संस्कृति – बुद्ध जयन्ति, उभौली, चण्डी पूर्णिमा जात्रा

कला साहित्य -संस्कृति समाज

पदम श्रेष्ठ
वसन्त ऋतु आरुको बोटमा फूल फुलिरहेको बेला, जब उत्तरी गोलार्धमा गर्मी शुरू हुन्छ, तब भूमध्य सागर तिर क¥याङकुरुङका बथान चोमोलीङमा (माउण्ट एभरेष्ट) काटेर साइवेरियातर्फ लाग्दछ । ठीक त्यसै बेला किरात भूमिका राई लिम्बु, याक्खा, सुनुवारहरू धर्ति सा¥है सिथिल छ भन्ने थानेर खेति किसानीका लागि खेत पस्दैनन् । बरु साकेला नाच्न ढोल झ्याम्टा बोकेर फेङ्मा लेक्पा र सुलुली मन्दिरमा पुजाका लागि लावा लस्कर सहित भेला हुन्छन् । वैशाख पूर्णिमा अर्थात् बुद्ध जयन्ति े मनाइरहेको् बेला किरात समुदाय सुंगुर, गोरु, भेडा, राँगा आदी बलि दिएर उभौलि पर्व भव्य रूपमा मनाइरहेका हुन्छन् । किरात मुलतः मुर्ति पूजक होइनन् तर साकेला (उभौली) पर्वमा मुर्ति पूज्ने प्रथा बारे मुन्धुम धर्मशास्त्रले पृथ्वी उत्पत्तिसँग आख्यान जोडेको पाइन्छ ।

पृथ्वी उत्पत्ति सँगै लुगाका लागि सुन्निमाले तान बुनिरहेको ठाउँमा पारीहाङले अति राम्रो कौगियो (सुखुप) आकासबाट खसालि दिएछन् । खुसीले गदगद भएको सुम्निमाले आवेगमा यति राम्रो कौगियो खसाल्ने सँगै विवाह गर्ने प्रतिज्ञा गरिन् । तत्काल बूढोको भेषमा देखिएका पारोहाङ्गलाई देख्दा भने सुम्निमाले कुरूप बूढा सँग विवाह नगर्ने बचन फेरिन् । बोलीको टुङ्गो नभएकी सुम्निमालाई झुक्याएर पारोहाङ्गले बीज खुवाइदिए, नभन्दै उनि गर्भवति हुन पुगिछन् ।

सो कुरा सुलुली नामक एक युवकले सुम्निमालाई सुनाए तत्काल सोच्दै नसोची आफूले कसैसँग शारीरिक सम्पर्क नगरेको हुँदा गर्भ रहेको मान्न तयार भइनन् र भनिन् कि यदि मेरो छोरी जन्भी भने तिमी सँग नै विवाह गरिदिउँला । नभन्दै फेङमा नाउँकी छोरी त जन्मिइन तर छोरीले लेम्पा नाउँका केटालाई मन पराउन थालिन् । सुम्निमाले धुन र तरवार युद्धमा जसले जित्ला उसैसँग फेङमा छोरीको विवाह गराईदिने घोषणा गरिन् । फेङमाका लागि लेम्पा र सलुलो बीचको युद्धमा लम्पाको हत्या हुन्छ । आफ्ना प्रेमी लम्पाको् हत्यामा भावविहवल फेङमा पनि सोही तरवारले सेरिएर आत्महत्या गर्छिन् भने सुतुलीको पनि हृदयघाट भई देहान्त हुन पुग्दछ । यहि आख्यानका आधारमा लेम्पा फेङमा र सुलुली धानमा पुजा गर्न जाने परम्परा बसेको बताइन्छ भने प्रत्येक वर्ष साकेला नाच्दा किराती पुर्खा सुम्निमा र पारुहाङका शिष्यबीच धनु तरवार युद्ध प्रतियोगिताको आयोजना गरिन्छ ।

