गरिबी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै जान सक्दैन – प्रधानमन्त्री ओली

राजनीति

लिभु संवाददाता
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै जान नसक्ने भन्दै सुशासन र विकास आजको प्राथमिकता भएको बताउनुभएको छ ।

गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले त्यसका लागि आज असान्र्दभिक भएका हिजोका कतिपय उपयोगी नीति, विधि र संरचनाहरु परिवर्तन, परिमार्जन र संशोधन गरिने जानकारी दिनुभयो ।

गणतन्त्रलाई संस्थागत गर्न, संविधानलाई कार्यान्वन गर्न र लोकतन्त्रलाई सुदृढ गर्न तीनवटै तहको निर्वाचन सम्पन्न गरिसकेको उल्लेख गर्दै केन्द्रमा प्रगतिशिल, देशभक्त र जनपक्षीय सरकार र सातै प्रदेश तथा ७५३ स्थानीय तहमा जननिर्वाचित सरकार क्रियाशिल रहेको बताउनुभयो ।

‘सुशासन र विकासको प्रतिबद्धतासहित संसदबाट सर्वसम्मतीले सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । यसबाट राष्ट्रिय आकांक्षाको परिपूर्तिको दिशामा अघि बढ्न, राष्ट्रिय एकता व्यापक एवं सुदृढ बन्दै गएको सुखद अनुभूति हामीलाई भएको छ,’ प्रधानमन्त्रीले भन्नुभयो ।

प्रधानमन्त्रीले लोकतन्त्र नेपालीका लागि कसैले सापटीमा दिएको विधि नभएर नेपालीले लडेर स्थापना गरेको जीवन पद्धति भएको बताउनुभयो ‘गणतन्त्र पनि नेपाली सभ्यता र परम्पराको हिस्सा र वर्तमानमा यथार्थ हो । दुनियाँमा लोकतन्त्रका मूल्य–मान्यता स्थापित नहुँदै हाम्रा पुर्खाले अङ्गीकार गरेको आफ्ना प्रतिनिधि छान्ने र उनीहरूमार्फत शासन–सत्ता सञ्चालन गर्ने अद्वितीय विधिको म स्मरण गर्न चाहन्छु,’ उहाँले भन्नुभयो ।

जनताका प्रतिनिधिले जनताका लागि शासन गर्न गणतन्त्र स्थापना भएको प्रधानमन्त्रीले बताउनुभयो । ‘कुनै वंश विशेषको उत्तराधिकारीबाट हैन भन्ने तपाईंहरुको चाहना यस घोषणबाट सम्बोधन गरिएको थियो,’ प्रधानमन्त्रीले भन्नुभयो, ‘कुनै समय थियो, जनतामा निहित सार्वभौमसत्ता अन्तै कसैमा निहीत छ । जनतालाई जनता हैन रैति ठानिन्थ्यो । देशको मूल कानूनलाई समेत कुनै वंश विशेषका उत्तराधिकारीको खल्तिको पर्चा जस्तो माानिएको थियो ।’

प्रधानमन्त्रीले गणतन्त्र दिवस जनताको दिवस र आम नेपालीको दिवस भएको बताउनभयो । ‘गणतन्त्र दिवस, जनताको विजय र कुलिनतन्त्रको पराजयको दिन हो । एउटा प्रगतिशिल परम्पराको थालनी र परम्पराको नाममा, जन्मसिद्ध श्रेष्ठताको आधारमा शासन गर्ने पाखण्डी व्यवस्था अन्त्य भएको दिन हो,’ उहाँले भन्नुभयो ।

प्रधानमन्त्रीले विकास, समृद्धि, सुशासन एवं स्थिरता अबको नेपालको गन्तव्य भएको बताउँदै गरीबी, विपन्नता, पछौटेपन, सामाजिक उत्पीडन तथा शोषण, विभेद र भ्रष्टाचार विरुद्धको कार्य मुख्य अभियान भएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीको सम्बोधनको पूर्णअंश–
सम्माननीय राष्ट्रपतिज्यू,
सम्माननीय उपराष्ट्रपतिज्यू,
संवैधानिकनिकायकाप्रमुखज्यूहरु,
माननीयमन्त्रीतथा संघीय संसदकामाननीय सांसदहरु
कूटनीतिक नियोगकाप्रमुखहरू,
विशिष्ट अतिथिहरू,
सञ्चारकर्मी मित्रहरू,

