना बीचको भेद कम भएको हो कि त !

१३) हुने खानेले मनपरी अन्नपानी वा अरू उपभोग गरेर लापरबाही गरेर आएको अवस्था कम भए सबै कुरा जतनका साथ उपयोग गर्नुपर्ने बानी बसाल्ने अवस्था आयो।

१४) आजभन्दा कैयौं वर्ष पहिले नै प्रख्यात अर्थशास्त्री माल्थसले जनसंख्याको नियन्त्रण प्रकृतिले स्वयं गर्दछ ! मान्छेले चिन्ता लिनै पर्दैन भनेर बढ्दो जनसंख्या स्वतः प्रकृतिले घटाउने कुरा बताएका थिए। जसलाई ‘माल्थसको जनसंख्या सम्बन्धि सिद्धान्त’ भनिन्थ्यो। त्यो आज सिद्ध हुन्छ कि भन्न मिल्ला !

अब कोरोनाका कारणबाट बन्द हुँदा नोक्सानी कस्ता कस्ता होलान् त भनी मेरो मनमा उब्जेका तरंगहरू निम्नानुसार कोरेको छु।

नोक्सानी

१) प्राकृतिक रचनाहरूबाहेक मानव निर्मित यन्त्रहरूको सञ्चालन, प्रयोग, उपभोग एकदमै कम भएकाले अभाव, असुविधा र अनेक अप्ठ्याराहरू झेल्न परिरहेको छ। रेल, मोटर, हवाई जहाज नचल्नाले कस्तो कठिनाई भोग्न परिरहेको छ।

२) मानिसले आफ्नो बौद्धिक, मानसिक, शारीरिक क्षमताका कारण अनेक सुविधाका उपायहरू सृजना गरेकामा अब ती धेरै कुराहरूमा ‘ब्रेक’ लागेर दुर्घटना भएको छ।

३) कठिनाइ र आपतको यो ठूलो भुँवरीमा हामी व्यक्ति, समाज र देश उस्तैउस्तै प्रकारले होमिएका छौं। ‘बाख्रालाई बाख्राकै सिङ र भैंसीलाई भैंसीकै सिङ भारी’ भनेजस्तो भएको छ।

४) हामी मान्छे यति स्वार्थी भएका छौं कि आफैंले आफूलाई पुग्ने खानेकुरा र अन्य साधन स्रोत जम्मा गरेर अरूलाई चटक्कै बिर्सेर ‘आफूसुके’ भएका छौं। निर्धा, दुब्ला र गरिब–निमुखाहरू ‘मर्नु न बाँच्नु’ हुन पुगेका छन्। उनीहरूलाई ‘राम भरोसे’ बनाएका छौं।

५) हाम्रो अज्ञानता, मूर्खता र बडप्पनको स्वभाव सतहमा छर्लङ्ग आएको छ। ‘सेल्फ क्वारेन्टाइन’ मा आफैं बुझेर बस्नु पर्नेमा सरकारले अनुरोध गर्दागर्दै पनि सडकमा बर्दीधारीको ‘गोरू चुटाइ’ खानु परेको छ। आफ्ना छोराछोरीलाई डाक्टरले ‘क्वारेन्टाइन’ मा राखेको देख्दा नबुझेर डाक्टरलाई हात हाल्न पुग्ने ‘बलवान पिता’हरू पनि हाम्रै समाजमा रहेछन्। अमुक देशको अमुक कम्पनीको अमुक मालझैं यो कोरोना भाइरस पनि हो भनी ठान्ने कथित नेताहरू पनि रहेछन्। अनि घर बाहिर निस्केकै दोषमा निर्घात कुटेर थला पारेर फेरि अस्पताल पुर्‍याउनु पर्ने सुरक्षाकर्मी पनि देखिए।

६) धन्सारभरि अन्न थन्काएर वर्षभरि पुर्‍याउने आँगनमा ठूलाठूला थाँक्रा ठड्याएर मकै साँच्ने बानी हराएर छेउकै ढावाबाट मोमो, चाउमिन, थुक्पा र पिज्जामा भर पर्ने दिन पनि गए कि कसो हो जस्तो छ। लसुन, प्याज, बेसार, अदुवा, कागती, टिम्बुर, पुदिना, जरिङ्गो, छ्यापी जस्ता वनस्पतीको सेवन गरेर शरीरको रोग निरोधक क्षमता विकास गर्नुपर्नेमा ‘वाईवाई र चटपटे’ले भरिएको यो भुँडीले कसरी धान्ला हाम्रो यत्रो शरीर?

