विक्रम सुब्बा
पृष्ठभूमि: जेष्ठ २, २०६१ (मे १५, २००४) का दिन ४ बजे रूषी साँस्कृतिक केन्द्र, ठमाण्डौको हलमा “गणतन्त्र कविता आन्दोलनको घोषणा तथा कवित गोष्ठी”मा ५०-६० जना कवि, पत्रकार तथा समिक्षकहरू माझ विक्रम सुब्बा द्वारा लिखित कवि श्यामल द्वारा घोषणा-पत्र वाचन गरि सुनाएर आन्दोलन सुरु भयो । त्यस अवसरमा गणतन्त्रको पक्षमा कविहरूले कविता वाचन गरे भने स्वतन्त्र मार्क्सवादी लेखक-विश्लेषक खगेन्द्र संग्रौलाले कविताहरूको समिक्षा गर्दै ‘गणतन्त्र कविता आन्दोलन’को औचित्य माथि प्रकाश पारेका थिए । यो आन्दोलन निरन्तर चलिरह्यो र यस आन्दोलनमा लेखिएका १४९ कविका कविताहरूको “गणतन्त्रको खेती” नामक कवितासंग्रह मुन्धुम प्रकासनले प्रकासन गर्योद जुन २०६७ जेष्ठ १२ तदनुसार जून महिनाको २६, २०१० का दिन आन्दोलन घोषणा गरिएकै (रूसि साँस्कृतिक केन्द्रको सानो हल) स्थलमा सो संग्रहको लोकार्पण पनि भयो । उक्त कविता संग्रहमा मैले ‘संयोजकीय’ लेखेको छु जुन जस्ताको त्यस्तै तल:
संयोजकीय
हामी आठजना मिलेर नेपालीकविता डट कम सुरु गरिसकेका थियौँ । माओवादी जनयुद्धले खनजोत गरेको भुइँमा जनआन्दोलनका अनेक रुप ठाउँ-ठाउँमा उम्रिरहेका थिए । पारिजातको ११रौँ स्मृति दिवस २०६१ को (पर्यटन बोर्डको हलमा) कवि गोष्ठीका निम्ती मलाई कविता लिएर आउँन निम्तो आयो । मैले “गणतन्त्रको खेती” कविता लेखेँ र कवि श्यामललाई सुनाएँ । कुराकानी भयो – ‘गणतन्त्र कविता आन्दोलन’ नै गर्ने । उक्त कुरा मनमनैमा राख्यौँ । म गोष्ठीमा कविता सुनाउँन गएँ, सुनाएँ र आएँ । मनमा ‘गणतन्त्र कविता आन्दोलन’ तिब्ररुपमा दौडी रह्यो । श्यामल र मेरो फेरि कुरा भयो – एउटा गोष्ठी गरेर घोषित रुपमै आन्दोलनमा सामेल हुने । मैले छोटो घोषणा पत्र लेखेँ । छापामार शैलीमा हामीले ४०/५० कविहरूलाई निम्तो गरेर रूषी साँस्कृतिक केन्द्रमा घोषणा गर्ने भयौँ । त्यो दिन रूषी साँस्कृतिक केन्द्रको ठूलो हलमा राजाका मानिसहरूको ठूलो जमघट थियो । हामी सानो (५० सिटे) हलमा थियौँ । गणतन्त्र कविता आन्दोलनको घोषणा-पत्र श्यामलले पढेर सुनाए । कविहरूले गणतन्त्रवादी कविता वाचन गरे । खगेन्द्र संग्रौलाले गणतन्त्र कविता आन्दोलनको विवेचना गरे । त्यही गोष्ठीपछि साँझ घर पर्किरहेको बेला कवि विमल निभालाई पुलिसले कुटे । निभा कुटिएको कुरा गणतन्त्र कविता आन्दोलनसँगै जोडिएर पत्रिकामा आउँदा झन आन्दोलनको चर्चा बढ्यो ।
