घाम र जून कृति विमोचन

कला साहित्य -संस्कृति प्रवास

सुरेन्द्र इङ्नाम
बेलायत– कवयित्री नानु रानाको कविता संग्रह ‘घाम र जून’ सार्वजनिक गरिएको छ । बेलायतको स्विन्डन कम्यूनिटी हलमा १२ मे २०१८ का दिन विश्व नेपाली साहित्य महासंघ, वेस्ट यूके शाखा गठन समारोहमा पुस्तक विमोचन गरिएको हो ।

स्विन्डन नागरिक समाजका संस्थापक अध्यक्ष तथा सल्लाहकार बिष्णुप्रसाद गुरुङ प्रमुख अतिथि तथा विशेष अतिथि विश्व नेपाली साहित्य महासंघका केन्द्रीय अध्यक्ष विश्वास दीप तिगेलालगायतले संयुक्त रुपमा कृति विमोचन गर्नुभएको हो ।

विमोचित कृतिबारे साहित्य महासंघ साउथ युके शाखाका पूर्वअध्यक्ष साहित्यकार विजय हितान र जानु काम्बाङले समीक्षा गर्नुभयो । विशेष अतिथि तिगेलाले महासंघ स्थापनाको आवश्यकता र शाखा निर्माणका फाइदाहरु बारेमा बोल्नु भएको थियो ।

समारोहमा स्विन्डन गोर्खा नेपाली समाजका संरक्षक बल्लभ गुरुङ, गोर्खा नेपाली समाजकी महासचिव तथा कवयित्री श्रीमती मनु पाइजा, स्विन्डन महिला समाजकी निवर्तमान अध्यक्ष श्रीमती बिष्णु सिरिस, किरात धर्म तथा साहित्य उत्थान संघ युकेका अध्यक्ष राम थेबे, स्विन्डन किरात याक्थुङ चुम्लुङका सचिव लाल लिङ्देन, स्विन्डन गोर्खा नेपाली समाजकी साहित्य संयोजक श्रीमती गंगा थापालगायतको उपस्थिति रहेको थियो ।

कवि जय तामाङ, मनु पाइजा, सेमन्त राई लगायतले रचना वाचन गर्नुभएको थियो । कवि तथा गीतकार भरत लोहोरुङ राई, कवि तथा गीतकार सुरेन्द्र इङनामले मिठो बाँसुरी धुन सुनाउनु भएको थियो ।

राईको नेतृत्वमा महासंघ
यसैबीच साहित्यकार लाल सुन्दर राईको अध्यक्षतामा विश्व नेपाली साहित्य महासंघ, वेस्ट यूके शाखा गठन भएको छ । कार्यसमितिको उपाध्यक्षमा चन्द्रकला थेबे र भरत लोहरुङ राई, महासचिव जानुका काम्बाङ, सचिव गंगा थापा, कोषाध्यक्ष नानु राना, सह–कोषाध्यक्ष मनु पाइजा तथा सदस्य जयराम तामाङ र हरि राई चयन हुनु भएको छ । महासंघको युकेमा तेस्रो शाखा हो । सन् २०१० मा स्थापित महासंघको विश्वभर २७ शाखा निर्माण भएका छन् ।

Leave a Reply

Your email address will not be published.