चाल्स डिकेन्स गाउँदेखि तल नदीपारी हिलेपानी या जाक्मा गाउँतिर जन्मेका हुन् जस्तो लाग्थ्यो–उ बेला । निम्न माध्यमिक तह पढ्ने एउटा अल्लारे ठिटो । डेभिड कपरफिल्ड वाम्बुले राई मातृभाषामा पढ्न पाउँथ्यो । लिब्जु–भुम्जु पत्रिकाको प्रायःजसो अङ्कमा चाल्र्स डिकेन्सको डेभिड कपरफिल्ड क्रमशः पढिरहदा यो चाल्र्स डिकेन्स भन्ने मान्छे गाउँ पारीको हाम्रै नाता पर्ने रहेछ जस्तो लाग्थ्यो । शायद, बाल्यकालमा गाउँको स्कुलदेखि टाढासम्मको यात्रामा निस्कने अवसर नपाएर पनि होला, यस्तो महशुस हुन्थ्यो ।
धेरैपछि थाहा भयो, डेभिड कपरफिल्ड विश्व प्रख्यात उपन्यास रहेछ । यसका लेखक चाल्र्स डिकेन्स इङ्गल्याण्डका नागरिक रहेछन् । उनले विश्व चर्चित ओलिभर ट्वीष्ट, ब्लेक हाउस, लिटल डोरिट, ग्रेट एक्सपेक्टेसन्स, अ टेल आफ टु सिटिज, निकोलास निक्लेबाई, क्रिसमस कारोलजस्ता थुप्रै पुस्तक लेखेका रहेछन् । त्यसरी, लिब्जु–भुम्जु पत्रिकामार्फत अङ्ग्रेजीबाट वाम्बुले राई भाषामा अनुवाद गरेर हामीलाई पढ्ने अवसर प्रदान गर्ने व्यक्ति अविनाथ राई रहेछन् । उनको साहित्यिक नाम क्वा¥वाङ्वाप्सी वाम्बुले, राई अवि पनि छन् । राई अवि राम्रो कविताको अर्को परिचित नाम हो ।
उनको परिचय भाषा अनुवादक मात्रै भनेर पुग्दैन । त्यतिमात्रै भनियो भने उनीमाथि न्याय हुदैन । नेपाली साहित्यमा राम्रो दख्खल त राख्छन नै, विशेषतः उनी राम्रो सृजना गर्ने सर्जक, वाम्बुले राई भाषाका पहिलो कोषकार, भाषा अनुसन्धाता, एक सेवानिवृत्त सरकारी कुशल अफिसर हुन । यतिखेर, उनको तेस्रो कृति मेरो हातमा परेको छ । क्वाल खातिर अर्थात एउटा विस्मात । वाम्बुले राई र नेपाली दुबै भाषामा प्रकाशित संयुक्त कविता सङ्ग्रह हो–क्वाल खातिर ।
आजकल थुप्रै सतही कविताहरु भेटिन्छन् । सामाजिक सञ्जालदेखि जताततै पढ्न पाइन्छ । यसो भनौँ, अझ धेरै–सरोगेसी अर्थात नक्कले कविता बग्रेल्ती छन् । दुईचार हरफ पढेपछि आँखा अगाडी बढ्दैन । कविताले छुदैन । काव्यबाहेक अरु आख्यनलगायत पनि लेखाईभन्दा देखाई धेर हुन थालेका छन् । कृतिको जति विज्ञापन–प्रचार हुन्छ, त्यति खुराक भेटिदैन । तै पनि ऊ (लेखक) रिसाउँछ कि भनेर वाह गज्जव ! भन्दिनु पर्छ । नत्र, बोल्ती बन्द हुन्छ ! यस्तो दुर्दशाबाट गुज्रिदै गएको नेपाली साहित्य कता जाने हो ? थाहा छैन । हुन पनि यो भनाई ठीक हो जस्तो लाग्छ, कविता लेख्नेहरु सबै कवि हुदैनन् । र, भनिएका सबै कविता, कविता हुदैनन् । तर, यस सन्दर्भलाई ओझेल पार्न यो कविता सङ्ग्रह क्वाल खातिर जबर्जस्त उभिएको छ । कविताले कसरी मानवशरीर आत्माभित्र अनौठो उर्जा, जाँगर र शक्ति सशक्त सञ्चार गरिदिन्छ ! क्वाल खातिर पढेपछि थाहा हुन्छ ।
