संघीय चुनावका उम्मेदवारद्वय रामकुमार राई र सविता राईको प्रसंग

बी. मुक्काचो
‘डाक्डुम जाबा ? बिहे प्वाचो ?’ (मन पर्छ जेठा ? बिहे गर्ने ?) यी प्रश्नहरू थिए वाम्बुले राई भाषामा ।
मलाई अलिकति ठटौलो शैलीमा सोधिएका यी प्रश्नहरूले एउटा पुरानो र रमाइलो तीर्थ यात्राको पुनःस्मरण भइरहन्छ ।
ओखलढुङ्गा जिल्ला, मानेभन्ज्याङ गाउँपालिका वडा नं. ३ उँबु (वामड्याल) गाउँको पुछार खचापुभन्दा तल ह्वारेङगु भन्ने ठाउँमा दुधकोशी जंघार तरेर पैदल यात्रा गर्दै खोटाङको हलेसी मेला जाँदै थियौं । चैत महिनाको टन्टलापुर घाम र प्रचण्ड गर्मी थियो । दुधकोशी तरेपछि खोटाङ जिल्लाको अधिकारी बन, लुलिमा र धारापानी गाउँ उकालो हुँदै गेलुङ खोलाको शिर पुगेपछि तेर्सो लाग्यौं ।
दुर्छिम अर्थात् भूपूमन्त्री डिल्लीशेर राईको पुख्र्यौली गाउँ काटेर केही उकालो काटेपछि तेर्सो लागेर कातिके गाउँ पुग्नु अगाडि बर–पिपल रूखको बिसौनी चौतारामा खाजा खान बसेका थियौं ।
उता हलेसी मेलाबाट एक जना वैशालु केटी घोडा चढेर आइन् । काँशीराज राईको छोरी अरे । खासखुस कुरा चल्यो हाम्रो बगलमा । ‘आमास रान्जिमो नि ?’ (कत्ति राम्री हौ ?) मात्र भन्न भ्याएको थिएँ । त्यति कुरालाई पक्रेर गाउँका एकजना दाइले बाटैभरि गिदी ह्याबस हुने गरी मलाई बिल्ला गर्दै जिस्काउनु भयो ।
कुरो २०४१ वा ४२ सालतिरको थियो । म सानै भएकोले ती केटीको हुलिया र अनुहार मलाई याद छैन । यो अलि रमाइलो र नोस्टालजियाबाट प्रसंग शुरू गर्न मन लाग्यो ।
हामी सर्वसाधारण जनताले लेख्ने र बोल्ने भनेको चुनावकै बेला हो । चुनावपछि त कसैले केही सुन्ने र पढ्ने छैनन् । अहिले चुनावी चटारो छ । नेताहरूले भोट पाउनलाई अनेक हतकण्डा, नौटंकी र उधारो प्रतिज्ञा गरिरहेका छन् ।
सामाजिक सञ्जालमा रातारात भाइरल हुने र अल्गोरिदम अर्थात् कुनै पनि समस्या समाधान गर्न वा निश्चित कार्य पूरा गर्नका लागि पालना गरिने स्पष्ट, क्रमिक र तार्किक चरणहरूको समूह बनाउने जमाना छ । पछि चुनाव जित्ने नेताले जनता चिन्न छोड्ने छन् र हार्ने नेतालाई जनताले पनि गन्ने छैनन् ।
जसै नेपालमा आम निर्वाचन हुन्छ, तब म २०४२ सालतिर सम्पन्न राष्ट्रिय पंचायत सदस्य (रापंस) को चुनावी माहौल स्मरण गरिरहन्छु । म सानै थिएँ । तर पनि त्यति बेला भएको चुनावी वातावरणको धुमिल याद छ । रापंसमा ओखलढुङ्गा जिल्लाबाट उठेका उम्मेदवारहरूमध्ये लघुधन राईको नाम पनि खुबै चर्चित थियो ।
त्यो जमानामा धेरै पढेका बीए, बीकम, बीएल खै केके गरेका अरे भन्ने सुनिन्थ्यो । राजाजस्तो लाग्ने सुन्दर तस्बिरसाथ लघुधन राईको योग्यताहरूसमेत उल्लेख गरेर गाउँघरको धारा, चौतारा, रूख र घरका भित्ताहरूमा टाँसिएका पर्चा पाम्फ्लेटको पृथक आकर्षण छँदै थियो । लघुधन राईले खोटाङका डिल्लीशेर राईकी नातिनी अथवा काँशीराजकी छोरी बिहे गरेको अरे भनेपछि अर्को चर्चा र आकर्षण पनि थपियो । कसैको व्यक्तिगत र पारिवारिक मामला कोट्टाउन होइन । राजनीतिक सान्दर्भिकतालाई यो विस्मृतिमा जानु परेको हो । स्मरण रहोस्, स्वर्गीय लघुधन राई, जो वाम्बुले राई समुदायको पहिलो राष्ट्रिय सभा सदस्य तथा सांसद हुनुहुन्थ्यो । अहिलेसम्म अरु वाम्बुले राईहरू राजनीतिको त्यो तह र हैसियतमा पुग्न सकेका छैनन् ।
कुनै बेला एक शेर मासुमा नपत्याइएका तर पछि मन्त्री भए । जमिन्दार र धनाढ्य भनेर उबेला चिनिएका उत्तर–पूर्वी पहाडी जिल्लामा चर्चित डिल्लीशेर राईको अनेक किस्साहरू सुनेर हुर्कियौं । बाल्यकालमा हलेसी र त्रिवेणी मेला जाँदा डिल्लीशेरको छोरा काशीराज राईलाई देखेको थिएँ । कहिले घोडामा त कहिले पाँच सात जनाको हुलमा मेलातिर घुमफिर गरिरहनु भएको देखिनुहुन्थ्यो ।
पछि कटारी बजारबाट म आफ्नो मामाघरको घोड़ा चढेर कहिले उहाँको खेतीघर (फार्महाउस) सुघारे जान्थें त कहिले पानी खुवाउने र तालिम गराउने बहानामा माथि मरुवा र सगरवाससम्म पनि पुग्थें । त्यतिबेला कटारीमा मोटरबाइक हुनेहरू पनि औलामा गन्न सकिने अवस्था थियो भने घोडा चढ्न पाउनु पनि ठूलो कुरा थियो । त्यही घोडा चढ्ने र कुदाउने क्रममा बडेमानका काँशीराज राईसँग पनि कहिलेकाहीं आमनेसामने हुने गर्दथ्यो ।
यसपाली हामी एकै विद्यालय त्रिवेणी मा.वि. कटारीमा पढ्दै गर्दाको एक जना सिनियर दाइ (काशीराजका छोरा रामकुमार राई), जसले नेपाली काँग्रेसबाट टिकट पाएर संघीय संसद प्रतिनिधिसभा निर्वाचन २०७२ फागुन २१ गतेको निर्वाचन चुनावी मैदानमा उत्रिनु भएको थाहापाएर खुशी र गर्व लागेको छ ।
म २०४४ साल हिउँदमा ओखलढुङ्गाको राज्यलक्ष्मी मा.वि. उँबदेखि उदयपुरका त्रिवेणी मा.वि. कटारीमा पढ्न झरेको थिएँ । भूतपूर्व ब्रिटिश लाहुरे जेठा मामा पिर्थीबहादुर राई (दश गोरखा राईफल्स)को कृपाले गर्दा त्यो मौका जुरेको थियो ।
कटारी बजार गुलजार थियो । सिन्धुली, सोलु, ओखलढुङ्गा र खोटाङ जिल्लाको पायक पर्ने बजार कटारी बजार प्रमुख व्यापारिक केन्द्र थियो । त्यस भेगमा त्रिवेणी माविको समेत खुबै चर्चा हुने गर्दथ्यो । कटारी बजार वरिपरिका नेता, विद्वान, व्यापारी, साहु, महाजन, जमिन्दारहरूलाई चिन्ने जानने अवसर पनि मिल्यो । कटारी आसपास धेरै घरजग्गा हुनेहरूमा काशीराज राई, उज्जिरबहादुर राउत र डम्बरबहादुर थापालगायत थिए । तीर्थबहादुर श्रेष्ठ (माइला साहु), उद्धवराज भण्डारी, चन्द्रबहादुर श्रेष्ठ, झुलुम बिहारी (घोरघोरे), कुबेर र बिन्देश्वर शाह जस्ता व्यापारीहरूको बोलवाला थियो ।
गोपाल राई, अर्जुन खड्का, संजीव थापा, ज्ञानेन्द्र मानसिंह राउतजस्ता नेता र बौद्धिक व्यक्तित्वहरू बेलुकापख नेता चोकमा भेला भएर चिया गफ गर्दथे । युवाहरू त्यही चोकमा भेला भएर क्यारम खेल्ने, फुटबल खेल्न जाने र तावाखोलातिर नुहाइधुवाइको साथ कावा खान जाने चलन थियो ।
धनी बाउ काशीराजका छोराहरूमध्ये ईश्वर राई त्यो जमानाका नामूद फुटबल खेलाडी हुनुहुन्थ्यो । सोम राई अलि बिन्दास पाराका र प्रायः सबै खेलहरू खेल्ने आधुनिक टाइपको व्यक्तित्व जस्तो लाग्दथ्यो । इन्जियर भूपेन्द्र दाइ धेरै सिनियर हुनु भएकोले साक्षात्कार भएको छैन ।
दाजुभाइहरूमध्ये अलि छुट्टै बानी व्यवहारको जस्तो लाग्ने रामकुमार राईसँग विश्वराज ढुंगाना सरको घरमा ट्यूसन पढ्दा भेट हुने गर्दथ्यो । गोरखा मेजर भीमबहादुर राई (उना दीदी, उत्तम दाइ र सिरू दीदी)को घरको उत्तरी भागमा खाली चौर थियो । त्यहाँ बिहान बेलुका कहिलेकाहीं भलिबल र अहिलेको फुटसलजस्तो फुटबल खेल्ने गरिन्थ्यो । औद्योगिक शिक्षाको ड्रविङ गर्नुमा निपूण हुनुहुन्थ्यो– रामकुमार दाइ । बेलाबेला जुनियर कक्षामा क्लास लिंदा कडा मिजासको जस्तो लाग्थ्यो ।
राजनीतिक प्रसंग जोड्न चाहन्छु । शायद रामकुमार राई दाइले मलाई बिर्सिसक्नु भयो । कुनै दिन भेट भए ‘तिमी बिमल होइन ?’ भनेर एकछिन गम खानु होला । यदि सांसद भएर संसदमा पुग्नु भए हामी विदेशमा बस्ने गैरआवासीय नेपाली (एनआरएन) हरूले पनि मत दिन पाउने व्यवस्थाको बारेमा संसदमा आवाज उठाउनु होला । स्वदेशमै लगानीको सुरक्षा ग्यारेन्टीमात्र नभएर सीपयुक्त जनशक्तिको आदानप्रदान गर्नलाई पहल गर्नुहोला ।
साइनो केलाउने हो भने उहाँको भाइले मेरो मामाकी छोरीलाई बिहे गर्नु भएको छ । ‘नचिनेको भन्दा त चिनेको नै काम लाग्छ’ भन्ने रोशन गुरुङको गीत जस्तो राम्रो र हाम्रो मान्छेले नै जितोस् भन्ने लाग्छ ।
आफू जन्मेर हुर्केको गाउँठाउँ र आफूले पढेलेखेको स्कूल, कलेजको याद आइरहदो रहेछ । कुनै बेला उदयपुर जिल्लाकै राम्रो पढाइस्तर भएको त्रिवेणी माविका विद्यार्थीहरू देश–विदेश छरिएर रहेका छन् । त्यहाँबाट उत्पादित राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिभाहरू छन् । सोही विद्यालयका एक पूर्व विद्यार्थी रामकुमार राईले संघीय संसदको प्रत्यक्ष निर्वाचनमा टिकट पाउनु ठुलो कुरा हो । मेरो ठम्याइमा रामकुमार राई स्थानीय बासिन्दामात्र नभएर समाजसेवी र नेपाली कांग्रेसको वेदाग एवं बिद्रोही स्वभावको नेता हुनुहुन्छ ।
नेपालमा धेरैले राजनीतिलाई ‘कमाउधन्दा’को माध्यम बनाए । देश विदेशमा बसेर समाज सेवाको नाममा आर्थिक संकलन गरे । त्यसैलाई माध्यम बनाएर राजनीतिक पार्टीमा छिर्ने र अझ धेरै फाइदा लिने क्रम जारी छ । उदाहरणका लागि कुनै बेला पत्रकार रविन्द्र मिश्रले ‘हेल्प नेपाल’ भन्ने संस्था खोलेर देश–विदेशबाट चन्दा संकलन गरे । त्यही सामाजिक अभियानको दुरूपयोग गरेर राजनीतिक यात्रा गरे । आशिका तामाङले पनि आफूलाई सामाजिक अभियन्ताको रूपमा प्रस्तुत गरेर राजनीति गर्दैछिन्, जसको श्रीमान जर्मन नागरिक हो र उनको राजनीति बिग्रेरमा जर्मनी नै फÞर्किने छिन् । यसरी क्षणिक लोकप्रियतालाई प्रयोग गरेर राजनीतिको आड लिने प्रवृत्ति बढ्दो छ ।
उक्त उदाहरण बिम्बका रूपमा प्रयोग गर्नुको कारण के पनि हो भने रामकुमार राई स्थानीय नेता हुन्, जो जन्मेदेखि आजपर्यन्तसम्म समाजसेवा र राजनीतिमा समर्पित छन् । राजनीति भनेको हुनेखानेले गर्ने हो । यस अर्थमा रामकुमार राईले लिएर होइन, दिएर समाजसेवा र परोपकार गर्न सक्ने पृष्ठभूमि घरानाका हुन् । राजनीतिक पृष्ठभूमि हेर्दा पूर्वमन्त्री डिल्लीशेर राईका नाति हुन् ।धेरै नेताहरू चुनावको बेलामात्र स्थानीय जनताहरूसँग सम्पर्कमा रहन्छन् । तर रामकुमार राई स्थानीय जनताहरूसँगै हरपल रहन्छन् ।
अन्तर्राष्ट्रिय राजनीति र नेपाल
विगत तीन दशकदेखि बेलायतको संसदीय राजनीतिलाई टाढाबाट हेरिरहेको छु । सन् असी र नब्बेको दशकमा आइरन लेडी मानिने लोकप्रिय नेत्री मार्गारेट थ्याचरले नेतृत्व गरेको कन्जरवेटिभ पार्टी पनि जॉन मेजरको पालासम्म आइपुग्दा लोकप्रिय गिरेको थियो । टोनी ब्लेयरजस्ता प्रखर र चमत्कारिक नेतृत्वले थर्ड वे अर्थात् तेस्रो धारअन्तर्गत बजार अर्थनीति र सामाजिक न्यायको नौलो अभियान चलाए । फलतः सन् १९९७ मा लेवर पार्टीले दुई तिहाई मत ल्याएर सरकारको नेतृत्व ग¥यो । टोनी ब्लेयरको नेतृत्वमा लगातार तीन पटक बहुमत ल्याएको पार्टीलाई गोर्डन ब्राउनको नेतृत्वमा चुनावमा जाँदा सर्वनाक हार व्यहोर्नु प¥यो ।
एक त ब्लेयरका दाहिने हात, जो अर्थ सचिव तथा अर्थ मन्त्री (एक्स चेकर तथा चान्सलर) भएर काम गरे पनि प्रधानमन्त्री हुने म्याटेरियल थिएन गोर्डन ब्राउनमा । अर्कोतिर कन्जरवेटिभ पार्टीमा डेबिड क्यामरून जस्ता युवा, प्रखर र चमत्कारिक व्यक्तित्व भएका नेतृत्वले गर्दा लेबर पार्टीको सत्ता पलट भयो ।
त्यति लोकप्रिय र चमत्कारिक छवि भएर पनि बेलायतलाई यूरोपियन महादेशको नीतिमा गाभने (ब्रेकजित) लिएर जनमत संग्रहमा जाँदा क्यामरून असफल भए । एक गलत नीतिलाई लिएर नेतृत्व गर्दा आफ्नै पार्टीका बोरिस जोन्सनबाट पराजित र बिस्थापित हुनु परेको थियो ।
अमेरिकाका बिल क्लिन्टन, बेलायतका मार्गरेट थ्याचर, टोनी ब्लेयर र क्यानाडाका जस्टिन ट्रूड जस्ता लोकप्रिय नेताहरूसमेत केही न केही गलत नीति र प्रवृत्तिका कारण बिस्थापित हुनु पुगेका थिए । बैंक अफ क्यानडा र इंगलैंडका पूर्व–प्रबन्धक मार्क कर्निङले क्यानाडाको प्रधानमन्त्री भइरहेको नजिर छ । हाम्रो छिमेकी मुलुक भारत र चीनमा सफल नेतृत्वको कारण उच्चतम आर्थिक वृद्धि भइरहेकोछ ।
सोभियत संघ विघटन भएर राजनीतिक अस्थिरता र आर्थिक मन्दीले ग्रस्त रूसलाई भ्लादिमिर पुटिनले धेरै माथि उकासेका छन् । विकसित मुलुकहरूमा राजनीतिक कार्यकर्ता र जनता तथा नागरिकहरू पनि यति सजग छन् कि बेलाबखत नीतिअनुसार राजनीतिक नेतृत्वलाई फेरेर हेर्न चाहन्छन् ।
एकै नेता र पार्टीले सत्ता चलाइरहँदा त्यहाँ तानाशाही जन्मन सक्छ भन्ने डरले गर्दा नै बेलायत र अमेरिकामा तीन पटकभन्दा बढ़ी कार्यकारी प्रमुख हुन नपाउने व्यवस्था रहेको छ । फ्रेश म्याण्डेट र पलिसीको यस्तो ट्रेन्ड हेर्ने र फेर्ने संस्कार भएमात्र संसदीय लोकतन्त्र टिकाउ हुनसक्छ ।
देशको सबैभन्दा जेठो नेपाली काँग्रेस पार्टी अहिले गगन थापा, विश्व प्रकाश शर्मा र प्रदीप पौडेलजस्ता युवाहरू नेतृत्वमा चमत्कारिक रूपमा आएका छन्, जसका अगाडि थकित र घृणित पुराना नेतृत्व छेउलाग्न बाध्य छन् । अब गगन थापाको करिस्मेटिक पर्सनालिटी र सबल नेतृत्वमा नेपाली काँग्रेसले एक पटक फेरि देशको नेतृत्व गर्न पाउनु पर्छ भन्ने काँग्रेसीहरूको अपील भनेर बुझ्न सकिन्छ ।
मेरो जिल्ला ओखलढुङ्गाको कांग्रेस पार्टीका प्रत्यक्ष उम्मेदवार कुमार लुइँटेल चुनावी मैदानमा उत्रिएका छन् । जितको शुभकामना छ । काँग्रेसले समानुपातिक उम्मेदवारको सूचीमा मेरै वाम्बुले राई समुदायको सबिता राई परेप्रति उत्साहित छु । उत्साहित यस मानेमा कि लघुधन राईपछि वाम्बुले राई विरादरीको अर्को पात्र देशको नीति निर्माण तहमा पुग्न सक्ने सम्भावना बढेको छ ।
संविधानतः सदनमा २७५ सदस्य छन् । एक सदस्यीय निर्वाचन क्षेत्रबाट १६५ जना पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट निर्वाचित हुन्छन् भने ११० जना समानुपातिक प्रतिनिधित्व प्रणालीबाट निर्वाचित हुन्छन् । त्यसमा मतदाताले राजनीतिक दललाई गरेका मत संख्याका आधारमा समानुपातिक तर्फ मनोनित हुनेछन् । रामकुमार राई र सबिता राई संसदमा पुग्न सके आदिवासी जनजाति, महिला, दलित, मधेसी, अल्पसंख्यक समुदायका केकस्ता आवाज उठाउँछन्, त्यो भने भविष्यकै गर्भमा छ ।
(लेखक बी मुक्काचो हाल बेलायतमा कार्यरत हुनुहुन्छु ।)






