घरबार बिहिनहरुको सहर ‘लिभरपुल’ !

बिचित्र संसार

भिम राई

भिम राई

जेमी कर्नर पुर्व ब्रिटिश सैनिक हुन् | उनि ‘रोयल लोजिस्टिकरेजिमेन्ट’ मा काम गर्दथे | इराकमा आफु संगै यात्रा गरिरहेका साथीको शरीर बमले धुजा धुजा बनाई दिएपछी उनि पनिबेहोस भए | केहि महिना हस्पिटलमा बसे | सात बर्षको सैनिक सेवा पश्चात सन् २००९ मा ‘मेडिकल डिस्चार्ज’ भएर आफ्नो प्यारो जन्मभुमि लिभरपुल फर्किए |

 

उनले ब्रेक रोडमा सानो आइटीको ब्यापार खोले | व्यापारको न्युन ज्ञानले उनि असफल भए | ‘मोर्गेज’ को घर बैकले लिलाम गरे | जसको परिणाम स्वरुप छोरो र श्रीमतीले उनलाई सधैको लागि छाडे | उनि बाध्य भएर आफ्नो दिदिको घर आइनफिल्डमा सरे | ‘मेन्टल डिसअर्डर’ को समस्यले उनले कतै काम पाउन सकेनन् | अनि बेरोजगार भाईलाई दिदीले धेरै लामो समयसम्म पनि राख्न सकिनन् | अब उनलाई भिखारी जीवन यापन गर्न बाहेक अन्य कुनै अर्को उपाए फुरेन |

 

उनि भौतारिदै बाटोमा निस्कीए | सन् २०१० देखि अहिलेसम्म उनि घरबारबिहिन भएर आफ्नो जीवनलाई लिभरपुलको गल्लीहरुमा खियाउदै छन् | त्यसैले हरेक बिहान सुर्यको कलिलो किरण संगै सेन्ट जोन मार्केटदेखि म्याथु स्ट्रीटसम्म उनि सदैब झुल्की रहेका हुन्छन् | आफ्नो बिशाल छातीमा इराक लडाईको बहादुरी तक्माको सट्टा कार्ड बोर्डमा ‘म पुर्व सैनिक हुँ |’ कृपया २० पेनी दिनु होला भन्दै बसी रहेका आजसम्म पनि उनलाई सजिलै देख्न सकिन्छ |

 

उनी त केवल एउटा अभिनयको पात्र मात्र हुन् | उनि जस्तै विभिन्न कथाका पात्रहरु बेलायतको गल्लि भरि यत्रतत्र छरिएका सहजै पाउन सकिन्छन् | सन् २०१० देखि कन्जरभेटिभ पार्टीको सरकार आउँदा लगभग १,७७० घरबार बिहिनहरु थिए | गत वर्ष २०१७ सम्ममा यो संख्या ह्वातै बढेर ४,७५० पुगेको छन् | तर अधिकारिक तथ्यांक पुस्टि हुन बाकी नै छ |

 

यता लिभरपुलको हकमा भने यो अलिक फरक छ | काउन्सिलको आधिकारिक तथ्यांकले १५ जना देखाउछ | करिब १५ जना त बोल्ड स्ट्रिटबाट सिधै लोर्ड स्ट्रिटसम्म पुग्दा धुजा धुजा परेको स्लिपिंग ब्यागबाट निस्केको भुवासंग डुबुल्की मारीरहेका होमलेसहरु छयास छ्यास्ती देख्न सकिन्छन् | जेहोस, काउन्सिलले पनि क्षमता अनुसार सक्दो प्रयत्न गरेको कुरो नगर पिता लर्ड मेयर जोएण्डरसन बताउछन् | बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म लङ्गसडेल स्ट्रीटमा ‘ह्वाइट चापल’ माउनीहरुलाई बस्ने बन्दोबस्त मिलाईएका छ, उनि भन्छन् |

 

ह्वाइट चापल पुग्दा त्यहाको कर्मचारी ग्यारी इंगलिस संग मेरोभेट भयो | उनि तिन पटक सगरमाथा आधार शिबिर र दुई पटक अन्नपुर्ण सरकट गरेका रहेछन् | ठमेलका भट्टी पशलका नामहरु उनलाई मुखाखर थिए | उनि नेपालप्रति असाध्यै माया गर्ने एक जना ‘स्काउच’ लिभरपुरेयिन रहेछन् | उनले सन् १९७५ देखि सुरु गरिएको च्यारिटिको बिषयमा मलाई नालीबेली बताए |

