संस्मरण – खुकुरीधारी बटुवाले कान काट्दा

विचार / ब्लग

गणेश वाम्बुले राई
प्युठानको मल्लारानी गाउँपालिका–२ चुजाँस्थित अमर माध्यमिक विद्यालयमा हालैमात्र एक घटना घट्न पुग्यो । ‘चक्कु देखाउँदै विद्यार्थीलाई सजाय’ शीर्षक समाचारले (कान्तिपुर दैनिक २०७५ भदौ १५ गते) ध्यान खिंच्यो– ‘चुजाँका शिक्षक वसन्त केसीले कक्षा २ का विद्यार्थीलाई राम्रो नपढेको भन्दै गलामा चक्कुको उल्टो भागबाट दावेका थिए । तर एक जना विद्यार्थीलाई भने धारिलो भागबाटै दावेपछि असामान्य अवस्था उत्पन्न भएको हो । ८ वर्षीया वर्षा घर्तीलाई ‘क्लास वर्क’ राम्रो नगरेको भन्दै त्यसरी सजाय दिंदा उनी घाइते भएकी छन् । घर्ती अहिले भैरहवामा उपचार भइरहेको जिल्ला शिक्षा समन्वय एकाइले जनाएको छ । कक्षा कोठामै विद्यार्थी घाइते भएपछि प्रधानाध्यापक जीवनलाल पौडेल र शिक्षक वसन्तले छात्रालाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार ल्याएका थिए । त्यहाँ उपचार नभएपछि मेडिकल कलेज भैरहवा पु¥याइएको हो । घटना आफैंलाई अकल्पनीय लागेको शिक्षक वसन्तले टेलिफोनमा बताए । ‘कक्षाकोठा अभावले विद्यालयको खाजा घरमा पठनपाठन गराएकोे थिएँ,’ उनले भने, ‘बेवारिसे चक्कु रहेछ । केटाकेटीले खेलाउलान् भनेर समाएको थिएँ । यस्तो घटना घट्यो ।’ घटनाको सार यत्ति हो ।

म यतिखेर त्यस्तै प्रकृतिको आफूमाथि घटेको घटना सम्झिन पुगेको छ । ओखलढुंगा जिल्लाको दुधकोसी किनाराको बस्ती सोक्मटार गाउँ छ । त्यही जन्मे, हुर्केको र पढ्नको निम्ति दुई घण्टा उकालो र त्यार्सो बाटो हिंडेर हिलेपानीस्थित २०१६ सालमा स्थापित महादेवस्थान प्रावि (हाल–मावि) पुग्नु पथ्र्यो । स्थानीय बोलीमा ‘धारा स्कुल’, हामी लड्दैपड्दै धाउँथ्यौं । त्यहाँ तीन कक्षासम्म पढाइन्थ्यो । चार कक्षा पढ्न मानेभन्ज्याङको भगवती निमावि (हाल– उच्चमावि) जानुपथ्र्यो । चारदशकभन्दा बढी पुरानो घटना हो यो । जतिखेर म आठ–नौ वर्षको थिएँ । म त्यो बेला दुई या तीन कक्षामा पढ्थें ।

भदौ–असोज महिना थियो । एकदिन बिहानै आमाले फर्सीको मुन्टा टिपेर मकैको सुत्लाले मुठा पार्नुभयो । अराउनु भयो– यो मुन्टा कान्छी फुपुकोमा पु¥याउनू र भान्जेभाइ इच्छाकुमारसँगै स्कुल जानू । म पनि भान्जेभाइ भनेपछि हुरुक्कै हुन्थें, सँगै खेल्न । स्कुलेझोला र फर्सीमुन्टोको मुठो च्यापेर उक्लिएँ, जाक्मागाउँतिर । आधा घण्टा उकालो उक्लिएपछि फुपुको घर टुप्लुक्कै पुगें । सायद फुपुले हामी दुई स्कुले दाजुभाइलाई खाना खुवाउनु भयो । अनि लाग्यौं– त्यार्सै त्यार्सो मूलगल्लीको बाटो । एकजना तन्नेरीलाई फटाफट हिंड्दा झण्डै पैतालिस मिनेट लाग्छ, धारा स्कुल पुग्न । हामी फुस्रा केटाहरु यता रमिता हे¥यो, उता छेपारो बोलायो गर्दा बढी समय लाग्ने नै भयो । (त्यतिखेर छोरी पढाउने चलन थिएन । चलन भएको भए सायद बडाबाबु हेडमास्टरकै छोरी, मेरी बहिनी पढ्न पाउने थिइन् ।)