सडकमा जनआन्दोलन जवान हुँदै थियो । गणतन्त्र कविता आन्दोलन पनि सडकमा ओर्लियो । रत्नपार्क रातोघरको बुइगलबाट गणतन्त्रवादी कविताहरु पढिए । त्रिभूवन विश्वविद्यालयको अडिटोरियम हलमा पनि गणतन्त्रवादी कविता गोष्ठी आयोजना भयो । त्यसपछि लेले, भक्तपुर, बज्र बराही हुँदै आन्दोलन ठाउँ-ठाउँमा पुग्यो । जन आन्दोलन तातिँदै गयो । धेरै कविहरूले गणतन्त्रका पक्षमा र निरंकुश राजतन्त्रका विरुद्धमा कविता लेख्न थाले जसलाई नेपाली कविता डट कममा म दैनिक अपलोड गर्थेँ । कविताहरु दिनै आउँन थाले, अपलोड हुन थाले र मेरो कम्प्युटरमा अभिलेखित भए । त्यसपछि विचार आयो यसको एउटा संग्रह निकाल्ने । तर कहिले निकाल्दा उपयुक्त होला ? आन्दोलन सफल भएर जब गणतन्त्र नेपालको नयाँ सम्बिधान लेख्नका लागी सम्बिधान सभाका सदश्यहरू आउँछन् त्यस बखत यी कविताहरू अभिलेखका रुपमा प्रकाशित गरेर जुन हलबाट आन्दोलन घोषणा भएको थियो त्यही हलमा विमोचन गर्ने सल्लाह बमोजिम यो तैयार भएकोछ । दस्तावेज कवितामा आन्दोलित कविहरुका इन्क्लाबी स्वरहरू, कविहरूका निरंकुश तन्त्र विरोधी दावानलहरू, सुन्दर गणतन्त्र नेपाल स्थापनाका कवितात्मक भिजन तथा बिम्वहरू उत्रिएका छन् । आन्दोलनमा नारा लाएर हिँडदा हिँड्दै पुलिसले लखेट्दा लखेट्दै दौडेर, घाइते वा सकुशल, कतै पुग्दा वा कष्टडीमा जाकिएको बेला कविहरूको मनमस्तिष्कमा हाजिर तिब्र भावना भएकाले यी कविताहरुमा ‘कला’ भन्दापनि ‘समयस्वर’ प्रखर भएर आएकाछन् । यो नितान्त स्वाभाविक पनि हो । नेपाली कविता डट कमले सबै कविलाई समेट्न कविहरूसँगै कविता उपलब्ध गराउँन अनुरोध गरेर अपलोड भएका कविताहरू यसमा समावेश भएका छन् । कविता उपलब्ध नगराएकाले वा अन्य अज्ञात कारणवश केही कविहरू छुटेका छन् । ती कविहरुलाई आन्दोलन पछि समावेश गर्दा सहज नहोला भनेर राख्ने काम भएको छैन ।
कवितामा जनआन्दोलनको धडकनलाई कवितामा सामेल गरेर ऐतिहासिक दस्ताबेज तैयार गर्ने सबै कविहरूलाई क्यावात ! नेपाली कविता डट कमलाई ईतिहासले पत्तैबिना संयोजनको काम दियो । यो कस्तो हुनु पर्थ्यो भन्ने भन्दा पनि जनआन्दोलनका अनेक अभिलेखमध्ये यो पनि एक भएकोछ । यसको प्रकाशनको जिम्मा लिने मुन्धुम प्रकाशनलाई धन्यवाद । गणतन्त्रको खेती जिन्दावाद !!!
नेपालीकविता डट कमका निम्ती – विक्रम सुब्बा
“गणतन्त्रको खेती” जब बजारमा आयो तब मलाई केही प्रश्नहरू सोध्न थालियो । सोधिएका प्रश्नहरु मोटा मोटी निम्न सवालमा केन्द्रित रहेकाछन् । जस्तै:
१। मुलुकमा ‘गणतन्त्र’को बेहाल छ भने “गणतन्त्र कविता आन्दोलन”को के कुरा गर्ने?
२। “गणतन्त्र कविता आन्दोलन”को सैद्धान्तिक मान्यता के हो?
३। “गणतन्त्र कविता आन्दोलन”को अब पनि के औचित्यता छ? छ भने अब यो आन्दोलनलाई कसरी अघि बढाउँनुहुन्छ?
पहिलो प्रस्नले नेपालमा गणतन्त्रको अवस्थाबारे सुर्ता व्यक्त गर्दै “गणतन्त्र”को पनि भविष्यको कुरा गर्छ । दोस्रो प्रश्नले “गणतन्त्र कविता आन्दोलन”को सैद्धान्तिक पक्षको माग गर्छ । र, तेस्रो प्रश्नले “गणतन्त्र कविता आन्दोलन”को भविष्यका बारेमा चासो लिएकोछ ।
१। तथ्य के हो भने – ‘मुलुकको ईतिहासको कुरा गर्दा १०० वर्ष पनि नगन्य हुन्छ ।’ नेपालमा लगभग २४० वर्षको राजसँस्था तीन हप्ताको जन-आन्दोलनमै झर्ल्यामझुर्लुम्म भएको देख्दा मुलुकको इतिहासमा १०० वर्ष पनि ‘नगन्य’ हुँदो रहेछ भन्ने कुरा तर्कसंगत लाग्छ । नत्र २४० वर्ष सम्म जरा गाडिएको भनाउँदो ‘राजसँस्था’ यती कमजोर किन भयो? २४० वर्ष लगाएर पनि एउटा गलत प्रणालीले आफ्नो मजबुत जरा गाड्न नसक्दो रहेछ । त्यसैले त ‘राजसँस्था’ फ्यास्सै ढल्यो । अब ‘नेपालमा गणतन्त्रको बेहाल’को कुरा गरौँ । २४० वर्षमा त एउटा (राज)सँस्था बलियो हुन सकेन भने भर्खर जन्मिँदै गरेको ‘गनतन्त्र’ ले चाहीँ कसरी अहिले नै फल-फुल सबै दिन सक्छ? कुनै पनि नयाँ राजनैतिक प्रणालीको सुरुवात भनेको पुरानो प्रणालीहरूलाई ध्वंस गरेको ठाउँमा नयाँ-नौला प्रणालीहरू स्थापित गर्ने कठीन र पेचिलो कार्य हो । यसले समय लिन्छ किनभने राज्य संचालनको सबैभन्दा मुल कानुन संबिधानको रुपरेखा (Frame work)अन्तर्गत ऐन-कानून, नियम-नियमावलीहरु लेखिनु पर्योन र ती ऐन-कानून, नियम-नियमावलीहरु जनजीवनमा कार्यान्वयन हुनु पर्योर । पुरानो ऐन-कानून, नियम-नियमावलीमा बानी परेका मानिसहरूले नयाँ ऐन-कानून, नियम-नियमावलीमा बानी पर्नु पर्योन । बल्ल गणतन्त्रले फल दिन थाल्दो हो । लोक कथामा वर्णित ‘साँझ रोपेर बिहान फल पकाउँने वृक्ष’ होइन गणतन्त्र । त्यसैले, नेपालमा गणतन्त्र आउँने बाटो लागेको छ । अझै यसका निम्ती अनेक चुनौतीहरू छन् तर यसले केही समय लिएर भए पनि अघि बढ्नु बाहेक बिकल्प छैन । अब पनि अनेक फटाहाले गणतन्त्रलाई उल्टाउँन समेत प्रयास गर्नेछन् तर ती नयाँ राजाहरूलाई पनि जनताले नै जित्नेछन् । किनभने गणतन्त्रमा मात्र ‘राज्य जनताको नजिक पुग्ने’ देखेर यसका निम्ती जनतालेजिउ-ज्यान दिएर कमाएका हुन् ।
२। “गणतन्त्र कविता आन्दोलन” राजनैतिक रुपान्तरणका निम्ती सचेतनतापूर्वक संचालन गरिएको आन्दोलन हो । यसले छोटोमा आफ्नो धारणा घोषणा पत्र प्रष्ट पारेकोछ:
गणतन्त्र कविता आन्दोलन: घोषणा-पत्र
वैशाख २०६१ । विश्वस्तरमा अमेरिका दुनियाको सबैभन्दा खतरनाक प्रतिगमनकारी तत्व हो । भारत यो क्षेत्रको क्षेत्रीय प्रतिगमनकारी तत्व हो । मुलुकमा नारायणहिटी दरवार राष्ट्रिय प्रतिगमनकारी तत्व हो । प्रतिगमनकारी तत्वहरू जुनसुकै समाज, समुह, संघसंस्था र घरघरमा हुन्छन् । हरेक राजनितीक पार्टीहरुमा पनि प्रतिगमनकारी तत्वहरू प्रसस्त छन् ।
प्रतिगमनकारी तत्वहरू जहिले पनि दुनियाको कुभलो चाहने, देशलाई कंगाल बनाउँने, मानिसहरूलाई दुख दिने, गरीव दुखीहरुका श्रमको शोषण गर्ने, अरुबाट सन्चालित गोटी, कपटी, धूर्त, पिराहा साइँदुवा हुन्छन् । यिनीहरूका काला नियतका विरूद्ध कविता लेख्नु अग्रगमनको गतिशीलतामा सामेल हुनु हो । वर्तमान कालखण्डमा अग्रगमनको गतिशीलतामा सामेल हुनु भनेको गणतन्त्रतिर जानु हो । तसर्थ प्रतिगमनको विरुद्धमा कविता लेख्नु, अग्रगमनको पक्षमा कविता लेख्नु “गणतन्त्र कविता आन्दोलन” मा लाग्नु हो ।
कवि हुनु भनेको आजीवन “प्रतिपक्ष”को धर्म अँगाल्नु हो । घरमा होस्, समाजमा होस्, आफ्नै पार्टीमा होस्, मुलुकमा होस्, राजनीतिमा होस्, राज्य संचालनमा होस्, मन्त्रालयमा होस्, महादेशमा होस्, भूमण्डलमा होस्, श्वर्गमा होस्, नर्कमा होस् – जहाँ जहाँ अन्यायी, अत्याचारी, भेदभावी, शोषक, फटाहा, धुर्त, बेभिचारी र पाखण्डीहरू हावी हुन्छन् कविले तिनका विरुद्धमा कविता लेख्नु पर्छ, गणतन्त्रको पक्षमा कविता लेखनु पर्छ – यही हो “गणतन्त्र कविता आन्दोलन” ।
अन्यायी, अत्याचारी, भेदभावी, शोषक, फटाहा, धुर्त, बेभिचारी र पाखण्डीहरूका विरुद्ध कविता लेख्ने हामी सबै कविहरू “गणतन्त्र कविता आन्दोलन”मा सामेल छौँ ।
“गणतन्त्र” शब्दको खोजिनिती गर्दा सबैभन्दा पहिले ईटालीका विद्वान मैक्यावेल्लीले प्रयोग गरेको पाइन्छ । मैक्यावेल्लीले दुइ प्रकारको ‘सरकार’ बारे कुरा गरेका छन् १) रजौटाहरू (Principalities), जसमा ‘राजतन्त्र’ (Monarch) हरूले शासन गर्दछन्, र २) गणतन्त्र (Republics), जसमा जनताले आफै शासन संचालन गर्दछन् भनेर उल्लेख गरिएको पाइन्छ । वर्तमान कालमा ‘गणतन्त्र’को अर्थ – ‘कुनै कुल-वंश परम्परा वा दैवी शक्तिको भरमा भन्दा जनताकै विश्वास जितेर बनेको राष्ट्रपति या प्रधानमन्त्रीले सरकार बनाएर मुलुकको हितमा काम गर्ने गणतान्त्रिक सरकार हो ।’ भन्ने गरिन्छ ।
त्यसो त मैक्यावेल्लीले नै पछि गएर राजतन्त्र (Monarchy), कुलिनतन्त्र (Aristocracy) र लोकतन्त्र(Democracy) भनि तीन किसिमको सरकारको कुरा अघि सारेर राजतन्त्रलाई ‘राजसँस्था’ ले चलाउँने, ‘कुलिनतन्त्र’ समाजका केही उच्च कुल-घरानाका मानिसले चलाउँने प्रणाली हो र ‘लोकतन्त्र’ भनेको जनताबाट चुनिएकाहरूले चलाउँने प्रणाली हो’ भनि व्याख्या गरे । मैक्यावेल्लीले आफ्नो पुस्तक प्रिन्स (Prince) मा ‘कुलिनतन्त्र’ र ‘लोकतन्त्र’ दुवैलाई ‘लोकतन्त्र’ भनि उल्लेख पनि गरेकाछन् ।
नेपालको सन्दर्भमा ‘गणतन्त्र’ भनेको ‘राजतन्त्र’ बिहिन व्यवस्था हो । ‘राजतन्त्र’ ढल्ने बित्तिकै अब ‘गणतन्त्र’को ढोका त खुल्यो तर त्यसपछिको कुन व्यवस्थाले ठाउँ लिने त? भन्ने प्रश्नको जवाफमा ‘लोकतन्त्र’ले ठाउँ लिनु पर्छ बन्ने आकांक्षा राखिएकोछ ।
“गणतन्त्र कविता आन्दोलन”को सन्दर्भ
“गणतन्त्र कविता आन्दोलन” नेपाली कविताको क्षेत्रमा चलेको एक साँस्कृतिक आन्दोलन हो । साँस्कृतिक रुपमा हेर्दा तथ्य के हो भने राजनैतिक प्रणालीमा परिवर्तन भए पनि मानिसको साँस्कृतिक परिवर्तन तुरुन्तै भईहाल्दैन । राजनैतिक परिवर्तन पछि पनि मानिसको चिन्तनहरू पुरानै रहन्छन् । ती पुराना चिन्तनहरूले कहिले ‘राजतन्त्र’लाई फर्काउँछन् पनि । जस्तै: बेलायतमै एक पल्ट फालिसकेको राजतन्त्र (८ वर्षपछि?) फेरि स्थापित गरेको पाइन्छ । जसबाट के बुझिन्छ भने राजतन्त्रलाई एक राजनैतिक प्रणालीका रुपमा फाले तर चिन्तनबाट त्यसलाई फाल्ने साँस्कृतिक रुपान्तरणको काम परिपक्व भएन । जसले गर्दा फेरि राजतन्त्रलाई फर्काउँने चिन्तन हाबि भयो र राजतन्त्रलाई पुन:स्थापित गरिदियो । तर फ्रान्सेली साँस्कृतिक कर्मीहरूले पुरानो चिन्तनका बिरुद्द राम्ररी जमेर काम गरेकाले फ्रान्समा फालिएको राजतन्त्र फेरिफर्केन ।
हो, ठीक फ्रान्सकोझैँ नेपालमा पनि गणतन्त्रको पक्षमा अर्थात ‘राजतन्त्र’ वा ‘राजतन्त्र जस्तै’ सोचको विपक्षमा वौद्धिक तथा सांस्कृतिक स्तरमा निहित चिन्तनमा रहेको ‘राजतन्त्र’लाई उखेलेर फाल्ने काम साँस्कृतिक क्षेत्रबाट गर्नु पर्दछ यो अलि लामो चल्ने संग्रामी अभ्यास हो । मुलुकको राजनैतिक र आर्थिक प्रणालीका आधारमा नागरिकको हैसियत समाजमा कायम हुने हो । अर्थात जिम्दार र किसान वर्ग, पुँजीपति र मजदुर वर्ग हुने प्रणालीमा किसानले जिम्दारलाई र मजदुरले पुँजीपतिलाई बाँच्नको निम्ती ‘ज्यु हजुर’, ‘ढोग दण्डवत’ गर्नु पर्ने सँस्कृती चल्छ र कायम हुन्छ । यही साँस्कृतिक अभ्यासले मानिसको चिन्तन निर्माण गर्दछ । प्रकारान्तरमा चिन्तनले नै फेरि राजनैतिक वा आर्थिक प्रणाली कस्तो हुने भनेर ‘सोच’को विकास गर्ने कार्यमा योगदान गर्दछ । उल्लेखित पृष्ठभूमिलाई ध्यानमा राखेर साहित्यकार र कविहरू लगायत सांस्कृतिक कर्मीले परिवर्तनको निम्ती धारणा निर्माण गर्ने कार्यमा सहयोग पुर्यािउँने गरि सृजनात्मक काम गर्नु पर्दछ । अर्थात अब मानिसहरूमा ढलोट भएर बसेका सामन्ती चिन्तनहरूलाई भत्काएर गणतन्त्र वा नयाँ नेपाल सुहाउँदो चिन्तन स्थापित गर्नेतिर काम निरन्तर गरिरहनु पर्छ । यसो नगरे नेपाली समाज फेरि पनि ‘नयाँ राजा’हरूको जालमा फस्ने छ ।
साँस्कृतिक रुपान्तरण भनेको मानिसका पुरातन वा सडेगलेको वा बदलिँदो परिस्थितीमा समाजअनुपयोगी वा समय सुहाउँदो नभएको वा समाजलाई अघि नबढाउँने किसिमको चिन्तनहरूको त्याग र समाजलाई उन्नतीशील बनाउँने वैज्ञानिक चिन्तनहरूको स्थापना, तिनको व्यवहारिक प्रयोग र समय सुहाउँदो निरन्तर सुधारको क्रान्ति गर्दै जानु हो । त्यसका निम्ती समाजमा विद्यमान अनुपयोगी चिन्तनहरु के के छन्? भन्ने बारे सन्धान लेखकले गर्नु पर्योस र त्यसको सट्टा के ठीक हो त? सो पनि प्रस्ताव गर्नु पर्योक । ध्वंश गर्ने तर निर्माण नगर्ने कुरा त मिल्दैन ।
३। साप्ताहिक ‘सनराइजपोष्ट'(जुलाई १५, ०१० मा) ले लिएको मेरो अन्तर्वार्तामा शोषित, पीडितको अवस्थाबारेसोधिएको प्रश्नको जवाफमा मैले भनेको थिएँ – “मैले देखेको नेपालमा – सरकार, विदेशीको ईसारामा काम गर्ने कठपुतली जस्तो छ । पार्टीहरू विदेशी शक्तीद्वारा नचाइएका नटको जस्ता लाग्छन् । सिंह दरवारका नोकरशाहहरू नेपाली जनता प्रतिभन्दा आफ्ना छोरा वा छोरीलाई छात्रवृत्ति दिने वा आफुलाई विदेश भ्रमणको मौका मिलाईदिने दुतावास या अन्य वैदेशिक निकायहरूप्रति बढी बफादार देखिन्छन् । नेपालको विकासका निम्ती कार्यालय खोलेर बसेका अनेक मैतृ संघ-सँस्थाहरू विदेशी शक्तीका दाह्रा-नंग्राजस्ता लाग्छन् । धेरै नोकरशाह वा मन्त्रीलाई नेपालको माया पटक्कै छैन । नेपाल बिग्रेर ध्वस्त भए तिनको रौँ पनि बांगो हुनेवाला छैन । अर्थात नेपालका ‘शोषितपीडित’को कल्याण गर्ने राजनैतिक, आर्थिक र समाजिक प्रणाली विकास गर्ने र मुलुकको उन्नती गर्ने कुरामा तिनको चिन्ता रत्तिभर छैन । ‘शोषित पीडित’ त कराएको करायै छन् । उनको हालत उस्तै (दिनको सिर्फ ९४ रुपैया कमाएर गुजार गर्नु पर्ने । जबकि गरिब ‘नेपालको विकासका निम्ती’ खटेर आएका विदेशी सल्लाहकारले दैनिक हजार डलरभन्दा बढी पाउँछ) छ र नेपालको नयाँ संबिधानले पनि ती ‘शोषित पीडित’ वा जातजातीको जीवनमा केही सुधार गर्ने छाँट देखिएको छैन । बदमासहरूले नै महल ठड्याइरहेछन् र त्यसैले निरन्तरता पाउँने देख्छु । यस्तो अवस्था भएपछि कसरी शान्ति हुने?”
“यस(गणतन्त्र कविता आन्दोलन)को उपादेयता अझै छ ? आन्दोलनलाई कसरी बढाइरहनुभएको छ ?” भन्ने प्रश्नको जवाफमा भनेकोछु – “गणतन्त्रको कुरा सिरिफ निरंकुश ‘राजा विरेन्द्र’ वा ‘राजा ज्ञानेन्द्र’को विरुद्धमा मात्र हुने होइन । ‘ज्ञानेन्द्र’ त (निरंकुश) राजतन्त्रको एक घृणित, भद्दा र स्थुल प्रतिकात्मकनेतृत्वदायी रुप मात्र थियो । त्यसको सुक्ष्म रुपहरू त अहिले पनि म जताततै देखिरहेछु । सबैभन्दा धेरै राजनैतिक पार्टीहरूमा देख्छु । हरेक पार्टी ‘कार्यालय’ आफुलाई जनताको भाग्यको फैसला लेख्ने शक्तीशाली ‘दरबार’ ठान्छ । पार्टीका हरेक नेताको दिमागमा गोमनविषझैँ आफुलाई ‘राजा’ ठान्ने चिन्तन छिप्पिँदै गएको देख्छु । संघसँस्थहरूमा बसेका मठाधीशहरूले पनि आफुलाई छोटे’राजा’ नै ठानेको देख्छु । प्रतेक कार्यालय प्रमुख जनतालाई रैती र आफुलाई जनताले ‘ढोग-दण्डवत’ गर्नु पर्ने सानो ‘रजौटा’ ठान्छ । घरघरका पुरुष आफुलाई, जन्मेको दिनदेखिनै, ‘राजा’ ठान्छन् । यो एक निरंकुश सामन्ती प्रवृत्ति हो र यो समाजमा जताततै देख्छु । यो प्रवृत्तिका विरुद्द लेखिरहनु पर्छ र निरन्तर लेखिरहन्छौँ । यसरी यो आन्दोलन चलिरहन्छ ।”
८६/१५ शंखमूल, काठमाण्डु, नेपाल
ingwaba2005@gmail.com
तस्बिरहरु – गुगलबाट