 

ग्यारिको सहकर्मी लिसाले आजभोली ब्रेकफास्ट बन्द भएको बताईन् | त्यै पनि दिउसो लन्च एक घण्टा रोटि र भटमास(बिन्स) अनि बेलुकी डिनर एक घण्टा ज्याकेट पोटाटोको बन्दोबस्त रहेको उनले भनिन् | तर त्यहा सुत्ने सुबिधा छैन रहेछ | धेरै जसो होमलेसहरु कुर्सीमा र कोही भुइँभरि बसेर आउने वाला जिन्दगीको बिषयमा घोत्लिएर सोची रहेका देखिन्थे |

 

बेलुकीको खानापछी उनीहरु ८ बजे देखि बिहानको ८ बजेसम्म क्यामडेन स्ट्रीटमा अबस्थित ‘लाब्रे हाउस’ मा सुत्न जाने रहेछन् | जुन कुरो काउन्सिलको कर्मचारी रिचार्ड जोन्सले मलाई बताए | उनिसंग मैले उनिहरु सुत्ने कोठार त्यहाँ ओछ्याइएका म्याटहरुको नजर मारे | तर सुरक्षाको दृष्टिकोणले हरेक रात ६० जनाभन्दा बढी सुत्न पाउदैनन् रहेछ, उनले भने | आगामी महिना मार्चको पहिलो हप्ताबाट अरु ४० जना सुत्न मिल्ने गरि माथिलो तला निर्माणाधीन अबस्थामा छन् भन्ने उनले बताए |

 

लाब्रे हाउसबाट एक जना अंग्रेज स्टेभेनसंग हामी ‘जोब सेन्टर’तिर लाग्यौ | उनले बाटोमा उनका जिन्दगीको धेरै वियोगान्त कहानीहरु सुनाए | पेसाले उनि पुर्व चोर रहेछन् | उनलाई भोक लाग्यो भने नजिकै दोकानबाट सान्डबीच (बट्टी) चोर्ने बानि रहेछ | जसको परिणामले उनि पटक पटक जेल परेका रहेछन् | अहिले पनि उनलाई जेलका ढोका ‘रिभलबिङ्ग डोर’ जस्तै लाग्ने रहेछ | एक पट्टीबाट पस्यो अनि अर्को पट्टीबाट निस्कियो |

 

केहि समय पछी हामी ‘जोब सेन्टर’ पुग्यौ | त्यहा पुग्ने बित्तिकै किथ हाइमसंग हाम्रो भेट भयो | सेताम्मे केस पाकेका किथ २५ वर्ष त्यहा काम गरिसकेका धेरै अनुभबी रहेछन् | उनले देख्ने बितिक्कै स्टेभेनको ठेगाना मागीहाले | बिचरा उनीसंग केहि परिचयपत्र थिएन | जबसम्म उनको ठेगाना, नेसनल ईन्सुरेन्स नम्बर, जन्म दर्ता प्रमाणपत्र, राहदानी वा गाडी चलाउने लाइसेन्स केहि छैन भने तबसम्म केहि सहयोग गर्न नसकिने कुरो उनले बताए | त्यसपछी उनि त्यहाबाट निस्के अनि एलियट स्ट्रीटतिर बिस्तारै बिलिन भए |

 

सेन्टरमा ‘युनिभर्सल क्रेडिट’ को अर्को डिपार्टमेन्ट रहेछ | त्यहाको कर्मचारी जेनीसंग मेरो हल्का कुरो भए | उनले आजभोली सबै सुचनाहरु अनलाइन मार्फत भर्नु पर्छ भन्ने मलाई जानकारी गराइन् | तर बाटोमा सुत्ने मानिसहरुलाई यो कति व्याबहारिक छ भन्ने कुरो उनीलाई पनि हेक्का हुनु पर्ने हो ? तै पनि मैले केहि भन्न सकिन |

 

त्यसपछी म ‘सिटिजन एडभाइस ब्युरो’ तर्फ लागे | न्युनतम नागरिक सल्लाहा लिनको लागि | त्यहाको कर्मचारी किम्बरलीसंग भेट भयो | उनले प्रत्यक सोमबार तर पुर्व भेट गर्ने बन्दोबस्त मिलाइएको सङ्ग मात्रै सल्लाह दिने कुरो बताइन् |

 

बिस्तारै काउन्सिलको वान स्टप सपतिर लागे | म त्यहा पुग्दा एउटी अधबैसे महिला रुँदै कार्यालय भित्र छिरिन् | उनलाई, मैले नजिकबाट राम्ररि नियाले | उनले पस्ने बित्तिकै रिसेप्सनमा फुड बैंकको भौचर मागिन् | यदि त्यो सम्भब नभए पाँच पाउण्ड पैसा दिनुहोस भन्न पनि बेर मानिनन् | उनि यहा आउनु अगाबै फूड बैंक पुगी सकेकी रहिछे | फुड बैंकले काउन्सिलको भौचर बिना खाना दिन बन्द गरेका जानकारी गराए छन् |

 

वान स्टपको म्यानेजर सम्मि ज्याक्सनले आजभोली भौचर बाड्न बन्द गरेको बताईन् | त्यी महिलाले न भौचर न पैसा केहि पाइनन् | खाली हात फर्कदै गर्दा अब बाकीरहेको उनको आँशु झार्दै सपबाट वाहिर निस्किन् | उनि केहि टाढा पुग्दासम्म मैलेहेरी रहे | ‘अब मेरो जिउने आधार सकिए छ’ भन्दै बर्बराउदै गईन् |

 

विधिको बिडम्बना ! यो मानब जीवनले बनाएको कस्तो अचम्मको नियमहरु छन् | मैले मेरो कदमहरु बिस्तारै अगाडी बढाए | मलाई कता-कता मानबिय जिन्दगिको यो अफ्ठ्यारा नियमहरुप्रति नमिठो लाग्यो | इतिहासमा धेरै लामो समयसम्म बिश्वको एक नम्बर अर्थतन्त्रको मुलुक बेलायत | र आज पनि बिश्वको छैटौ धनि रास्ट्र | ‘के बेलायत फिरंगिहरुको देश मात्र हो ?’ मलाई लिभरपुलको यो हालत देखेर केहि सोचनीय बनायो |

 

त्यसपछि मलाई लिभरपुल हाउजिंगतर्फ जाने उर्जा पलायो | रिसेप्सनमा घरबार बिहिन केभिनसंग भेट भयो | उनि एक महिना यता ‘होमलेस’ भएका रहेछन् | उनलाई लाब्रे हाउसमा ६० जना संगको होलसेल सुताईले जिन्दगि जाला जस्तो लागेन रे | कतै एक बेड रूम काउन्सिलको फ्लाट मिल्ला कि भनेर मुहार देखाउन आएका रहेछन् | रिसेप्सनिस्टले हाउजिंग बेनिफिटको लागी भर्ने एक ठेली फाराम दिएछन् | मुस्किलले सहि मात्रै गर्नु जान्दछु, भन्दै थिए | यति धेरै कागज कसरि भर्नु ? यो फाराम भर्नु र चन्द्रमा जानु उनलाई एक्कै हुन् रे |

 

उनिसंगै केहि बोल्दै कार्यालयबाट बाहिर निस्कियौ | सेन्ट जोन मार्केटको सौचालय प्रयोग गर्न उनले रहर प्रकट गरे | सौचालयको मुख्य द्वारमा क्लिनर सामुयल हडसनले बिरालोले मुसालाई झम्टेझैँ गरेर उनलाई रोके | सामले तत्कालै रेडियोबाट मार्केटको सुरक्षा अधिकृत झिकाए | सुरक्षा अधिकृत आईपुगे | उनले होमलेसले मार्केटको सौचालय प्रयोग गर्न पाउदैनन् भने |

 

मलाई सुरक्षा अधिकृतको यो भनाई प्रति अशाध्यै नरमाइलो लाग्यो | “किन पाउदैन ?” मैले बुझ्न खोजे | उनले घरबार बिहिनहरु लामो समयसम्म नुहाएका हुन्नन् | त्यसैले उनीहरुले सौचालय प्रयोग गरेमा दुर्गन्धित हुने र अन्य मानिसहरुलाई असुविधा हुने उनले बताए | एक्काइसौ शताब्दीमा मानब जिबनप्रति गरिएको तपाईको यो ब्यबहारले मलाई लज्जित तुल्यायो, मैले भने | यसो सोचे लन्डन, बर्मिंगघाम र म्यानचेस्टर पछाडिको चार लाख पचास हजार जनसंख्या भएको सबैभन्दा चौथो ठुलो सहर हो यो | यो सहरमा बस्ने मानिसहरुको हबिगत कहिले सुध्रने होला ?

 

त्यति मात्रै होइन | अझै यहा अचम्मको अर्को पाटो पनि छ | सहर मर्सी नदीको किनारमा अबस्थित छ | र किनारको सबैभन्दा नजिक जेसी हार्टलीले सन् १८४६ मा निर्माण गरेको ‘अल्बर्ट डक’ रहेको छ | जुन यस सहरको प्रमुख पर्यटकीय स्थल हो | जहा बिटल्सको म्याथु स्ट्रीट घुमेपछी लिभरपुल घुम्न आउने हरेक पर्यटकहरु त्यहा पुग्ने गर्दछन् | तर खेदको कुरो भिखारीहरूले यस स्थानमा पाइला टेक्नसम्म पाउने छैनन् | यदि उनीहरु यहा देखा परेमा पर्यटकहरुको मनमा माग्नेहरुको सहर लिभरपुल भनेर नराम्रो छाप बस्नेछ भन्ठानेर होला ? तर त्यहाको इस्टेट मेनेजर पुर्वसैनिक जोन मर्फिका अनुसार यो ब्यग्तिगत सम्पति (प्राइभेट प्रोपर्टि) भएकोले उनीहरुलाई बन्देज गरिएको हो भन्छन् |

 

माथि भनीए झैँ लिभरपुलमा होमलेसहरु जताततै भेटिन्छन् | तर धेरै जसो ओल्ड हल रोड नजिक बस्ने गर्दछन् | किनभने त्यो रोडको आसपासमा बेलायति अध्यागमन, राहदानीको मुख्य कार्यालय, स्थानीय पत्रिका इको, मुख्य सोलिसिटर्स कार्यालयहरु जस्तै हिल डिकिन्सन, डीडब्लु एफर एम एस बि रहेका छन् | जहाबाट उनीहरुले धेरैपैसा जम्मा गर्ने आशा गर्दछन् |

 

म त्यहा पुगे | दुई जना होमलेसहरुले तम्बु(टेन्ट) टागेका रहेछन् | प्रहरीले तिनलाई भत्काउन लगाउदै थिए | हिजो डीडब्लु एफ पछाडी सुत्दा प्राइभेट प्रोपर्टी भनियो | र सेक्युरिटीबाट लखेटियौ | आज यहा काउन्सिलको प्रोपर्टी भनिन्छ | अनि प्रहरीबाट लखेटिन्छ | भगवान! अनि हामी कहाँ जाने ? यदि तपाईको हिम्मत छ भने लगेर मर्सी नदीमा जिउदै बहाई दिनुहोस्भन्दै थिए |

 

अझै उनले थपे | बाटोको छेउमा सुत्दा आफ्नो गलामा चुरोट मारेको सहेको छौ | मन जले पनी जिऊ जलेर खरानी बनेनौ | अझै म ता हाती झैँ बनेका लिभरपुल फुटबल फ्यानले आफ्नो कानमा पिसाब फेर्दासम्म प्रतिरक्षा गर्न सकेको छैनौ | हामी केवल बाध्य छौ, बिबश छौ | केवल उभिदा चाहिने एक हात र सुत्दा चाहिने चार हात जमिन मात्रै मागी रहेको छौ, महाशय |

 

मलाई यो दृश्य र वियोगान्त भनाईहरुप्रति अजिब लाग्यो | अब उप्रान्त उनको बेदना सुन्न सहज लागेन | म धेरै दुखित भए | तर जति असह्य भए पनी परिस्थिति संग सामना गर्ने मसंग क्षमता थिएन |

 

पछाडी फर्के | मध्यान्हको मधुरो घामले नजिकै रहेको वेस्टटावर संग लुकामारी खेल्दै थिए | टावरको टुप्पोमा रहेको ‘पानारोमिक ३४’ रेस्टुरेन्टबाट लिभरपुलको पानारोमिक भ्यु राम्रो देख्न सकिन्छ | जुन ३४ तलामा अबस्थित छ | फाइन डाइनिंग टेबल नगिचै किम कार्दिसान जस्तो देखिने बेयराहरुको त्यहा खुब चर्तिकला हुन्छ | अर्ध बक्षस्थल हेर्दै बार्षिक आधा मिलियन तलब हसुर्ने ‘हिल डिकिन्सन’ को सोलिसिटरहरुले कोबे बिफको ‘फिलेट’ काट्दै गरेको दृश्य पनि त्यहा देखिन्छ | अफसोच ठिक ३४ तला मुनि जमिनमा बिगत दुई दिनदेखि भोक र प्यासले बेसाहारा भएको नागरिकलाई किमार्थ उनीहरुको हृदयले देख्दैनन् | धन्य छ, एकाइसौ शताब्दीको पुजिबादलाई |