पर घलेसार डाँडामा दुई घर थिए, आफन्तका । त्यहाँबाट हामीभन्दा जेठो साइनोले काका उब्दबहादुर र कुमार दाइ पनि पढ्न जानुहुन्थ्यो । सायद त्यस दिन हामी स्कुल जाने समय ढिलो भइरहेको हुुनुपर्छ । घलेसार पल्लो गहिरामा बाटो मास्तिर ‘बाजा लुङ’ (बाजाढुंगा) लाई ढुंगा टिपेर कसले ठूलो आवाज निकाल्ने भन्ने ध्यानमा थियौं । ढुंगाले हान्दा बाजाजस्तै ड्वाङ्ग आवाज आउने ओढारेढुंगा अहिले पनि छ । बाटोमा हाम्रो पछाडि दुईजना मानिस आइरहेका थिएछन् । स्कुले फुचेहरुको चालमाल देखेर तर्साउने सोंच आएछ । ‘ए केटा हो, स्कुल जानेले यसरी अलमल गर्ने हो ? यतिबेला स्कुल जाने हो ? अब तिमीहरु कान काटिदिन्छु ।’ भनेर परैबाट कराएको सुन्यौं । हामी राई केटाहरु आफ्नो मातृभाषा (वाम्बुले राई भाषा) मात्र बोल्न आउने, खसकुरा अलि अलि बुझ्न्थ्यौं । अचानक अपरिचित ‘बाजी मुयो’ (तागाधारी मान्छे)को त्यो हुँकारले हामी तर्सियौं । उसले कम्मरमा भिरेको खुकुरी दाबबाट झिकेको देखेपछि सातोपुत्लो उड्यो । उब्द काका र कुमार दाइ हामी दुईभन्दा कुद्न सक्थे । बाजाढुंगा भएसँगै पहरा छिचोलेर बनाइएको अप्ठ्यारो बाटो थियो र छ । हामी घारीलाम भन्छौं ।

त्यो मान्छेले त्यही घारीलाममै भेट्यो– हामी दुई (गणेश र इच्छाकुमार)लाई । हामी दुवैको कान समायो र खुकुरीले काटौंझैं ग¥यो । होसहवास् उड्यो । अनि हामीलाई छाडेर हाम्रो अगाडिका दुई स्कुलेलाई खेद्न थाल्यो, एकजनाले । हामी दुईचाहिं दक्षिण मोहडामा लमतन्न भिरालो बाटो मास्तिरको बाबियो घारीमा लुक्न पुग्यौं, ताकि त्यो मान्छेले अब हामीलाई नदेखोस् । सास थुनेर बस्यौं । के गर्ने, कसो गर्ने भनेर दुविधामा प¥यौं । हामीलाई तर्साउने ती दुई बटुवा परतिर सिंकोमाल खोलामा पुगेर कुवाको पानी उघाएर खाएको (पिएको) देख्यौं । काँपिरहेको शरीर बाबियो घारीमा लुकाएर टाउको उठाएर हेरिरह्यौं । कुवाको छेउ काभ्राको छायाँमुनिको ठूलो ढुंगामाथि निकैबेर बिसाए । हामी दुईतर्फ चियाएको देख्दा होस् ठेगानमै थिएन ।

अन्ततः ती दुई बटुवा बाटो लागे । परतिर गैरा हुँदै अक्करको ढुंगेबाटो पनि नाघेको देख्यौं । त्यसपछि हामी फुच्चे दाजुभाइको डरको तापक्रम स्वाट्टै घट्यो । अनि हामीले पनि त्यही कुवाको पानी खायौं, बेस्सरी । तैपनि ती मान्छे फेरि फर्केर आउला कि भन्ने मनमा लागिरह्यो । रुखबिरुवा, झारपातको पोथ्रा लुक्दैछिप्दै अघि बढ्यौं । आधा घण्टा जति हिंडेपछि स्कुल पुग्यौं । वरैबाट हामीलाई खेद्ने मान्छे स्कुलमा देख्यौं । डरले फेरि ठाउँ लियो । तर ती मान्छेको छेउमा हाम्रो हेडमास्टर मानबहादुर राई (बडाबाबु) र मास्टर तेजबहादुर केसी अनि वरिपरि हाम्रा साथीहरु देखेर डरको मात्रा पातलियो । त्यतिबेला सायद दिउँसोको बाह्र बजेको थियो ।

मास्टरले हामी दुईलाई मायालु पाराले डाक्नु भयो, मातृभाषामै । छेउमा पुग्यौं । ‘के के भयो ? तिमीहरुको जिउ, ज्यानमा केही घाउचोट लाग्यो कि ?’ भनेर सोध्नुभयो । हामी दुई निरीह प्राणीको के लाग्थ्यो, धुरुधुरु रोयौं । ओहो, बल्ल थाहा भयो कि इच्छाकुमारको कान काटिएर रगत आइरहेको रहेछ । मेरो पनि खुट्टा फिला र पाँसुलातिर बाबियोले काटिएर अलि अलि रगत बगेछ । थाहा भयो कि हामीभन्दा अगाडि कुद्ने स्कुले साथीले सबै वृत्तान्त बताएपछि दुई बटुवालाई रोकिएको रहेछ । हेडमास्टर र मास्टरले ती दुई बटुवालाई रोकेर कारबाही गर्नुभएछ । हाम्रो कान काट्न प्रयोग गरिएको खुकुरी खोसिएछ । नगद ६० रुपैयाँ जरिवाना गर्नुभएछ । त्यसपछि हामीलाई खेद्ने मान्छेमात्र बाटो लाग्यो । उसको साथमा रहेको सायद उनको भाइ थिए, चाहिं घर फर्कियो ।

हामीलाई तर्साउने मान्छेको नियत कुनियत थिएन, सायद । तर, खुकुरी नै देखाउनु पर्ने मानसिकता चाहिं कसरी पलायो ? म अहिले अनुमान गर्छु कि त्यो मान्छे नेपाली सेनाका जागीरे थिए । उनले शिक्षाको महत्व बुझेका तर कस्तो ठाउँमा कोसँग कस्तो व्यवहार गर्ने भन्नेचाहिं ज्ञानको शून्य थियो । त्यसरी हतियारले भन्दा मायालु स्वरले ‘हिंड बाबु हो, स्कुलको समय ढिलो भयो, सँगै जाऊँ’ भनेको भए त्यो अक्करको बाटो सहज काटिन्थ्यो । अझ हामीले हानेको बाजाढुंगामा एकचोटि ढुंगा टिपेर हान्दै ‘ढ्वाङ्गऽऽ’ आवाज निकालेको भए कत्ति रमाइलो हुन्थ्यो । यसरी बालमनोविज्ञानको पक्षमा ती मान्छे अनि प्युठानका शिक्षकमात्र होइन, शिक्षण पेसामा संलग्न गुरुगुरुआमाहरुले ख्याल गर्न आवश्यक छ । कुनै पनि बालबालिकाप्रति धारिला हतियार प्रयोग वर्जित गरिनुपर्छ ।
raiganesh@gmail.com

Leave a Reply

Your email address will not be published.