वैशाख पूर्णिमा देखि झण्डै १५ दिनसम्म वर्षात राम्रो भई अन्नपात सुप्रियोस भनि कामना गर्दै सोकला उभौली चण्डी नाचेर मनाइन्छ । किरातका ४२ भाषा मध्ये वान्तवा भाषामा साकेन्वा सिली, सम्पाङ्ग भाषामा साकाल, थुलुङ्ग भाषामा तोषी, खालिङ भाषामा भूमेपूजा, बाम्बूले भाषमा मानियो सिल्ली, कुलुङ्ग भाषामा साख्ले सिल्ली, छिन्ताङ्ग भाषामा वाधाङ्ग र नेपाल भाषामा चण्डीप्याखँ भनिने साकेला सिल्ली पृथ्वीमा श्रृष्टि भएका सम्पूर्ण जिन्त युद्ध परम्परागत गतिविधी प्रर्दशन गर्दै नृत्य गर्ने गरिन्छ । चण्डी नाच अर्थात् साकेला सिल्ली बारे प्रचलित किवदन्ती अनुसार पारुहाङ्ग सुम्निमा बीचको सम्बन्धबाट पहिलो मानिस दोश्रो बाघ, तेस्रो भालु, र चौथो बाँसको जन्म भयो । बच्चा हुकर्दै जाँदा एक्लो सुम्निमालाई छोडेर पारुहाङ गायव भएछ ।

शिकार र कन्दमूल खोने क्रममा सुन्निमाले ढुंगा माथि एक किसिमको लहरा फेला पारिन् । त्यो लहरा चाख्दा मनलाई सौर्यवान् विर्यवान प्रफूल्लित मनको कुरा पोख्न उत्प्रेरित गर्ने खालको गुण पाइन् । एकदिन अचानक घर आइपुगेका पारुहाङ्गलाई सुन्निमाले त्यही बुटो खुवाइन् र बुटीको स्वभाव अनुरूप हर्ष विभोर पारुहाङले आफू स्वर्ग र नर्कको दुष्यावलोकन गर्ने चोमोलिङमा (विश्वको सर्वोच्च शिखर माउण्ट एभरेष्ट) ध्यानमा बसेको बताए ।

यसैबीच आफ्ना चार सन्तानलाई हुर्काएकोमा भाव विभोर हुँदै पारुहाङ सुन्निमाका साथ नाच्न थाले । यस आख्यानको आधार पनि साकेला सिुल्ली नृत्यमा हुने गर्दछ । प्रकृतिवादी किरात (राई, लिम्बु, याख्खा, सुनुवा) मूलतः मूर्ति पूजक होइनन् । तर साकेला सिल्ली (उभौलीब्गस्–वैशाख पूर्णिमा–उधौली पौष पूर्णिमा यो मरी पूर्णिमा) का दिन भने किन मूर्ति पूजा गर्छन् त भन्ने बारे पनि छुट्टै आख्यान पाइन्छन् । किवदन्ती अनुसार दोलखाका किराती राजा बुद्धहाङ्ग आफ्नो पुर्खाले गुमाएको नेपाल खाल्टो पुनः प्राप्त गर्ने आफ्ना सबै प्रजालाई स्थानिय टुँडिखेलामा भेला गराई कूलदेवता हेन्कुबुङ्गको भव्य पूजा गर्दथे । मुन्धुम धर्म शास्त्र अनुसार पूजा क्रममा राजा बुद्धहाङ्गलाई बहिनी सोइसोइलाले भृगु चराको प्वाख जति श्रीपेच पहिराई दिने गर्थिन् ।