आज कै दिन एक दशकअघि हामीले गणतन्त्र घोषणा गरेका थियौं । जनताका प्रतिनिधिले जनताका लागि शासन गरुन्, कुनै वंश विशेषको उत्तराधिकारीबाट हैन भन्ने तपाईहरुको चाहना यस घोषणबाट सम्बोधन गरिएको थियो ।
यस अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।
‘पूर्ण लोकतन्त्र, समृद्ध नेपाल र सुखी नेपाली’को लागि आप्mनो जीवन उत्सर्ग गर्नु हुने महान् सहिदहरुप्रति आदरका साथ श्रद्धाञ्जली व्यक्त गर्दछु ।
कुनै समय थियो, जनतामा निहित सार्वभौमसत्ता अन्तै कसैमा निहित छ भनिन्थ्यो । जनतालाई जनता हैन रैती ठानिन्थ्यो । देशको मूल कानूनलाई समेत कुनै वंश विशेषका उत्तराधिकारीको खल्तीको पर्चा जस्तो माानिएको थियो । र, कानून संविधान र सबैभन्दा माथि त्यस्ता शासकलाई राखिन्थ्यो र आज हामीले “हामी सार्वभौमसत्ता सम्पन्न नेपाली जनता” भन्ने शब्दबाट हाम्रो संविधानको प्रस्तावना शुरु गरेका छौं । यसरी जनता सर्वाभौम हुन् र सार्वभौमसत्ता केवल जनतामा मात्रै निहित छ भन्ने संवैधानिक रुपमा लिपिवद्ध गरेका छौं ।
तसर्थ, यो गणतन्त्र दिवस जनताको दिवस हो । आम नेपालीको दिवस हो ।
गणतन्त्र दिवस, जनताको विजय र कुलिनतन्त्रको पराजयको दिन हो । एउटा प्रगतिशील परम्पराको थालनी र परम्पराको नाममा, जन्मसिद्ध श्रेष्ठताको आधारमा शासन गर्ने पाखण्डी व्यवस्था अन्त्य भएको दिन हो ।
लोकतान्त्रिक गणतन्त्र एक उन्नत विचार, दर्शन, मूल्य–मान्यतामा आधारित शासन पद्धति हो । त्यसैले आजको दिन, ‘जनताको अभिमतका आधारमा शासनसत्ता सञ्चालन हुने राजनीतिक प्रणाली स्थापना गर्ने’ नेपाली जनताको दशकौंदेखिको आकाङ्क्षा पूरा भएको दिन हो ।
यो सामाजिक न्याय, प्रतिस्पर्धाका बीच श्रेष्ठता र योग्यता खोजिने प्रणाली पनि हो । समाजको विकास सँगसँगै गतिशील हुने यसको विशेषता हो ।
जसरी लोकतन्त्र हामी नेपालीका लागि कसैले सापटीमा दिएको विधि नभएर हामीले लडेर स्थापना गरेको जीवन पद्धति हो, त्यसैगरी गणतन्त्र पनि नेपाली सभ्यता र परम्पराको हिस्सा र वर्तमानमा यथार्थ हो । दुनियाँमा लोकतन्त्रका मूल्य–मान्यता स्थापित नहुँदै हाम्रा पुर्खाले अङ्गीकार गरेको आफ्ना प्रतिनिधि छान्ने र उनीहरूमार्फत् शासन–सत्ता सञ्चालन गर्ने अद्वितीय विधिको म स्मरण गर्न चाहन्छु ।
आज हामीले हासिल गरेको गणतन्त्र र राजनीतिक उपलब्धिहरू, विगतका राजनीतिक अभ्यास र गन्तव्यको परिणाम, प्राप्ति, समाप्ति, पुनप्र्राप्तिजस्ता परिघटनाबाट गुज्रिदै आर्जेको नेपाली मौलिकतामा आधारित उत्कृष्ट व्यवस्था हो ।
विकास, समृद्धि, सुशासन एवं स्थिरता हाम्रो गन्तव्य हो । गरीबी, विपन्नता, पछौटेपन, सामाजिक उत्पीडन तथा शोषण, विभेद र भ्रष्टाचार विरुद्धको कार्य हाम्रो मुख्य अभियान हो ।
गरीबी र लोकतान्त्रिक गणतन्त्रसँगै राख्न मिल्ने विषय होइनन् । सुशासन र विकास आजको हाम्रो प्राथमिकता हो । यसका लागि आज असान्र्दभिक भएका हिजोका कतिपय उपयोगी नीति, विधि र संरचनाहरु परिवर्तन, परिमार्जन र संशोधन गरिने छन् । यसैमा आधारित भएर हाम्रा समग्र व्यवहारहरु रुपान्तरण गरिंदै छन् ।
गणतन्त्रलाई संस्थागत गर्ने, संविधानलाई कार्यान्वन गर्ने र लोकतन्त्रलाई सुदृढ गर्ने क्रममा हामीले तीनवटै तहको निर्वाचन सम्पन्न गरिसकेका छौं । केन्द्रमा प्रगतिशिल, देशभक्त र जनपक्षीय सरकार छ । सातै प्रदेश तथा ७५३ स्थानीय तहमा जननिर्वाचित सरकार क्रियाशिल छ ।
सुशासन र विकासको प्रतिबद्धतासहित संसदबाट सर्वसम्मतीले सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । यसबाट राष्ट्रिय आकांक्षाको परिपूर्तिको दिशामा अघि बढ्न, राष्ट्रिय एकता व्यापक एवं सुदृढ बन्दै गएको सुखद अनुभूति हामीलाई भएको छ ।
छिमेकी र अन्यमित्र राष्ट्रहरुसँगको सम्बन्ध थप सुदृढ भएको छ । हाम्रा राष्ट्रिय आकांक्षा र आवश्यकताहरु पूरा गर्न, श्रोत–साधन, सामथ्र्यको प्रयोग गर्न र सहकार्य अघि बढाउन थप अनुकुलता मिलेको छ ।
यस्तो बेलामा यस मूल राष्ट्रिय भावधारामा आपूmलाई समाहित नगरी पुराना, अनुचित र असान्दर्भिक सोचहरुका साथ अशान्ति र अस्थिरताको पक्षपोषण वा त्यस्ता क्रियाकलाप कदापि उचित हुन सक्दैन ।
अहिले हामीले रोजगारीको अवसर सिर्जना गर्ने उत्पादन बृद्धिमा जोड दिएका छौं । उपभोगका बस्तुमा आत्मनिर्भरता बढाउने प्रकृतिको विकासलाई प्राथमिकतामा राखेका छौं । आम जनताको कष्ट हटाउनेतिर परिलक्षित विकासका आयोजनाहरु हाम्रा छनौट हुन् र अति विपन्न, बृद्ध, बालबालिका, अपाङ्ग, असक्त र गर्भवती महिलाहरु जनसंख्या भित्रका हाम्रा प्राथमिकता हुन् ।
सबैलाई खाद्य व्यवस्था, सबैलाई आवास र कपडा, सबैलाई शिक्षा र सबैलाई स्वास्थ्य सुरक्षा, हाम्रो विकासको प्रस्थानविन्दू हो ।
गणतन्त्र नै वास्तवमा लोकतान्त्रिक व्यवस्था हो । यसै कारण मैले भन्दै आएको छु, गणतन्त्र केवल राजनीतिक विषयमात्र होइन, समग्र सामाजिक रूपान्तरणको विषय पनि हो । त्यसैले हाम्रो गणतन्त्र नेपाल र नेपालीका लागि ‘सर्वजन हितायः सर्वजन सुखायः’ व्यवस्था हो ।
यस्तो उज्यालो व्यवस्थामा जनता काम लिन अनुहारहरू प्रतिबिम्बित हुने विवशताको अन्त्य हामीले गर्नै पर्दछ ।
त्यसका लागि दृढताका साथ आफ्नो कर्तव्य पूरा गर्न म सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई यस दिवसका अवसरमा पुनःआह्वान गर्दछु ।
फेरि एक पटक दोह¥याउने अनुमति चाहन्छु, यो गणतन्त्र नेपाली जनताको विजयको प्रतीक हो । त्यसैले आज हामीले मनाइरहेको विजयोत्सव हामी सम्पूर्ण नेपालीको उत्सव हो ।
गणतन्त्र दिवस– २०७५ को शुभकामना ।
धन्यवाद ।
२०७५ वैशाख १५

स्रोत – प्रधानमन्त्रीको निजी सचिवालय

Leave a Reply

Your email address will not be published.