स्वदेश फर्केर गाउँमै उद्यम

अर्थ / वाणिज्य

लिभु संवाददाता
काठमाडौं । वैदेशिक रोजगारीका क्रममा छ वर्ष दुबईमा बिताएका युवा मतिराज राई (वर्ष २९) स्वदेश फर्किएपछि आफ्नै गाउँमा उद्यम गर्दै हुनुहुन्छ । बिहान उठेदेखि रातपरिन्जेलसम्म व्यस्त हुनु उहाँको दैनिक हो । आफ्नै जन्मथलो ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका–३ कुर्बोमलुङ (सिस्कु) आफैंलाई व्यस्त तुल्याएका हुन् ।

यतिखेर उहाँको खोरमा लगभग ६५ वटा बाखा छन् । त्यसमा ४० वटा माउ छन् । अरु पाठापाठी, बोका र खसी छन् । ‘दुबईमा बस्दै गाउँमा बाख्रापालन गर्ने योजना बनाएको थिएँ,’ उहाँ भन्नुहुन्छ, ‘फर्केलगत्तै सुरु गरेको दुई वर्ष भयो । सुरुमा त कतिपय साथीभाइ, अभिभावक, आफन्तले पत्याउनु भएको थिएन । अब चाहिं पत्याउन थाल्नु भएको छ । मैले छ लाख रुपैयाँभन्दा बढी नगद नै लगानी गरिसकेको छु ।’

वैदेशिक रोजगारीबाट बुवा र राजधानी ललितपुरमा बस्दै आउनु भएका आमासमेत गाउँ फर्केर मतिराजको उद्यममा समर्पित हुनु भएको छ । ‘मेरो कदमलाई सफल पार्न पापा मामा समेत घरगाउँ फर्कन मान्नु भयो,’ उहाँ भन्नुहुन्छ, ‘गाउँमै उपो, उमो (बाजे र बोजु) हुनुहुन्छ । बहिनीमात्र काठमाडौंमा पढ्दै छ ।’

परम्परागत पेसा बाख्रापालन गर्न थालेपछि यो व्यस्तता बढेको हो । पेसा परम्परागत भएपनि कृषि तथा पशुपालन सम्बन्धी आधुनिकीकरणको व्यवस्थाबारे जानकारी लिएर अघि बढ्नु भएको हो । सदरमुकाम दक्षिणतर्फ रहेको यो ठाउँ दुधकोसी नदी किनारमा पर्दछ । अधिकांश मानिस परदेश लाग्न थालेपछि यहाँका जग्गाजमिन धेरै बाँझो छन् । सिंचाईको व्यवस्थासमेत रहेको छ ।

‘जग्गा व्यवस्थापन गर्ने सोंचले कागती र केराखेती गरेको छु,’ बाख्रापालनका अतिरिक्त कृषि व्यवसाय अघि बढाएको जानकारी दिदै मतिराजले भन्नुभयो, ‘माथि रामपुरबाट कागती १ सय ५ बोट बिरुवा ल्याएर रोपेको छ । त्यसका निम्ति ३० हजार लगानी गरें ।’

त्यसैगरी १२ रोपनी क्षेत्रफलमा स्थानीय जातको केरा रोपेको जानकारी दिनुभयो । एकसयभन्दा बढी बोट छन् । परिवारै जुटेर स्थानीय केराको बिरुवा संकलन गरेर रोपेको हुनाले यसमा नगद लगानी गर्नु नपरेको मतिराज बताउनु हुन्छ ।

‘छिमेकमा बाँझो जग्गा प्रशस्त छन्,’ उहाँ भन्नुहुन्छ, ‘यदि कृषिमा लगानी गरेर खट्न सकेमा गाउँमै रोजगारी र आर्थिक उपार्जन गर्न प्रशस्त सम्भावना छ ।’

यो भेग मध्यपहाडी पुष्पलाल लोकमार्गको जयरामघाट खण्डभन्दा पाँच किलोमिटर दुधकोसी किनारामा पर्दछ । यही किनारा हुँदै सोलुखुम्बुतर्फ जाने सडकसमेत खन्ने क्रम जारी छ । सडकमार्ग पुगेसँगै यस भेगका कृषि उत्पादनहरूले बजार पाउन थालेका छन् ।

फोटो मतिराज राईको फेसबुकबाट

Leave a Reply

Your email address will not be published.