यसै क्रममा एक पल्ट बहिनी सोइसोइला मासिक रक्पश्राप हुन पुगिछन् । लाज र ग्लानी वश श्रीपेच त्यही फ्याकी सोइसोइला जङ्गल पसिन् । आश्चर्य चकित जनसमुदायले “कुम्भादो सोइसोइला, कुम्भादो” भन्दै बोलाउन थाले तर सोइसोइला फर्किनन् । भुईमा खसेको श्रीपेच ढुंगामा परिणत हुन पुग्यो । तत्काल त्यहाँ दुई समुह देखा परे– दोलोको शाक्ति सोइसोइला सँगै जंगल गयो भनि विश्वास गरी अड्डीकस्ने प्रकृति पूजक लिम्बु कहलाए भने दोलोको शक्ति श्रीपेच खसेकै ढुंगामा छ भनि विश्वास गर्ने खुम्बु (राई)का रूपमा प्रख्यात भए । त्यसै बेलादेखि किरातीहरू चाड पर्वका बेला नाम्छोङ्ग पुरोहितद्वारा चोखो शुद रही पारुहाङ्ग–सुम्निमाको प्रतिक दुई ढुंगा र बीचमा सानो लुङ्ग उभ्याई नाच गान सहित पूजा गर्ने परम्परा थालनी भएको हो ।

स्वाया पून्ही बुद्धजयन्ती र धर्मदेशना
अन्य मतपन्थ सम्प्रदायमा संसारको सृष्टि ईश्वर भगवान् परमेश्वरबाट भयो भन्ने गरिन्छ तर बौद्ध ब्रह्माण्डको सृष्टि अलौकिक ईश्वरले नभई हेतु अर्थात् पञ्चतत्वबाट भएको विश्वास गर्दछन् । पञ्चतत्व (आकाश, वायु, अग्नि, जल र पृथ्वी)लाई हामी सुनेर, सुँघेर, स्वाद लिएर, देखेर र अनुभव स्पर्शद्वारा अनुभूति गर्न सक्छौं । पञ्चतत्वकै भोगइच्छाका कारण पाँच अंग नाक, कान, आँखा, छाला र शरीर उत्पती भएको मानिन्छ । शरीरका प्वाल सवै आकाश प्रतिक हो भने स्वर प्राण वायु, ताप अग्नि हो । त्यस्तै रगत–पसिना भन्नाले पानी र हाड, मासु, नसा पृथ्वीको प्रतिकृति हो ।

शब्द, स्पर्श, रूप, रस र गन्धलाई पञ्चगुण मानिन्छ । यसरी हेर्दै जाँदा अकाश शून्यतामा उत्पन्न हुन्छ, अकाशमा वायु उत्पन्न हुने गर्दछ, वायुले अग्नि, ताप र अग्निको कारण जल सृष्टि भयो भने यी सबैको संयोजनबाट पृथ्वी र पृथ्वीका प्राणी सिर्जना भए, जसलाई बौद्धवादी शून्यताबाट ब्रह्माण्डको सृष्टि भएको मान्छन् । जुन सत्यलाई इ.पू. ५२३ मा नेपालको लुम्बिनीमा जन्मनुभएका गौतम बुद्धले बुद्धत्व प्राप्तिपछि विश्वासामु उजागर गर्नुभएको थियो । पृथ्वी जलमा मिल्छ, जल अग्निले सुकाउँछ, अग्निलाई वायुले निभाउँछ र वायु आकाशमा हराउँछ ।

यसरी शून्यताबाट सिर्जित सृष्टि शून्यतामा नै बिलाएर जाने हुँदा बुद्धमान शून्यवादमा आधारित वैज्ञानिक धर्म हो भन्ने दाबी गरिएको छ । बौद्ध गुरूहरू बुद्धधर्मलाई परनिर्भरताविरुद्धको शान्तिपूर्ण आन्दोलन हो जुन दुःख मुक्तिको उपाय भन्न रुचाउछन् । बुद्धलाई बुझ्न सर्वप्रथम आफूले आफैंलाई बुभ्mनुपर्ने यसका लागि संसारमा सबै प्राणी दुःखी छन् । दुःख उत्पन्नको कारण हुन्छ । जस्तोसुकै दुःखबाट पनि मुक्त हुन सकिन्छ र दुःख मुक्तिको उपाय आर्य अष्टाङ्गिक मार्ग हो भन्ने बुझनुपर्ने बुद्धको उपदेश रहेको छ । माथि चार सत्यलाई चतुर्आर्य सत्य भनिन्छ र चतुर्आर्य सत्यलाई बुझिसकेपछि जन्मनु दुःख हो, वृद्ध जरा हुँदै जानु दुःख हो र रोगव्याधिले थला परी मृत्यु हुनु पनि दुःख हो भनी बुझिन्छ । दुःखको प्रकृति पनि छुट्टाछुट्टै हुने गर्दछ । तर दुःखको मूल कारण काम, क्रोध लोभ, मोह र अहङ्कार अर्थात् तृष्णा हो । तृष्णाका अनेक वर्गीकरणका साथ भगवान् बुद्धले दुःख मुक्तिको उपाय आर्य अष्टाङ्गिक मार्ग भएको स्पष्ट पार्नुभएको छ ।