७) अर्थशास्त्री माल्थसले भनेको जनसंख्या नियन्त्रण त कोरोनाले गर्ला तर यो ‘लक डाउन’ अवधिमा चालु हुने युवा समुदायको क्रियाकलापले कति जनसंख्याको वृद्धि गर्ला? भन्ने कल्पना गर्नु पनि त पर्‍यो होला नि ! ६० वर्षभन्दा माथिका वरिष्ठ नागरिकको जनसंख्या घट्नुभन्दा अबको दश महिनादेखि वर्ष दिन भरिमा धर्ती टेक्ने कनिष्ठ बालकहरूको संख्या पक्कै पनि तेब्बर नहोला भन्न सकिन्न। कुनै समयमा न्यूयोर्क सहरमा एकछिन बिजुली बत्ती नबलेर अँध्यारो हुँदाका बखतमा बढेको जनसंख्याको कुरो पनि सुनेकै त हौं !

८) केही वर्ष अघि देशमा भूकम्प आउने ठूलो हल्ला चलिरहँदा एकजना चङ्खे मित्रले भनेका थिए ‘अब भुइँचालो आउने रे कतिजना मर्ने हुन्? अनि कतिजना बाँच्ने हौं?’ भन्नेखाले समावेशी र असमावेशी वाक्य यो प्रकोपमा पनि दोहोरिएला नि !

यो ‘लक डाउन’मा उठेका जोड घटाउका यी लहरहरू यस्तै हुन्। तपाईहरू पनि यस्तो गोरेटेमा हिंडिरहनु भएको भए आ–आफ्नो पोकाहरू खोल्नु भए मिलेर सहयात्रामा रमाइलो नै होला।

पहेंला पातहरू हावाहुरीबाट जोगिने यत्न गरौं। नयाँ र हरिया पातहरू पनि रूखै ढल्न सक्ने सम्भावनाको याद राख्ने होऔं।

अन्तमा, मलाई यसो भनुँभनुँ जस्तो लागेको छ– यो कोराना भाइरस अब लगभग संसारका २०२ देशहरूमा फैलिइसकेको छ। यसको विरूद्ध लड्न व्यक्ति–व्यक्ति, परिवार–परिवार, समुदाय–समुदाय अनि सबै राष्ट्रहरू एक लयमा जागरूक, सचेत र सकारात्मक भएर लाग्नु पर्दछ। अर्कोतर्फ हेर्दा यो महामारीमा हामी आ–आफ्नो पूर्वाग्रह छाडेर ‘वसुधैव कुटुम्बकम’को विचारले माथि उठ्नु पर्छ। सचेत नागरिकले आफ्नो कर्तव्यको ख्याल राखेर आफू बच्ने अनि अरूलाई बचाउने काम गर्नु पर्‍यो।

अहिलेलाई ‘नागरिक अधिकार’ बिर्सेर ‘नागरिक कर्तव्य’को सोच राखौं। ‘म कोरोनाबाट अलग हुन्छु र अरूलाई पनि अलग रहन मद्दत गर्छु।’ भन्ने दृढ संकल्प लिएर काम गर्नु पर्‍यो। किनभने हामी नागरिक नै कर्मचारी हौं, हामी नै व्यापारी हौं र हामी नै सरकार पनि हौं। सबैको कल्याण होस्। सबैको जय होस्।

राई भाषाशास्त्री तथा जर्मनीका लागि पूर्वराजदूत हुन्।प्रकाशित : चैत्र २०, २०७६ १३:४२

https://ekantipur.com/bibidha/2020/04/02/158581362147075423.html

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *