कवि सोनाम सज्जन किरातीको कविता ‘कागजी बाघहरू’

कला साहित्य -संस्कृति

कागजी बाघहरू
-सोनाम सज्जन किराती

जिब्रो काटिन सक्छ
जुनसुकै बेला थुकेर
आची माथि चाट्
भन्दै अमानवीय
कारवाही भोगाउन सक्छ
यो सरकार
र ढलिसकेकोलाई फेरि बोक भनेर
आँधो खेद्ने उल्टो अभ्यास
आफ्नै पिठ्युँले थाम्न लगाउन सक्छ

यस कारणले पनि चुइँक्क नबोल्ने
झुटेहरूसित मेरो सम्बन्ध बनेन
गोजीमा हालिएको अनुकुल नियुक्तिहरू
त्यागेर गलतहरूको हिफाजतमा लागिन
हिसाबकिताब बराबर छ

भन्छन् कन्चट उडाउने
तरवार राखेर
धम्की दिन्छन् पेस्तोल देखाएर
यस्ता योजनामा पिल्साएर
वाक स्वतन्त्रता
प्रगतिशील आवाज
खोई कहाँ बन्द भ’को छ र
हिजो नर्मल जोड घटाउ हुन्थ्यो
पिसाब बन्द भएको बेला
आज हस्पिटल छिर्नुस्
विगतको तुलनामा एउटा क्याप्सुल आउँदैन

अनि कसरी उपचार हुन्छ
असल मानवहरू
जम्मै डुबिसके स्वार्थको आहालभित्र
कम्मर कस्नै दिदैनन्
तुना खुस्काई हाल्छन्

म एकथान हुरी युरोपमा बन्दी छु
म अर्काेथान पसिना मरुभूमिमा जल्दैछु
त्यसरी नै आँशु बनेर कोरियामा रोपिदैछु
यसरी नै गोलघर पृथ्वीमा डुलाएर
भुसुक्क रिणको आगोले सताइएको छ
म एकथान प्रगतिशील जवाफ
र हेरिरहेछु
आँगनीमा बसेर अचेल
मेरो मुटु फोक्सो कलेजो झिकेर
भ्रष्ट दलालहरूको मोलमा बार्गेनिङ
म चुकेको बखत
यिनीहरू मलाई असंवैधानिक भनेर
पासो लागउने तयारीमा छन्

र मैले मात्रै बुझेको छु
ऊ संविधान हैन
असली खोस्टा हुन्
र त्यसभित्र अँटेका दस्तावेज
मखुण्डोधारीहरूको चिन्तनहरू छन्
खबरदार
त्यो एकप्रति कागजी बाघहरू
तिमीलाई सुन्नुको कुनै तुक छैन
अस्तित्वको रङ्गहरूमा भेटिदै भेटिदैन ।
२०७७ भदौ १४ गते

Leave a Reply

Your email address will not be published.