अन्य धर्ममा दुःख मुक्तिको उपाय ईश्वर भक्तिलाई छाडेको पाइन्छ । तर बुद्धले धनी, गरिब, बलियो, निर्धो सबैलाई समान देख्ने सम्यक दृष्टि, सबैसँग मीठो बोल्ने सत्य र स्तअनुसारको बचन बोल्ने सम्यक बचन, आफ्नै परिश्रममा बाँच्ने सम्यक कर्म र जुनसुकै काम पनि पूरा गरिछाड्नु भनी दृढ संकल्प गर्ने सम्यक संकल्प, अरूको अहित हुने कामबाट पृथक् रही जीवन निर्वाह गर्ने तरिका सम्यक, आजीवनका सबैको गुण सोच्ने सम्यक स्मृति र एकाग्रता सम्यक समाधि नै दुःख मुक्तिको उपाय भनी स्पष्ट पार्नुभएको छ । यसरी जीवन र जगत्बारे वैज्ञानिक, आत्मिक जागरण ल्याउनुहुने भगवान् बुद्धको जन्मसम्बोधी र महापरिनिर्वाण दिवस बुद्धजयन्ती विश्वभर विविध कार्यक्रमका साथ मनाइन्छ ।

संयुक्त राष्ट्रसंघले समेत बिदाको घोषणा गरी विश्वभर बुद्धजयन्ती मनाइँदै छ । नेपाल चैत पूर्णिमा ल्हुती पून्ही, वैशाख पूर्णिमा स्वायाँ पून्ही र ज्येष्ठ पूर्णिमा नम्रा पून्ही गरी तीनपल्ट बुद्धजयन्ती मनाइन्छ । उपत्यकामा वज्राचार्य, शाक्य र तराईका थारुले चैत पूर्णिमालाई बुद्धजयन्तीका रूपमा मनाउँछन् भने महायानी परम्परानुसार तामाङ, मगर, गुरुङ आदि समुदायमा नमोबुद्ध मेला लाग्ने दिन बुद्धजयन्तीका रूपमा मनाउने परम्परा छ । वैशाख पूर्णिमालाई बुद्धजयन्तीका रूपमा मनाउने परम्परा श्रीलङ्का, थाइल्यान्ड, बर्मा आदि थेरवादी देशको पात्रोअनुरूप भित्रिएको हो ।

भ्वतः चण्डेश्वरी जात्रा

नेपाल भाषामा त्यो पनि नेपाल नै हो भनिने ऐतिहासिक नेवार बस्ती बनेपामा प्रत्येक वर्ष बुद्धजयन्तीको दिन चण्डेश्वरी अजिमाको जात्रा हुने गर्दछ । चण्डीपूर्णिमा पनि भनिने यस दिन काभ्रे जिल्लाको ऐतिहासिक ८ नेवार बस्ती साँगा, रन्वपासी, नाला, धुलिखेल, श्रीखण्डपुर, चौकोट र पनौती एकसाथ जात्रामय बन्दछ । बनेपाको पुरानो नाउँ किराँतकालमा भुजुङ र भोट जाने मार्गमा बसेको बस्ती भएबाट भोट पनि भनिने चण्डेश्वरी जात्राबारे प्रख्यात भक्तपुरको चण्डेश्वरी, ललितपुर पिम्बहाल चण्डेश्वरी, बालकुमारी चण्डेश्वरी र टोखाको चण्डेश्वरीमध्ये बनेपाको चण्डेश्वरी विशेष चर्चित छ ।

आख्यान जे–जस्तो भए पनि चण्डेश्वरी जात्रा बनेपा नगरको ऐतिहासिक अष्टमातृका पीठमध्ये एउटा पीठ जनाउने जात्रा हो । तर आख्यानुसार एक समय चण्डेश्वरी ललितपुरको बुङ्गद्यो रातो मच्छिन्द्रनाथको रथारोहण जात्रा हेर्न जाँदा ठूलो उत्पात गरी फर्किछन् । त्यसै गरी रातो मच्छिन्द्रनाथ पनि चण्डेश्वरी जात्रा हेर्न बनेपा पुग्दा चण्डेश्वरी देवी चन्दनको रुखमा लुकी मरेको जस्तै गरी जात्रा अगाडि बढाएछन् । चण्डेश्वरीको मृत्यु भइसक्यो भन्ने देखाउन जात्रामा कहाँ बाजा बजाउने, टोपी–जुत्ता नलगाउने र देवतालाई मृतकजस्तै उत्तानो पारेर लैजाने परम्परा बाँकी नै रहेको छ ।

पलाञ्चोक भगवती जात्रा
बनेपाको चण्डेश्वरी जात्रा, पनौतीको मकर मेला, भद्रकाली जात्रा, नाला भगवती जात्रा, धुलिखेल खडपु भगवती जात्रा, चकोर ऋषि चौकोत मेला र साँगाको नासिका भगवती जात्राजस्तै काभ्रेको पलाञ्चोक भगवती जात्रा देशको प्रख्यात पर्वभित्र गनिन्छन् । मानदेव प्रथमको शासनकालमा स्थापित पलाञ्चोक भगवती जात्रा प्रत्येक वर्ष वैशाख बुद्ध पूर्णिमा र आश्विन दशैंमा हुने गरेको छ । किवदन्तीअनुसार काभ्रे पलाञ्चोकको बुच्चाकोतका आदिवासी श्रेष्ठलाई सपनामा मलाई उत्तरतर्फ लानू भनी आदेश दिएछन् । अज्ञात कलाकारद्वारा निर्मित कालो ढुंगाको कलात्मक एक फिट अग्लो महिषमर्दिनी भगवतीलाई लैजाँदै गर्दा बीचबाटोमा देवता जानै मानेनछन् । जहाँ देवीलाई प्रतिष्ठापित गरी मखन बहालका वज्राचार्य बौद्ध पुजारी राखी जात्रा थालेको बताइन्छ ।

बुद्धजयन्तीका दिन बनेपा चण्डेश्वरी जात्राको मूल पूजा भैरहँदा पलाञ्चोक भगवती जात्राका लागि द्यःछेबाट धामी काम्दै भगवतीलाई खटमा प्रतिष्ठापित गराइन्छ । बनेपा चण्डेश्वरी, नाला भगवती, धुलिखेल भगवती, नाक्साल भगवती, साँगा नासिका र शोभावती दिदी–बहिनी भएको कारण पलाञ्चोक भगवती जात्राअघि उल्लिखत देवस्थलबाट फूल–अक्षता र जल ल्याउने परम्परा पाइन्छ । जल–प्रसादसँग बोका बलि दिई ३ दिनसम्म भव्य खटजात्रा हुने गर्दछ । भनिन्छ, विश्वप्रसिद्ध कलात्मक पलाञ्चोक भगवतीको मूर्ति बनाउने कलाकारले अन्य ठाउँमा त्यस्तो मूर्ति बनाउन नसकोस् भनी दायाँ हात काटिदिए । बायाँ हातले नक्साल भगवतीको मूर्ति बनाएपश्चात् त्यही बायाँ हात पनि काटिदिएपछि खुट्टाले धुलिखेल भगवती र शोभा भगवतीको मूर्ति तयार गरी कलिको दुनियाँमा नमुना प्रस्तुत गरेको बताइन्छ ।

padamcha@hotmail.com

Leave a Reply

Your email address will not be published.