 

आज बिहान लन्डन रोड जादै थिए | रातिको तापक्रम जिरो डिग्री भन्दा मुनि झरेछ | दुई चार जना घरबार बिहिनहरू लन्डन रोडमा जम्मा भएका सानो हुल देखे | कोहि रुदै पनि थिए | के भए छ भनेर मनमा कौतुहल जाग्यो | सायद हिजो कसैले राम्रो पैसा दिए होला र बिहानसम्म बिचराहरु माते होलान भन्ठाने | तर दुर्भाग्य ! एकजना होमलेसले रातीको जाडोमा सायद ‘हाईपोथार्मिया’ले मृत्यु भएछ | उनि लम्पसार परेर बाटोको छेउमा लडिरहेको थिए | र उनका वरिपरी अन्य बसेर मधुर स्वरमा रोइरहेका देखिन्थे |

 

धेरै बटुवाहरुले सदाझै मानेर वास्ता गरेका थिएनन् | मैले एक जनासंग खुसुक्क उनको नाम सोधे | केहि समय अगाडी म संग ‘जोब सेन्टर’ गएको बिचरा स्टेभेन रहेछन् | बेलायति घरबार बिहिनहरुको सरदर आयु ४२ वर्ष भएता पनि उनि ४० मा नै उनि हिडे | मलाई धेरै दुख लग्यो | एक्कासी आइरिस सागरबाट नरमाइलो आंधी बेहरी आयो | बिहानीको मेघ गर्जनले खाली आकाश दुई भागमा चिरिएको जस्तो अनुभूति भयो | यथार्त मानब जीवनको महत्वको बिषयमा घोत्लिएर एक क्षण सोची रहे |

 

उनी संगै २० पेनी माग्ने सहयात्री म्यारिले रुदै उनको मुखमा अन्तिम पटक एउटा २० पेनी राखी दिइन् | र अलिकति साइडर बियर उनको मुखमा खन्याई दिइन् | म्यारी बर्बराइन्, ‘प्रिय अब उप्रान्त तिमीले बाटोमा पैसा माग्नु पर्ने बाध्यता छैन |’ तिमी जेसस क्राइस्टको काखमा गईसक्यौ | स्वर्ग अशाध्यै राम्रो छ भन्ने सुनेको छु | हामी पछी उतै भेटने भन्दै बिदा गर्दैथिईन् | एकाध मनस्थिति लिएर म यो मन नपरेको दृश्य नजिकबाट नियाली रहेको थिए |

 

केहि क्षणमा एउटि बटुवा महिला नजिकै झुल्कीइन् | उनले अतालिदै ‘प्यारामेडिक’ लाई फोन गरि दिइन् | एम्बुलेन्स आइन्जेलसम्म उनका साथीहरु ९ जना भेला भैसकेका थिए | झसङ्ग मलाई मनमा एउटा कुरोको याद आयो | लन्डनमा कार्ल मार्क्सको मृत्यु हुँदा हाइ गेटसम्म जाने मलामी ९ जना भएका थिए | आज स्टेभेनको मृत्युमा सोहि संख्या दोहरियो |

 

त्यसरि देखेको योघटनाले मेरो मन विक्षिप्त भयो |

 

बिश्वको छैटौ धनि रास्ट्र बेलायत | एक जमानामा बेलायतको जमिनमा सूर्य कहिले अस्ताएन | तर आज घरबार बिहिन (होमलेस) जनता भोक र जाडोले कठ्याग्रिएर लिभरपुलको बाटोमा अन्तिम सास फेरेको आफ्नै आँखाले देखे |

 

अब यो बास्तबिक कथा मसंग नदोहोरियोस भनेर मेरो एउटा खुट्टा लिभरपुलको जमिन र अर्को आकाशतिर उचालि रहेको छु | अनि नया कर्म थलो तिर सर्ने साइत कुरेर बसी रहेकोछु |

 

bhimrai@hotmail.co.uk

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *