खप्तड गोल्डकप– सुदूरपश्चिम–११ को विजयी सुरुवात

खेल

धनगढी  । सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबले आजदेखि धनगढी रगंशालामा आयोजना गरेका सर्वाधिक राशिको ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप–२०७४’ को उद्घाटन खेलमा आयोजक सुदूरपश्चिम–११स्पोट्र्स क्लवले विजयी सुरुवात गरेको छ ।

स्थानीय रंगशालामा आज भएको उद्घाटन खेलमा च्यासल युथ क्लबलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै आयोजकले विजयी सुरुवात गरेको हो । आयोजकले च्यासल युवा क्लवलाई पेनाल्टी सुट आउटमा ५–४ गोलले पराजित गरेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको २६ औँ मिनेटमा च्यासल युवा क्लवका विदेशी खेलाडी सेगुनले गोल गर्दै अग्रता दिलाएका थिए ।

तर दोस्रो हाफको ४० औँ मिनेटमा सुदूरपश्चिम ११ स्पोर्टस क्लवका विनोद केसीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । निर्धारित समयसम्म बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

प्रतियोगितामा नेपालका ए डिभिजनका लक्ष्मी हुुन्डाई मनाङ मस्र्याङ्दी, त्रिभुवन आर्मी क्लब, साहारा क्लब पोखरा, अग्नि रुपन्देही ११, बुुटवल, सुदूरपश्चिम–११ धनगढी, धरान फुटबल क्लब सुनसरी, सशस्त्र प्रहरीको एपिएफ, डुक स्टार क्लब भुटान, च्यासल युथ क्लब ललितपुुर, रुस्लाल थ्री स्टर क्लब ललितपुुर, रमपम झापा र सिएमजी संकटा क्लव काठमाडौँ गरी १२ वटा क्लबले प्रतिष्पर्धामा सहभागिता जनाउने छन् ।

यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई रु १५/१५ हजारका दरले र खेल अवधिभरको उत्कृष्ट एक जना खेलाडीलाई यामहा मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता विजेतालाई रु ११ लाख ११ हजार १११, उप विजेतालाई रु पाँच लाख ५५ हजार ५५५ ट्रफी मेडलसहितको पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता माघ १ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाले उद्घाटन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.