लिभु संवादददाता
ललितपुर – प्रदेश नं.१ सुनसरी इटहरीका सहकारीकर्मीहरूले प्रदेश नं.३ ललितपुरको सातदोबाटोस्थित शुभलाभ बहुउद्देश्यीय सहकारी संस्थाको भ्रमण अवलोकन गरेका छन् । इटहरी उप–महानगरपालिका–६ मा रहेको नेपाः बहुउद्देश्यीय सहकारी संस्थाका ३० जना प्रतिनिधि टोलीले यही २०७५ चैत ३ गते आइतबारका दिन अवलोकन गरेका हुन् ।

शुभलाभ सहकारी संस्थाका कार्यकारी अध्यक्ष तिखबीर राईले सहकारीकर्मी पाहुनाहरूलाई खादा लगाइदिएर स्वागत गर्नुभएको हो । २०६३ सालमा स्वामित्व लिएर अघि बढाइएको शुभलाभ सहकारीको ३ हजार २ सय सेयर सदस्य रहेको जानकारी दिनुभयो । शुभलाभ सहकारीको हालैमात्र आफ्नो भवन निर्माण सम्न्न गरी कारोबार सुचारु राखेको तथा बहुउद्देश्यीय अवधारणाअनुसार कृषि परियोजना सुचारु राखेको जानकारी दिनुभयो ।
संस्थाका उपमहाप्रबन्धक उमेशकुमार राईले शुभलाभ सहकारीको गतिविधि तथा प्रगतिबारे स्लाइडमार्फत् प्रस्तुत गर्नुभएको थियो । सेयर सदस्यलाई राहत योजना, सुत्केरी खर्च, बाल बचत, किरिया खर्चको व्यवस्था भउको बताउनुभयो । साथै सामाजिक उत्तरदायित्वअन्तर्गत ज्येष्ठ नागरिक सम्मान, रक्तदान, बागमती नदी सफाई अभियान, भोटो जात्रामा पानी वितरण, भूकम्प पीडितलाई राहत वितरण, विश्व वातावरण दिवसमा वृक्षरोपण लगायत क्रियाकलाप जारी राखेको उल्लेख गर्नुभयो । शुभलाभ सहकारी उत्कृष्ट जहकारी पुरस्कार–२०७१, उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार–२०७५, राष्ट्रिय सहकारी बैंकबाट प्रशंसापत्र प्राप्त गरेको जनाउनुभयो ।
नेपाः बहुउद्देश्यीय सहकारीका अध्यक्ष चित्रमान प्रधानले आफ्नो सहकारीबारेमा जानकारी दिंदै हाल १ हजार ३ सय सेयर सदस्य रहेका बताउनु भयो । उहाँले बाल प्रोत्साहन, ज्येष्ठ नागरिक सम्मान, ७० वर्षमाथिका र शारीरिक अपांगता भएका आफ्ना सदस्यलाई मासिक भत्ता, दुई सन्तानसम्म सुत्केरी खर्च दिन गरेको जनाउनु भयो । सदस्यहरूलाई किरिया खर्च तथा राहत, दुर्घटना खर्च, मृगौला तथा मुटु रोग पीडितलाई ५० हजार सहयोग प्रदान गर्ने तथा एम्बुलेन्स सेवामा १० प्रतिशत छुट दिने नीति लिएको छ ।
सहकारी ऐनप्रति सरकारको स्पष्ट नीति बन्न नसकेकोले बहुउद्देश्यीय काम गर्न गाह्रो भएको बताउनु भयो । ‘हामी धेरै सहकारी भएका र नमुना सहकारीहरूको उदाहरणीय कामको भ्रमण अवलोकन गरी आगामी दिनमा नयाँ कामको थालनी गर्ने सोंच राखेका छौं,’ शुभलाभको आतिथ्यप्रति धन्यवाद ज्ञापन गर्दै अध्यक्ष प्रधानले भन्नुभयो, ‘कृषि र प्लास्टिकरहित पेपर प्लेट उत्पादनको योजना बनाएका छौं ।’

त्यस अवसरमा शुभलाभकी महाप्रबन्धक ज्योतिका राई, संचालक समितिका सदस्यहरु सुनिल शाक्य, सागरकृष्ण सुनुवार, आङदावा शेर्पा, लेखा समिति संयोजक बिरेन्द्रकुमार लाखेलगायतको उपस्थिति रहेको थियो । नेपाः सहकारीका अध्यक्ष प्रधानले मायाको चिनो र शुभलाभका अध्यक्ष राईले ‘शुभलाभ स्मारिका’ आदानप्रदान गर्नुभएको थियो ।