कवि अविको रस्ती–वस्ती र परिस्थिति बुझेपछि उनको कविता बुझिन्छ । कविताभित्र काव्यत्मक सौन्दर्यको मीठास भेटिन्छ । रस्ती भनेको उनको सभ्यता, संस्कार र जीवन दृष्टि हो, वस्ती भनेको उनले भोगेको दुनिया हो । र, परिस्थिति भनेको समयले सुम्पिदिएको पछिल्लो जीवनको कालखण्ड हो । उनको कविता पढेपछि एक गम्भीर प्रकृतिको कवि भेटिन्छ । एउटा छुट्टै खाले नयाँ काव्यरस, सभ्यता–संस्कृति र सौन्दर्यशास्त्रसँग प्रत्यक्ष सात्क्षात्कार गर्न पाएको अनुभूति हुन्छ । उनले भोगेका, देखेका समाजका सबै दृष्यालाई भव्यताका साथ कलात्मक ढङ्गले पस्किएका छन् ।
कविताका हरफ र पङ्तिहरुले मानिसहरु विपन्नताका कारण आफ्नै आफन्त र भूगोलदेखि टाढा हुनुपर्दा भोग्नुपरेको सबै खाल्का मानसिक र भौतिक मनोदशालाई मार्मिक रुपले उठाएको भेटिन्छ । सङ्ग्रहभित्र साह्रै मीठासपूर्ण सम्झनाहरु धेरैजसो सोक्मटार, जुरेथुम्का, पाखा–पखेरा ब्युँझन्छन र बाँकी यात्रामा हिड्छन् । कविताहरु पढिरहदा एउटा पाठक आफ्नै परिवेशमा पुग्छ । विगतका सुनौला क्षणहरुसँग रमाउँछ । छहरा–छाँगामा खेल्छ । आफ्ना अकिञ्चन र निश्छल दौतरीहरु भेट्छ । त्यो मनोरम हराभरा स्वर्गप्रति आफुले गर्न चाहेको अभिव्यक्ति र अनुभूति कविताभित्र पाउँछ । पहिलो पटक कलिलो पाइला टेकेको त्यो स्वर्ग ! जसको लागि केही गर्न नसकेको मनभरि एउटा विस्मात सँधै भइरहन्छ ।
…..
अभाव किनेर जिन्दगी धानिरहेछु
प्रत्येक महिना,
संचयकोष मार्फत ह्रासकट्टी गरिएर
घट्दो बुकभ्यालुुको जागिरे जीवन
साँचिरहेछु
भन्नै सकिनँ अन्तरे
म जिन्दावाद कि मुर्दावाद ?
बाँचिरहेछु ।
अब त–
मन्दरे पाखामा आँप फल्न थालिसक्यो होला
पानी घट्टामा भङ्गालो छुट्न थाल्यो होला
धयेँरो र खयरमा पालुवा लाग्न थाले होलान्
जक्ती र जुरेथुम्कातिर बाँसुरी बज्न थाले होलान्
ऊ त….ल दुधकोशी उस्तै नागवेली भएर बग्दै होला
टाढै भए पनि सम्झना
साँचिरहेछु
भन्नै सकिनँ अन्तरे
म जिन्दावाद कि मुर्दावाद ?
बाँचिरहेछु ।
सजिलो रहेनछ जिन्दगी
जस्तो कि,
उहिले हामी बच्चा हुदा
गैह्रा आहालमा पौडी खेलेजस्तो
छेपाराको टाउकोमा गुलेलीले ताकेजस्तो
रमाउँदै धयँरोका फूलरस चुसेजस्तो
खोला–खोल्सीमा गङ्गटा, गडेरी समातेजस्तो
यस्तै यस्तै मीठा सम्झनाहरु
साँचिरहेछु
भन्नै सकिनँ अन्तरे
म जिन्दावाद कि मुर्दावाद ?
बाँचिरहेछु ।
(सङ्ग्रहको प्रत्युत्तर कविताबाट)